सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता सुरु, विजेताले एक लाख १६ हजार रुपैयाँ पाउने
काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । नेपाल गल्फर एसोसियनले आयोजना गरेको उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । प्रतियोगितामा नेपालका नम्बर एक शुक्रबहादुर राई, भुवन नगरकोटी, संजय लामा, धन थापा, रामे थापा लगायतले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले १ लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रोले ६३ हजार पाउनेछन् । यस्तै, शीर्ष २१ मा पर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि २० लाख बजेट छुट्याइयो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि २० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका अन्तर्गतका अधिकांश क्षेत्र प्रत्येक वर्ष बाढीका कारण डुवानमा परेपछि बाढीको पानी सुरक्षित व्यवस्थापनको काम अगाडि बढाइएको हो । चुरे क्षेत्र भएर बग्ने सनवोरा, स्याली, वनहरा, दोदा लगायतका ठूला नदी र स(साना खहरे खोलाले प्रत्येक वर्ष विपद् निम्त्याउन थालेपछि नगरपालिका डुवान क्षेत्रको पहिचान गरी परियोजना निर्माण अघि बढाएको हो । परियोजना अन्तर्गत डुवान हुने र नहुने जग्गा पहिचानका लागि सर्वे गरिने नगरपालिकाका प्राविधिक शाखाका प्रमुख दीपक धामीले बताए । ‘जिल्लामा पहिलो डुवान क्षेत्र पहिचान गरी निकासको व्यवस्थापनको काम सुरु भइसकेको छ’, उनले भने, ‘डुवानको समस्याको दीर्घकालीन समाधान गर्ने गरी काम भइरहेको छ ।’ विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील विज्ञको सल्लाह सुझावका आधारमा परियोजना तयार गरिने उहाको भनाइ छ । ‘डुवानको उच्च जोखिम र न्यून जोखिमका क्षेत्र पहिचानको कार्य गरी सोही अनुसार योजना निर्माण गरिन्छ’, उनले भने, ‘नगरपालिकाबाट सक्ने काम नगरपालिकाले र नसक्ने काम प्रदेश र सङ्घले गर्नेछ ।’ परियोजना अन्तर्गत डुवान क्षेत्रको पहिचानसँगै पानी निकासका लागि ढल निर्माण गर भू(क्षय हुने क्षेत्रमा भरपर्दो दिगो रुपमा टिक्ने तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिने प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टको भनाइ छ । गत असोज पहिलो साता आएको बाढीले नगरपालिका–११ को वनहरा शिविर, वडा नं १२ को तिलकी, दुवाहा, एकान्तकुना बस्ती डुवानमा परेका थिए । साथै मनहरा नदीमाथिको झोलङ्गेपुल भत्काउँदा ठूलो नोक्सानी भएको थियो । बाढीको पानी खेतबारीमा पस्दा धान, सखरखण्ड, उखुलगायत बाली किसानले भित्र्याउन पाएका थिएनन् । रासस
परालको गुन्द्री बुन्ने पुख्र्यौली सीप हराउँदै
कावासोती । पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । गाउँ–गाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको छ । विकल्पमा बजारमा पाइने प्लास्टिकका गुन्द्री अहिले गाउँघरमा भित्रिएका छन् । कावासोती नगरपालिका–११ लालकुमारी महतोले विगतका वर्षहरूमा फुर्सदको समय गुन्द्री बुन्ने गरे पनि अहिले गुन्द्री बुन्न छाडेकी छन् । पक्की घरमा मात्रै नभएर छरितो र सफाका लागि कच्ची घरमा समेत परालका गुन्द्रीको प्रयोग घटेको छ । आफैँले बुन्ने गुन्द्रीका लागि श्रम र समय लाग्ने भएकाले पनि सजिलो विकल्पका रूपमा प्लाष्टिकको गुन्द्री रोजाइमा पर्न थालेको महतो बताउँछिन् । घरमा बुनेको गुन्द्रीमा लागत धेरै लाग्ने भएकाले पनि घरमा गुन्द्री बुन्ने चलन घट्दै गएको कावासोती–११ की भीमकुमारी भट्टराईले बताइन् । ‘पराल, जुट किनेर आफ्नो मेहेनत जोड्दा एउटा गुन्द्रीको रु सात सय जति पर्न जान्छ । परालको एउटा गुन्द्रीको पैसाले प्लास्टिकका तीन गुन्द्री पाइन्छन्, टिकाउ र सफा पनि हुन्छ’, उनले भनिन् । गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको कावासोती नगरपालिका–११ की लक्ष्मी भुसाल बताउँछिन् । समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो नदिएको उनको बुझाइ छ । ‘गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ । गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ । तुलनात्मकरूपमा प्लाष्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ’, उनले भनिन् । बजारमा पाइने प्लाष्टिकबाट बनेका गुन्द्रीको प्रयोगले पुख्र्यौली सीप हस्तान्तरणमा पनि कमी आएको कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारी पौडेल बताउँछिन् । नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सीप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको सङ्ख्या पनि घट्दै गएको हो । आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर गुन्द्री बुन्ने परम्परालाई जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण र पुराना परम्पराको महत्व सिकाउनुपर्ने उनले बताइन् । रासस
राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ । सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहरूको भनाइ छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले मापदण्डविपरीत काम गरेको पाइएको छ । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारी भन्छन्, ‘सम्झौताअनुसार काम गर्न चार पटकसम्म पत्रचार गर्यौँ, तर उनीहरूले हाम्रो पत्रको कुनै जवाफ दिएका छैनन्, हामीहरूले सम्झौताविपरीतको काम रोकेर मापदण्डअनुसार काम गर्न पटक–पटक भन्यौँ, जिल्ला प्रशासनलाई पनि यो रोक्न पत्र पठाएका छौँ, कतिपय ठाउँमा मापदण्डअनुसार भएको छ भने भेरै ठाउँमा विपरीत छ ।’ हाइड्रोपावर प्रालिले लोकमार्गको पत्रचारलाई बेवास्ता गरी मापदण्डविपरीत काम धमाधम गरिरहेको छ । भण्डारीले हाइड्रोपावरको काम गर्नका लागि एउटा नक्सासमेत तयार पारेको भन्दै त्यसअनुसार नभए निर्माण भएका संरचना भत्काउन आफूहरू बाध्य हुने बताउँछन् । उनले भनिन्, ‘म फिल्डमै गएर किन यस्तो भयो भनेर बुझ्न खोजेँ, बुझ्न बोलाए तर उनीहरू आएनन्, यदि निर्माण कम्पनीले सम्झौताविपरीत काम गरिरह्यो भने, त्यो भत्काउनेसम्म हाम्रो अधिकार रहन्छ, उहाँहरूलाई सम्झौताअनुसार गर्ने स्थितिमै ल्याउँछौँ, एउटा नक्सासमेत तयार भएको छ, त्यो नक्साअनुसार पनि भएन भने हामी भत्काउँछौँ ।’ सात मिटर चौडाइ रहेको दुई लेनको सडकमा कुना भागबाट पाइप बिछ्याउँदा पाँच मिटर पनि पुग्दैन । हाइड्रोपावरको पाइपले कुनापट्टिको नालीसमेत पुरेको छ । हाइड्रोपावर प्रालिले पाइप बिछ्याएपछि सडक निकै साँघुरो भएको भण्डारी बताउछन् । मध्यपहाडी लोकमार्ग मिचेर हाइड्रोपावर बनाउँदा सडक दुर्घटनाको जोखिमसमेत बढेको उनको भनाइ छ । दरमखोला हाइड्रोपावर प्रालिका प्रमुख नीरज पुनले सडक विभागको अनुमति लिएर काम अगाडि बढाएको बताए । उनी आफूहरूले सम्झौताविपरीत काम नगरेको दाबी गर्छन् । उनले लोकमार्गको कार्यालय प्रमुख नयाँ आएका र उनले धेरै कुरा नबुझेको हुनसक्ने बताए । प्रमुख पुन भन्छन्, ‘सुरुमा जे सम्झौता भएको थियो सोहीअनुसार काम गरेका छौँ, सम्झौताविपरीत भएको जस्तो लाग्दैन, पहिलेका हाकिमसँग छलफल गरेर, एउटा सम्झौता गरेका थियौँ, सोहीअनुसारका काम गरेका हौँ, अहिले नयाँ हाकिम आएका होलान्, उनलाई सबै थाहा नभएको हुनसक्छ ।’ जिल्ला समन्वय समिति बागलुुङका प्रमुख अमर थापाले लोकमार्गका छेउछाउमा हाइड्रोपावरका संरचना बनाउँदा सडक नै जोखिममा पर्ने बताए । उनले भने, ‘लोकमार्ग छेउमा जुन हाइड्रोपावरको पाइप बिछ्याइएको छ, यो गलत भएको छ, भोलि जतिबेला पनि यो पाइप फुट्न सक्छ, त्यो अवस्थामा सडकको हालत के हुन्छ ?, त्यसले गर्दा यस्ता संरचना बनाउँदा सबै पक्षले ध्यान पुर्याउनुपर्छ ।’ उनले राज्यको सम्पत्ति जोखिममा पारेर संरचना बनाइन नहुने बताए । राष्ट्रिय गौरवको आयोजना अतिक्रमण गरी हाइड्रोपावरका लागि पाइप बिछ्याउने कार्य दुर्भाग्यपूर्ण भएको भन्दै यसमा संयमता अपनाउनुपर्ने बताए । पछि गएर ठूलो दुर्घटना हुनुभन्दा अहिले नै ठोस निर्ण गर्नुपर्ने प्रमुख थापा बताउछन् । दरमखोला हाइड्रो इनर्जीले आगामी असार मसान्तभित्र सक्ने गरी हाइड्रोपावरको कामलाई तीव्रता दिएको छ । यहाँबाट ९।६ मेगावाट विद्युत् निकालिने कम्पनीले जनाएको छ । यस ठाउँलगायत अन्य स्थानमा पनि विभिन्न व्यक्ति तथा निर्माण व्यवसायीले लोकमार्ग क्षतविक्षत बनाएका जनाइएको छ । रासस
झापाको सताक्षीधाम जाने सडक कालोपत्र, दैनिक पाँच सय बढी पर्यटक
झापा । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा पूर्वपश्चिम राजमार्गबाट झिलझिले बजार उत्तर पाँच किलोमिटर सडक कालोपत्र जारी छ । प्रदेश सरकारको रु ३५ करोड २६ लाख १३ हजारको बजेटमा शिवसताक्षीधामबाट झिलझिले बजार हुँदै दक्षिण होकलबारीसम्मको २६ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । तीमध्ये राजमार्गको उत्तरधाम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सडक कालोपत्र गरिसकेको सडक पूर्वाधार तथा सहरी विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले जानकारी दिए । उनले राजमार्ग दक्षिण होकलबारी जाने सडकमा समेत कालोपत्र गर्ने कार्य तीव्ररूपमा भइरहेको बताए । ‘ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सडकै कारण थप सहयोग पुग्ने देखियो’, उनले भने, ‘धाममा आवतजावत गर्ने भक्त तथा पर्यटकलाई सजिलो होस् भनेर काममा हामीले विलम्ब गरेनौँ ।’ ठेक्का दिएको निर्माण कम्पनी रौताह खनाल जेभी इलामले चालु आर्थिक वर्षभित्रमा सो सडक सम्पन्न गर्ने जिम्मा पाएको छ । प्रदेश सरकारले बनाइदिएको कालोपत्रसहितको सडकमा बत्ती जडान गर्ने कार्य भने नगरपालिकाले गरिरहेको शिवसताक्षी धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताए । उनले सडक बनेसँगै धाममा आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बताए । उनका अनुसार चुनाव सकिएसँगै धामक्षेत्रमा दर्शन गर्न र वनभोज खान दैनिक पाँच सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । रासस
दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय
काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ । मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयका सामानसहितका सामग्री स्थायी राजधानीमा भालुवाङ पुर्याइएको हो । दाङको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरिएपछि त्यहाँ मुख्यमन्त्रीको कार्यालय आवास गृह, मुख्य सचिवको कार्यालय र आवास गृह निर्माण गरिएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार आइतबारबाट मुख्यमन्त्री कार्यालले देउखुरीबाटै सेवा प्रवाह गर्नेछ । उहाँले यही हप्ताभित्र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखानियन्त्रण कार्यालय पनि ल्याउने तयारी गरिएको जानकारी दिए । नवनिर्वाचित प्रदेशसभा सदस्यलाई भालुवाङमै सफथ खुवाउनेसमेत तयारी गरिएको छ । प्रदेशसभा भवनसमेत निर्माणको अन्तिम चरणमा छ । २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । विसं २०५० मा स्थापना भएको राप्ती गाउँपालिका – ५ स्थित राप्ती प्राविधिक शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ ।
भरतपुरको पाँच सहकारीमा आर्थिक तरलताको समस्यामा
भरतपुर । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ । सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उहाँले जानकारी दिए । यस्तै प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको साहारा चितवन बचत तथा ऋण सहकारी र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेको शुक्रपथ बचत तथा ऋण सहकारीमा पनि समस्यामा परेको जनाइएको छ । महानगरको क्षेत्राधिकारभित्र रहेका सहकारी सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाइएको छ । भरतपुर महानगरपालिका–३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाइएपछि छानबिन सुरु गरेको शाखा प्रमुख पौडेलले बताए । भरतपुर –३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताको बचत असुलीका लागि आवश्यक सहजीकरण भइरहेको बताए । उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाइएको छ । यस सहकारीमा तीन हजार पाँच सय शेयर सदस्य रहेको र ७० करोडको कारोबार भएको उनले जानकारी दिए । यस सहकारीले तीन स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोबार गर्दै आएको थियो । यस्तै चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थामा दुई हजार दुई सय सेयर सदस्य रहेका छन् । आर्थिक तरलता देखिएपछि सहकारीले रु एक लाखभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताए । यस सहकारीमा वार्षिक २० करोड हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ । समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा वार्षिक ३५ करोड हाराहारीको कारोबार हुने गरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर –१ मा रहेको छ । यसले दुई सेवा केन्द्रको अनुमति लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताए । सहकारीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको छ भने ठूला बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । प्रदेश र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेका दुई सहकारीको विवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति बचतकर्ता प्रभावित भए भन्ने विषयमा जानकारी नभएको उनले बताए । तरलताको अभावका कारण बचतकर्तालाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारीले साधारणसभामार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् । महानगरमा हाल तीन सय ५४ सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये ४८ सहकारी संस्था निस्क्रिय रहेको उनले बताए ।
प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६०० रुपैयाँले र चाँदी ३५ रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।