विकासन्युज

क्यान इन्फोटेक मेलाको तयारीमा व्यस्त श्रमिक (फोटोफिचर)

काठमाडाैं । २८औं संस्करणको क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे हाे । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुँदैछ । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उनको भनाइ छ । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ ।  

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा, लिए शपथ

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकबाट शर्मा सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् । तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भए पश्चात शर्मा चयन भएका हुन् । यस्तै, शर्माले डेप्युटी गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनासँग पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा देशाई नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको मुख्य प्रशिक्षक छनोट समितिले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई नियुक्त गरेको छ । देशाई एक साताअघि नै नेपाल बोलाइएको थियो । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृत दिएपछि मात्र आज देशाईलाई नियुक्त गरेको क्यानले जनाएको छ । यसअघि देशाईले सन् २०१७ मा नेपाली यु-१९ टोलीको ब्याटिङ कन्सल्ट्यान्ट समालेका थियो । त्यसअघि उनले सन् २०१४ को आइसिसी टि ट्वान्टी विश्वकप छनोटको क्रममा राष्ट्रिय क्रिकेट टोलीको लागि काम गरेका थियो । त्यसैगरी देशाई पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थियो । उनले सन् २०१९ देखि २०२२ को डिसेम्बरसम्म वेष्टइन्डिजमा काम गरेका थिए । यसअघि क्यानले मुख्य प्रशिक्षको लागि आवेदन खुला गरेको थियो । जसमा २४ जनाले प्रशिक्षकमा आवेदन दिएका थिए । त्यसमध्ये क्यानले अन्तिम चरणमा पाँच प्रशिक्षकको नाम सार्वजनिक गरी अन्तर्वार्ता लिएको थियो । यसअघि मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन भएको थियो । घरेलु मैदानमा आयोजना हुने आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा नेपाल रहेको छ । जसमा देशाईले नेपाली टोलीलाई प्रशिक्षण दिने छन् । नेपाल स्कटल्याण्ड र नामिबियाबीच हुने उक्त प्रतियोगितामा आगामी फागुन २ गतेदेखि सुरु हुनेछ । रासस

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

काठमाडौं । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ६.९३, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । बैंकका अनुसार २०७८ को पुस महिनामा उपत्यकामा ५.२८, तराईमा ६.१५, पहाडमा ५.३४ र हिमालम ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो । गत पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६, सुर्तीजन्य पदार्थको ११.८१, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ । त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६.४३, स्वास्थ्यको ११ .२, मनोरञ्जन तथा संस्कृतिको ८.७६, विविध वस्तु तथा सेवाको ८.६८ र फर्निसिङ् तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले मूल्य बढेको छ । रासस

कांग्रेस सरकारमा जाँदैन : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’ राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ । फरक प्रसङ्गमा बोल्दै उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताए। लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए। ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ’, उनले भने, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।’ रासस  

‘जुन देशमा बस्यो त्यहीको नागरिकता लियो भन्नु गलत हो’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जुन देशमा बस्यो त्यही देशको नागरिकता लियो भन्नु गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यकम्रमा हमालले आफुमाथि नागरिकता बारे उठेको विषयको बारेमा बोल्दै यस्तो बताएका हुन् । पूर्व गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको क्रममा अध्यक्ष हमालको नागरिकता पनि विवादमा तानिएको थियो । लामो समयसम्म थाइल्याण्डको स्थायी आवासीय सुविधा उपभोग गरेर बसेका उनले छोरा थाइल्याण्डमा जन्मिए पनि नागरिकता नेपालकै भएको र आफुले कहिले नेपाली नागरिकता नत्यागेको बताए । यस्तै, उनले आफुले कुनै गलत काम गरेको प्रमाण देखे जुनसुकै सजाय भोग्न तयार भएको बताए । ‘जनताको लागि काम गर्न आएको हुँ, बोर्डमा जागिर खान आएको होइन, त्यसैले मैले कुनै गलत काम गरेको प्रमाण देखायो भने म जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने ।

