दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो । त्यसैगरी सोही गाउँपालिका-६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगले गत मङ्सिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएकाले उक्त मतदान रद्द गरी मङ्सिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गराउन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको हो ।
निटफेस्टमा नाटक मञ्चनसँगै अन्तरक्रिया
काठमाडौं । यही मङ्सिर ९ गतेदेखि काठमाडौंमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२’ चलिरहेको छ । नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना भइरहेको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नारा दिइएको महोत्सवमा आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’ र रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भयो । क्याटी बेक निर्देशित अङ्ग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेख्नुभएको हो । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात शरणार्थीका रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत गरिएको छ । यस्तै मञ्चन भएको दोस्रो नाटक कोन्द्रातोएभा क्रिष्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ थियो । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो । आइतबारै साँझ नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत गरे । नाटकको चौँथो दिन आज भने दुई नेपाली प्रस्तुति मञ्चनसँगै कार्यशाला तथा प्यानल डिसकसन हुँदैछ । केही महिनाअघि मञ्चन भएको नाटक ‘खुवालुङ’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । नाटकसँगै ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला र ‘काठमाडौँबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुँदैछ । यसमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तक्र्रिया गर्नेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।
मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी एमाले अगाडी बढ्छ : विष्णु पौडेल
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकि रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन् । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरुमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ‘मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ हाम्रो पार्टी निर्वाचनमा गएपनि सोही अनुसारको जनादेश प्राप्त हुन सकेन, तर जति प्राप्त प्राप्त जनादेश छ त्यसको सम्मान गर्दै अघि बढ्छौं,’ उनले भने । उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ का आम मतदाताको सम्मान गर्दै उनीहरुको समृद्धिका लागि आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
सनवे कलेजले हल्ट प्राइज आयोजना गर्दै
काठमाडौं । सनवे कलेजले यो वर्ष पनि हल्ट प्राइज प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले यो कार्यक्रम आयोजना गर्न लागेको यो तेस्रोपटक हो । कलेजले आवेदकहरुमध्येबाट एक विद्यार्थीलाई हल्ट पुरस्कारको प्रतिनिधिको रुपमा छनोट गर्नेछ । यस वर्ष सनवे कलेजले कार्यक्रमको नेतृत्व गर्न सनवेका विद्यार्थी उदितकुमार महतोलाई क्याम्पस निर्देशक नियुक्त गरेको छ । महतोले आयोजक समिति छनोट, योजना सत्र र मेन्टरशिप, मिडियासँग साझेदारीलगायतका काम गर्नेछन् । त्यसपछि विद्यार्थीहरुको विचार प्रस्तुत गर्नका लागि आयोजक समितिले समूह दर्ता गर्नेछ । ती समूहलाई विभिन्न सत्रहरू, कार्यशालाहरू र तालिममा सहभागी गराइनेछ । अन्तिममा निर्णायकले दिएको अंकका आधारमा अन क्याम्पस कार्यक्रमको विजेता घोषणा गरिनेछ । यसरी घोषित भएका विद्यार्थी क्षेत्रीय अर्थात् सेमीफाइनल प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । हल्ट पुरस्कार एक प्रतियोगिता हो । यसमा १२० देशमा १ लाख विद्यार्थीहरुलाई संयुक्त राष्ट्र दिगो विकासका लक्ष्य प्राप्तीका वार्षिक चुनौतीलाई सम्बोधन गर्न सक्ने प्रभावकारी स्टार्टअपहरू सिर्जना गर्न लगाइन्छ । फाइनलमा पुगेका विद्यार्थीहरुले विभिन्न चरणहरू (क्वालिफायर, क्वार्टरफाइनल, सेमिफाइनल, ग्लोबल एक्सेलरेटर र ग्लोबल फाइनलहरू) मार्फत आफ्नो स्टार्टअपलाई निर्णायकसामु पेश गर्छन् । निर्णायकले एउटा समूहलाई विजेता घोषणा गर्छन् र उक्त विजेता समूहले १० लाख अमेरिकी डलर कोष प्राप्त गर्छ ।
