कर्मचारी दरबन्दी नथपिँदा समस्यामा त्रिवि शिक्षण अस्पताल
काठमाडौं । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा कर्मचारीको दरबन्दी कम हुँदा समस्या हुँदै आएको छ । नेपालमा पढाइसहित विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित टिचिङमा हाल दरबन्दीमा आठ सय कर्मचारी कार्यरत छन् । विसं २०४० असार ३१ गते तीन सय एक शय्यामार्फत स्वास्थ्यसेवा प्रदान गर्दै आएको टिचिङ अस्पतालले हाल नौ सय ७० शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टर र विपी कोइराला नेत्र अध्ययन केन्द्र पर्दैन । यी दुई निकाय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित हुँदै आएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले अस्पतालमा विभिन्न सेवा र शय्या थपिँदै जानु र दरबन्दी नथपिँदा अस्पताल सञ्चालनमा समस्या हुँदै गएको बताउँछन् । ‘अस्पतालमा दरबन्दी एक हजार पाँच सयको हाराहारीमा भए पनि हाल दरबन्दीमा जम्मा आठ सय कर्मचारी छन्, उक्त दरबन्दीले अस्पताल सञ्चालनमा समस्या हुँदै गएको छ’, उनी भन्छन् । टिचिङ अस्पतालमा स्थापनाको समयमा छ सय १५ जनाको दरबन्दी रहेको थियो । अहिले दरबन्दी बढेर एक हजार पाँच सय हाराहारी पुगे पनि दरबन्दीमा भने सो सङ्ख्यामा मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीबाहेक आन्तरिक व्यवस्थापनमार्फत करारमा एक हजार छ सय ७५ कर्मचारी कार्यरत छन् । त्रिवि शिक्षण अस्पताल सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयले वार्षिक ३३ करोड दिँदै आएको छ । कर्मचारी धेरै हुँदा त्रिविले दिने उक्त रकम कर्मचारीलाई तीन महिना पनि तलबभत्ता दिन नपुग्ने गरेको बताइन्छ । ‘झन्डै दुई हजार पाँच सय कर्मचारीलाई तलब र भत्ताका लागि मासिक १२ करोड खर्च हुँदै आएको छ, त्रिविले दिएको पैसा त तीन महिनालाई पनि तलब खुवाउन पुग्दैन’, कार्यकारी निर्देशक प्राडा काफ्ले भन्छन् । टिचिङले दैनिक गरेको आम्दानीले कर्मचारी तलबभत्तादेखि सामान खरिदमा खर्च हुँदै आएको छ । अहिले टिचिङ अस्पतालमा दुई हजार चार सय ७५ डाक्टर, नर्स तथा कर्मचारी कार्यरत छन् । टिचिङमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रोगको समेत उपचार हुँदै आएको छ । गत पुस २७ गते पृथ्वीजयन्तीमा सार्वजनिक बिदा रहेको दिन त्रिवि शिक्षण अस्पतालमा बहिरङ्गतर्फ एक हजार नौ सय २३ बिरामीले स्वास्थ्य सेवा लिएका थिए । यस्तै इमर्जेन्सीमा (बच्चा र लेवर रुमसहित) एक सय २४, भर्ना छ सय २४, एक्स–रे तीन सय ८०, अल्ट्रासाउन्ड दुई सय ७९, ल्याबमा एक हजार ६३ ले सेवा लिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन् । सोही दिन त्रिवि शिक्षण अस्पतालमा ५३ जनाको शल्यक्रिया भएको थियो भने ७७ जना डिस्चार्ज भएका थिए । यस्तै डाइलोसिस ७०, सिटी स्यान ६८, आइसियुमा ५३, एचडियुमा ६१ र डेलिभरी ११ जना भएका थिए । सोही दिन तीनजना बिरामीको ज्यान गएको थियो । बिदाको दिनमा समेत यति धेरै सेवा प्रदान गर्ने त्रिवि शिक्षण अस्पतालले बिदा नभएको दिनमा भने यसभन्दा धेरै बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन् । त्रिवि शिक्षण अस्पतालले यही वर्षदेखि एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ समेत सञ्चालनमा ल्याएको छ । क्यान्सर पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले रु ५५ करोड लागतमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । उक्त सेन्टर सञ्चालनमा आएसँगै त्रिवि शिक्षण अस्पताल नौ सय ७० शय्याको अस्पताल बनेको छ । सेन्टरमा २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसियु, ३० शय्याको एचडियु र १५ शय्याको डे केयर केमोथेरापी रहेको छ । नयाँ बनेको क्यान्सर सेन्टरलाई पूर्ण रुपमा सञ्चालन गर्न दुई सय ४१ जनाको दरबन्दी माग गरिएको कार्यकारी निर्देशक प्राडा काफ्ले बताउँछन् । रासस
