विकासन्युज

अजोड इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, पारित भयो सम्पूर्ण वित्तीय विवरण

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । मंसिर ११ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कम्पनीको संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरेको हो । परिवर्तित सेयर स्वामित्व संरचना अनुसार कम्पनीको संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशतको अनुपात कायम गर्ने निर्णय भएको छ । यसअघि उक्त अनुपात क्रमशः ७० र ३० प्रतिशत रहेको थियो । उक्त निर्णयलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत दिएपछि कम्पनीको प्रबन्धपत्र संशोधन गरिने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीलाई नेपाल बीमा प्राधिकरणले मर्जर अध्ययन कमिटीको स्वीकृत गरेको र सभाले उक्त मर्जर अध्ययन कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, सभाले कम्पनी सञ्चालक समितिलाई मर्जरसम्बन्धी सम्पूर्ण अख्तियारी दिएको छ । त्यस्तै, इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित भएको छ । सभापछि बसेको कम्पनी सञ्चालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरणहरु पारित गरेको हो । उक्त पारित विवरणहरु नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु पर्छ । जसको लागि कम्पनीले उक्त विवरणहरु प्राधिकरणमा पेशसमेत गरिसकेको छ ।

समानुपातिकतर्फ ९३ लाख मत गनियो, माओवादीभन्दा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा माओवादी केन्द्रले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा एकीकृत समाजवादी र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ६२ हजार आठ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् । आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार नौ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २७ हजार नौ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार आठ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार आठ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार छ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार आठ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार दुई सय २९ र नेकपा९माले०ले २६ हजार नौ सय ७१ मत प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ । त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार चार सय ३४, गण्डकी प्रदेशमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा आठ लाख सात हजार एक सय ३८ मत गणना भइसकेको छ ।

मधेशमा ४ हजार मेगावाट विद्युत खपत गर्ने प्रसारण सञ्जाल बन्दै, ५० अर्ब खर्च लाग्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन मधेश प्रदेशका जिल्लाहरुमा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो । प्राधिकरणकाे अनुसार भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसनहरु निर्माण गरिने छ । