विकासन्युज

आधुनिकीकरण हुँदै नेपालको नागरिक उड्डयन क्षेत्र, ५ वर्षमा १ खर्ब लगानी

काठमाडौं । पछिल्लो समयमा नेपालको नागरिक उड्डयन क्षेत्र विगतको तुलनामा तिव्र गतिमा विकास भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार, आधुनिककीकरण र सुरक्षाको विषयलाई विकास गर्दै लगेको छ । नेपालको अर्थतन्त्रको विकास गर्नको लागि नागरिक उड्डयनको प्रभावकारी ढंगले विकास गर्नुपर्ने विकल्प नरहेको र सो दिशामा प्राधिकरण लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवराम श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आयोजित एक कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले ‘एयर कनेक्टिभिटी जति प्रभावकारी अरु हुन सक्दैन’ भने । मन्त्री श्रेष्ठले नेपालले सिभिल सेक्युरीटी र सेफ्टीमा सम्झौता नगर्ने बताउँदै आइकाओले नेपालले नागरिक उड्डयनको क्षेत्रमा गरेको विकासलाई सकारात्मक रुपमा लिएको बताए । नागरिक उड्डयनको विकास भनेको पर्यटन क्षेत्रको लागि मात्रै नभएर सम्पूर्ण अर्थतन्त्रको विकासको लागि भएको उनको भनाइ छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो ५ वर्षमा प्राधिकरणले विमानस्थलको विस्तार र विकासमा ५ खर्ब लगानी गरेको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीका अनुसार गौतमवुद्ध विमानस्थल, पोखरा विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा पछिल्लो ५ वर्षमा प्राधिकरणले १ खर्ब लगानी गरेको छ । गत वैशाखबाट गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी प्राधिकरणले गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि एकैपटक २ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको प्राधिकरणले जनाएको छ । उपयुक्त हवाई नीति विना हवाई क्षेत्रमा काम भइरहेको ईंगित गर्दै महानिर्देशक अधिकारीले एउटै जिल्लामा ५ वटा सम्म एयरपोर्ट बन्न पुगेको बताए । महानिर्देशक अधिकारीका अनुसार बनेका एयरपोर्ट मध्ये २०/२२ वटा एयरपोर्ट सञ्चालनमा आउन सकेका छैनन् । ‘अहिले निर्माण भएका २०/२२ वटा एयरपोर्ट सञ्चालनमा आउन सकेका छैनन्, किनकी जहाज पनि छैन्, जहाज ल्याउने वातावरण पनि छैन्’, उनले भने । आगामी दिनमा हवाई नीति निर्माण गर्दा वृहत आर्थिक दृष्टिकोणबाट अध्ययन गरेर लेखिनुपर्ने उनको भनाइ छ । हवाई क्षेत्रको विकास भौगोलिक समावेशी मान्यताका आधारमा हुनुपर्ने मन्त्रालयका सचिव शुरेस अधिकारीको भनाइ छ । कतिपय एयरपोर्टमा टेक्स्ट फ्लाइट समेत नभएको विषय राख्दै उनले भने, ‘जियोग्राफी रिजनको आधारमा इन्कुल्सिभ हुन आवश्यक छ ।’ नेपालका एयरपोर्टहरु पछिल्लो समयमा सुधार हुँदै गएको सचिव अधिकारीले बताए । पछिल्लो समयसम्म नेपालले ४१ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता गरेको छ भने एउटा देशसँग मल्टिल्याट्रल सम्झौता गरेको छ । नेपालले हवाई उडान सम्झौता गरेका ४० वटा देशमध्ये १७ वटा देशमा उडान सञ्चालनको अवस्थामा रहेको छ भने २३ वटा देशमा उडान हुन सकेको छैन् । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई मध्येनजर गरेर पछिल्लो समयमा सरकारले कुवेत र युएईमा सम्झौता संशोधन गरेर क्षमता विस्तार गर्ने पहल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अफिसर मुकेश डंगोलले आफ्नो कार्यपत्रमा सो कुरा उल्लेख गरेका थिए । उनको कार्यपत्रअनुसार सरकारले इन्डोनेसिया, स्विट्जरल्यान्ड, रुवान्डा र अमेरिकामा द्विपक्षीय उडानको सहमति गर्न लागेको छ । जसको लागि पत्रचार लगायत आवश्यक प्रकृया अगाडि बढेको छ । नेपाल आइकाओको सदस्यको रुपमा सन् १९६० देखि रहँदै आएको छ, तर अहिलेसम्म सो सँस्थाको काउन्सिल सदस्य बन्ने पहल प्राधिकरणले कहिल्यै गरेको थिएन् । आगामी दिनमा भने आइकाओको काउन्सिल सदस्य बन्नको लागि प्राधिकरणको व्यवस्थापनको तर्फबाट पहल भएको प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।

