विकासन्युज

अब हुलाकले घरमै पुर्‍याइउनेछ राहदानी

काठमाडौं । काभ्रेपलाञ्चोकका नागरिकलाई घरमै राहदानीलगायत प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला हुलाक कार्यालय काभ्रे बीच शुक्रबार सम्झौता भएको छ । सम्झौतापछि प्रशासन कार्यालयबाट तयार हुने राहदानी तथा अन्य भौतिक सामग्री अब हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइने भएको हो । यसले कार्यालयसम्म धाउनुपर्ने झन्झट घटाउने र विशेषगरी वृद्धवृद्धा, अशक्त, व्यस्त तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ । सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा लिन चाहेको अनुरोध गरेमा राहदानीलगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पठाइने व्यवस्था गरिएको छ । सम्झौतामा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँ र हुलाक कार्यालय प्रमुख दीपककुमार नेपालीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रशासन कार्यालयले सेवाग्राहीको स्पष्ट ठेगाना उपलब्ध गराउनेछ भने हुलाक कार्यालयले सामग्री सुरक्षित र छिटो ढुवानी गर्ने जिम्मेवारी लिनेछ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यो व्यवस्था लागू भएपछि लामो लाइन बस्नुपर्ने र पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। उनले घरमै सेवा लिन चाहने सेवाग्राहीले सोहीअनुसार आवेदनमा उल्लेख गर्न आग्रह गरे ।

मूल्य वृद्धिको बाबजुद पनि मङ्गला कन्ट्रक्सनले लक्ष्यअघि नै सक्यो सडक स्तरोन्नति

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-२ कुहुँमा सञ्चालित चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी-कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघि नै सम्पन्न भएको छ । आगामी जेठ १५ गतेसम्मको ठेक्काको म्याद रहेको योजनाको निर्माण कम्पनी मङ्गला कन्ट्रक्सनले इन्धन र निर्माणजन्य सामग्रीको मूल्य वृद्धिको बाबजुद पनि लक्ष्यभन्दा डेढ महिनाअघि नै काम सम्पन्न गरेको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको उक्त योजना निर्माणका लागि पूर्वाधार विकास कार्यालय, म्याग्दी र कम्पनीबीच २०८२ माघ ६ गते ४६ लाख २९ हजार १२४ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता लगत्तै मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर गत चैत महिनामै निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक चक्रलाल पाण्डे (राजु)ले बताए । कार्यालयका अनुसार उक्त योजनाको ९६.२२ प्रतिशत भौतिक प्रगति भएको छ । कार्यालयका अनुसार उक्त योजनामार्फत कुहँ गाउँभित्र ५१ मिटर दुरीमा सडक फराकिलो पारेर मेसिनरी पर्खाल र नाली निर्माण भएको छ । उपल्लो तुसारेपानीदेखि कुहुँतर्फ जाने सडकको २५० मिटर दुरीमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार भएको छ । उपल्लो तुसारेपानी र कुहुँकोबीचमा रहेको डाडाँको घुम्तीमा १२८ घनमिटर ग्याबिन पर्खाल लगाएर सडक फराकिलो पारिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर रविन चोखालले बताए । कुहुँका बासिन्दा रविन पुनले सडक सुधार भएपछि सवारी साधन आवत जावत सहज र सुरक्षित भएको बताए । मार्ग खुलेपछि सामान्य मर्मतको भरमा जिप, मोटरसाइकल र ट्याक्टर सञ्चालन हुँदै आएको साँघुरो सडकमा गाडी फर्काउने ठाउँ नभएर ३०० मिटर टाढा लैजानुपर्ने समस्याको अन्त्य भएको पुनकाे भनाइ छ । सडकको शुक्रबार अनुगमन गर्न जानुभएका म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनयर डिभिजनल ईञ्जिनियर डा. महेन्द्र बानियाले मूल्यवृद्धिको असहज अवस्थामा पनि लक्ष्य अघिनै योजना निर्माण सम्पन्न गरेर व्यवसायीले सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए । कार्यालय प्रमुख बानियाँका अनुसार यस वर्ष सञ्चालन भएका अन्य दुई वटा योजना पनि लक्ष्य अघिनै सम्पन्न भएका छन् । निर्माण कम्पनीले ४६ लाख ७९ हजार ९८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको घारखोला-नेपाने सडक र रुप्से बिल्डर्सले ३५ लाख १७ हजार ३३७ रुपैयाँमा ठेक्का लिएको ज्ञानप्रकाश माविदेखि कोट-खलङ्गा हुँदै ठारा जाने सडक पनि निर्माण सम्पन्न भएको कार्यालय प्रमुख बानियाँले बताए । 

राजमार्गमा सवारी कर नउठाउन आदेश

काठमाडौं । उच्च अदालत जनकपुर को वीरगञ्ज अस्थायी इजलासले पर्साका विभिन्न राजमार्गमा चल्ने सवारीसाधनबाट कर नउठाउन आदेश जारी गरेको छ। न्यायाधीश अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेल को संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो ।  आदेशअनुसार पर्साको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा चल्ने सवारीसाधनबाट कर उठाउन पाइने छैन । तर वीरगञ्ज महानगरपालिका अन्तर्गतका भित्री सडकमा भने कर उठाउन सकिनेछ । अदालतले यसअघि २०८२ फागुन २८ मा जारी गरेको अन्तरिम आदेशलाई आंशिक संशोधन गर्दै निरन्तरता दिएको जनाएको छ । साथै २०८२ साउन ३० गते भएको ठेक्का सम्झौताका सर्तअनुसार कर सङ्कलनमा अवरोध नगर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । यसअघि प्रभु कन्स्ट्रक्सनले वीरगञ्ज महानगरसँग ठेक्का सम्झौता गरेर राजमार्ग क्षेत्रमा सवारी व्यवस्थापन कर उठाउँदै आएको थियो । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद बुद्धि प्रसाद पन्त (हरि)ले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको निषेधाज्ञा आदेशले राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा स्थानीय तहले बोलपत्र आव्हान गरेर सवारी कर तथा कवाडी कर सङ्कलन गर्न नपाउने आदेश जारी गरेकोमा खुसी व्यक्त गरे । उनले भने, 'मालवाहक सवारीसाधनसँग अवैध ढङ्गले ढाँट राखेर कर उठाइँदै आइरहेको थियो । अदालतको आदेशसँगै सो रोकिने आशा गरेका छौँ ।’

पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने तथा तराई भेगमा आंशिक बदली रहनेछ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना  छ । त्यसैगरी, आज राति देशका हिमाली भागमा सामान्यतया बदली रहने तथा पहाडी र तराई भागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना  छ ।  साथै देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचमा तापक्रम बढ्ने महाशाखाको पूर्वानुमान छ । ती भेगका सर्वसाधारणलाई महाशाखाले  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यातायात महासंघको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने

काठमाडौं । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ ।  महासंघका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी सातौं राष्ट्रिय महाधिवेशन यही वैशाख २७ गतेदेखि २९ गतेसम्म पोखरा इभेन्ट सेन्टरमा हुन लागेको जानकारी दिए । महासले महाधिवेशन तयारीका लागि जिल्ला, प्रदेश तथा सदस्य संस्थाहरूलाई निर्देशन दिएको छ । जिल्ला अधिवेशन बाँकी रहेका जिल्लाहरूले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भनिएको महासचिव गौतमले बताए । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्लालाई महाधिवेशनमा सहभागी नगराइने महासङ्घले जनाएको छ । महासंघ वैशाख १५ गतेभित्र प्रदेश संयोजकले प्रतिनिधिहरूको नामावली, फोटो तथा आवश्यक शुल्कसहितको विवरण अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।  लेवी तथा अन्य दायित्व बाँकी रहेका सदस्य संस्थालाई महाधिवेशनमा सहभागी नगराइने महासङ्घले जनाएको छ ।  यसैबीच, महासङ्घले महाधिवेशन तथा निर्वाचन प्रक्रिया विधानअनुसार प्रविधिमैत्री (विद्युतीय मतदान) प्रणालीमार्फत एकै दिन एउटै स्थानबाट प्रदेशअनुसार सञ्चालन गरिने जनाएको छ । 

अल्टिमेटम सकिएलगत्तै डोजर चल्ने त्रास, थापाथलीका केही सुकुमवासीले आफै भत्काउन थाले टहरा

काठमाडौं । सरकारले काठमाडौं महानगरसँगको समन्वयमा काठमाडौंका विभिन्न सुकुमवासी बस्ती भत्काउँदैछ । शुक्रबार (आज) साँझसम्म खाली गर्न चेतावनी दिएपछि अतिक्रमण गरेर बस्दै आएका केही सुकुमवासीहरु आफै घर टहरा भत्काउँदै खाली गरिरहेका छन् । केहीले भने अटेर गर्दै बसिरहेका छन् । शनिबार (भोलि) बिहान ७ बजेदेखि थापाथलीस्थित सुकुमवासी बस्तीमा सबैभन्दा पहिले डोजर चल्ने काठमाडौं महानगर प्रहरी स्रोतले जनाएको छ ।  स्रोतका अनुसार थापाथली सुकुमवासी बस्ती भएको ठाउँमा चलाउनका लागि ५ वटा डोजर तयारी अवस्थामा राखिएको छ । बस्ती भत्काउँदा हुनसक्ने सम्भावित घटनाबारे काठमाडौं प्रशासन र काठमाडौं महानगरले समन्वय गरेको बताइएको छ ।  सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल-गैरिगाउँ क्षेत्रमा डोजर लगाउँदैछ । 

ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सञ्चालित'ई-गभर्मेन्ट प्रोक्युरमेन्ट'प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरणहरू हेरफेर गरेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार चपुर निर्माण सेवा प्रालिका सञ्चालक ३२ वर्षीय अमृत बोहरालाई पक्राउ गरिएको हो । काठमाडौंको टोखा नगरपालिका-४ बानियाटार घर भएका बोहरालाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्यूरोको प्रहरी टोलीले आज अर्थात् वैशाख ११ गते शंखमुलबाट नियन्त्रणमा लिएको हो ।  विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै प्रणालीमा छिरेर कागजातहरू परिवर्तन गर्ने गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो । सुरुमा साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भए तापनि हाल यसलाई संगठित अपराधको रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको छ । सीआईबीका अनुसार यस प्रकरणमा हालसम्म ७ जना निर्माण व्यवसायीसहित जम्मा १० जना शंकास्पद व्यक्तिहरू पक्राउ परिसकेका छन् । पक्राउ परेका बोहरामाथि अहिले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । सरकारी अनलाइन प्रणालीको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै ठेक्का प्रक्रियामा अनियमितता गर्ने यस्ता कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट भन्सार छली गरेर भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले बिहीबार पर्साको विभिन्न स्थानबाट करिब १७ लाख ३० हजार मूल्य पर्ने २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जानकारी दिए ।  उनका अनुसार वीरगन्ज महानगर(१६ स्थित मुख्य भन्सार नाकाबाट १४, सिर्सियानाकाबाट सात, विन्दवासिनी गाउँपालिका-५ स्थित प्रसौनीभाठाबाट एक गरी २२ स्थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।