सशस्त्रबाट अवकाशपछि मौरीपालनमा मख्ख महेश
काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ७ का महेश कुमार श्रेष्ठ अवकाश प्राप्त सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार हुन् । उनीले लगभग १९ वर्ष निरन्तर देशको लागि सेवा गरे । लामो समय प्रहरी बलमा काम गरेका श्रेष्ठले सेवाबाट अवकाश पाएपछि अब के गर्ने भन्ने हुटहुटीले उनलाई सतायो । त्यो समयमा उनी घरायसी काममा व्यस्त भए । खेतबारीमा काम गर्ने । गाईवस्तु हेर्न । यस्तै–यस्तै कामहरुमा उनीको दैनिकी बित्थ्यो । ‘घरको काम गरेर मात्र भएन, अब केही गर्नु पर्छ भने सोच आयो, आफ्नै व्यापार गर्न मन लाग्यो तर के गर्ने भन्ने योजना नै बनेन, उनले आफ्नो विगत स्मरण गर्दै भने, ‘घरमा एक/दुई घार मौरी थियो अब मौरी व्यवसाय नै गर्नु पर्छ भन्ने लागे पछि सुरु गरेको हुँ ।’ उनी अब मौरी व्यवसायतर्फ लागे । घरमा रहेको १/२ घार मौरीलाई विस्तार गरे । आधुनिक मौरी ल्याएर पालन गर्ने भन्दा पनि रैथाने मौरीलाई विस्तार गर्नतर्फ उनको ध्यान गयो । सुरु–सुरुमा मौरी पालनवाट राम्रै आम्दानी गर्न सकिन्छ भन्ने विश्वासै नलागेको उनी बताउँछन् । सुरुमा मौरीका ४/५ घार बनाए । त्यसबाट मह बेचे । मह बेचेको पैसाबाट घारहरु थपे । पछि विस्तारै आम्दानी हुन थालेपछि श्रेष्ठ झन् उत्साहित भए । त्यस पश्चात् झन् सक्रियताका साथ मौरी पालनमा लागे । मौरीको बारेमा आफुलाई खासै जानकारी नभएको उनी बताउँछन् । तर, समयक्रमसँगै मौरी पालन गर्न थालेपछि बुझ्दै गएको श्रेष्ठ सुनाउँछन् । अहिले उनलाई मौरी पालन गर्न थालेको ६ वर्ष भइसकेको छ । श्रेष्ठका अनुसार अहिले उनको घरमा मौरीका ३० घार छन् । उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन आवाज सुनिन्छ । श्रेष्ठको घर, र बारीभरिका माहुरी घार देख्ने जोकोही अहिले छक्क पर्छन् । ‘म सँग आधुनिक मौरी छैन, यहाँका रैथाने मौरी भएको कारण अन्य मौरीको जस्तो डुलाएर हिँड्नु पर्दैन, धेरै हेरबिचार पनि चाहिँदैन, मौरीको लागि चरन यहाँ समय अनुसार हुने गरेको छ, यहाँ सिजनमा मात्र मह काढिन्छ,’ उनले बिकासन्युजसँग भने । उनी वर्षको तीन पटक घारबाट मह निकाल्छन् । ‘हाम्रो ठाउँमा तीन पटक मह घारबाट निकालिन्छ, फूल फुल्ने समय वा बालीनाली लगाएको सिजनमा, प्रत्येक मौरीको चरन गर्न ठाउँ नभएको कारण पटक–पटक मह निकाली रहन मिल्दैन, यो ठाउँ अनुसार फरक–फरक पनि हुन सक्छ,’ उनले भने । विभिन्न ठाउँबाट फूलको रस संकलन गरेर मौरीले बनाएको मह औषधिको रूपमा पनि प्रयोग गरिएको पाइन्छ । श्रेष्ठले उत्पादन गरेको मह स्थानीय बजारमा नै खपत हुदै आएको छ । ‘महको माग उच्च छ, उत्पादन कम छ, खपत गर्ने भन्दा पनि कसरी महको बढी उत्पादन गर्ने भन्ने चिन्ता हुन्छ,’ उनले भने । श्रेष्ठले प्रति बोतल १२ सय रुपैयाँका दरले महको बिक्री गर्दै आएका छन् । मौरी घारको संख्या कमी भएसँगै महको उत्पादन सोचे अनुरूपको नहुने पनि श्रेष्ठ बताउँछन् । समय समयमा मात्र घारबाट मह निकालेर स्थानीय बजारमा नै बिक्री गर्दै आएका श्रेष्ठले वषिर्क डेढ लाख रुपैयाँ बराबरको मह बिक्री गर्दै आएको बताउँछन् । ‘यो रकमबाट घर खर्च चल्दैन तर आफूलाई खर्च भने हुन्छ, पहिला मौरी पाल्ने रहर थियो अहिले दैनिकी भइसक्यो,’ उनी हाँस्दै भन्छन् । उनले छिट्टै डेढ सय मौरीको घारको संख्या पुर्याउन लक्ष्यमा छन् । उनी सरकारी नियकायबाट तालिम पाउन सके अझैँ व्यवसाय बढाउनमा सहयोग पुग्ने बताउँछन् । ‘पहाडी क्षेत्रमा विकासे मौरी हुँदैन, रैथाने मौरी नै यहाँको लागि उपयुक्त हुन्छ, बिस्तारै यहाँको संख्यालाई बढाउँदै जाने हो, डेढ सय घार पुर्याएपछि आम्दानी पनि राम्रो हुने सोचको छु,’ उनले भने ।
सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका रामप्रकाश चौधरी विजयी
सर्लाही । सर्लाही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्कालाई पराजित गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षकसमेत रहेका चौधरीले २४ हजार आठ सय ३८ मत पाउँदा खड्काले १८ हजार चार सय चार मत प्राप्त गरेका थिए । चौधरीले खड्काभन्दा छ हजार चार सय ३४ बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सर्लाही–१ बाट प्रतिनिधिसभातर्फ चौधरीसहित १० जना चुनावी मैदानमा रहेका थिए । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी नेपाल जसपाका नेता सोही क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रमोद साहले १४ हजार दुई सय ५५ मत प्राप्त गरेका छन् । चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा अन्य क्षेत्रको मतगणना जारी रहेको छ । रासस
फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै
