पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती
मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका छन् । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले पर्यटन क्षेत्रबाट थोरै लगानीबाट पनि धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । मन्त्री किरातीले आम जनताका भावना, सरोकारबालाको सुझाव र यहाँको आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार शुरु गरेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भारतीय पर्यटकलाई ध्यानमा राखी विराटनगरबाट हिमाली दृश्यवालोकन उडान गर्नुपर्नेमा जोड दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, उपमहानिर्देशक हंशराज पाण्डे, होटल व्यवसायी राजन श्रेष्ठ र उद्योगपति राजेन्द्र खनालले प्रदेशमा रहेका १४ वटा विमानस्थलमा यहाँवाट हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिए । कूल १६ हजार दुई सय ७७ वर्गमिटर क्षेत्रफलमा फैलिने टर्मिनल भवन दुई अर्ब ४२ करोड रुपैयाँको लागतमा निर्माण हुनेछ । भविष्यमा बढ्न सक्ने हवाई यात्रुको चापलाई ध्यानमा राख्दै धावनमार्ग बिस्तार गरिन लागिएको विराटनगर विमानस्थलका प्रमुख रिञ्जी शेर्पाले जानकारी दिए ।
कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सेवाको लागि साझेदारी
काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीच कर्जा सेवा सम्बन्धी सम्झौता गरेको छ । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङ्गसँग माघ २९ गते आईतबारको दिन सम्झौता गरेको हो । यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट का.मु. कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक शास्वत जंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटा ब्राण्ड्का विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानएको छ ।
टाटा नेक्सन गाडीको ब्याट्री बिग्रिए के गर्ने, परिवर्तन गर्दा कति लाग्छ खर्च ?
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा नेक्सन ईभी कारको बिक्री वितरण गर्न थालेको लामो समय भइसकेको छ । उक्त कम्पनीले बिक्री गर्दै आएको नेक्सन ईभीका गाडीको उपस्थिति सडकमा बाक्लो हुँदै गएको छ । अहिले नेपाली गाडीको बजारमा ८० प्रतिशत हिस्सा ओगटेको टाटा मोटर्स कम्पनीले दाबी गर्दै आएको छ । टाटाको नेक्सन ईभी धेरैको रोजाइमा पर्ने मध्येको कार हो । इभी सवारी साधनको महत्वपूर्ण भाग मध्ये ब्याट्री एउटा हो । इभीका गाडी किन्दा ब्याट्री बिग्रिएर लामो समय प्रयोग गर्न पाइएन भने ठूलो रकम खेर जान्छ भन्ने मनस्थितिले पनि इभीका गाडी किन्न मानिसले हिच्किचाइरहेको देखिन्छ । तर, टाटा मोटर्सको इभी गाडीमा प्रयोग हुने ब्याट्री बिग्रिए पनि ब्याट्री नै परिवर्तन गर्नु नपर्ने कम्पनीले बताएको छ । ब्याट्रीमा समस्या आयो भने त्यसलाई मर्मत गरी पुनः प्रयोग गर्न सकिने टाटा मोटर्स कम्पनीका कस्टुमर केयरका प्रमुख प्रबन्धक कुमार भण्डारीले बताए । नेक्सन ईभीको कारमा ३०.