विकासन्युज

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको देखाइएको छ । राष्ट्र बैंकले तोकेकोे विद्यमान व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, छ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु घरेलु र साना तथा मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्छ । वाणिज्य बैंकहरुले गत पुस मसान्तमा कृषि क्षेत्रमा १३ प्रतिशत अर्थात् कूल पाँच खर्ब ४३ अर्ब ४७ करोड कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ऊर्जा क्षेत्रमा छ दशमलव तीन प्रतिशत अर्थात् दुई खर्ब ६२ अर्ब ५५ करोड कर्जा लगानी भएको छ । लघु घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा नौ दशमलव पाँच प्रतिशत अर्थात् तीन खर्ब ९६ अर्ब ९१ करोड कर्जा लगानी रहेको छ । विकास बैंकहरुले २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । गत पुस मसान्तसम्ममा ती क्षेत्रहरुमा औसत २६ दशमलव छ प्रतिशत अर्थात् एक खर्ब १५ अर्ब ७५ करोड बराबर कर्जा लगानी भएको छ । त्यसैगरी वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत पुस मसान्तसम्ममा ती क्षेत्रहरुमा औसत २२ दशमलव चार प्रतिशत अर्थात् १९ अर्ब ३३ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कूल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले छ दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब ८० अर्ब १७ करोड बराबर कर्जा प्रवाह गरेका छन् । त्यस्तै, विकास बैंकहरुले ११ दशमलव एक प्रतिशत अर्थात् ४८ अर्ब २३ करोड र वित्त कम्पनीहरुको सात दशमलव तीन प्रतिशत अर्थात् छ अर्ब २९ करोड कर्जा विपन्न वर्गमा लगानीमा गरेका छन् ।

गैँडाको खाग खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी निजहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए। ब्यूरोको टोलीले अनुसन्धानका क्रममा यही माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो । यसैगरी माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ । रासस

१०० रुपैयाँमै होटलको रुम दिँदै सिद्धार्थ बिजनेश ग्रुप

काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले  २५औं वार्षिकोत्सव मनाएको छ । रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न गरी संचालनको अन्तिम तयारीमा रहेको पाँचतारे स्तरको सिद्धार्थ इन्टरनेशनल होटल परिसरमा २५औं वार्षिकोत्सव मनाएको हो । २५औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए ।अर्थतन्त्र विकासको मुख्य आधार पर्यटन क्षेत्र भएको बताउँदै मुख्यमन्त्री गिरीले निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी गराए। पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सिद्धार्थ समूहले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए। पर्यटन उद्योगले आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले व्यवसाय संचालनका अनुकुल वातावरण सिर्जना गर्ने कुरालाई आफूले सँधै प्राथमिकतामा राखेको बताए । त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ समूहले पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे । ग्रुपका अध्यक्ष चिन्तामणि लक्ष्मण न्यौपानेले आफ्नो जन्मभूमि गुल्मीबाट आएर भ्रमण बर्ष १९९८ को सन्दर्भ पारी बिस २०५४ माघ २३ गतेका दिन टीकापुरमा खाजा पसलका रुपमा सुरु गरेको ब्यवसाय पाँच तारे होटलसम्म आइपुग्नुमा सबैको साझा मिहिनेतको प्रतिफल रहेको बताए ।अन्य व्यबसायीलाई पनि उनले नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश भएकाले परिणामको आशा राखेर निराश नभइ मिहिनेत गर्न सुझाब पनि दिए । २५ औं वार्षिकउत्सबको अवसरमा प्रत्येक महिना लक्की ड्र गरेर हरेक शाकामा एक जना ग्राहकलाई २५ बर्ष अघिकै सुरुवाती मूल्य बराबर १०० रुपैयाँमा होटलको रुम उपलब्ध गराउने छ, साताभरी देशै भरका शाखामा कतिपय प्याकेज मूल्यमा २५ प्रतिशत सम्म छुट दिने लगायत सरसफाइ तथा स्वास्थ सिविर, वृद्धाश्रममा निशुल्क भोजन लगायतका कार्यक्रमहरू समेत राखिएका छन् । समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफे, ट्रेडिङ्, होटेल ब्याबस्थापन एकेडेमी गरी ३२ कम्पनी पुगेका छन् । न्यौपानेका अनुसार जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको छ। समूहका सबै शाखामा गरी हाल १ हजार ६ सय जनाले रोजगारी पाएका छन् । कार्यक्रममा देशभर सिद्धार्थले संचालन गरेका होटल तथा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरू मध्येबाट विभिन्न बिधा र शाखाका उत्कृष्टहरूलाई नगद राशी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरूमा इम्प्लोइ अफ द इयरमा कृष्ण कुमारी पुन, म्यानेजर अफ द इयरमा उत्तम खत्री हुन् भने फाइनान्स बिभागका प्रमुख , फुड एन्ड बेभरेज उत्पादन प्रमुख मंगल डगौरा, फुड एन्ड बेभरेज सेवा प्रमुख बाशुदेव तिमल्सिना, फ्रन्ट डेस्क प्रमुख प्रकाश भट्ट,सेल्स एन्ड मार्केटिङ बिभाग प्रमुख नवीन भट्ट छन् । त्यस्तै भ्यू होटल सिद्धार्थ नेपालगन्ज उत्कृष्ट होटलका रुपमा पुरस्कृत भएको छ ।