काठमाडौं । केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि देखिएको छ । नेपाली भाषामा प्रदर्शन भइसकेको चलचित्र हिन्दीमा स्वराङ्कन गरिएको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको उक्त चलचित्र भारतको हलमा नभइ ओएसआर इन्टरनेसनल नामक युट्यब च्यानलमार्फत प्रदर्शन हुँदैछ । सञ्चालक ओम प्रकाश अग्रवालले डिजिटल माध्यमबाट दर्शक खोज्ने प्रयास थालिएको जानकारी दिए । ‘युट्युबमा रिलिज गरेर हिन्दी भाषी दर्शकलाई आकर्षित गर्न सकिन्छ भनेर सुरू गर्दैछौँ । यस चलचित्रलाई लिएर आइरहेको प्रतिक्रिया सकारात्मक छन्’, सञ्चालक अग्रवालले भने,’साउथ इन्डियन फिल्म पनि स्वराङ्कन गरेर युट्युबकै माध्यमले नर्थ इन्डियामा बजार विस्तार गरिएको हो । हामीले पनि बजार विस्तारकै लागि यो माध्यम अपनाएका हौँ ।’ उनले डिसेम्बर १ मा ‘वीरविक्रम २’ प्रदर्शन भएपश्चात् ‘सुश्री सम्पति’ पनि तयारमा रहेको बताए । एक हप्तादेखि पन्ध्र दिनभित्रमा दोस्रो चलचित्र दर्शकमाँझ पुर्याउने सञ्चालक अग्रवालको तयारी छ । ‘अन्य पाँच फिल्म स्वराङ्कनको लागि तयार छन् । यी दुई फिल्मको प्रतिक्रियाले हामीलाई अगाडि बढ्ने बाटो देखाउने छ’, उनले भने । आफ्नो चलचित्र हिन्दीमा आउँदा खुसी लागेको निर्देशक चाम्सले बताए । ‘हाम्रो काम हिन्दी भाषीकहाँ पनि पुग्दैछ । खुसी लागेको छ । हिन्दी स्वराङ्कन निकै राम्रो गरिएको छ’, उनले भने । विसं २०७६ मा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गरेको छ । उक्त चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, क्षितिज सुवेदी खत्रीलगायतको अभिनय छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि बोलायो साधारणसभा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले संस्थापक सेयरधनी निर्वाचनको लागि साधारणसभा बोलाएको हो । कम्पनीले मंसिर १५ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।
एसइइ परीक्षा दिनका लागि पुस १० गतेभित्र आवेदन फारम भरिसक्नुपर्ने
काठमाडौं । एसइइ परीक्षा दिनका लागि विद्यार्थीहरुले आगामी पुस १० गतेभित्र आवेदन फाराम भर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले मंसिर ८ गतेदेखि पुस १० गतेसम्म विद्यालयहरुले फारम भराउन र विद्यार्थीहरुलाई भर्न सूचित गरेको छ । फारम भर्दा साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा पढ्ने विद्यार्थीहरुले रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, कक्षा ८ पास भएको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो समावेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै खुला, बैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरुले फाराम भर्दा दुर शिक्षा/खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका, २०६३ अनुसार सर्तहरु पूरा गरेको सिफारिस सहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात र पासपोर्ट साईजको फोटो संलग्न गर्नुपर्ने छ । सूचनाअनुसार विद्यालय र खुला दुबैतर्फका विद्यार्थीले परीक्षा फाराम भर्दा ५ सय शुल्क बुझाउनुपर्नेछ । सूचना :
सप्तरी क्षेत्र नं १ को (१) मा एमालेका राजकुमार लेखी विजयी
सप्तरी । सप्तरी क्षेत्र नं १ को (१) मा प्रदेशसभा सदस्य पदमा नेकपा एमालेका राजकुमार लेखी विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याए । लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा भारी मतान्तरले नेमकिपाका सुरेन्द्रराज गोसाइँ विजयी
भक्तपुर । भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (२) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न मतगणनाको अन्तिमपरिणाम अनुसार उनी २९ हजार सात सय चार मत ल्याएर विजयी भएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गरे । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गरे । समानुपातिकतर्फको मतगणना भने जारी छ ।
सेन्साईको टेलिभिजन किन्दा ३० हजार रुपैयाँसम्म छुट पाइने
काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले विश्वकपलाई लक्षित गर्दै ‘विश्वकप च्याम्पियन अफर’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १०० रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथसाथै, १ जना ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन । कम्पनीको अनुसार ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ । यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागु हुने कम्पनीले जनाएको छ । नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन । कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्रि डेलिभरी, फ्रि इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ ।