राष्ट्र बैंकले जारी गर्यो विप्रेषण विनियमावली (पूर्णपाठ)
काठमाडाैं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत गरेकाे राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागकाले जानकारी दिएकाे छ । विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ । [pdf id=383639]
आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने चालकहरुको माग
काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका हुन् । ‘देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेका छन् । उहाँहरुको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘सधैँ परनिर्भर हुनुभन्दा आफूहरुको भविष्यको लागि आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग गरेका हौँ ।’ एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरेका छन् । उनले आफूहरुको माग सुनुवाई नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रने चेतावली दिए ।
रामेश्वर खनालले गरे दोस्रो विवाह, को हुन् सरिता शर्मा ?
काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् । चार वर्षअघि श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए । खनालको एक्ली छोरी छिन् । सरिता शर्मा पोखरेलको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । उनको पनि एक्ली छोरी छिन् । ‘उनी धेरै वर्षदेखि एक्लो जीवन विताईरहेकी रहिछन् । साथीहरुले अलि अगाडि नै कुरा ल्याएका थिए, शुरुमा मैले मानिन, पछिल्लो समय मैले पनि एक्लो महसुश गरे, समझदारीमा लिभिङ टुगेदर रोजेका हौ,’ खनालले विकासन्युजसँग भने । खनालको एक्ली छोरी पनि भारतको नयाँ दिल्लीमा बसेर अध्ययन अनुसन्धान गरिरहेकी छिन् । खनाल घरमा एक्लै बस्दथे । ‘दिनभरी त यता उता गइन्छ, काम गरिन्छ, व्यस्त हुँदा एक्लो अनुभव हुँदैन रहेछ, तर बेलुका घर फर्केपछि एक्लो अनुभूति हुने, डिप्रेसन होला, अरु अरु रोगले सताउला भन्ने मनमा आउन थाल्यो’ उनले भने,‘सरिताको पनि त्यस्तै समस्या, उनकी छोरी पनि एमबिबिएस सकेर एमडी गर्न जापान जानै लागिन् ।’ श्रीपञ्जमीको दिन पारिवारिक सदस्यहरुबीच केक काटेर लिभिङ टुगेदरको आरम्भ गरेको खनालले बताए । ‘यसलाई विवाह नभनाै । लिभिङ टुगेदर हो,’ उनले भने । खनालकी नयाँ पत्नि सरिता ४७ वर्षकी भइन् । ‘उनी भन्दा म १७ वर्ष जेठो छु,’ खनालले भने ।सरिताको गृह जिल्ला दाङ हो । उनी पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता बलदेव मजगैयाकी भतिजी हुन् । छोरीलाई पढाउने क्रममा सरिता पछिल्लो समय काठमाडौंमा बस्दै आएकी थिइन ।
नियम उल्लङ्घन गरे रेमिट्यान्स कम्पनीलाई १० लाख जरिवाना, खारेज पनि हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुले नीति नियम पालना नगरे दर्ता खारेजसम्मको व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकको नियमावलीको नियम १६ मा नियम उल्लङ्घन गरेमा विप्रेषण कम्पनीलाई हुने सजाय तथा जरिवानाका बारेमा यस्तो उल्लेख गरिएको छ । नियमन उल्लङ्घन गरेमा विप्रेषण कम्पनीलाई राष्ट्र बैंकले एक वा एकभन्दा बढी सजाय तथा जरिवाना गर्न सक्ने व्यवस्था मिलाएको हो । जसमा सचेत गराउने, लिखित चेतावनी दिने, नियमन उल्लङ्घनको प्रकृति हेरी विप्रेषण कारोबारमा १ महिना देखि १ वर्षसम्मको प्रतिबन्ध लगाउने, राष्ट्र बैंकमा रहेको धरौटी जफत गर्ने, नियमन उल्लङ्घनको प्रकृति हेरी १ लाखदेखि १० लाख रुपैयाँसम्म नगद जरिवाना गर्ने, र इजाजतपत्र निलम्बन गर्ने, निलम्बन गरी खारेज गर्ने, वा सोझै खारेज गर्ने व्यवस्था गरेको छ । साथै, नेपाल राष्ट्र बैंकले कम्पनीले नियमन उल्लङ्घन गरेमा पदाधिकारी तथा कर्मचारीलाई पनि सजाय तथा जरिवाना हुने व्यवस्था मिलाएको छ । नियम १७ को ९१० मा नेपाल राष्ट्र बैंक ऐन, २०५८, विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा उल्लिखित ऐनहरू अन्तर्गत बनेको नियम वा विनियम एवम्प्रलचित कानूनका सम्बन्धित व्यवस्थाहरू तथा सो अन्तर्गत राष्ट्र बैंकले समय समयमा जारी गरेका परिपत्र, आदेश, निर्देशन, तथा सूचना विप्रेषण कम्पनीका पदाधिकारी तथा कर्मचारीले उल्लङ्घन गरेमा वा निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा राष्ट्र बैंक वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले माग गरेको कागजात, विवरण वा तथ्याङ्क तोकिएको समयभित्र पेश नगरेमा विनियमावली बमोजिम समेत नियमन उल्लङ्घन गरेको मानिने राष्ट्र बैंकले जनाएको छ । उपविनियम २ मा कसूर गर्ने पदाधिकारीलाई राष्ट्र बैंकले प्रकृति हेरी ५० हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जरिवाना गर्ने र निलम्बनमा गर्ने समेत व्यवस्था मिलाएको छ ।