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने प्राधिकरणले जनाएकाे छ । प्राधिकरणकाे अनुसार अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरु रहने स्थान तय गर्ने कामहरु भइरहेको छ । बारा बर्सा औद्योगिक करिडोर अन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब ३२०० र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन् । यसबाट शहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लाहरुमा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति हुनेछ । यस्तै, प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने रकम नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार प्रस्तावित लाइन निर्माण स्थलको स्थलगत अनुगमन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् । कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रुपमा निर्माण गर्न लागिएको बताए । ‘पहिलो फेजमा खपत बृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसनहरु, दोस्रो फेजमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन निर्माण गरिने छन्’, घिसिङले भने । ‘केही प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माण भइरहेका छन्, केही तत्काल सुरु हुँदैछन् भने अन्य दीर्घकालीन रुपमा निर्माण गर्ने गरी सबस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया सुरु गर्नेलगायतका काम भइरहेका छन् ।’ उनले भारततको मोतिहारी, सीतामणि, जयनगर विन्दुतर्फ विद्युत निर्यात गर्न सकिने बताए । वारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रुपमा जनकपुरतिर विस्तार गरिने छ । बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ । जनकपुर क्षेत्रको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका् १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ । लोहरपट्टीमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ ।

बिजबजारले ल्यापटपदेखी होम अप्लाईन्समा ७५ प्रतिशत छुट दिने

काठमाडौं । साइबर मन्डेको अवसरमा नेपालका साना तथा मझौला उद्यमहरूलाई बिजबजारले ७५ प्रतिशत सम्म छुट दिने भएको छ । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले साइबर मन्डेको अवसरमा विभिन्न क्याटेगोरीका सामानमा ७५ प्रतिशत सम्म छुट दिने भएको हो । बिजबजारले यस अवसरमा  कम्प्युटर, ल्यापटप, अफिस सप्लाई, होम अप्लाईन्सेस, मोबाइल  र एक्सेसोरिज जस्ता सामानहरूमा भारी छुट प्रदान गर्ने जनाएको छ । साइबर मन्डको अवसरमा विश्वभरि अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरूको लागि विभिन्न छुट प्रदान गरिन्छ ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी छ : सचिव आचार्य

यतिबेला मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अधिकांश मत परिणाम आइसकेको छ भने केही स्थानमा मतगणना जारी छ । केही ठाउँमा भने मतदान हुँदैछ । समानुपातिकतर्फको मत परिणाम पनि अन्तिम चरणमा पुगिसकेको छ । अहिलेसम्मको निर्वाचन मत परिणाम हेर्ने हो भने कुनै एक पार्टीको मात्रै बहुमत पुग्ने स्थिति देखिँदैछ । त्यसैले गठबन्धनको आडमा सरकार बनाउनुको विकल्प छैन । अब बन्ने सरकार पनि गठबन्धन भएर नै बन्ने निश्चित छ । नेपाली काँग्रेस र नेकपा एमाले पहिलो पार्टी बन्नका लागि प्रतिष्पर्धामा अझै छन् भने तेस्रो पार्टीका रुपमा नेकपा (माओवादी केन्द्र) हुने प्रायः निश्चित छ । त्यस्तै, नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी बन्दैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा प्रतिनिधि सभामा देखिने लगभग पक्का छ । यस्तो अवस्थामा दलहरुबीच गठबन्धन गरेर मात्रै सरकार बनाउन सक्नेछन् । एकल दलको सरकार बन्ने अवस्था छैन । देशभरबाट हालसम्म ५ जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । यस्तो अवस्थामा बाम गठबन्धन भएर कम्युनिष्ठहरुको सरकार बन्छ वा अहिलेकै गठबन्धनले नयाँ सरकारको