अर्थमन्त्रीको आग्रह गभर्नरद्वारा ‘इग्नोर’, हटेन सेयरधितो कर्जामा १२ करोडको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसअघि सेयर बजारप्रति लचिलो बन्ने संकेत देखाए पनि मौद्रिक नीतिको समीक्षामा भने मौन बसेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् सेयरधितो कर्जामा केही लचिलो बन्ने अपेक्षा गरिए पनि यस विषयमा भने राष्ट्र बैंक मौन बसेको हो । नेपाल राष्ट्र बैंकले यसअघि सेयर धितो कर्जामा ४र१२ करोडको सीमा तोकेको थियो । राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर १२ करोडको सीमा यथावत् राखेको थियो । अर्धवार्षिक समीक्षामार्फत् १२ करोडको सीमा हट्न सक्ने अपेक्षा आम सेयर लगानीकर्ताको थियो । उनीहरुले राष्ट्र बैंकलाई सो सीमा हटाउनका लागि सुझाव पनि दिएका थिए । तर, समीक्षामा भने राष्ट्र बैंकले यस विषयमा मौन बसेको छ । अर्थमन्त्री विष्णु पौडेलले समेत राष्ट्र बैंकले १२ करोडको सीमा हटाउनु पर्ने धारणा सार्वजनिक रुपमै राख्दै आएका थिए । उनले अनौपचारिक रुपमा पनि गभर्नर महाप्रसाद अधिकारीलाई सेयर बजारको समस्या हटाउनका लागि राष्ट्र बैंकले पहल गरिदिनु पर्ने बताउँदै आएका थिए । उनको आग्रहलाई गभर्नर अधिकारीले समेत स्वीकार गर्दै सेयर बजारप्रति राष्ट्र बैंक सकारात्मक भएको र ऋणीले भोग्नु परेको समस्या समाधानका लागि राष्ट्र बैंक सकारात्मक रहेको अभिव्यक्ति दिँदै आएका थिए । उनले दुई साता अघि काठमाडौंमा भएको एक कार्यक्रमा सेयरधितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंक सकारात्मक भएको संकेत पनि गरेका थिए । सोही कार्यक्रममा अर्थमन्त्री पौडेलले समेत राष्ट्र बैंकले १२ करोडको सीमा हटाउनु पर्ने धारणा राखेका थिए । सार्वजनिक कार्यक्रममै १२ करोडको सीमा हटाउन तयार देखिएका गभर्नर अधिकारीले समीक्षामा भने कुनै लचकता देखाएनन् । उनले अर्थमन्त्री पौडेलको आग्रहलाई पनि अटेर गरेको बुझ्न सकिन्छ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर लगानीकर्ताका माग राष्ट्र बैंकले सुनुवाई नगर्नु बिडम्बना भएको बताइन् । उनले मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्र बैंकले मागेको सुझावमा आफुहरुले विभिन्न मागहरु माग गरेको भएपनि आफुहरुले गरेका माग सम्बोधन नभएको बताइन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा राष्ट्र बैंकलाई माग राख्दै १२ करोडको सीमा हटाउनु पर्ने, सेयरकर्जामा लगाइएको १५० प्रशितको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नु पर्ने, ब्याजदर एकल अंक कायम गर्नु पर्ने र तरलताको समस्या समाधानका लागि उचित पहल गर्नु पर्ने माग राखेको थियो । तर, आफुहरुले दिएको सुझाव सुनुवाई नभएको भन्दै अध्यक्ष पोखरेलले राष्ट्र बैंकप्रति असन्तुष्टि जनाइन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अझै बजारमा जोखिम कायम रहेकोले सेयर धितो कर्जामा १२ करोडको सीमा नहटाएको बताए ।  ‘बैंकिङ क्षेत्रमा जोखिम कायमै छ, अहिले नै सीमा हटाउँदा भोलि पुनः समस्या आउन सक्छ, त्यसैले पनि अहिले सेयरधितो कर्जामा लगाइएको सीमा हटाउन उचित देखिएन,’ उनले भने । तरलतामा सुधार हुँदै जाँदा मौद्रिक नीतिका कार्यदिशा पनि परिवर्तन हुँदै जाने उनको भनाइ छ ।