प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषका महेश खनाल
काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । खनाल कोषका कार्यवाहक प्रमुख प्रबन्धक हुन् । यसअघि उक्त कोषबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएका थिए ।
एनआईबिएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्सबीच लगानी सम्झौता
काठमाडौं । एनआईबिएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेटकाबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एचडिएमएलको तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलले एचडिएमएलमा केही न्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । एचडिएमले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा मेडिकल लगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । कम्पनीले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ । साथै, देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरू लाई बजारमा ल्याउने योजना कम्पनीको रहेको छ ।
धनकुटाको मूलघाट केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प गयो
धनकुटा । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।
अबको चितवन : रोकिन सक्छ आर्थिक राजधानीको एजेण्डा, घट्न सक्छ जग्गाको मूल्य
काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचनले चितवन जिल्लाको राजनीतिक समिकरणलाई नै बदलिदिएको छ । चितवन जिल्लामा सिर्जना हुँदै गरेको नयाँ राजनीतिक समिकरणले आगामी दिनमा चितवनको विकासको गति नै घट्ने अनुमान धेरैको छ । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनको निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका सुरेन्द्र पाण्डे, २ बाट एमालेका कृष्णभक्त पोखरेल र ३ बाट माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए । आजसम्मको मतगणनामा आएका नतिजा र अग्रताको अवस्थालाई हेर्दा फेरि पनि मुलुकमा पुरानै ठूला राजनीतिक दलहरुको दबदबा रहने प्रायः निश्चित छ । तर, चितवन जिल्लाका मतदाताले आगामी संसदमा कमजोर उपस्थिति रहने पार्टीलाई विजयी गराएका छन् । विगत ५ वर्षमा संघीय सरकारको तहबाट भएको बजेट विनियोजनको प्रवृत्तिलाई हेर्दा विशेषगरी राज्यसत्तामा पहुँच भएको क्षेत्रमा बढी बजेट विनियोजन भएको देखिन्छ । केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको दुबै सरकारले झापा, चितवन र डडेल्धुरालाई बजेट विनियोजनमा प्राथमिकतामा राखे । जसमा केही सांसदहरुले संसदमा नै पहुँच बमोजिम बजेट विनियोजन गर्ने प्रवृत्तिको विरोध समेत गर्दै आए । पछिल्लो ५ वर्षमा प्रचण्ड, सुरेन्द्र पाण्डे र रेणु दाहालको चितवनमा भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो विकास भएको छ । प्रचण्डले चितवनलाई मुलुककै आर्थिक राजधानीका साथै विकासको मोडेल नै बनाउने घोषणा गरेका थिए । भरतपुर महानगरको विकासमा काम गरेकै कारणले गत बैशाखमा भएको निर्वाचनमा रेणुले लोकप्रिय मत ल्याएको धेरैको बुझाई छ । गत कात्तिक २ गते मात्रै सडक विभागले नारायणी नदीमा सिग्नेचर पुल निर्माणको लागि डिजाइन ठेक्का आह्वान गरेको छ । भरतपुर महानगरले नारायणी नदीको व्यवस्थापन र सौन्दर्यकरणको लागि गुरुयोजना बनाएर संघीय तहका ३ वटा मन्त्रालयलाई जोडेर अर्बौं लगानीको वातावरण निर्माण भइरहेको छ । भरतपुरको शहरी क्षेत्रमा ढल व्यवस्थापनको लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले करिब २ अर्बको लगानीमा आगामी वर्षदेखि काम शुरु गर्ने योजना बनाएको छ । माडी क्षेत्रमा विगत ५ वर्षमा संघीय स्तरबाट विद्युतीकरण, तटबन्धन, प्राविधिक क्याम्पस, सहरी विकास लगायतका क्षेत्रमा झण्डै अर्ब बढीका कार्यक्रम परेका थिए । लोथरदेखि सौराहासम्मको आरसीसी प्याक तठबन्धन, पूर्वी चितवन रिङरोड, जंगली क्षेत्रमा आरसीसी वाल, सौराहा भवन निर्माण, अस्पतालहरु र सडक लगायतका अरबौं लगानीका थुप्रै योजनाहरु प्रचण्ड र सुरेन्द्र पाण्डेको केन्द्रीय पहुँचबाट अगाडि बढेका छन् । मंसिर ४ गते भएको निर्वाचनमा चितवन जिल्लामा भएका ३ वटा निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को नतिजा आएको छ । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेले नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेल र एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका छन् । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राप्रपाका बिक्रम पाण्डे विजयी भएका छन् । मतदानमार्फत मतदाताहरुले शुसासनको विषयलाई सचेत गराएको भएपनि केन्द्रीय राजनीतिमा पुरानै राजनीतिक दल र सदस्य समूह दोहोरिने भएकाले अर्थतन्त्रको सञ्चालन गर्दा शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमा ठूलो परिवर्तन नआउन सक्छ । त्यसैले अनुमान गर्न सकिन्छ की त्यसको प्रत्यक्ष प्रभाव चितवनको आगामी विकासमा पर्ने निश्चितप्रायस् छ । नेपालको राजनीतिमा पहुँचको दुरुपयोग गरेर विकास गर्ने प्रवृत्ति लामो समदेखिको समस्या रहेको र आगामी दिनमा पनि त्यसको प्रभाव रहने अर्थराजनीतिक विश्लेषक विश्वास गौचन बताउँछन् । ‘पञ्चायतकाल देखि नै यस्तो प्रकारको समस्या रहँदै आएको छ, अहिलेसम्म हेर्दा खासै परिवर्तन भएको जस्तो लाग्दैन’, गौचन भन्छन्, ‘कतिपय राष्ट्रिय गौरवको योजनामा समेत त्यसको प्रभाव परेको देखिन्छ ।’ आम मतदाताले नै कसले योजना ल्याउन सक्छ भनेर हेर्ने गरेको उनको भनाइ छ । ‘आफ्नो घरअगाडि बाटो आउँछ की आउँदैन, खानेपानी आउँछ कि आउँदैन भनेर मतदान गर्ने शैली छ’, उनले भने, ‘जुन नेताको स्रोतमा पहुँचमा छ त्यसलाई निर्वाचित गर्ने र स्रोतमा पहुँच नहुनेलाई निर्वाचित नगर्ने स्थिति छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पुरानै दलहरुको नेतृत्वमा सरकारमा सहभागी नहुने संकेत गरेका छन् । यदि त्यसो हुन पुग्यो भने चितवनका २ वटा निर्वाचन क्षेत्रमा नियमित बाहेक नयाँ आवश्यकता र चाहनाको विकास क्षेत्रमा बजेटको पैरवी गर्ने नेतृत्वको नै अभाव हुन पुग्छ । त्यस्तै, चितवन क्षेत्र नम्बर ३ बाट संसदमा प्रतिनिधित्व गर्ने बिक्रम पाण्डेको सत्तामा स्वभाविक हिसाबले पहुँच नै कम हुन पुग्छ । जसले गर्दा सो क्षेत्रमा पनि विकासको पैरवी गर्ने पहुँच सम्पन्न व्यक्ति आगामी संसदमा हुँदैन । पछिल्लो समयमा विकासको ‘भाइब’ पैदा हुन खोजिरहेको चितवनमा अहिलेको चुनावसँगै सत्ता पहुँचको कमी हुन जाने हुँदा त्यसको प्रभाव सम्पूर्ण चितवन क्षेत्रमा पर्ने देखिन्छ । विश्लेषक गौचनले चितवनमा फेरिएको शक्तिसन्तुलनले आगामी दिनमा त्यहाँको विकासमा केही प्रभाव पर्न सक्ने बताउँछन् । ‘ठूला नेताहरुले नै त्यो क्षेत्रबाट प्रतिनिधित्व नगर्ने भइसकेपछि केही परिवर्तन होलाकी भन्ने लाग्छ’, उनले भने । गौचनले भरतपुर महानगरमा रेणु दाहाल भएको हुँदा भने सो क्षेत्रमा केही सहज हुनसक्ने बताए । साथै गठबन्धनबाट निर्माण हुने सरकारमा साना दलको पनि महत्वपूर्ण भूमिका रहन सक्ने गौचनको भनाइ छ । चितवनबाट नेताहरुको बहिर्गमनसँगै सो क्षेत्रमा राष्ट्रिय स्तरका आयोजनाहरुको पहलमा कमि आउन सक्छ । साथै ठूला स्तरका सडक विस्तार, सार्वजनिक क्षेत्रहरुको विकास र संस्थागत विकासको गतिमा कमि आउनसक्छ । आर्थिक विकासका मुख्य कार्यक्रमहरुको सञ्चालनमा कमि आउने वित्तिकै सोसँग जोडिएर अगाडि बढ्ने उत्पादन, रोजगारी र आम्दानीमा पनि स्वभाविक रुपमा कमि हुन जान्छ । जसले गर्दा तुलनात्मक रुपमा मानिसहरुले गर्ने पैसाको प्रवाहमा हुने नकारात्मक प्रभावका कारणले गर्दा चितवनमा उच्च तहमा पुगेको जग्गाको मूल्यमा पनि त्यसको असर पर्ने अनुमान विश्लेषकको छ । साथै नेपालमा नै विकासको हबका रुपमा लिन थालिएको चितवनको विकासको गतिमा कमि आउनसक्ने अनुमान गरिएको छ । राजनीतिक विश्लेषक अच्युत वाग्लेले भने सांसदहरु नीति निर्माणको लागि निर्वाचित भएको हुनाले अहिले स्थापित गरिएको भाष्य नै गलत भएको बताएका छन् । चितवनको सन्दर्भमा सत्तामा लामो समयदेखि पहुँच भएका व्यक्तिहरु बाहिरिए पनि विकासको गतिमा प्रभाव नपर्ने उनको बुझाई छ ।