नेतृत्व गर्छ ? भन्ने प्रश्न पनि यतिबेला आम जनमानसमा छ । प्रस्तुत छ नेपालले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव डिलाराम आचार्यसँग निर्वाचनको मत परिणाममा पार्टीको धारणा, वर्तमान सत्ता गठबन्धनको भविष्य, नयाँ सरकार निर्माण लगायतको विषयमा गरेकाे कुराकानीकाे अंश: निर्वाचनको मत परिणामलाई नेकपा (माओवादी केन्द्र) कसरी लिएको छ ? सामान्य रुपमा हेर्दा अस्वभाविक छ । किनभने गठबन्धन गरेर गइसकेपछि हाम्रो अनुमान के थियो भने हामीले उठाएको ४८ सिटमध्ये ४० सिटजति आउनपर्दथ्यो भन्ने छ । तर के देखियो भने हामी माओवादीको भोट गठबन्धनका अन्य दलमा खास गरेर काँग्रेसमा, समाजवादीमा सबैतिर सजिलोगरी प¥यो । काँग्रेसको भोट त्यति सजिलैगरी हामीतिर सिफ्ट भएन कि, आएन कि भन्नेकुरा निर्वाचनको परिणामले देखाउँछ । यसको गहिरो विश्लेषण त पछि होला । तर फेरि कांँग्रेसको एउटा पक्षले काहीँ न काहीँ हामीलाई भोट नहाल्ने भनेर भनेको भन्नेकुरा काठमाडौं आएपछि त्यो जानकारी पाएँ मैले । एउटा पक्षले माओवादीलाई भोट नहाल्नु भनेर गर्ने, अर्कोतिर हाम्रो भोट जतिसक्दो पूरै लिने । एक खालको असामाञ्जस्यता जस्तो, आशंकाजस्तो उत्पन्न हुने वातावरण त बनेको छ निश्चित रुपले चुनाव पछि । आशंका त रह्यो, तर तोकेरै भन्न सक्नुहुन्छ काँग्रेसले भोट हालेन भनेर ? परिणामले त्यो देखाउँछ । किनभने मत हिसाब गर्दा माओवादीले ४० जति सिटमा जित्नुपथ्र्यो । आठ ओटा हाम्रो फुत्किए पनि भन्ने थियो । हामीले व्यवहारमै विश्लेषण गरेर ४० को हाराहारीमा हामी प्रत्यक्षमा आउँछौ । समानुपातिकमा हाम्रो भोट कति आउँछ त्यो हिसाबले पुरानो जुन पोजिशन थियो हाम्रो त्यो भन्दा यसपटक कम हुन्न भन्ने हाम्रो आँकलन । तर अहिले प्रत्यक्षमा झण्डै आधि भन्दा बेसिको फरक प¥यो । त्यो फरक मत कम भएको कारणले होइन कि मत सहज रुपले हामीतिर सिफ्ट भएन भन्ने कुरा देखिन्छ । किन तपाईहरुलाई भोट सिफ्ट भएन त ? माथिबाट केही न केही निर्देशन गयो । शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ । अहिले ठ्याक्कै प्रमाण त छैन । तर घटनाहरुले त्यस्तो देखाउँछ । काँग्रेसको संस्थापन पक्षले मुलतः इमान्दारी साथ भोट हाल्ने कोशिस गरेको देखिन्छ । तर फेरि अर्को समस्या के रहेछ भने काँग्रेस हाम्रो जस्तो क्याडरबेस पार्टी भएन । मासबेस पार्टी हो । मासमा जाँदाखेरी मासले आफ्नो किसिमले सोच्ने कुरा पनि भइहाल्यो । तर काँग्रेसको एउटा पक्षले माओवादीलाई जानि बुझिकन भोट नहाल, बरु अरुअरुसँग हातेमालो गर भन्ने दिशामा गएको हो कि भन्ने घटनाले त्यस्तो देखाउँछ । संसदमा नयाँ पार्टीहरुको उदय भएको छ, नयाँ पार्टीहरुको उदय हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ? नयाँ पार्टीहरु आउने कुरा नराम्रो होइन । प्रजातन्त्रको फूलबारी हो । यसमा सबै किसिमका फूलहरु फुल्न पाउँछन् । तर जनताले विश्वास गर्दा ति नयाँ पार्टीहरुको सिद्धान्त के हो ? राजनीति के हो ? कार्यदिशा के हो ? भोलि कहाँ लैजाने हुन् ? भन्ने कुरा हिसाव नगरीकन भोट हाल्ने जुन ट्रेण्ड देखिएको छ नेपालमा यो खतरनाक छ । किनभने हामीले उनीहरुलाई भोट हाल्ने भनेको त उनीहरुका नीति, कार्यक्रम माथि आधारित भएर हो । व्यक्तिको अनुहार हेरेर होइन । व्यक्तिको अनुहारले त धोका दिनसक्छ । लिखित प्रतिवद्धता, सिद्धान्त, राजनीति, कार्यनीति, अर्थनीति, परराष्ट्र नीति, नेपालको विकास सम्बन्धी उनीहरुको अवधारणा यि सबै कुरालाई विश्लेषण गरेर भोट हाल्नुको सट्टा नेपाली जनमानसमा