विकासन्युज

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।   जिल्ला प्रहरी कार्यालयका  अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेकोे छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारीसाधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् । 

मध्यपूर्व युद्धविरामपछि इन्धनको मूल्यमा गिरावट

काठमाडाैं । मध्य पूर्व युद्धविराम पछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ ।  श्रीलङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ । अमेरिका र इरानले आफुहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमती भए पछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि उर्जाको मुल्यमा कटौती गरिएको जनाइएको छ । गत फेब्रुअरी –२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो ।   द्वन्द्वको समयमा उच्च आयात र लागत बीच सन्तुलन कायम गर्न श्रीलङ्कामा बिजुलीको शुल्क पनि एक तिहाइले वृद्धि गरिएको अधिकारीहरूले बताएका थिए ।  श्रीलङ्काले आवाश्यक सबै तेल खरीद गर्ने र बिजुली उत्पादनका लागि आयातित कोइलामा पनि निर्भर रहने अवस्था रहेकाले मध्य पूर्वमा जारी लामो द्वन्द्वले कमजोर आर्थिक अवस्थालाई प्रभावित पार्न सक्ने चेतावनी दिइएको  थियो ।

एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्यामा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४५ सय रुपैयाँले घटेर  २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार छापावाल  सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।   

मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

काठमाडौं । फिफा विश्व कप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरीएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले घोषणा गरेका छन् । उनीहरुको बीचबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा ६ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले  विज्ञप्ति मार्फत जनाएका छन् ।  मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा गत जुन –११ मा सुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २९३ वटा छापा मारी  वेबसाइट र सामाजिक सञ्जाल मार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको उनले बताएका छन् ।  उनका अनुसार अधिकारीहरूले १८५ वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू, र सामाजिक सञ्जालका  खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका  छन् ।

३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण आज राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको लागि आज ३ बजेसम्ममा अनलाइनबाट बोलकबोल हुनेछ । बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंकले जारी गर्न लागेको यो ऋणपत्र एकवर्षे अवधिको लागि हो  । यसको साँव भुक्तानी २०८४ असार १६ गते हुनेछ । त्यस्तै ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