केरा खेतीबाट बार्षिक २० लाख आम्दानी गर्दै कञ्चनपुरका किसान
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताए । हाल आठ बिघा जमिनमा केरा खेती गरिरहेका चौधरीले बार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए । ‘राम्रो मूल्य पाए सबै खर्च कटाएर बार्षिक बीस लाख रुपैयाँँसम्म आम्दानी हुन्छ’, उनले भने, ‘केराबाट भएको कमाइले घर खर्च चलाउनेदेखि छोराछोरीलाई शिक्षामा लगानी गर्न पाउँदा म सन्तुष्ट छु ।’ एक कठ्ठा जमिनमा केरा खेती गर्नुभएका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गरेका छन् । ‘चार/पाँच बर्षअघि नर्सरी बनाउँदा कृषि ज्ञान केन्द्रबाट दुई लाख र कृष्णपुर नगरपालिकाबाट एक लाख अनुदान मिलेको थियो ।’ उनले ‘त्यो बाहेक केरा खेतीका लागि अहिलेसम्म कहिकतैबाट सहयोग वा अनुदान पाइएको छैन् ।’आठ बिघा जमिन लिजमा लिएबापत बार्षिक तीन लाख २० हजार रुपैयाँ भाडा तिर्दै आएका चौधरीले उत्पादित केरा महेन्द्रनगर, धनगढी र अत्तरीयाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिए । समयमै मल र सिँचाइको व्यवस्था भए प्रतिबिघा जमिनमा बार्षिक सात/आठ लाख रुपैयाँसम्मको केरा उत्पादन हुन्छ तर बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू समस्या पर्ने गरेको उनले बताए । ‘भारतीय केराको आयात रोकेर स्थानीय किसानलाई मात्रै सहज गराइदिए दुई बर्षमा केरा उत्पादक किसानको स्तर धेरै माथि आउँथ्यो ।’ उनले भने, ‘पछिल्लो समय केरा उत्पादनमा लागेका किसान केराको बीमा नहुँदा चिन्तामा छन् ।’ गत बर्ष केरा खेतीको बीमा भएपनि चालु आर्थिक वर्षमा बीमा कम्पनीले केराको बीमा गर्न आनाकानी गरिरहेको चौधरीको गुनासो थियो । ‘सामान्य हुरी आउँदा पनि केराका बोट ढल्छन्’, उनले भने, ‘बीमा नहुँदा जोखिम बढेको छ ।’ एसएलसीसम्मको अध्ययन गरेका चौधरीले केराबाट भएको आम्दानीबाट दुई छोरालाई स्तरीय शिक्षा दिन सकेकोप्रति खुसी व्यक्त गरे । ‘केराकै कमाइले एउटा छोरा इन्जिनियरसम्म बन्यो’, उनले भने, ‘सामान्य किसानको छोराले माथिल्लो तहसम्म अध्ययन गराउन सक्नु मेरा लागि ठूलै कुरो हो ।’ रासस
गणपति लघुवित्तको सीइओमा विष्णु ढकाल
काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विष्णु प्रसाद ढकाल नियुक्त भएका छन् । बिहीबार बसको संचालकम समितिको बैठकले ढकाललाई माघ १५ गतेदेखि लागु हुने गरी सीइओमा नियुक्त गरेको हो । ढकाल यसअघि कम्पनीको कामु सीइओ रहेका थिए । उनको कार्यकाल ४ वर्षको रहनेछ । यस्तै, उनले कम्पनी सचिवको जिम्मेवारीमा पनि निरन्तरता पाएका छन् ।
एभरेष्ट बैंकले माग्यो कर्मचारी
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । बैंकले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २३ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
स्याङ्जाको एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड आम्दानी गर्न सफल भएका सुन्तला व्यवसायी मुक्ति अधिकारीले बताए । सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका अधिकारीका अनुसार जिल्लामै सबैभन्दा धेरै क्षेत्रफल र किसान सुन्तला खेतीमा संलग्न भएको वडा नै यही हो । ‘वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम पचाँस लाखसम्म आम्दानी गर्नुहुन्छ’, उनले भने । पाँच–सात लाखदेखि १५–२० लाख आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतिबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेति गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउछन् । प्रतिकेजी ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० मा बिक्री भइरहेको छ । अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । रासस