‘भ्यालेन्टाइन डे’मा करोडौं नेपाली पैसा विदेशिएकाे भन्दै गुलाबकाे फूल आयातमा प्रतिबन्ध

काठमाडौं । भ्यालेन्टाइन सप्ताह चलिरहेको बेला सरकारले गुलाबको फूल आयतमा प्रतिबन्ध लगाएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार १५ भन्सार कार्यालयका कार्यालयहरूलाई पत्राचार गर्दै गुलाबको फूल आयातमा रोक लगाएको हो । प्रणय दिवसको अवसरमा करोडौं नेपाली पैसा विदेशमा पुग्ने विगत वर्षहरूको परिस्थितिलाई मध्यानजर गर्दै गुलाबको फूल आयतमा प्रतिबन्ध लगाएको बताएको छ । केन्द्रका अनुसार व्यवसायिकहरुले अनुमति नलिइकन फूल भित्र्याउन पाउने छैनन् ।यससँगै फ्लोरिकल्चर एशोसिएसन नेपालले बजारमा गुलाफका फूलको अभाव हुन सक्ने बताएको छ । प्रणय दिवस अवसरलाई लक्षित गर्दै हालसम्म ३५ प्रतिशत गुलाबको फूल भित्रिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले बताए । ‘हाम्रो उत्पादन न्यून छ, जाडोमा गुलाबको फूल फुल्दैन, ९३ प्रतिशत आयात गरेर बजार धान्नु पर्ने थियो, त्यो मध्ये ३० देखि ३५ प्रतिशत ‘स्टिम’ गुलाफका आयात भएर व्यापार भइरहेको छ,’ उनले भने । अध्यक्ष तामाङका अनुसार अहिले बजारमा २० हजार स्टिम फूल छन् । फ्लोरिकल्चर एशोसिएसन नेपालले बजारमा ८० देखि १ एक सय २० रुपैयाँमा मूल्यसम्म किन बेच हुने अपेक्षा थियो । ‘बजारमा फूल छैन, सरकारको कार्यान्वयन पाटो फितलो छ, तर उहाँहरूले भन्सार प्रक्रिया पुरा नगरिकन यो भन्दा अगाडि पनि भइ रहेको हो र अहिले आयात हुँदैन भन्ने कुरामा हामी त्यति विश्वस्त छैनौं, फूल आयात नभए पछि बजारमा अभाव हुन सक्छ, थोरै रकम महँगन पनि सक्छ,’ उनले भने । अहिललेसम्म एक लाख फूलको आयात भइ खपत भइसकेको पनि एशोसिएसनले जानकारी दिएको छ ।

७ करोडमा रसुवाको पारच्याङमा अस्पताल निर्माण

रसुवा । दुर्गमका बासिन्दालाई स्थानीयस्तरमै उपचार प्रदान गर्न दक्षिणी रसुवाको पारच्याङमा अस्पताल भवन निर्माण थालिएको छ । सामान्य औषधि वितरण र घाउ खटिराजस्ता रोगको मात्र उपचार गराउने स्वास्थ्यचौकी रहेको स्थानमा ग्रामीण अस्पताल निर्माण हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । अस्पताल निर्माण सम्पन्न भएपछि चिकित्सकको दरबन्दी सिर्जना हुने स्थानीय तहले जनाएको छ । नौकुण्ड गाउँपालिकाको सदरमुकामसमेत रहेको पारच्याङमा स्थानीयलाई नियमित उपचार सेवा प्रदान गर्न सरकारी अनुदानअन्तर्गत बोलपत्र आह्वानको माध्यमबाट सात करोड ११ लाख रुपैयाँको लागतमा ग्रामीण अस्पताल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो धलेले बताए । जिल्ला सदरमुकाम धुञ्चेबाट १६ कोष पश्चिमको दूरीमा रहेको पारच्याङ क्षेत्रमा कुनै पनि रोग लाग्दा नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने अवस्था छ । अस्पताल निर्माणपछि स्थानीयलाई सहज हुनेछ । रासस

साना ऋणीलाई राष्ट्र बैंकको राहत, ऋण तिर्ने समय एक महिना थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ऋणीलाई केही सहज नीति लिएको छ । शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ऋण तिर्ने समय एक महिना थप गरेको हो । ‘साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ,’ समीक्षामा भनिएको छ ।

एकैदिन तोलामा १३ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य घटेको छ। । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन ३० रुपैयाँले घटेर प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।