सतही खालको फेसबुके विश्लेषणको आधारमा बहकिने जुन चिज देखिएको छ, यो राम्रो छैन । हामीले गर्व गथ्र्यौं, दश वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन देशमा आमुल परिवर्तनपछि जनताको चेतना ह्वात्तै माथि बढेको छ, भन्ने विश्लेषण हुन्थ्यो । तर अहिले के देखियो भने होइन रहेछ । हामी फेसबुकको वरिपरी नाचिरहेका छौँ । फेसबुकका राम्रा कुराका वरिपरि पनि नाचिरहेका छौँ । नराम्रा र भ्रमपूर्ण कुराहरुको वरिपरि पनि हामी नाचिरहेका छौँ । विषयको जरोसम्म पुगेर त्यो के हो भनेर पत्ता लगाएर आफ्नो अभिमत दिने भन्दापनि तत्कालिक क्षणिक आवेग, उत्तेजनामा निर्णय गर्ने कुराहरु केही मात्रामा हाबी भएको देखिन्छ । यो राम्रो कुरा होइन । जुन जनमत उनीहरुले पाएका छन् त्यो जनमत पाउनुमा हाम्रो जनमत बहकिने खालको छ, उत्तेजक नाराहरुमा केन्द्रित हुने खालको छ । र गाली गलौजलाई मन पराउने खालको छ । घण्टी भन्नुस् वा सिके राउत भन्नुस् उहाँहरुले मतदाताहरुलाई जे विषय दिइराख्नुभएको छ त्यो पुराना पार्टी र उनीहरुका केही कमी, कमजोरीहरुको उजागर गर्ने र एकोहोरो गाली गर्ने बाहेक उहाँहरुको आफ्नो के हो ? उहाँहरु के चाहानुहुन्छ ? भन्नेकुरा उहाँहरुले भन्न सक्नुभएको छैन । यस्तो अवस्थामा जनताले उहाँहरुलाई तिरस्कार गर्नुपथ्र्यो । तिम्रो आफ्नो नीति लिएर आउ । कार्यक्रम लिएर आउ । घोषणा लिएर आउ । सिद्धान्त लिएर आउ । तिमी के हौ ? तिमी दाहिने, देब्रे, दरबारिया, कम्युनिष्ट, काँग्रेस के हौ भन्ने कुरा प्रश्न गर्नुपथ्र्यो । त्यो नगरीकन उत्तेजनामा मतदान गर्ने जुन कुरा हो । त्यो राम्रो र स्वभाविक छैन । गठबन्धन कायम रहन्छ रहँदैन ? गठबन्धनको सरकार बन्छ कि बन्दैन ? सरकारको नेतृत्व कसको हुन्छ ? सरकारको नेतृत्वमा दाबी छ कि छैन ? गठबन्धन तलमाथि पार्ने बारेमा हाम्रो बीचमा कुनै छलफल भएको छैन । गठबन्धन यथावत नै रहला भन्ने हामी अनुमान गर्नसक्छौँ । एक दुई दिनमा हाम्रो बैठक बस्ला सबै परिणाम आइसकेपछि । त्यसबारेमा गम्भिरतापूर्वक छलफल होला । गठबन्धन तलमाथि हुन्छ भन्ने त देखिन्न । तर नेतृत्वको प्रश्नमा त एकचोटी यसमा खुलेरै छलफल गर्नुपर्ने हुन्छ । किनभने मतदाताहरुको अहिले कुरा के हो भने तिमी राजनीतिक नेताहरुको जीवन सुखमय हुने । आम जनताको जिवन नबदलिने किन भयो भन्ने एउटा प्रश्न पनि हो । नयाँ पार्टीमा मत जानुको कारण के पनि हो भने जीवन बदलिएन जनताको भन्ने कुरा पनि हो । यसको निम्ति हामीले शेरबहादुरलाई प्रयोग गरेर हे¥यौँ । शेरबहादुरबाट हुन्छ नयाँ किसिमले नेतृत्व गर्नुहुन्छ भन्ने पनि देखिन्न । काँग्रेस भित्र पनि आधा दर्जन मानिसको दाबी छ । हामीले हामी नेतृत्व गर्छौं भन्ने ठाउँमा पनि हाम्रो असाध्यै थोरै छ । यद्यपी हामी निर्णयात्मक छौँ । त्यो अवस्थामा यदी हाम्रो पार्टीले नेतृत्व गर्न पाउँछ भने, चुनावमा देखिएका जनताका आक्रोशहरु छन् । आलोचनाहरु छन् । गुनासा, बिरोधहरु छन् । यि सबै कुरालाई समेटेर देशको अवस्थालाई परिवर्तन गर्ने दिशामा जानको निम्ति हामी प्रतिवद्ध छौँ । माओवादीसँग जनताले आशा गर्ने कुरा पनि जायज छ । जनतालाई अहिले उठेको आक्रोशलाई शान्त पार्नको निम्ति हाम्रो नेतृत्व अपरिहार्य छ । काँग्रेस बाट या अरु कसैबाट यो कुरा सम्भव छैन । प्रचण्डको नेतृत्वमा सरकारमा जानका लागि तपाईहरुको दाबी हो ? यो त चुनाव अगाडीको पनि दाबी हो । अहिले पनि हाम्रो दाबी रहन्छ । तर हाम्रो दाबी यो हदसम्म हुन्न कि हामीले नेतृत्व पाए हुन्छ नत्र हुन्न भन्ने तहसम्म जान्न । किनभने नेपालजस्तो गरिव देशले तुरुन्तै अर्को मध्यावधि चुनाव घोषणा गर्न सम्भव छैन । त्यसैले अहिले आएको परिणामलाई जोगाएर हामी सरकार सञ्चालनमा, सरकार निर्माणमा त केन्द्रित हुनुपर्छ । तर यो कुरा सत्य हो, यो कुरा हामीले जनतालाई पनि भन्नुपर्छ कि माओवादीले कमसेकम १०÷१५ वर्ष नेतृत्व गर्न पायो र उसले देशको, जनताको जीवनको परिवर्तन गरेन भने बल्ल तपाईहरु माओवादीलाई डस्टबिनमा फाल्नुहोस् । हामी त्यो सजाय भोग्न तयार छौँ । तर माओवादीको राम्रोगरी प्रयोग नै भएको छैन सत्ताको सन्दर्भमा र जुन आक्रोश छ जनताको, जनताको आक्रोश जायज छ । तर यो कुरा सँगसँगै बुझ्नुप¥यो कि माओवादीले नेतृत्व गर्न पाएको छ कि छैन ? भन्ने कुरा हेक्का राखिदिनु प¥यो जनताले भन्ने कुरा हो मेरो । संसदीय अंक गणितमा नेपाली काँग्रेस बाहेकको सरकार हुने भयो भने तपाईहरु नेकपा (एमाले) सँग सत्ता सहकार्य गर्न तयार हो कि होइन ? अहिले नै हामीले त्यसबारेमा कुनै निर्णय गरेका छैनौँ । आज देशमा जुन अवस्था आएको छ, नयाँ शक्तिहरु सल्बलाएका छन् । परिवर्तन बिरोधी शक्तिहरु, गणतन्त्र मन नपराउनेहरु, संघीयता मन नपराउनेहरु सल्बलाइरहेका छन् । जुन नेपाली समाजमा आशंकाहरु उत्पन्न भएका छन् । त्यसको पछाडीको कारक तत्व त फेरि केपी ओली हो । उहाँलाई दुई तिहाइ बहुमतसहितको प्रधानमन्त्री हामीले बनाएका हौँ । त्यसलाई लगेर उहाँले विघटनमा हालिदिनु भयो । पार्टी विभाजनमा हालिदिनु भयो । त्यसकारण अहिलेको सन्दर्भमा फेरि उहाँसँग सहकार्य गरेर जान्छौँ कि जान्नौँ भन्ने बारेमा त यो पार्टी भित्रको छलफल, बहस र प्रस्तावको विषय हुनसक्छ । हुँदै हुन्न भन्नेकुरा पनि भएन । एउटा छलफलको विषय हुनसक्छ, तर आजसम्म पार्टीको जुन स्प्रिट छ, निर्णय छ, यसले ओलीसँग एकता गरेर जान दिन्न । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो शक्ति, निर्णायक शक्तिको रुपमा आएको देखिन्छ, यसलाई कसरी बुझ्ने ? राप्रपा आउनुको पछाडी त म ओलीजिलाई जोड्छु । यतिका सिट लिएर राप्रपा सदनभित्र आउनुको पछाडी ओलीजीले जुन काँधमा बोकेर हिँड्नुभयो राप्रपालाई । राजेन्द्र लिङदेन र कमल थापालाई बोकेर हिँड्नुभयो । त्यसमध्येका केही मान्छेहरु छचल्किएर आएका हुन् । आफ्नो तागत, आफ्नो बलबुताबाट आएका होइनन् । ओलीजिले यसको जिम्मा लिनुपर्छ । फेरि गणतन्त्र, संघीयता, धर्म निरपेक्षताले जुन खालको जनतालाई डेलिभरी दिनुपथ्र्यो, जनताको जीवनमा परिवर्तन हुनुप¥यो भन्ने जनताको माग जायज छ । तर यसो हुन नसक्नुको कारण गणतन्त्र, धर्मनिरपेक्षता, सहभागितामूलक र समानुपातिक राज्य व्यवस्था हो । केही ठालुहरुले मात्रै शासन गर्न पाउनुपथ्र्यो । दलित, जनजाति आदि इत्यादिलाई ल्याएर बिग्रियो । या संघीयतामा गएर बिग्रियो भन्ने कुरा बेठिक हो । जनतालाई डेलिभरी दिन ग्याप भएको । अलिकति परम्परागत किसिमले हामी चलेको । पुराना बन्धनहरुलाई तोडेर नयाँ किसिमले जान नसकेको कुरा साँचो हो । त्यसो भएको हुनाले जनताको गुनासाहरु साँचो हुन् । तर परिवर्तन बिरोधी शक्तिको हाबी भइराखेका छन् । त्यो त केपी ओलीले बोकेर ल्याउनुभएको हो । त्यसो उहाँले किन गर्नुभयो । त्यसको जवाफ त उहाँले नै दिनुहोला । मुलरुपमा जे जति शक्तिमा उनीहरु आएपनि यसको सुन्दरता नै यही हो । हिजो राजाका बिरुद्ध एउटा नारा लगाउँदाखेरी कयौँ पटक गिरफ्तार हुने, जेल पर्ने मान्छे हामी हौँ । सारा देशका हजारौँ मान्छेहरु हुन् । राजतन्त्रको बिरुद्ध बोल्नुपर्दा मर्नुपर्ने हाम्रा कयौँ साथीहरु हुन् । तर आज राजतन्त्रवादीहरुले के बुझ्नुपर्छ भने यो यस्तो व्यवस्था हो जहाँ आएर राजा पनि माग्न पाइन्छ । सुदूरपश्चिम प्रदेशमा (माओवादी केन्द्र) क्लिनस्वीप भयो, मधेस प्रदेशमा एक सिट मात्रै आयो, सुदूरपश्चिम र मधेस प्रदेशमा पार्टी किन कमजोर ? नढाँटीकन भन्दा यो कुरा बाहिर मिडियामा पनि आएको छ । मधेसमा विभिन्न गुटहरुको पार्टी भित्रमै खुट्टा तानातानले त्यहाँ पु¥याएको भन्ने एउटा तर्क छ । माओवादीलाई भोट नहाल भन्ने काँग्रेसभित्रको एउटा पाटोले पनि त्यहाँ काम ग¥यो भन्ने देखिन्छ । त्यहाँ हाम्रो पार्टी सुव्यवस्थित रुपमा नचलेको । किनभने सबभन्दा धेरै उत्पीडन भएको ठाउँ मधेस हो । गरिव र धनीको धेरै ठूलो खाडल भएको ठाउँ पनि मधेस हो । त्यसो हुँदा सबभन्दा बलियो कम्युनिष्ट पार्टी निर्माण हुनसक्ने ठाउँ मधेस हो । तर त्यहाँ आपसी मनमुटावहरु एकातिर । अर्कोतिर काँग्रेसको एउटा पाटोले भोट नहाल माओवादीलाई भन्ने सन्देशको प्रभाव यि सबै कारणले त्यहाँको अवस्था त्यस्तो भएको हो । सुदूरपश्चिममा, हाम्रो पार्टीले पाँच वर्ष त्यहाँ सरकार सञ्चालन गर्दाखेरी कति राम्रो कति नराम्रो ग¥यो मसिनो गरी मैले बुझेको छैन । तर जनअपेक्षा अनुसार त्यहाँ काम हुन सकेन । परम्परागत रुपले नियमअनुसार त काम भयो तर जनअपेक्षा अनुसारका केही कामहरु हामीले शुरुवात गरिदिनुपथ्र्यो । त्यो काम गर्न नसक्नुको परिणाम सुदूरपश्चिमको होला । सुदूरपश्चिमको पार्टीको आन्तरिक मामिला सबै मैले मसिनोगरी बुझेको छैन । तर यो दुर्भाग्यपूर्ण छ । सुदूरपश्चिम हाम्रो आधार हो । त्यहाँ हामीले पाँच वर्ष सरकार सञ्चालन ग¥यौँ । तर परिणाम आउँदा जिरोमा आउने वा मधेस जहाँ वर्ग संघर्षको केन्द्र हुनसक्छ । आजको सन्दर्भमा नेपालमा कम्युनिष्ट पार्टी सबभन्दा बलियो हुने ठाउँ त्यहाँ हो । त्यहाँ हाम्रो उपस्थिति कमजोर हुने कुरा दुर्भाग्यपूर्ण छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संख्याका कारण संसदमा अस्थिरता आउने हो कि भन्ने आशंकाहरु उब्जिएको विश्लेषण सुनिन्छ, यहाँको भनाई के छ ? संसदको अहिलेको अंक गणितले यसको पूर्ण कार्यकालमा कस्तो असर पार्ला ? पुरानो पाँच दलिय गठबन्धनले निरन्तरता पायो र सरकार निर्माणमा गयो भने यो पाँच वर्ष जान्छ । पाँच वर्ष जाने भनेको एकै जनाको नेतृत्वमा नभएर दलहरुको बीचमा केही समय नेतृत्व परिवर्तन गरेर भएपनि पाँचै वर्ष जान्छ र जानुपर्छ । नेपालजस्तो देशले हरेक वर्ष मध्यावधि चुनाव गरेर खर्बौं रुपैयाँको व्ययभार व्यहोर्न सक्दैन । त्यसकारण पनि यसलाई पाँच वर्ष लैजानुपर्छ । धेरै पार्टीको उपस्थितिले राम्रै पनि गर्नसक्ला । सबैको उपस्थितिले सकारात्मक विषयहरु, जनताका विषयहरु सदनभित्र उठ्छन् । जनताको संसदप्रतिको आशा बढेर जानपनि सक्ला । त्यो लडाईंमा हामीले आफूलाई सही साबित गर्ने चुनौती त छँदैछ । तर गठबन्धन राम्रोगरी नहुने, दलहरु भित्र आपसी खिचातानि तिब्र हुने, दलहरु अझ थप विभाजित हुँदै जाने र देश अझ अन्यौलता, अस्थिरतातिर जाने पनि हुनसक्छ । त्यसो हुन नदिनका लागि हाम्रो पार्टी निश्चित रुपले प्रतिवद्ध छ । हामीले हाम्रो पार्टीको हीतको कारणले सदनलाई तलमाथि हुन दिने र तुरुन्तै मध्यावधिमा देशलाई धकेल्ने दिशामा जाँदैनौँ । त्यसप्रति हामी प्रतिवद्ध छौँ ।

निफ्राको लेखापरीक्षकको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को लागि श्री एमजीएस एण्ड एशोसियटस्, चार्टर्ड एकाउण्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई मंसिर १० गतेसम्पन्न बैंकको चौंथो वार्षिक साधारण सभाले स्वीकृत गरेको छ । यससँगै सो कार्यको लागि निजको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । उक्त पारिश्रमिक कर सहित भएको बैंकले जानकारी गराएको छ ।

