सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले सुत्केरी भत्ताको दाबी ९० दिनभित्र गर्नुपर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले सुत्केरी भत्ताको लागि १ सय २० अर्थात ४ महिना भित्र दाबी गर्नुपर्ने कोषले जनाएको छ । सूचना जारी गर्दै कोषले पौष १ गतेबाट विभिन्न सुविधाहरुको समयावधी तोकिएको जनाएको छ । भर्ना भई गरेको उपचार, भर्ना नभइ गरेको उपचार, दुर्घटना, मातृत्व सुत्केरी हेरचाह र अस्थायी असक्षमता बापतको भत्ताको दाबी ९० दिनभित्र गर्नुपर्ने कोषले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै सुत्केरी भत्ता र बिमारी बिदा वापतको भत्ता भने १ सय २० दिनमा दाबी गर्नुपर्ने कोषले जनाएको छ । भौतिक रुपमा उपस्थित भएर दाबी माग गर्दा चालु आर्थिक वर्षको असार २५ गतेभित्र र आधिकारिक प्रणालीमार्फत दाबी गर्दा असार २८ गतेभित्र आवश्यक कागजात पेश गर्नुपर्ने कोषको सूचनामा उल्लेख गरिएको छ । कोषको सूचना :
बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित
बाँके । बाँके जिल्ला निर्वाचन क्षेत्र नं। ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् । वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी भएका निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरेका छन् । राठौरले चार हजार सात ९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरेका हुन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले सात हजार चार सय ३९ मत प्राप्त गरेका निर्वाचन अधिकृत भण्डारीले बताए । उनका अनुसार सो क्षेत्रमा कूल ७४ हजार दुई १३ मत खसेको थियो ।
सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा निर्वाचित
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याएका जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याएका छन् । सापकोटाले नेपाललाई तीन हजार तीन सय ५४ मतले पराजित गरेका हुन् । क्षेत्र नम्बर १ मा भोटेकोसी गाँउपालीका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसँखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालीकाको पाँच वटा वडा समेटिएको छ । रासस
चर्चामा छिन् विजयी डा. तोसिमा कार्की
पाटन । प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा. तोसिमा कार्की प्रवेश गरेकी छिन् । उनले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गरेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय भएकी हुन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छिन् । घण्टी चिह्नमा चुनाव लडेकी उनी पेसाले पाटन अस्पतालमा चिकित्सक जनरल सर्जन छिन् । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गरेकी थिइन् । मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गरेकी हुन् । काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य छिन् । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरेकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय छिन् । निर्वाचनमा विजयी भएपछि उनले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।’
लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा विजयी
लमजुङ । लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गरेका छन् । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन् । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी भएका थिए । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी भएका थिए । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गरेका थिए । नेता गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आएका छन् । रासस
ललितपुरमा घण्टी बज्यो, उर्जामन्त्रीलाई पारजित गर्दै तोसिमा कार्की विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र उर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पराजित गर्दै कार्की विजयी भएकी हुन् । बिहीबार बिहान सम्पन्न भएको मत परिणाम अनुसार डा. तोसिमाले ३१ हजार १३६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव भुसालले ८ हजार ७६९ मत मात्र ल्याएकी हुन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।
गोरखाबाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी २६ हजार १०३ मत ल्याए विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी बनेका छन् । नेकपा एमालेका उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा छन् । बुर्लाकोटीले १२ हजार ६३७ मत र मियाले ७ हजार ३९३ मत ल्याएका छन् ।
काठमाडौं ७ : समानुपातिकमा रास्वपालाई धेरै मत
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ७ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत प्राप्त गरेको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको गए राति सम्पन्न समानुपातिकको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार चार सय ३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । यस्तै, दोस्रो समानुपातिक मत नेकपा एमालेले चार हजार चार सय ६६, तेस्रो समानुपातिक मत नेपाली कांग्रेसले तीन हजार सात सय १०, चौथो समानुपातिक मत राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार ९६४ र पाँचौँ समानुपातिक मत नेकपा माओवादी केन्द्रले एक हजार एक सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए । काठमाडौंको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो क्षेत्रमा समानुपातिकतर्फ कूल २६ हजार चार सय १७ मत खसेकोमा २५ हजार दुई सय १९ मत सदर र एक हजार एक सय ९८ मत बदर भएको थियो ।यस्तै, सो क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएका थिए । रासस