बैतडी जिल्ला अस्पताल बन्यो प्रदेशकै उत्कृष्ट
बैतडी । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले बताए। वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अंक ल्याएको थियो । सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अंक ल्याउँदै प्रथम हुन सफल भएको हो । विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अंक दिइएको जनाइएको छ । प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै प्रथम हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर श्रेष्ठले बताए। न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउनेतर्फ लाग्ने अस्पतालले जनाएको छ ।
टेस्लाको पहिलो इलेक्ट्रिक ट्रक : डिजेल ट्रकभन्दा ३ गुणा बढी शक्तिशाली
एजेन्सी । टेस्लाले आफ्नो इलेक्ट्रिक सेमी ट्रकको बिक्री सुरु गरेको छ। यो ट्रक सडकमा चल्ने कुनै पनि डिजेल ट्रकभन्दा ३ गुणा बढी शक्तिशाली रहेको कम्पनीको दाबी छ । ट्रक ९७ किमी प्रतिघण्टाको दरले दौडिन सक्छ । यसको ब्याट्री करिब ८ सय ५ किलोमिटर दौडिनको लागि पर्याप्त रहेको छ । यो ट्रकको मूल्य न्यूनतम डेड करोड डलर रहेको छ । पहिलो ट्रक पेप्सीलाई कम्पनीका सीईओ एलोन मस्कले नेभाडाको स्पार्क्सस्थित कम्पनीको गिगाफ्याक्ट्रीमा आयोजित एक कार्यक्रममा सफ्ट ड्रिङ्क कम्पनी पेप्सीलाई पहिलो ट्रक डेलिभरी गरेका थिए । पेप्सीले डिसेम्बर १९१७ मा टेस्लासँग १ सय ट्रकहरू अर्डर गरेको थियो । जब टेस्ला सेमी पहिलो पटक एक कार्यक्रममा पदर्शन गरिएको थियो । यो ट्रक २०१९ बाट डेलिभरी गर्ने भनिए पनि कोरोनाका कारण ढिला भएको बताइएको छ । ट्रकको भविष्य टेस्लाले सेमीलाई ट्रकिङको भविष्यको रूपमा वर्णन गरेको छ। कार्यक्रममा मस्कले भने, ‘तपाईं यसलाई चलाउन चाहनुहुन्छ। यो वास्तवमा सामान्य कार चलाउनु जस्तै हो, ट्रक चलाउनु जस्तो होइन।’ अगाडिको राम्रो दृश्यका लागि यस ट्रकमा विशेष प्रकारको ड्राइभर सिट बनाइएको छ । त्यहाँ दायाँपट्टि कपहोल्डरहरू र वायरलेस फोन चार्जरको व्यवस्था गरिएको छ, साथै दुबै छेउमा ठूलो स्क्रिन राखिएको छ । यसबाहेक ट्रकमा डिजाइज गरिएको आर्किटेक्चरले दुघर्टना समेत कम गर्ने दाबी कम्पनीको रहेको छ । ट्रकलाई ब्रेक लगाउँदा उत्पन्न हुने शक्तिमार्फत पनि ब्याट्री चार्ज हुने सिस्टम जडान गएिको छ । डेमलर, भोल्भो, पिटरबिल्ट र बिवाइडी जस्ता प्रमुख उपकरण निर्माताहरूले पनि आफ्नै इलेक्ट्रिक लङ्ग-होलरमा काम गरिरहेका छन्। यद्यपी विद्युतीय सवारीसाधनको व्यापक प्रयोग अगाडि ठूला चुनौतीहरू छन्। यसमा धेरै सामान बोक्ने क्षमता देखि लिएर सुविधाजनक चार्जिङ स्टेशनहरूको उपलब्धतासम्मका चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ।
घाटापूर्ति गर्न आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ । ‘मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर दुई सय ७७.०२ घाटा भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब तिर्न बाँकी छ ।’ ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड नाफा हुने निगमले जनाएको छ । ‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंमा मङ्सिर २३ देखि हस्तकला व्यापार मेला हुने
काठमाडौं । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो । काठमाडौं उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ । धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको प्रदर्शनीका साथै हस्तकलासम्बन्धी प्रतियोगितासमेत गराइने मेलामा उत्कृष्ट प्रतियोगी छनोट तथा पुरस्कृत गरिने संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिए । प्रविधिको विकाससँगै नेपाली मौलिक तथा परम्परागत कला लोपोन्मुख बन्दै गएको अहिलेको अवस्थामा ती कला, संस्कृतिको संरक्षण गर्न देशभर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए। हस्तकलाकाका विभिन्न वस्तु तथा गरगहनालगायत सामग्रीको माग विदेशमा बढेकाले परराष्ट्र मन्त्रालयमार्फत विदेशी दूतावास तथा नियोगमा पत्राचार गरी कूटनीतिज्ञलाई मेलामा सहभागी हुन आमन्त्रण गरिने आयोजकले जनाएको छ । काठमाडौंका विभिन्न ठाउँबाट प्रदर्शनीस्थल बौद्धस्थित ह्यात होटलसम्म निःशुल्क साझा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाइएको छ । मेलामा करिब एक सय ५० बिक्री कक्ष रहने जनाइएको छ ।
माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम नेपालमा शुरु