जबरामाथिको महाभियोग निष्प्रभावी गर्ने पत्रविरुद्धको रिटमा शुक्रबार सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले दर्ता गराएको रिटको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । महासचिव गौतमले बुधबार बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए । उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार रिट दायर गरेको हो ।रिटमा संसद् सचिवालयका महासचिव गौतमको पत्र असंवैधानिक भएको दाबी गरिएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि पेसी तोकिएको हो । रिटमा अन्तरिम आदेशमार्फत महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न माग गरिएको छ ।

टेलिकमको ब्राण्ड एम्बेसडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड –२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले खड्का र जोशीसँग नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर हस्ताक्षर गरेका छन् । ब्राण्ड एम्बेसडरमध्ये पारस खड्कासँग २०७९ पुस १ गतेदेखि एक वर्षको लागि र प्रियंका रानी जोशीसँग अर्को मिस नेपाल छनौट हुने अवधिसम्मका लागि सम्झौता सम्पन्न भएको हो । हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्त ब्राण्ड एम्बेसडरद्वय मार्फत सम्पूर्ण नेपालीहरुका साथै विशेषत नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने बताए ।  

लाभांश घोषणाको तयारीमा आधा दर्जन जीवन बीमा कम्पनी, बाँकीको अवस्था कस्तो ?

काठमाडौं । सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये आधा दर्जन जीवन बीमा कम्पनीहरु लाभांश घोषणा गर्ने तयारीमा छन् । नेपाल बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेसँगै ६ वटा कम्पनीहरुलाई अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गर्ने तयारीमा रहेका हुन् । हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, एशियन लाइफ र प्राइम लाइफले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । त्यस्तै, अन्य ६ वटा कम्पनीले भने लाभांश प्रस्ताव गर्ने तयारी गरिरहेका छन् । मेटलाइफ, गुराँस लाइफ, सूर्या लाइफ, आईएमई लाइफ, ज्योति लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स लाभांश प्रस्ताव गर्ने तयारीमा छन् । प्राधिकरणले यी कम्पनीहरुको आर्थिक वर्ष २०७७/७८ को वित्तीय वित्तीय विवरण स्वीकृत गरिसकेको छ । त्यस्तै, वित्तीय विवरण पेश गर्नेमा अन्य २ कम्पनी रहेका छन् । सन नेपाल लाइफ र सिटिजन लाइफले प्राधिकरणमा उक्त आवको वित्तीय विवरण पेश गरिसकेका छन् । तर हालसम्म भने समितिले यी कम्पनीको वित्तीय विववरण्लाई स्वीकृत गरेको छैन । सन नेपालले मंसिर १२ गते र सिटिजन लाइफले कार्त्तिक ६ गते नै प्राधिकरणमा उक्त आवको विवरण पेश गरेका थिए । बाँकी रहेका ७ वटा कम्पनीले भने हालसम्म पनि उक्त आवको वित्तीय विवरण प्राधिकरणमा पेश गरेका छैनन् । प्राधिकरणका अनुसार राष्ट्रिय बीमा संस्थान, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), युनियन लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आवको वित्तीय विवरण नै पेश गरेका छैनन् । यससँगै प्राधिकरणले वित्तीय विवरण पेश नगर्ने कम्पनीहरुलाई छिटो पठाउन पनि पत्राचार गरिसकेको छ । यता कम्पनीहरुले भने एक्चुरी गर्नको लागि भारत पठाउनु पर्ने भएकोले ढिलाई भएकोले प्राधिकरणमा वित्तीय विवरण पेश गर्न ढिलाई भएको बताएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले एक्चुरीका कारण वित्तीय विवरण समयमै पेश गर्न नसकेको धारणा राखे । उनले एक्चुरी भएलगत्तै प्राधिकरणमा वित्तीय विवरण पेश गर्ने पनि जानकारी दिए । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पनि वित्तीय विवरण भारतमा एक्चुरीको प्रकृयामा रहेकोले प्राधिकरणमा पेश गर्न ढिलाई भइरहेको बताए । कम्पनीहरुले आर्थिक वर्ष सम्पन्न भएको ६ महिनाभित्र वित्तीय विवरण प्राधिकरणमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । कुनै कारणवश ढिलाई भएमा प्राधिकरणले एक महिना थप गर्न सक्ने प्रावधान छ । चारमध्ये तीन कम्पनीको लाभांश पारित उक्त आर्थिक वर्षको लाभांश घोषणा गरेका ४ कम्पनीमध्ये ३ कम्पनीको लाभांश पारित समेत भइसकेको छ । एशियन लाइफ, नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित भइसकेको छ भने प्राइम लाइफको हुन बाँकी छ । यी चार कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै, नेशनल लाइफले १५.७८९ (१५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद) लाभांश र एशियन लाइफले १५.२६ प्रतिशत (१४.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत नगद लाभांश) वितरण गरिसकेको छ । यता प्राइम लाइफले भने १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावलाई कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले १३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश पाउने छन् । हालसम्म कम्पनीले वार्षिक साधारण सभामा जानको लागि बुक क्लाजको मिति समेत तय गरिसकेको छैन ।

कुमारी बैंकको रेमिट बचत खाताबाट वैदेशिक रोजगारमा भएकाले आईपीओमा आवेदन दिन सक्ने

काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निश्कासनमा आवेदन दिने सक्नेछन् । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक सेयरमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको जनाएको छ । कुमारी बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ्ग ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।

मलेसियाबाट आइएमईमार्फत १४ हजार पठाउँदा मेखलालले जित १० लाख रुपैयाँ

काठमाडौं । आइएमईले चाडपर्वहरूका अवसरमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा याेजनाकाे विजेता मेखलाल तामाङ्ग बनेका छन् । मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख जितेका हुन् । बुधबार काठमाडौं पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका थिए । यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम संचालनमा ल्याइएको थियो । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कूल ९ हप्ता अर्थात ६३ दिनसम्म संचालनमा ल्याइएको थियो । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिने गरी व्यवस्था पनि मिलाइएको थियो ।

आइडिया स्टुडियोले नवीन व्यावसायिक विचारको लागि खोल्यो आवेदन

काठमाडौं । गैरनाफामूलक कम्पनीमार्फत उद्यमशीलतालाई प्रवद्र्धन गर्दै आएको आइडिया स्टुडियो नेपालले आफ्नो सातौँ यामका लागि आवेदन खुल्ला गरेको छ । आइडिया स्टुडियोले आफ्नो छैटौँ यामसम्म चार हजार पाँच सयभन्दा बढी नवीन व्यावसायिक विचार प्राप्त गरेको छ । जसमध्ये तीन सय ५० भन्दा बढी व्यावसायिक विचार कार्यान्वयनका क्रममा छन् । पैसठ्ठीभन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको जनाइएको छ । आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न कार्यक्रमबाट सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाउन सफल भएको छ । आइडिया स्टुडियो नेपालले नेपाली उत्पादन प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पु¥याउने, प्रविधिसम्बद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्नेजस्ता सबै क्षेत्रका व्यावसायिक आइडियाले विशेष प्राथमिकता दिनेछ । आइडिया स्टुडियो नेपालमा प्राप्त भएका आइडियामध्ये सिजन सातमा ४० व्यवसायलाई छनोट गरिन्छ । छनोट भएका व्यवसायलाई विशेष प्राथमिकता दिँदै उत्कृष्ट बनाउन सरसल्लाह, तालिम, व्यावसायिक सञ्जाल साथै वित्तीय पहुँचका लागि सहजीकरण गरिन्छ । ती विचार ‘स्पेस ४ के’ टेलिभिजनमा प्रसारण हुने स्टुडियोका सञ्चार अधिकृत प्रज्ञा घिमिरेले जानकारी दिनुभयो ।

सानिमा एक विश्वसनिय बैंकको रुपमा स्थापित भयो : सीईओ पाण्डे

काठमाडौं । १८ वर्षको अवधिमा सानिमा बैंक सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएको प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताएका छन् । बुधबार काठमाडौंमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरु आभार प्रकट गरे । वार्षिकोत्सवको अवसरमा बैंकले दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरेको थियो । सीईओ पाण्डेले कर्मचारीहरुलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए । यस्तै, बैंकले आगामी दिनमा आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने बताएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । बैंकले पुष ९ गतेसम्म देशका सातै वटा प्रदेशमा रहेका शाखाहरु मार्फत रक्तदान कार्यक्रम संञ्चालन गर्ने जनाएको छ ।  बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृत रुपमा संचालनमा ल्याएको छ । उक्त वेबसाइट मार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिनेछ । साथै, विदेशमा बस्ने नेपालीहरुले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुबिधा पनि लिन सक्नेछन् । सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।