पर्यटकीय गन्तव्य बनाउन लमजुङको दाम्राङ पोखरी संरक्षण गरिँदै
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो । समुद्र सतहबाट एक हजार नौ सय ३५ मिटरको उचाइमा रहेको पोखरी संरक्षणका लागि चालू आर्थिक वर्षमा २६ लाख विनियोजन गरेर मर्मतसम्हार गरिएको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सो पोखरीको वरिपरि ढुङ्गा बिच्छ्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । पोखरीको वरिपरि छ मिटरदेखि १० मिटरसम्म ढुङ्गा बिच्छ्याउने काम भइरहेको छ । पोखरीको ७३ मिटर लम्बाइ र ६४ मिटर चौडाइ छ । गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार सो पोखरी नजिकै चार वनभोजस्थल समेत निर्माण गरिँदैछन् । चारवटै स्थानमा शौचालयको निर्माण कार्य भने पूरा भएको छ । यहाँ खानेपानीको धारा व्यवस्थित गर्न लागिएको छ । दाम्राङ पोखरी क्षेत्र भेंडीगोठ उपयुक्त क्षेत्रको रुपमा छ । यस क्षेत्रमा आठ भेँडीगोठ छन् । यहाँ आउने पर्यटक यस पोखरी तथा क्षेत्रमा रमाउनुका साथै भेँडासँग समेत रमाउन चाहने पर्यटकका लागि झन आकर्षणको स्थल हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ । पर्यटकीय गन्तव्यको रुपमा यस ठाउँको विकासलाई आगामी दिनमा पनि निरन्तर दिने भएको छ । यहाँ पर्यटकको प्रचुर सम्भावना रहेकाले यसको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न गाउँपालिका लागि पर्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार केही वर्षअघि यस पोखरीलाई सडक सञ्जालमा जोड्नका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरेको थियो । तत्कालीन गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा विकास गर्नका लागि रु २५ लाखमा चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइको सो सडक उक्त पोखरीसम्म निर्माण गरेको थियो । त्यस्तै, प्रदेश सरकारकै आर्थिक सहयोगमा पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ । यस पार्कभित्र ढुङ्गाको सिँढी निर्माण, दुई सय ८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो । यहाँ दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन् । यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिपे, दूधपोखरी हुँदै गोरखासमेत निस्कन सक्ने स्थानीयको भनाइ छ । संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारको ध्यान केन्द्रित हुन थालेपछि पर्यटक आगमन हुने स्थानीयले अपेक्षा गरेका छन् । उहिल्यै यस पोखरीमा ‘दामे’ भन्ने गोठाले डुबेर ‘रा’ पोखरीमा मरेको हुँदा दामेराभन्दा भन्दै अपभ्रस भई दाम्राङ पोखरी भएको भन्ने किंवदन्ती रहेको छ । गुरुङ भाषामा पोखरीलाई ‘रा’ भनिन्छ । यस पोखरी क्षेत्रबाट बौद्ध हिमाल, हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्ररे हिमाल चुली, मनास्लुलगायतको हिमाल देख्न सकिन्छ । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार उक्त पोखरीदेखि १५ मिनेटको दूरीमा रहेको एउटा ८०-८२ मिटर लम्बाइ भएको गुफा पनि हेर्न सकिन्छ । यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार पाँच सय मिटर पदमार्ग समेत निर्माण भइसकेको छ । यस चक्रीय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको बताइएको छ । प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ । यस्ता पर्यटकीय र ऐतिहासिकस्थल एवं क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको छ । रासस
नबिल, ग्लोबल र एनआईएमबि बिच नम्बर वान बन्न कडा प्रतिस्पर्धा, कुमारी र प्रभु पछ्याउँदै
काठमाडौं । पछिल्लो समय बैंकहरु गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रियामा धमाधम जान थालेपछि बैंकहरुको संख्या २२ मा झरेको छ । कुनै समय ३० भन्दा बढी रहेको वाणिज्य बैंक मर्ज हुँदै २२ वटामा झरेको हो । २६ वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक देखिएको छ । २०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका हुन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण पनि २२ वटै बैंकले सार्वजनिक गरिसकेका छन् । जसमध्ये हालै मर्जर भएका ५ वटा वाणिज्य बैंकहरुले पनि आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । आफूलाई नम्बर वान दावी गर्न प्रतिस्पर्धा गरिरहेका बैंकहरुमा कुन सूचकमा कुन बैंक बलियो होला भन्ने चासो सबैमा छ । विभिन्न सूचकहरुमा फरक फरक