काठमाडौं । माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम शुरु गरेको छ । आइसिटी अवार्डसँगको सहकार्यमा शुक्रबार माइक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम शुरु गरेको हो । शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको विशेष सार्वजनिक कार्यक्रममा २ सय बढी स्टार्टअप लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विश्वका २०० बढी देशमा सफलतापूर्वक शुरु भइसकेको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम स्टार्टअपलाई प्रवर्द्धन गर्न नेपालमा शुरु गरेको माइक्रोसफ्टले जनाएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै माइक्रोसफ्टका लागि बंगलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसिफ फारूकले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पु¥याउन फाउन्डर्स हबले सहयोग गर्ने बताए । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा सहभागी भएर त्यसको फाइदा उठाउन समेत फारूकले आग्रह गरे । त्यस्तै माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए । उक्त कार्यक्रममा माइक्रोफ्टको स्टार्टअप्स फाउन्डर्स हबमा आवद्ध भएका वेद एप र डिजिटल एज नेपालले पनि आफ्नो सफलताको कथा सबैमाझ साझा गरेका थिए । उनीहरूले सफलताको कथा प्रस्तुत गर्दै आफ्नो स्टार्टअपको सफलतामा फाउन्डर्स हब कार्यक्रमले सहयोग गरेको बताए । त्यस्तै, कार्यक्रममा माइक्रोसफ्ट एजुरे बारे माइक्रोसफ्ट सेक्युरिटी स्पेसियलिस्ट पशान्त देवाजुले वर्कसप सञ्चालन टेक्निकल सेसन सञ्चालन गरेका थिए । माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए । कार्यक्रममा इन्फोडेभलपर्स आइसिटी अवार्डका २०२२ मा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र आईडियाले आफ्नो कथा र अहिलेसम्मको यात्रा शेयर गरेका छन् । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम माइक्रोसफ्टको नयाँ, सिमाबिहिन र महत्वकांक्षी परियोजना हो । यसले स्टार्टअप संस्थापकहरूको आईडियालाई वास्तविक दुनियाँमा ल्याउन सहयोग गर्ने गर्ने छ । फाउन्डर्स हबबाट माइक्रोसफ्टले स्टार्टअपलाई डेढ लाख बराबरको एजुरे क्रेडिट, माइक्रोसफ्ट ३६५, गिटहब इन्टरप्राइज, भिजुअल इन्टरप्राइज, लिङ्कडीन क्रेडिट लगायतको सुविधा पाइने छ । यसका साथै फाउन्डर्स हबमा आवद्ध भएका आईडियाले मेन्टरसीप र विज्ञको सल्लाह सुझाव समेत पाउने मानन्धरले जानकारी दिएका छन । फाउन्डर्स हब कार्यक्रममा आवद्ध हुन सफ्वेयरमा आधारित प्रडक्ट तथा सेवा हुनुपर्ने, प्राइभेट हुनुपर्ने र प्रफिट बिजनेस हुनुपर्नेछ । शैक्षिक संस्था, सरकारी इन्टिटी, व्यक्तिगत ब्लग, डेभसप, कन्सल्टेन्सी, एजेन्सी, बिटक्वाइन वा क्रिप्टो माइनिङ कम्पनी यस कार्यक्रममा सहभागी हुन पाउने छैनन् । यसअघि माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा आवद्ध नभएका स्टार्टअप सहभागी हुन सक्ने छन् । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जिनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआर कार्यक्रममा माइक्रोसफ्टले इकोसिस्टम पार्टनरको रुपमा सहकार्य गरेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले २३ डिसेम्बर २०२२ मा द सोल्टी काठमाडौंमा आयोजना भइरहेको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सहित विभिन्न १३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिए । माइक्रोसफ्टसँगको सहकार्यले नेपालको स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपुर्ण सहयोग पुग्ने उनको भनाई छ ।
उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन सक्दैन : मुख्यसचिव बैरागी
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघले शुक्रवारदेखि शुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रममा बोल्दै उहाँले देश विकासका लागि उद्योग क्षेत्रको महत्वपूर्ण भुमिका भएकाले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताएका हुन् । उनले उद्योग क्षेत्रको विकास, सरकारले ल्याएको बजेट कार्यान्वयन र नीति बनाउने विषयमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । मुख्य सचिव बैरागीले सरकारले कुनैपनि एउटा मात्रै क्षेत्रलाई प्राथमिकता दिएर देशको विकास हुन नसक्ने बताए । उनले त्यसको लागि सरकारले प्राथमिकताको क्षेत्रहरु बजेट तथा योजनाहरुमा स्पष्ट रुपमा अगाडि ल्याएको बताए । उनले सरकारले योजना बनाए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गरे । उनले मुलुक भित्र नै उत्पादन बढाउन नसके विदेशी मुलुकसँग प्रतिष्पर्धी बन्न नसक्ने बताए । मुख्य सचिव बैरागीले उद्योग क्षेत्रको विकासका लागि बनेको नीतिहरु कार्यान्वयन हुन नसक्नु सरकार र निजी क्षेत्रका क्षमता कमजोर हुनु भएको बताए । उनले सरकार र निजी क्षेत्र दुवैले आफ्नो काम गर्ने क्षमता बढाउनु आवश्यक रहेको बताए । बैरागीले