बुद्धले माग्यो पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा, सातामा ३०० उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङका लागि अनुमति माग गरेको छ । जनवरी १ देखि सञ्चालनको तयारी भएको उक्त विमानस्थलमा बुद्धले आन्तरिक तथा बाह्य उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणसँग ग्राउण्ड ह्याण्डलीङको अनुमति माग गरेको हो । बुद्धले सोमबार एक विज्ञप्ती जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलीङ कार्यको प्रस्ताव नेपाली नागरिक उड्डयन प्राधिकरणलाई बुझाइसकिएको जनाएको छ । यसअघि, आफ्नो उडान गन्तव्यको ग्राउण्ड ह्याण्डलिङ आफैले गरेको भन्दै बुद्धले सञ्चालनको तयारी थालिएको पोखरा विमानस्थलको समेत ग्राउण्ड ह्याण्डलिङको अनुमति माग गरेको छ । बुद्धले ग्राउण्ड ह्याण्डलिङका लागि आफूसँग लामो समयको अनुमव र पर्याप्त जनशक्ति रहेको समेत दाबी गरेको छ । जनवरी १ गतेदेखि पोखरा विमानस्थलबाट उडानको सम्पूर्ण तयारी थालिएको भन्दै बुद्धले दैनिक ५ वटा विमान रात्री पार्किङ गरी ३०० उडान गर्ने कार्यतालिका नै बनाएको छ । जसमा दैनिक नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुर विमानस्थमा आन्तरिक उडान गर्ने र अन्तर्राष्ट्रिय तर्फ साताको तीन दिन भारतको बनारस उडान भर्ने बुद्धले जनाएको छ । यसैगरि, बुद्धले सम्बन्धित निकायमा साताकाे दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि निवेदन पेश गरिसकिएको जनाएको छ ।

बझाङका विद्यार्थीलाई विद्यालय जाँदा आउँदा बाटोमा ६ घण्टा बिताउनुपर्छ

बझाङ । दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे । गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ । उनलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उनले ८ कक्षा उत्तीर्ण गरे त्यसपछि उनको दौडाइ सुरू भयो । गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । ‘२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ’, उनले भने, ‘रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।’ गोरङका प्रकाश मात्रै होइन, उनीजस्तै धेरै विद्यार्थीको दैनिकी एउटै छ । बिहान स्कुल लाग्दा ४ बजे र दिउँसो स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ । लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो । छोटा दिन हिउँदेयामा भने निकै समस्या पर्छ । गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्ट भनिन्, ‘लामो दिनमा त उज्यालोमै घर पुगिन्छ । छोटा दिनमा भने राति पर्छ । सबै सँगै आउनलाई कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ ।’ टाढाको बाटो हुँदा एक्लै हिँड्न नसकिने उनले बताइन् । उनका अनुसार ८ कक्षा पास भएका विद्यार्थी सबै स्कुल जाँदैनन् । ‘टाढा भएकै कारण केटा इन्डिया भारत जाने त केटीहरू बिहे गरेर जाने सङ्ख्या बढी छ । केही विद्यार्थी पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षा केन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन्,’ उनले भनिन् । उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए तर, अहिले ९ कक्षा पढ्न रिम जाने नौ जना मात्रै छन् । ‘यसमध्ये पनि दुई/चार जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्’, उनले भनिन्, ‘घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ । घरमा बढी मान्छे हुने त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ ।’ विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षा केन्द्रमै पढ्न जान्छन् । धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन । गोरङका विद्यार्थीलाई अढाइदेखि तीन घण्टा समय हिँड्नैपर्छ । भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि सोही विद्यालय पढ्न थालेका हुन् । नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि सोही विद्यालय पढ्न गएको उनले बताए । ‘गोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ’, उनले भने, ‘रिम, धामीगाउँ जता गए पनि पाँच/छ घण्टा बाटोमै बिताउनुपर्छ । दिनभरि हिँडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन । घर पुग्दा अँध्यारो हुन्छ । खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ ।’ त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन । वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहने विद्यालय अभावले नै विस्थापित भइरहेका थिए । ‘नौ वर्षअघि रिम पढ्न जाँदा हामी छ जना मात्रै थियौँ’, पूर्वविद्यार्थी सुनिता विष्टले भने, ‘१२ जना कक्षा ८ मा उत्तीर्ण भएका थियौँ, तर, रिम पढ्न जाने छ जना मात्रै भयौँ । स्कुल नजाने चार जना केटाले बिहे गरेर भारततिर गए भने दुई जना केटी बिहे गरेर गए ।’ उनका अनुसार उनीसँगै विद्यालय जाने छ जना पनि पछिल्लो वर्ष तीन जनामै झरे । ‘घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अधेरी बन्यो ।’ उनी सम्झिन्छन् । नजिकै शैक्षिक संस्था भए सबै शिक्षित हुने उनले बताए । ‘गाउँमै विद्यालय भएको भए अशिक्षित कोही हुनुपर्ने थिएन’, उनी भन्छन्, ‘विद्यालयकै कारणले यहाँका शिक्षित परिवार विस्थापित भइसकेका छन् । अरू सर्वसाधारणको त के कुरा ।’ गोरङका सर्वसाधारण ८ कक्षा पास गरेपछि पढाइ सकिएको सम्झिने गरेको उनी बताउँँछन् । दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताए । ‘बालबालिकालाई निकै टाढा छ’, उनले भने, ‘यो सबै भौगोलिक बनावटले हो । गाउँगाउँमा विद्यालय राखेर पनि साध्य हुँदैन । गाउँहरू निकै टाढा–टाढा छन् । त्यो ठाउँबाट विद्यार्थीले हिँडेर आउनुपर्छ । ठूलो मान्छेलाई नै डेढ दुई घण्टा लाग्ने ठाउँमा बालबालिकालाई बढी समय लाग्नु स्वभाविक हो ।’ विद्यालयमा छात्रावास किन नबनाएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले छात्रावास छैन । यसका लागि हामीले पटकपटक छलफल पनि गरेका हौँ । के–के नमिलेर त्यस्तै भयो ।’ उनका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन् । ‘तिनै विद्यार्थीको सजिलोका लागि अब आउँदो शैक्षिक सत्रदेखि लागि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौँ । नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाइसमेत सुरू हुन्छ ।’ उनले भने । त्यसपछि ‘एसइई’ उत्तीर्ण भएर मात्रै ‘प्लस टू’ पढ्न रिम आउनुपर्ने उनले बताए । अहिले दोगडाकेदार गाउँपालिकामा एउटा क्याम्पस छ । गोरङकै विद्यार्थीले पढ्न जाने हो भने झण्डै सात घण्टा हिँडेर खोचलेकमा क्याम्पस पढ्न जानुपर्छ । भौगोलिक बनावटले पछि टाढाका विद्यार्थीलाई निकै समस्या हुने गरेको उनले बताए । गाउँपालिका अध्यक्ष कार्कीका अनुसार टाढाबाट आउने विद्यार्थीका लागि क्याम्पस पढ्न सजिलोका लागि छात्रावासको व्यवस्था गर्ने सोच बनाएको उनले जानकारी दिए । रासस