बैंकको अग्रस्थान छ । यी ५ बैंकलाई तुलना गरेर हेर्दा दोस्रो त्रैमासमा कस्तो देखिन्छ त ? दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच नम्बर वानको लागि कडा प्रतिस्पर्धा भएको देखिन्छ । यी ३ बैंकबीच विभिन्न सूचकमा रोचक प्रतिस्पर्धा भएको छ । केही सूचकमा नबिल अघि छ भने केही सूचकमा ग्लोबल आइएमई बैंक र एनआईएमबि बैंक अगाडि रहेका छन् । साथै यी तिनै बैंकलाई कुमारी बैंक र प्रभु बैंकले पछ्याएको देखिन्छ । चुक्ता पूँजीका आधारमा सबैभन्दा अब्बल ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ अर्ब १२ करोड, नबिल बैंकको २७ अर्ब ५ करोड रुपैयाँ, कुमारी बैंकको २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा नबिल बैंक अगाडि रहेको छ । नबिल बैंकको जगेडा कोषमा २५ अर्ब ६६ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २३ अर्ब ५५ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १८ अर्ब ३१ करोड रुपैयाँ, कुमारी बैंकको १२ अर्ब ५ करोड रुपैयाँ र प्रभु बैंकको ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यस्तै, निक्षेप संकलन र कर्जा प्रवाहमा ग्लोबल आइएमई अब्बल रहेको छ । ग्लोबल आइएमईले ४ खर्ब ३ अर्ब निक्षेप संकलन र ३ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगाले ३ खर्ब ५५ अर्ब निक्षेप संकलन र ३ खर्ब १७ अर्ब कर्जा प्रवाह, नबिलले ३ खर्ब ४७ अर्ब निक्षेप संकलन र ३ खर्ब १५ अर्ब कर्जा प्रवाह, कुमारीले २ खर्ब ९९ अर्ब निक्षेप संकलन र २ खर्ब ७५ अर्ब कर्जा प्रवाह र प्रभुले २ खर्ब ७० अर्ब निक्षेप संकलन र २ खर्ब ४५ अर्ब कर्जा प्रवाह गरेको छ । नाफा कमाउनेमा भने नबिल बैंक बैंकिङ्ग क्षेत्रकै नम्बर वान बनेको छ । नबिलले ३ अर्ब ४१ करोड रुपैयाँ, ग्लोबल आइएमईले २ अर्ब ७८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८ करोड रुपैयाँ, कुमारीले १ अर्ब ५३ करोड रुपैयाँ र प्रभुले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । खराब कर्जामा भने प्रभु बैंक अगाडि रहेको छ । प्रभुको १.९८ प्रतिशत, ग्लोबल आइएमईको २.९२ प्रतिशत, नबिलको २.९८ प्रतिशत, कुमारीको ३.१५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाको ३.७१ प्रतिशत खराब कर्जा रहेको छ ।
एनआइबिएल एस क्यापिटलमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले एक सुचना जारी गर्दै सिएफए ट्रेनि पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि आवेदन दिन मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसिएसिए ट्रेनिको प्रथम तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक उम्मेदबारले संस्थाको वेवसाईट मार्फत माघ २५ गतेभित्र आवेदन दिनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २५ गतेभित्र संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्ने छन् ।
सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, एक लाख ६९ सयमा कारोबार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । बुधबारको तुलनामा आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
सबैको लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समित माघ ११ गते बसेको बैठकले १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७३ प्रतिशत नगद गरी कूल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । जसमा ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि २५ लाख ५७ हजार ८९४ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
स्वाभिमान लघुवित्तको २१.०५२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समित माघ ११ गते बसेको बैठकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ रहेको छ । जसमा २ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १२ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र
अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए । उक्त योजनाअन्तर्गत चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिने छ । त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणसमेत यही योजनाअन्तर्गत निर्माण हुनेछ । लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी सबै पूर्वाधार निर्माणको ठेक्का दिइएको कार्यालयले जनाएको छ । उक्त योजनाका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्तरुपमा लगानी गर्ने गरी सम्झौता गरेका छन् । यसअन्तर्गत दुई पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक/एक ट्याङ्कको लागत बेहोर्नेछन् । त्यस्तै, पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय पक्षले निर्माण गरिदिनेछ । यसो गर्दा आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिए । निगमले एउटा पेट्रोल ट्याङ्क, २४ रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्नेछ । यो समेत गरी निगमको एक अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान रहेको उनले बताए । यो आयोजना यही वर्षको डिसेम्बरसम्म निर्माण सम्पन्न भई अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । योसँगै २०७६ भदौदेखि डिजेल मात्रै आयात भइरहेको पाइपलाइनबाट पेट्रोल समेत आयात सुरु हुनेछ । एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुनेछ । यसबाट अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्याङ्करको सङ्ख्या शून्य हुनेछ । यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख यादवको भनाइ छ । यसबाट वार्षिक करिब १५ करोड बचत हुने अनुमान गरिएको उनले जानकारी दिए । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ । ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार यसपछि थप पाँच/पाँच हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारीसमेत सुरु गरिएको उनको भनाइ छ । यसको ठेक्का रेलिगेर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । उक्त योजना समेत निर्माण सम्पन्न भएपश्चात् पाँच दिनको माग धान्नसक्ने डिजेल र सात दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने कार्यालयले जनाएको छ । रासस
रुपन्देहीको छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै
रुपन्देही । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ । छवटा छोटी भन्सार अझै सञ्चालनमा आउन सकेका छैनन् । द्वन्द्वकालमा बन्द भएका यी भन्सार सञ्चालनमा नआउँदा स्थानीयलाई पनि मर्का परेको छ लाखौँ रुपैयाँको राजस्व चुहावट भइरहेको छ । रोहिणी गाउँपालिका–२ स्थित अमवा भन्सार कार्यालय चााडो सञ्चालन गर्नुपर्ने आवाज उठ्दै गएको छ । भन्सार कार्यालय नहुँदा बेलहिया पुग्नुपर्ने बाध्यता छ । साविकमा भैरहवा भन्सार कार्यालयअन्तर्गत नै नवलपरासीका पाँचवटै छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । महेशपुर छोटी भन्सार कार्यालय हाल स्तरोन्नति भई मुख्य भन्सार कार्यालयमा परिणत भएको छ । नवलपरासीमा सबै छोटी भन्सार कार्यालय सञ्चालनमा आए पनि रुपन्देहीमा एउटा मात्र सञ्चालन छ । रोहिणी गाउँपालिकामै पर्ने बुची बरवा छोटी भन्सार कार्यालय पुनःस्थापनाको माग गरिएको छ । रुपन्देहीमा केही समय सञ्चालनमा आएको थुम्हवा पिपरहवा छोटी भन्सार पनि हाल बन्द छ । जिल्लामा बुची बरवा, अमवा, पक्लिहवा, बेथरी, मन्झरिया, थुम्हवा पिपरहवा र लुम्बिनी छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए । कर्मचारी अभावका कारण छोटी भन्सार सञ्चालन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए । ‘सीमामा छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउन भारतमा पनि सोहीअनुसारको भन्सार कार्यालय स्थापना हुनुपर्ने बाध्यात्मक अवस्था छ’, उनी भन्छन् । सुरु सुरुमा भारतबाट आउने नाकामा सहजताका लागि छोटी भन्सार स्थापना गरिएका थिए । छोटी भन्सार कार्यालयका नाममा रहेको सम्पति क्रमशः सशस्त्र प्रहरीको बर्डर आउट पोष्ट कार्यालयलाई हस्तान्तरण गरिने उनले जानकारी दिए । बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनद गर्न रोहिणी गाउँपालिकाले पटकपटक सम्बन्धित कार्यालयमा पत्राचार गरेको थियो । रोहिणीका पूर्वअध्यक्ष सनोजकुमार यादव भन्सार नहुँदा सो स्थानबाट ठूलो परिमाणमा तस्करी हुँदै आएको बताउँछन् । भैरहवा भन्सार कार्यालय प्रमुख पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले ९९ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा एक खर्ब १२ अर्ब ५४ करोड ५१ लाख राजस्व असुल भएको थियो । आव २०७८/७९ मा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख राजस्व सङ्कलन भएको थियो । यस्तै चालु आवको पुससम्म ७३ अर्ब ५४ करोड १९ लाख राजस्वको लक्ष्य राखेकामा ३५ अर्ब ४४ करोड २२ लाख मात्र राजस्व सङ्कलन भएको पौडेलले बताए ।