लुम्बिनीमा देउवा समूहको भेला, संगठन पुनर्जागरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि समानान्तर रूपमा सक्रिय रहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंगलबार लुम्बिनीमा समापन भेला गर्दैछ । पूर्व सभापति देउवाको नाममा संगठित कांग्रेसको एक समूहले सातै प्रदेशमा सञ्चालन गरेको प्रदेशस्तरीय भेलाको श्रृंखला मंगलबार लुम्बिनी प्रदेशमा सम्पन्न गर्न लागेको हो । दाङको लमहीमा हुने यो भेला उक्त समूहको अन्तिम प्रदेशस्तरीय कार्यक्रम हो । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको ध्रुवीकरण कम गर्दै संगठनलाई पुनः एकताबद्ध बनाउने उद्देश्यले देशव्यापी प्रदेश भेला सञ्चालन गरेको समूहले लुम्बिनी भेलालाई निष्कर्षात्मक कार्यक्रमका रूपमा लिएको छ । यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको लुम्बिनी प्रदेश भेला आज सम्पन्न हुन लागेको हो । कांग्रेस नेता दामोदर भुसालका अनुसार समूहले सातै प्रदेशमा भेला आयोजना गर्ने निर्णय तीन प्रमुख उद्देश्यका साथ गरेको थियो । उनका अनुसार पहिलो, पार्टीभित्र बृहत् एकताको वातावरण निर्माण गर्ने, दोस्रो विशेष महाधिवेशनका क्रममा संगठनको मूल प्रवाहबाट बाहिरिएका वा निराश बनेका नेता–कार्यकर्तालाई पुनः सक्रिय बनाउने, र तेस्रो, मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे साझा समीक्षा गर्दै आगामी रणनीति तय गर्ने । प्रदेश कार्यक्रम संयोजक गेहेन्द्र गिरीका अनुसार लुम्बिनीको भेलासँगै सातै प्रदेशमा तय गरिएका कार्यक्रम सम्पन्न हुनेछन् । उनका अनुसार भेलामा विशेष महाधिवेशनको पक्षमा नदेखिएका तथा पछिल्लो समय संगठनात्मक गतिविधिबाट टाढिएका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा उक्त समूहले गरेको छ । समूहका संरक्षक मानिएका पूर्व सभापति शेरबहादुर देउवा हाल विदेशमा उपचाररत रहेकाले कार्यक्रमको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । भेलामा नेता गुरु बराल, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौरलगायतका नेताले पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे धारणा राख्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा प्रभाव कमजोर बन्दै गएको संकेत कुनै समय लुम्बिनी प्रदेश देउवा समूहको सबैभन्दा उर्वर क्षेत्र मानिन्थ्यो । अहिले भने लुम्बिनी प्रदेशमा यो समूहको संगठनात्मक प्रभाव अघिल्ला वर्षहरूको तुलनामा कमजोर देखिएको छ।  एक समय देउवा समूहसँग रहेका प्रदेशका प्रभावशाली नेताहरू क्रमशः संस्थापन पक्षतर्फ ढल्किएका छन् । कुनै समय देउवाकी दाहिने हात मानिएकी नेत्री पुष्पा भुसालले देउवाको साथ छोडेर विशेष महाधिवेशनबाट उपसभापति बनेकी छन् । त्यसैगरी देउवाका सारथी नै भनिने बालकृष्ण खाण पछिल्लो समय सभापति गगन थापाको नजिक देखिएका छन् । विनोद चौधरी, देवेन्द्रराज कँडेललगायतका नेताले पनि संस्थापन पक्षलाई नै साथ दिइरहेका छन् । यसले लुम्बिनीमा देउवा समूहको पुरानो शक्ति संरचनामा परिवर्तन आएको देखिन्छ। यही कारण आजको भेला केवल नियमित संगठनात्मक कार्यक्रम मात्र नभई विशेष महाधिवेशनपछि निराश र निष्क्रिय बनेका कार्यकर्तालाई पुनः सक्रिय बनाउने तथा समूहको राजनीतिक सन्देश स्पष्ट पार्ने प्रयासका रूपमा पनि हेरिएको नेताहरूले बताएका छन् । आगामी रणनीतितर्फ केन्द्रित सातै प्रदेशका भेला सम्पन्न भएसँगै समूहले अब ती भेलाबाट प्राप्त सुझाव, संगठनात्मक अवस्थाको समीक्षा तथा पार्टीभित्र आफ्नो भूमिकाबारे थप रणनीति तय गर्ने तयारी गरेको एक नेताले बताए । कांग्रेसभित्र एकताको सन्देश प्रवाह गर्ने र संगठनमा देखिएको विभाजनको मनोविज्ञान अन्त्य गर्ने उद्देश्य व्यक्त गरे पनि, प्रदेशका प्रभावशाली नेताहरूको संस्थापनतर्फको झुकावले यो समूहको आगामी राजनीतिक दिशालाई चुनौतीपूर्ण बनाएको विश्लेषण भइरहेको छ ।

पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणमा मोरक्कोले तीन पटकको उपविजेता नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १–१ को बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टीबाट भएको थियो ।  मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा भएको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सका लागि कोडी गाक्पोले ७२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेल सकिन केही क्षण मात्र बाँकी रहँदा इस्सा डियोपले उत्कृष्ट हेडरमार्फत बराबरी गोल फर्काउँदै मोरक्कोलाई खेलमा फर्काए । अतिरिक्त समयभर मोरक्कोले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि नेदरल्यान्ड्सका गोलरक्षक बार्ट भेरब्रुगेनले  बचाउ गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म पुर्‍याएका थिए । पेनाल्टी सुटआउटमा मोरक्कोका नील एल आयनाउई, सुफियान रहिमी र चादी ताल्बीले गोल गरे । कप्तान अशरफ हाकिमीले पेनाल्टी चुकाए पनि त्यसले टोलीको जितमा असर पारेन ।  नेदरल्यान्ड्सका तर्फबाट ट्युन कुपमाइनर्स र वाउट वेघोर्स्टले मात्र गोल गर्न सके। जस्टिन क्लुइभर्ट, क्विन्टेन टिम्बर र क्रिसेन्सियो समरभिल पेनाल्टीमा असफल भए।  यस जितसँगै मोरक्कोले विश्वकपमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ । सन् २०२२ मा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले यसपटक पनि उपाधि दाबेदार टोलीलाई हराउँदै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ । बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइन्छ । ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रुपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरे। जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रुपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ । यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाइने निर्णय गरिएको थियो । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको जनाइएको थियो । रासस