२ किलोवाटको ब्याट्री जडान गरिएको हुन्छ । सो कारमा लिथियम-आयन ब्याट्री जडान भएको भण्डारीले जानकारी दिए । टाटा मोटर्सले टाटा नेक्सन ईभीको ब्याट्री प्याकमा ८ वर्षको ग्यारेन्टी दिएको छ । सो समय अवधिसम्म ब्याट्री बिग्रियो भने कम्पनीले नै निःशुल्क परिवर्तन गरिदिने कम्पनीले बताएको छ । नेक्सन ईभीको ब्याट्री टेक्नोलोजी अझै विकसित हुँदै गइरहेको पनि भण्डारीको भनाइ छ । नेक्सन ईभीको ब्याट्रीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जडान गरिएको हुन्छ । जसले ब्याट्रीको अवस्था बारे जानकारी दिन्छ । बीएमएसले ब्याट्रीमा जडान भएका दुई वटा ब्याट्री म्यानेजमेन्ट युनिट (बीएमयू) को सपोट लिएको हुन्छ । ब्याट्री प्याकमा ६ सय सेल लगाइएको हुन्छ भने प्रतिसेल १५ एम्पियर आवरको हुन्छ । ब्याट्रीमा कुलिङ स्टिमको पनि जडान गरिएको छ । जसले ब्याट्री छिटो तात्न दिँदैन । यसले ब्याट्रीको सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेल्छ । भण्डारीका अनुसार यसको ब्याट्रीमा टाटाको एडभान्स टोक्नोलोजि जिपट्रोनको पनि प्रयोग भएको छ । ब्याट्री फूल चार्ज भएपछि ३ सय १२ किलोमिटर सम्मको यात्रा तय गर्ने सकिन्छ । नेक्सनमा प्रयोग हुने ब्याट्रीमा १३ वटा मोड्युल लगाएर प्याक बनाइएको हुन्छ । सो मोड्युलमा समस्या देखिए पनि परिवर्तन गर्न सकिने भण्डारी बताउँछन् । ‘हिजोको दिनसम्म ब्याट्री भित्र सानो कुरा बिग्रियो भने पनि ब्याट्री प्याक फोर्नु पर्ने हुन्थ्यो, आजका दिनमा ब्याट्रीमा केही समय आयो भने प्याक नै फोर्नु पर्दैन, मर्मत गर्न सकिन्छ, व्यक्तिगत मोड्युल पनि फेर्न सक्छौं, एउटा ठाउँमा समस्या आयो भने ब्याट्री नै फेर्नु पर्ने अवस्था छैन,’ उनले भने । ब्याट्री पुरै परिवर्तन गर्नु पर्ने अवस्था आए गाडी खरिद गर्दा लाग्ने ५० प्रतिशत रकम ब्याट्रीमा खर्च हुन जान्छ । मोड्युल मात्र फेर्दा भने धेरै खर्च नहुने पनि भण्डारीले बताए । उनका अनुसार नेपालमा नेक्सन ईभीको हालसम्म ब्याट्री नै फेर्नुपर्ने अवस्था आएको छैन । ‘फरक-फरक मोड्युल हुने भएकाले खर्च त्यही अनुसार हुन्छ, आजको दिनमा यसको सेल बिग्रिँदैन, साना-साना सेललाई जोडेर ब्याट्री प्याक बनाइएको हुन्छ, त्यो भएन भने जोखिम आउन सक्छ, यो सेलाई एक-एक वटा गर्दै चार्ज गर्ने क्रममा सन्तुलन नमिल्न सक्छ, कुनै एउटा सेल कम चार्ज भइदियो भने त्यो सेलले होल ब्याट्रीको प्रफर्मेन्सलाई बिर्गाछ,’ उनले भने ।
नाडेप लघुवित्तको प्रस्तावित लाभांशमा राष्ट्र बैंकको अंकुश
काठमाडौं । नेपाल राष्ट्र बैंकले नाडेप लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा अंकुश लगाएको छ । बैंकले लघुवित्तले प्रस्ताव गरेको १०.५२६ प्रतिशत लाभांश वितरणमा प्रतिवन्ध लगाएको हो । राष्ट्र बैंकले नाडेप लघुवित्तलाई अन्य कुनै वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनमा नगएसम्मको लागि लाभांश वितरणमा रोक लगाएको हो । यसअघि संस्थाले डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग प्राप्तिसम्बन्धी सैद्धान्तिक सम्झौता गरेको थियो । तर, उक्त सहमति वदर भएसँगै राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरणमा रोक लगाएको हो । लघुुवित्तले गत माघ १८ गते सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख रुपैयाँ छ ।
मर्स्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने
लमजुङ । जिल्लाको उत्तरी भेगमा रहेको मर्स्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन गर्ने भएको हो । केही दिनअघि सम्पन्न गाउँसभाबाट स्थानीय शिक्षा ऐनमा संशोधन गरी उक्त परीक्षा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, ‘यसका लागि आफ्नै अध्यक्षतामा पालिकास्तरीय परीक्षा समिति गठन गरी माघ २९ गते बसेको बैठकले विभिन्न निर्णय गर्दै कामलाई अगाडि बढाएको छ ।’ सो बैठकले परीक्षा समितिमार्फत गाउँपालिकाबाट नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत, स्थानीय प्रहरी प्रमुख सदस्य रहने उक्त समितिमा शिक्षा शाखाका प्रमुख सदस्य सचिव र पाँच जना विषयगत उपसमितिका संयोजक सदस्य रहने गरी नौ सदस्यीय परीक्षा समिति रहने व्यवस्था गरिएको छ । साथै विषयगत समितिका संयोजकमा तीर्थबहादुर बस्नेत सामाजिक, मुक्तिनाथ न्यौपाने अङ्ग्रेजी, ईश्वरबाबु पाण्डे नेपाली, महेन्द्र न्यौपाने विज्ञान, थमन गुरुङ गणित विषयका लागि चयन भएका छन् । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार प्रश्नपत्र निर्माणदेखि विषयगत सुधारका निम्ति विषयगत समितिले अन्य विज्ञ शिक्षकको सहयोग लिएर काम गर्ने गरी जिम्मेवारी दिइएको छ । रासस
सडक र नालीको फोहरबाट सुन निकाल्ने काम गर्दै
देउखुरी । मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदो रहेछ । सडकको धुलो र नालीको फोहर संकलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो । भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आएका छन् । उनलाई सडकको धुलो र नालीको फोहर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ । उनले यो काम गर्न थालेको झण्डै एक दशक भयो । उनले सुनचाँदी पसल अगाडि सडकको धुलो बर्ढाछन् । सडक किनाराको नालीको फोहर पनि उठाएर भाँडोमा राखेर लैजन्छन् । सडकको धुलो र नालीको फोहर नजिकैको फोहर पानी बगिरहेको घोलामा लगेर मज्जाले धुन्छन् । धोएर निस्किएको बालुवालाई राम्रोसँग प्रशोधन गरेर बहुमूल्य सुन निकाल्छन् । उनको यो दैनिकीलाई पत्नी पुष्पाञ्जलिले सघाउँदै आएकी छन् । ‘हामी यहाँ दुई/चार महिना जति यही काम गरेर बस्छौँ’, उनले भने, ‘एक सिजनमा करिब एक/डेढ तोला सङ्कलन हुन्छ । त्यसपछि फेरि आफ्नै देशमा फर्किएर यस्तै काम गर्छौं ।’ बुटवलका अमरपथ, सङ्गमपथ र राममन्दिर लाइन, बिपी चोक क्षेत्र धेरै सुनचाँदी कारोवार हुने व्यावसायिक क्षेत्र हुन् । यहाँ सयौँको सङ्ख्यामा सुनचाँदी पसल रहेका छन् । बिहान १० बजेपछि मात्र पसल खुल्छन् तर त्यसअघि नै यो फिरन्ते समुदाय हातमा कुचो, तारका ब्रस, फलामका कराही लिएर सुनचाँदी पसल अगाडि धुलो बढारेर जम्मा गर्न व्यस्त हुन्छन् । कोही भने सडक छेउको नालीको फोहर जम्मा गर्छन् । त्यही धुलो माटो कराहीमा राखेर नजिकैको फोहर पानी बग्ने घोलामा लगेर मज्जाले चालेर मसिनो कण निकालेर संकलन गर्छन् । भर्खरै बिहान सुनचाँदी पसल अगाडिको फोहर बढारेर पानीमा धोई बालुवा माटो चालेर एक मुठीजति धुलो निकालेका गणेशले भने, ‘अब यसलाई प्रशोधन गरेर सुन निकाल्छौँ, अनि पसलमा लगेर बिक्री गर्छौँ । ’ बुटवलका मुख्य बजार क्षेत्रका सुनचाँदी पसल अगाडि सडक बढारेर सुन खोज्ने काममा लागेका भारत मध्यप्रदेशका राज मुराइको काम पनि दुई महिनादेखि यस्तै चलिरहेको छ । उनीसँगै १० जनाको समूह यही कामका लागि भारतबाट बुटवलमा आएको हो । हरेक वर्ष तीन/चार महिना यसै कामका लागि उनीहरु बुटवलमा बिताउने गर्छन् । सुन पसल अगाडिको धुलो र नालीको फोहर जम्मा गरेर पानीमा धुँदा मसिनो बालुवा निकालेर प्रशोधन गर्दा सुन निस्कने उनी बताउँछन् । भारतको मध्यप्रदेशबाट आएका यिनीहरु फिरन्ते समुदाय हुन् । यिनीहरु समूह बनाएर परिवारसहितै हिँड्ने र नेपाल तथा भारतका यस्तै ठूलाठूला सहरमा महिनौँ बिताउने गर्छन् । यस अवधिमा उनले दैनिकजसो सुन चाँदी पसल बाहिर सडक नालीबाट निस्केको माटो, बालुवा सङ्कलन गरेर नजिकैको घोलामा धोएर प्रशोधनका लागि छनोट गर्दै आएका छन् । यसरी काम गर्दा दैनिकजसो एक/दुई लालसम्म सुन फेला पर्ने गरेको मुरइ बताउँछन् । ‘हामी यहाँ दुई/तीन महिना बस्छौँ । त्यसपछि आफ्नै देश फर्कछौँ’, उनले भने, ‘यहाँ बसुञ्जेल जेजति सुन निस्कन्छ, सबै यहीँका सुनचाँदी पसलमा बेचेर फर्कंने हो ।’ मध्यप्रदेश जवलपुरकै करिब ३५ वर्षीय विशुवा सोन्जारीको ५० जनाको समूह पनि बुटवलका मुख्य सडक, गल्ली र नालामा सुन खोज्न व्यस्त छ । बुटवलमा करिब एक महिनाको बसाइपछि स्वदेशमै फर्किएर यही काममै लाग्ने उनी बताउँछन् । ‘पहिले जस्तो धेरै सुन पाउँदैन’, उनले भने, ‘मान्छे पनि धेरै भए, सुन पनि महङ्गो भयो ।’ सुन पसलको अगाडि प्रायः सुनका गरगहना बनाउने कालीगढले गहना बनाउँदा सुनलाई रेट्ने र थिच्ने काम गर्दा सुनका मसिना कणहरु कपडामा टासिने र उनीहरु आवतजानत गर्ने र फोहर बढारेर बाटोमा फाल्ने गर्छन् । माटोमा ती कणहरु खस्ने भएकाले सडक नालीको माटो उठाएर पानीमा पखालेर सुन निकाल्ने गरेको सुनचाँदी व्यवसायी सङ्घ बुटवलका पूर्वअध्यक्ष एमबी विश्वकर्मा बताउँछन् । सुन कालीगढ र व्यवसायी आवतजावत बढी हुने ठाउँमा बढालेर जम्मा गरेको धुलो धोएर प्रशोधन गरी सुन निकाल्ने गरेको उनी बताउँछन् । यसरी प्रशोधन गर्दा हरेक व्यक्तिले प्रत्येक दिन दुई/तीन लाल सुन जम्मा गर्छन् । कसैकसैले त दिनमै सात/आठ लाल पनि जम्मा गर्ने गरेको उनी बताउँछन् । सुनचाँदी व्यवसायीले सुन गहना बिक्री गर्दा जर्ती काट्ने बराबरको यिनीहरुले धुलोबाट सुन निकाल्ने गरेको व्यवसायीहरुको भनाइ छ । विश्वकर्मा भन्छन्, ‘काम गर्ने क्रममा हाम्रो शरीरमा सुनका टुक्रा, मसिनो धुलो टासिने र हिँडडुल बढी हुने ठाउँमा झर्ने भएकाले उनीहरुले त्यस वरपरको धुलो बढारेर पानीमा धोएर सुन निकाल्छन्’, उनले भने, ‘मेरो घरको भित्र कालीगढले काम गर्ने कोठा बाहिर गल्ली, घर बाहिरको नालीसमेत सफा गरेर माटो संकलन गरेर लैजान्छन् र सुन निकाल्छन् ।’ उनीहरुले प्रशोधन गरेर निकालेको सुन स्थानीय बजारमा सुन व्यवसायीलाई नै बजार मूल्यमै बिक्री गर्ने गर्छन् । ‘उनीहरुले प्रशोधन गरेर निकालेको सुन गुणस्तरीय पनि हुने भएकाले बजारमा बिक्री गर्न कुनै समस्या छैन’, पूर्वअध्यक्ष विश्वकर्माले भने । भारत तथा नेपालका प्रमुख सहरमा सुन पसल भएका क्षेत्रमा यस्ता व्यक्तिलाई भेट्न सकिन्छ । सुन टल्कने र गह्रुङ्गो धातु भएकाले पानीमा सजिलै थिग्र्याउन सकिन्छ । बुटवलमा यसरी काम गर्नेहरु अधिकांश भारतको मध्यप्रदेश, आन्ध्रप्रदेश, उडिसा र राजस्थानलगायतका क्षेत्रबाट आउने गरेको पाइन्छ । बुटवल–५ अमरपथमा गण्डकी सुन चाँदी पसलका सञ्चालक तथा पूर्ववडाध्यक्ष तेजप्रसाद विकका अनुसार यही पेसा गरेर कतिपयले त बुटवलमै स्थायीरुपमा बसोबास गरेका छन् । उनले भने, ‘यो काममा दुःख पनि छ, त्यसैअनुसारको कमाइ पनि राम्रै हुन्छ ।’ बुटवल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष गोकुल विश्वकर्माका अनुसार बुटवललगायत विभिन्न तथा ठूला सहरमा सुन चाँदीलगायत बहुमूल्य धातुका गरगहना बनाउने कालीगढ पनि अधिकांश भारतबाट नै आउने गरेका छन् । पछिल्ला समय स्वदेशी कालीगढको सङ्ख्या पनि बढ्दै गएको छ । रासस