अस्ट्रेलियाले देखायो चीनसँग निर्बाध व्यापार गर्ने इच्छा

सिड्नी । अस्ट्रेलिया र चीनबीच तनावपूर्ण सम्बन्ध सुधारका लागि मन्त्रीस्तरीय वार्तापछि अस्ट्रेलियाले सोमबार चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न आग्रह गरेको छ । चीनले सन् २०२० मा जौ, गाइको मासु र वाइनजस्ता अष्ट्रेलियाका प्रमुख निर्यातमा चर्को कर लगाएको थियो । हालैका वर्षहरूमा रणनीतिक रूपमा महत्वपूर्ण दक्षिण प्रशान्त क्षेत्रमा प्रभावका लागि पनि उनीहरू होडबाजी गरिरहेका छन् । अस्ट्रेलियाको सरकारले मे महिनामा भएको निर्वाचनपछि चीनसँग कम मुठभेडको अडान लिएको छ र सोमबार चिनियाँ अधिकारीहरूसँग ‘व्यापारको पूर्ण पुनः उत्थान’’ बारे छलफल गरेको छ । व्यापारमन्त्री डन फेरेलले चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओसँग भिडियो लिङ्कमार्फत कुरा गरेको र ‘अस्ट्रेलियाली निर्यातकर्ताका लागि निर्बाध व्यापार’ को आवश्यकतामा जोड दिएको बताए । दुवै नेता अनिर्दिष्ट समयमा चीनमा व्यक्तिगत रूपमा भेट्न सहमत भएका छन् । अस्ट्रेलियाली कोइलामा लगाइएको अनौपचारिक प्रतिबन्धका साथै करवृद्धिका कारण चिनियाँ बजारबाट प्राप्त हुने राजस्वमा पाँच अर्ब अष्ट्रेलियन डलर (३.४७ अर्ब अमेरिकी डलर) भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । फारेलले यो बैठक चीनसँगको अष्ट्रेलियाको सम्बन्ध स्थिरीकरणका लागि महत्वपूर्ण कदम भएको बताए । पेन्टागनले चीनले मोन्टाना राज्यमा जासुसी बेलुन उडाएको आरोप लगाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको दुर्लभ भ्रमण रद्द गरेका छन्। यसै शिलशिलामा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले दुई महाशक्तिराष्ट्रलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेकी छन् । ‘विशेष गरी यस्तो समयमा यो धेरै महत्वपूर्ण छ, हामी यो सुनिश्चित गर्दछौं कि कर वृद्धिको प्रतिस्पर्धा थप अघि बढ्दैन,’ उनले भने । ‘हामी सबै शान्तिपूर्ण, स्थिर र समृद्ध क्षेत्र चाहन्छौं, र यसको अर्थ, अन्य कुराहरूका साथै, महान् शक्तिहरू एक अर्कासँग कुरा गरिरहेका छन् ।’ वोङले गत वर्षको डिसेम्बरमा बेइजिङको भ्रमण गरेका थिए । विगत चार वर्षमा अस्ट्रेलियाका विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो । अस्ट्रेलियाको पूर्ववर्ती सरकारले चीनको मानव अधिकारको रेकर्डमाथि बारम्बार प्रश्न उठाएर र कोभिड–१९ को प्रकोपको उत्पत्तिबारे स्वतन्त्र अनुसन्धानका लागि दबाब दिएर चीनलाई आक्रोशित बनाएको थियो । सम्बन्धमा आएको तघारोसँगै कुनै समय चिनियाँ सरकारका मन्त्रीहरूले आफ्ना अष्ट्रेलियाली समकक्षीहरूको फोन उठाउन इन्कारसमेत गर्ने अवस्था आएको थियो । रासस

इन्डोनेसियाको आर्थिक वृद्धिदर ९ वर्षयताकै उच्च

इन्डोनेसिया । विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य उत्पादन जीडीपी २.०७ प्रतिशतले खुम्चिएपछि यसको निर्यात र पर्यटनमा निर्भर अर्थतन्त्रमा ठूलो असर परेको थियो । तर दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा त्यसयता उकालो लागेको छ र गत वर्ष ५।३१ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको तथ्याङ्क इन्डोनेसियाली सरकारले सोमबार सार्वजनिक गरेको छ । ‘सन् २०२२ मा इन्डोनेसियाको अर्थतन्त्र बलियो रुपमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ,’ तथ्याङ्कसम्बन्धी निकायका प्रमुख मार्गो युवोनोले भने । उनले उच्च निर्यात मूल्य र यात्रा प्रतिबन्ध हटाइएका कारण वृद्धि भएको र मार्चमा क्वारेन्टाइनको आवश्यकतामा कमी आएसँगै व्यापारलाई बढावा दिइएको र पर्यटक आगमनमा वृद्धि भएको बताए । युवोनोले भने, ‘लगभग सबै अन्तर्राष्ट्रिय विमानस्थलहरू पुनः सञ्चालनमा आएपछि मानिसहरूको आर्थिक गतिविधि बढेको छ ।’ देशले वर्षको पहिलो छ महिनामा सात लाख ४० हजारभन्दा बढी आगन्तुकहरूलाई स्वागत गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ८०० प्रतिशत भन्दा बढीको वृद्धि हो । जुलाई–सेप्टेम्बरको एक मजबूत अवस्थापछि वर्षको अन्तिम त्रैमासिकमा सुस्त वृद्धिको बावजुद वार्षिक वृद्धि बलिया देखिएको हो । इन्डोनेसियाको अक्टोबर–डिसेम्बरमा आर्थिक वृद्धिदर ५।०१ प्रतिशतले बढेको छ, जुन अघिल्लो तीन महिनामा ५.७२ प्रतिशत थियो । तर सन् २०२१ मा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेपछि पाम आयल, कोइला र निकेलजस्ता प्रमुख वस्तुको निर्यात मूल्यमा उल्लेख्य वृद्धि भएपछि यसले महामारीको न्यूनताबाट आफ्नो वार्षिक वृद्धिलाई ३.६९ प्रतिशतले कायम राखेको छ । अर्थशास्त्रीहरूका अनुसार सुधारका बाबजुद यस वर्ष देशको आर्थिक वृद्धिदर केही सुस्त हुने अनुमान गरिएको छ । क्यापिटल इकोनोमिक्सका वरिष्ठ एशिया अर्थशास्त्री ग्यारेथ लेदरले भने, ‘कमजोर विश्वव्यापी माग, उच्च मुद्रास्फीति र उच्च ब्याज दरले गतिविधि खुम्चिएकोले यस बर्ष आर्थिक वृद्धि दरमा थप कमजोरी आउनसक्ने देखिन्छ ।’ आगामी त्रैमासिकहरूमा वृद्धि अझ सुस्त हुने अनुमान गरिएको छ । रासस