लुम्बिनीमा देउवा समूहको भेला, संगठन पुनर्जागरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि समानान्तर रूपमा सक्रिय रहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंगलबार लुम्बिनीमा समापन भेला गर्दैछ । पूर्व सभापति देउवाको नाममा संगठित कांग्रेसको एक समूहले सातै प्रदेशमा सञ्चालन गरेको प्रदेशस्तरीय भेलाको श्रृंखला मंगलबार लुम्बिनी प्रदेशमा सम्पन्न गर्न लागेको हो । दाङको लमहीमा हुने यो भेला उक्त समूहको अन्तिम प्रदेशस्तरीय कार्यक्रम हो ।

विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको ध्रुवीकरण कम गर्दै संगठनलाई पुनः एकताबद्ध बनाउने उद्देश्यले देशव्यापी प्रदेश भेला सञ्चालन गरेको समूहले लुम्बिनी भेलालाई निष्कर्षात्मक कार्यक्रमका रूपमा लिएको छ । यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको लुम्बिनी प्रदेश भेला आज सम्पन्न हुन लागेको हो ।

कांग्रेस नेता दामोदर भुसालका अनुसार समूहले सातै प्रदेशमा भेला आयोजना गर्ने निर्णय तीन प्रमुख उद्देश्यका साथ गरेको थियो । उनका अनुसार पहिलो, पार्टीभित्र बृहत् एकताको वातावरण निर्माण गर्ने, दोस्रो विशेष महाधिवेशनका क्रममा संगठनको मूल प्रवाहबाट बाहिरिएका वा निराश बनेका नेता–कार्यकर्तालाई पुनः सक्रिय बनाउने, र तेस्रो, मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे साझा समीक्षा गर्दै आगामी रणनीति तय गर्ने ।

प्रदेश कार्यक्रम संयोजक गेहेन्द्र गिरीका अनुसार लुम्बिनीको भेलासँगै सातै प्रदेशमा तय गरिएका कार्यक्रम सम्पन्न हुनेछन् । उनका अनुसार भेलामा विशेष महाधिवेशनको पक्षमा नदेखिएका तथा पछिल्लो समय संगठनात्मक गतिविधिबाट टाढिएका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा उक्त समूहले गरेको छ ।

समूहका संरक्षक मानिएका पूर्व सभापति शेरबहादुर देउवा हाल विदेशमा उपचाररत रहेकाले कार्यक्रमको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । भेलामा नेता गुरु बराल, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौरलगायतका नेताले पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे धारणा राख्ने कार्यक्रम रहेको छ ।

लुम्बिनीमा प्रभाव कमजोर बन्दै गएको संकेत

कुनै समय लुम्बिनी प्रदेश देउवा समूहको सबैभन्दा उर्वर क्षेत्र मानिन्थ्यो । अहिले भने लुम्बिनी प्रदेशमा यो समूहको संगठनात्मक प्रभाव अघिल्ला वर्षहरूको तुलनामा कमजोर देखिएको छ।  एक समय देउवा समूहसँग रहेका प्रदेशका प्रभावशाली नेताहरू क्रमशः संस्थापन पक्षतर्फ ढल्किएका छन् ।

कुनै समय देउवाकी दाहिने हात मानिएकी नेत्री पुष्पा भुसालले देउवाको साथ छोडेर विशेष महाधिवेशनबाट उपसभापति बनेकी छन् । त्यसैगरी देउवाका सारथी नै भनिने बालकृष्ण खाण पछिल्लो समय सभापति गगन थापाको नजिक देखिएका छन् । विनोद चौधरी, देवेन्द्रराज कँडेललगायतका नेताले पनि संस्थापन पक्षलाई नै साथ दिइरहेका छन् । यसले लुम्बिनीमा देउवा समूहको पुरानो शक्ति संरचनामा परिवर्तन आएको देखिन्छ।

यही कारण आजको भेला केवल नियमित संगठनात्मक कार्यक्रम मात्र नभई विशेष महाधिवेशनपछि निराश र निष्क्रिय बनेका कार्यकर्तालाई पुनः सक्रिय बनाउने तथा समूहको राजनीतिक सन्देश स्पष्ट पार्ने प्रयासका रूपमा पनि हेरिएको नेताहरूले बताएका छन् ।

आगामी रणनीतितर्फ केन्द्रित

सातै प्रदेशका भेला सम्पन्न भएसँगै समूहले अब ती भेलाबाट प्राप्त सुझाव, संगठनात्मक अवस्थाको समीक्षा तथा पार्टीभित्र आफ्नो भूमिकाबारे थप रणनीति तय गर्ने तयारी गरेको एक नेताले बताए । कांग्रेसभित्र एकताको सन्देश प्रवाह गर्ने र संगठनमा देखिएको विभाजनको मनोविज्ञान अन्त्य गर्ने उद्देश्य व्यक्त गरे पनि, प्रदेशका प्रभावशाली नेताहरूको संस्थापनतर्फको झुकावले यो समूहको आगामी राजनीतिक दिशालाई चुनौतीपूर्ण बनाएको विश्लेषण भइरहेको छ ।

Share News