मुक्तिनाथ विकास बैंकमा काम गर्ने अवसर, यी ८ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, क्रेडिट एनालिस्ट, डेक्स इनचार्ज, रिलेसनसिप मेनेजर, माइक्रो बैंकिगं, अपरेसन इनचार्ज, डिजिटल टन्सफरमेसन र लरनिग एन्ड डेभलबमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ १८ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
सभामुखमा एमालेका घिमिरेको मनोनयन दर्ता
काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन छन् । विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए । उहाँ विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए । हाल उनी एमालेको स्थायी समिति सदस्य छन् । आज अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आजै अपराह्न ४ः१५ बजे प्रकाशित गरिने छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ । रासस
कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ । न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ ।
म्यानपावर कम्पनीमा मेरो संलग्नता छैन : श्रममन्त्री अर्याल
काठमाडौं । नविनयुक्त श्रम तथा रोजगारमन्त्री डोल प्रसाद अर्यालले आफु कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नभएको बताएका छन् । सामाजिक संजालमार्फत उनले आफु कुनै पनि म्यानपावरमा संलग्न नभएको बताएका हुन् । ‘म्यानपावर कम्पनीमा म कहिले पनि छैन । हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर ”इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर” को पद लेखिदिए तर हटाईदिन भुले,’ उनले लेखेका छन् । उनले देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता भएकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नै नभएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका मन्त्री अर्याललाई स्वार्थ बाँझिने पद दिइएको भन्दै आलोचना भइरहेको छ ।
शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा
काठमाडौं । शिखर इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले माघ २५ गते बुधबार ११ बजे सभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट प्रस्तावित लाभांश प्राप्त गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र ०।८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १६ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेहरुले मात्र लाभांश पाउनेछन् ।
कालिका नगरपालिकाले जफत गर्यो ३ सय टिपर अवैध नदीजन्य पदार्थ
चितवन । कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ जफत सुरु गरेको छ। नगरपालिकाले आजसम्म तीन सय टिपर नदीजन्य पदार्थ जफत गरेको हो। नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नम्बर ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ। दैनिक रुपमा टिपर र जेसीबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो। उनका अनुसार तटबन्धन गरिएका खोलामा असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाइएपछि कडाइका साथ सङ्कलन थालिएको हो। उनले भने, ‘नगरवासी खुसी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौँ।’ अझै दुई सय टिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान छ। सबै सामग्री सङ्कलन गरिसकेपछि बोलपत्र आह्वान गरिने छ। त्यहाँबाट प्राप्त राजस्व जुन वडाबाट उठाइएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उनले बताए।
सभामुखको उम्मेदवारीका लागि काँग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने
काठमाडौं । नेपाली काँग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको काँग्रेस प्रवक्ता एवं सांसद डा।प्रकाशशरण महतले बताए । ‘प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा काँग्रेस छ,’ उनले भने । उनले अन्य दलहरुसँगको छलफलबाट निस्कर्ष आएपछि काँग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने जानकारी दिए । प्रवक्ता महतले काँग्रेस समझदारीबाट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताए । प्रवक्ता महतले जनता समाजवादी पार्टी, नेपाल र नेकपा ९एकीकृत समाजवादी० काँग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पारे ।