समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’
काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो पुस्तकभित्र जीवन्तरूपमा कलात्मक चित्र मार्फत प्रस्तुत गरेका छन् । मण्डला र मिथिला शैलीबाट कोरिएका सो चित्रकथा पुस्तकले विशेषगरी विविध कारणले अहिले पनि खुलेर समाजमा नआएका ती समुदायका व्यक्तिका पीडा र आवाजलाई सुक्ष्मरूपमा उतारेको छ । दन्त चिकित्सक शर्माले भने, ‘कोरोना महामारीका कारण जारी लकडाउनका समयमा मैले आफूभित्र रहेको चित्रकारिताको प्रतिभालाई पुनः प्रस्फुटित गराएँ । डर, त्रास र दुःखका बीच चित्र मेरो साथी बन्यो । चित्रले मलाई यी आवेगसँग जुध्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बन्यो । मसँगै म सहपाठी डा अर्पणा पाठकले पनि त्यस्तै गर्थिन् ।’ आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा केही समय चित्रकलासँग साथ छुटेको उनको भनाइ थियो । उनले भने, ‘पुस्तकभित्रका चित्र मण्डला र मिथिला शैलीबाट प्रभावित छन् । यसैमा आधारित भएर कोरिएका हुन् ।’ त्यही चित्रकलामार्फत आफूहरूले समाजको कथा समाजलाई नै भन्न चाहेको डा. शर्माले सुनाए । उनले भने, ‘खुलेर समाजमा आउन नसकेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका पीडा र दुःखलाई यथार्थरूपमा चित्रकथाका रूपमा पुस्तकले समेटेको छ ।’ कसरी पुस्तक बनाउने तयारी भयो ? भन्ने जिज्ञासामा उनले भने, ‘हामीले लकडाउनकै समयमा एक नेपाली महिला र अर्की भारतीय महिलाबीचको प्रेम सम्बन्धबारे थाहा पायौँ । परिवार र समाजले अस्वीकार गरेका कारण उनीहरु प्रेम जोगाउ विदेश गए । समाजले नस्वीकार्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने ? ती जोडीले अन्य सामाजिक विभेद र समस्या झेल्नुपर्ला ? यी र यस्तै प्रश्नको जवाफ खोज्दै जाँदा आफूहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नजिक भएको र उहाँहरुकै कथालाई चित्रको रूप दिने निचोडमा पुग्यौँ ।’ चित्रका लागि पात्र भेट्दा र उनीहरूको कथा सुन्दै जाँदा, ती आफूहरूले देखेको र सुनेको भन्दा बेग्लै पाइएको डा. शर्माको भनाइ थियो । उनले भने, ‘ती पात्रको व्यथा, दुःख र भोगाइ समाजले कल्पनासमेत गर्न नसक्ने खालका थिए, ती पात्रहरू कुन मनोदशाबाट गुज्रिए होलान् ? यसैले यस पुस्तकका हरेक पाना–पानामात्र नभएर जीवनकथा हुन् । पुस्तकका हरेक चित्र कसैको जीवनकथा सरह छ ।’ नेपालको सन्दर्भमा ‘एलजिबिटीआइक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको सर्जकद्वयको दाबी छ । हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गर्वका साथ र बिनाविभेद बाँच्न पाउनुपर्छ भन्ने सन्देश चित्र पुस्तकको रहेको छ ।
आरएमडीसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशत नगद गरी कूल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँ बोनस सेयर र १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँको नगद गरी कूल ३३ करोड ९६ लाख ६० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पुलबाट ट्रक खस्दा एकको मृत्यु
मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए । रासस
एनएमबि बैंकको लाभांश घोषणा
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजीको १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ
साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४२१०५३ प्रतिशत नगद गरी कूल २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ४० करोड ६७ लाख ४७ हजार ५६९ रुपैयाँको बोनस सेयर र २ करोड १४ लाख ७ हजार ७६६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
विन नेपाल लघुवित्तको एफपिओ बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैया दरका ५१ हजार २९३ कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन गर्न लागेको हो । एफपिओ विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय हात्तिसार, काठमाडौंमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृती देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
जोरपाटीका नागरिकलाई स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट
जोरपाटी । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने रु तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले ६८ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।
कालीकोटमा २० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार रुपैयाँ पुरस्कार
कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । बाल विवाह विरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए । ‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ’, उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ ।’ दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई १० हजार रुपैयाँ नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए । ‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ’, उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।’ विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेषरूपमा नगरपालिकाले अगाडि बढाएको नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बताए । ‘अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ ।’ उनले भने, ‘आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ ।’ रासस