पछिल्लो समय मुलुकको अर्थतन्त्र सहज अवस्थामा नभएको बताए । उनले सरकार र निजी क्षेत्र दुवै अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ भन्ने विषयमा जानकार रहेको भन्दै तत्काल आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । उनले मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्नेको पछि नलागि सबैले आत्माविश्वास बढाउन आवश्यक रहेको बताए । उनले अर्थतन्त्र सही ट्रयाकमा भएता पनि सतर्क हुनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘ अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । निजी क्षेत्र र सरकार पनि त्यो विषयमा जानकार छ । तर पनि आत्तिहाल्नुपर्ने अवस्था छैन । मुलुकको अर्थतन्त्र यस्तो हुन्छ रे भन्नेको पछि नलागौं । आत्मविश्वास बढाऔं । अर्थतन्त्र सही ट्रयाकमा छ, नआत्तिऔं, अफ्ठ्यारो अवस्थामा छैन, सतर्क हुनुपर्ने अवस्था चाहीँ छ ।’ उनले भने, ‘कुनैपनि मुलुक एउटा मात्रै देशको विकास गरेर अगाडि जान सक्दैन । विश्वका अन्य मुलुकहरु हेर्दा पनि त्यस्तै छ । सरकारको बजेट तथा योजनाहरुमा कुन क्षेत्रलाई प्राथमिकता दिने र अन्यलाई कसरी अगाडि बढाउने विषय स्पष्ट रहेको छ । तर त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको वास्तविकता हो । सरकारले कुनै गन्तव्य नै पहिचान गर्न नसकेको अवस्था होइन ।’ मुख्य सचिव बैरागीले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सरकार र निजी क्षेत्रबीच संवादको आवश्यकता रहेको बताउँदै अब यस्ता संवादहरु संवादमा मात्रै सिमित नभएर समाधानमुखी हुनुपर्ने बताए । उनले प्रत्येक वर्ष ६० प्रतिशतभन्दा बढी पुँजीगत खर्च नहुने प्रवृत्ति रहेको बताउँदै अब फरक ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाल उद्योग परिसंघ (सीएनआई) ले शुक्रवारदेखि बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी बजेटवाच कार्यक्रम सुरु गरेको हो । परिसंघले सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा गरिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि छलफल शुरु गरेको बताएको छ । परिसंघले बजेटमा उद्योग सम्वन्धि ५५ बुँदामा समावेश कार्यक्रमलाई अघि बढाउन दबाब दिने उद्देश्यका साथ बजेट वाच संवाद थालनी गरेको हो । बजेट उल्लेख गरिएका ५५ बुँदालाई ८ वटा क्षेत्रमा विभाजन गरी ६ महिनाभित्र संवाद गरीसक्ने रणनीतिमा परिसंघ रहेको छ । सिएनआईले ८ वटा क्षेत्र अन्तर्गत नव उद्यम तथा सूचना प्रविधि, पर्यटन, उद्योग, कर प्रणाली, लगानी, उद्योग, उर्जा, पूर्वाधार र कृषिको विषयमा छलफल गर्ने जनाएको छ ।
अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल
एजेन्सी । अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताए अनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिडडुल गर्दै थिए । त्यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दे घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिले सम्म खुल्न सकेको छैन।
सुदुरपश्चिमेलीको पिडा : भोट हाल्न नेपाल, काम खोज्न भारत
सुदुरपश्चिम । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताए। ‘चुनाव सकिएपछि अहिले भारततर्फ जानेको सङ्ख्या बढी छ, आउने कम छन्’, उनले भने, ‘दैनिक चाररपाँच सय नेपाली नागरिक भारततर्फ गइरहेका छन् ।’ चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन् । ‘मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन’, अछामका नागेश्र टमाटाले भने, ‘जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ ।’ पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर विदेशिनुपर्ने बाध्यता हटाउने पर्ने अछामका हर्कबहादुर बोहरा बताउँछन् । ‘चुनावको लागि बिदा मिलाएर भोट हाल्न आएको थिए, आफ्नो मताधिकारको प्रयोग गरे’, उनले भने, ‘चुनावको उत्सवमा मतदान ग¥यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन ।’ स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताए । ‘स्वदेशमै मजदूरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन’, उनले भने, ‘त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।’ संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ । ‘संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो’ उनले भने, ‘तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ ।’ सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ । ‘अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ’, बझाङका दुर्गा बोहराले भने, ‘नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् । रासस ।