शिवम् सिमेन्टको उपहार योजना : २ जोडीलाई थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौं । शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरिएको छ । उद्योगले सोमबार पत्रकार सम्मेलन गरी उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना विजेताहरुको नाम सार्वजनिक गरेको छ । लक्की ड्रमार्फत घोषणा गरिएको विजेतामा उपभोक्ता तर्फ प्रथम पुरस्कार पाउनेमा विकास कोइराला र रामप्रवेश यादव रहेका छन् । दुवै जना विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको कम्पनीले बताएको छ । दोस्रो पुरस्कार जित्नेमा दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झा सहित ४ जोडी रहेका छन् । दोस्रो बनेका उनीहरु सबै जनाले हेलिटुरको अवसर पाउने छन् । तेस्रो हुने फेवा कन्ष्ट्रक्सन, दिपेन्द्रकुमार झा, केशवकुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन् । पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । यसअघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको घोषणा गरेको थियो । सियोर सर्ट पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरिसकेको उद्योगले जनाएको छ । यो उपहार योजना मिति मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क्रयाच कुपन मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
लघुवित्तले गुमाए ३ अर्ब, ८ संस्था ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ भने अन्य लघुवित्त वित्तीय संस्थाहरुको नाफामा गिरावट आएको छ । लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको खुद नाफामा भारी गिरावट आएको हो । समिक्षा अवधिमा ५७ वटा लघुवित्तले आफ्नो दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय रिपोर्ट सार्वजनिनक गरेका लघुवित्तहरुले ३ अर्ब ४६ करोड ६ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९ करोड १ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा लघुवित्तहरुको नाफामा ४४.७५ प्रतिशत अर्थात् २ अर्ब ८० करोड ३५ लाख ६७ हजार रुपैयाँले गिरावट आएको हो । जसमा ४७ वटा लघुवित्तको नाफा घटेको छ । ८ वटा लघुवित्तले १९ करोड ७० लाख ७५ हजार रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । यस्तै, ४० लघुवित्तको नाफा गत वर्षको तुलनामा घटेको हो । पुस मसान्तसम्म विभिन्न १० वटा लघुवित्तको मात्रै नाफा बढेको छ । आरएमडिसी लघुवित्तको २२.५८ प्रतिशत, साना किसान लघुवित्तको ३३.८६ प्रतिशत, छिमेक लघुवित्तको ११.५६ प्रतिशत, स्वाबललम्बन लघुवित्तको २.१६ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ३८.३४ प्रतिशत, आरएसडिसी लघुवित्तको ६२.३३ प्रतिशत, नाडेप लघुवित्तको ९३.५६ प्रतिशत, आशा लघुवित्तको ५८ प्रतिशत, नेष्डो समृद्धि लघुवित्तको २.२४ प्रतिशत र गणपति लघुवित्तको ४.५६ प्रतिशत नाफा बढेको हो । यी बाहेक अन्य लघुवित्तको नाफा घटेको छ भने ८ वटा लघुवित्त ऋणात्मक भएका छन् । जसमा उपककार लघुवित्तको १ करोड ६१ लाख रुपैयाँ, मानुषी लघुवित्तकाृ ४४ लाख ६६ हजार रुपैयाँ, वीन नेपाल लघुवित्तको १ करोड ९ लाख ७१ हजार रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ, सामुदायिक लघुवित्तको ३१ लाख ७२ हजार रुपैयाँ, एनएमबि लघुवित्तको ८० लाख १० हजार रुपैयाँ र लक्ष्मी लघुवित्तको २ करोड ४० लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेका छन् । समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले आर्जन गरेको छ । छिमेक लघुवित्तले ५५ करोड ६० लाख ८२ हजार रुपैयाँ, दोस्रोमा ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ, तेस्रोमा जीवन विकास लघुवित्तले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ, चौंथोमा स्वाबलम्बन लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ र पाँचौमा डिप्रोक्स लघुवित्तले २४ करोड १ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।