विकासन्युज

उद्यमी कपिल न्यौपानेले दिए खेलकुद महासंघको उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको उपाध्यक्षमा युवा उद्यमी कपिल न्यौपानेले उम्मेदवारी दिएका छन् । आइतबारदेखि विराटनगरमा भएको महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा न्यौपानेले उम्मेदवारी दिएका हुन् । न्यौपानेको उम्मेदवारीमा राजन सुवेदी प्रस्तावक र विकास कुमार केसी समर्थकको रुपमा रहेका छन् । जलविद्युत, घरजग्गा लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका न्यौपाने यसअघि खेलकुद महासंघको सचिवको जिम्मेवारीमा रहेका थिए । नेपालको खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउँदै अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् । महासंघको महाधिवेशनले पदाधिकारी सहित दुईसय ९९ केन्द्रीय समितिको निर्वाचित गर्ने जनाइएको छ ।

एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा राठी

काठमाडौं ।  एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको सोमबार सम्पन्न संचालक समितिको १२०औं बैठकले राठीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीज्यूको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । राठील हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले क्यापिटलको समग्र व्यवसाय विस्तार र सेवा सर्वोत्कृष्ट बन्ने विश्वास लिएका क्यापिटलले जनाएको छ ।

म्याग्दीका पाखो जमिनमा गरिएको अम्रिसो खेती आयआर्जनको माध्यम बन्दै

म्याग्दी । म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ । पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका छन् । दुई वर्षअघि प्रतिकिलो ४० रुपैयाँका दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी एक सय २५ रुपैयाँमा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् । मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो एक सयदेखि एक सय २५ रुपैयाँसम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका यामबहादुर सापकोटाले प्रतिकिलो एक सय २५ रुपैयाँसम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गरेका छन् । उनी बेनी, बागलुङ र पोखरासम्म पु¥याएर अम्रिसो बेच्ने गर्छन् । यस वर्ष अम्रिसोको मूल्य केही बढ्नसक्ने अनुमान गरेको सापकोटा बताउँछन् । अम्रिसो पोखरासम्म पु¥याउँदा गत वर्ष एक सय ४० रुपेयाँमा बिक्री गरेका उनले यस वर्ष भने एक सय ६० सम्म रुपैयाँमा बिक्री हुने अनुमान गरेका छन् । पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ । कुनै समय बिक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिकरूपमै खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा बिक्री गर्दै आएका छन् । बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ । अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो । गुणस्तरीय जीवन विषयमा विधावारिधि गरेका डा माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अङ्ग्रेजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो । ग्रेमिनी–पोएसी वानस्पतिक परिवारमा पर्ने यो बहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुने गर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको महत्व बढेको हो । बिरुवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरु गर्छ । प्रायः कुचो बनाउनका लागि अम्रिसोको प्रयोग गरिए पनि कागज कारखानामा कच्चापदार्थका रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इन्जिनियरिङका लागि माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा पनि प्रयोग हुन्छ । अम्रिसोको बिरुवा बर्सात्का बेला रोप्नु उपयुक्त हुन्छ । बिरुवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारसम्भारको आवश्यकता पर्दैन । एकपटक रोपिसकेपछि आफैँ राम्रोसँग हुर्कन सक्ने अम्रिसो रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रन सक्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सके अम्रिसोबाट छ देखि १० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ । अम्रिसोको बाली सङ्कलन भनेको यसको फुलको गुच्छा टिप्ने हो । बीउ परिपक्व भएपछि गुच्छा सङ्कलन गर्दा बीउ भुइँमा झरी पुनः उत्पादनमा पनि सघाउ पुग्छ । साधारणतया माघ–फागुनमा गुच्छासहितको डाँठ काटेर सङ्कलन गरिन्छ र घामको प्रकृति हेरी चारदेखि सात दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने वन डिभिजन कार्यालयका वन तथा वातावरण विज्ञ चन्द्रमणि सापकोटा बताउँछन् । रासस

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र मामिला सल्लाहकारमा डा। रुपक सापकोटा नियुक्त भएका छन् । चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरासमेत रहेका सापकोटा यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप(कार्यकारी निर्देशक थिए । सापकोटाले बुधबार कार्यभार सम्हाल्ने बताइएको छ ।

गर्मीयाम सुरु भएकाले अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो

अर्घाखाँची । जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् । दैनिक एक सयदेखि एक सय ५० जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेकामा अहिले बढेर दैनिक तीन सयभन्दा बढी पुगेको अस्पतालका प्रमुख चिकित्सक जगन्नाथ तिवारीले बताए । बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घ रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन् । अस्पतालमा भर्ना भएर उपचार गराउनेकोे सङ्ख्या पनि बढेको छ । केही समयपहिलादेखि बन्द रहेको सिएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि नियमित भएको छ । अस्पतालमा प्रमुखको जिम्मेवारी सम्हालेर चिकित्सक जगन्नाथ तिवारी आएपछि यो सेवा सुरु भएको हो । जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ । शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी भएका छन् । दुई एमडिजिपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुनः सञ्चालन गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीको भनाइ थियो । अत्याधुनिक उपकरणबाट अधिकांश रोगको जाँच गरिने ल्याब सेवा सञ्चालन गरिएको छ । थाइराइड, फङ्गसन टेस्टदेखि लिएर सबै प्रकारका बायोकेमेस्टिक टेस्ट, डिजिटल एक्स–रे, डप्लर अल्ट्रासाउन्ड सेवा, फिजियोथेरापी सेवालगायत सेवा नियमित सञ्चालन भएका छन् । दैनिक ५०/६० वटासम्म अल्ट्रासाउन्ड हुने गरेको छ । अन्य सामान्य शल्यक्रियालगायत हाइड्रोसिल, हर्नियालगायत रोगको शल्यक्रिया पनि सोही अस्पतालमा हुने गरेको छ । सिएस सेवा सञ्चालन गर्दा जिल्लामा ब्लड बैंक नभएर समस्या हुने तर शल्यक्रिया गर्नुभन्दा पहिला ब्लड दिने व्यक्तिलाई राखेर शल्यक्रिया गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले जानकारी दिए । अहिलेको सङ्ख्याभन्दा पनि बिरामीको चाप बढ्न सक्नेछ । गर्मीयाम सुरु भएकाले बिरामीको चाप थप बढ्न सक्ने अनुमान चिकित्सक तिवारीको थियो । रासस

प्रधानन्यायाधीश नियुक्ति चाँडो टुङ्ग्याउन नेपाल बारको माग

काठमाडाैं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ। एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए । सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताए । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ । विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हुन् । भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए।

आइसिसी लिग–२ : नेपालसामु २१३ रनको चुनौती

काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २१३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१२ रनको योगफल बनायो । स्कटल्याण्डको लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । उनले ५० बलमा नौ चौका र दुई छक्काको मद्दतमा ६० रनको योगदान गरेका हुन । त्यस्तै स्कटल्याण्डका अन्य खेलाडी म्याथ्यु क्रसले ४२ रनको योगदान गरे । ब्रेन्डन म्याकुलमले ३१ रन बनाउँदा काइल कोट्जर र क्रिसटोफर म्याकब्राइडले समान २२/२२ रन जोडे । मार्क वाट्ले ८ रन बनाए भने शफ्यान शरिफले अविजित ८ रन जोडे । क्रिस ग्रेभ्ब्सले ७ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले चार विकेट लिए भने करण केसीले तीन विकेट झारे । त्यसैगरी ललित राजबंशी र कुशल मल्लले समान एक एक विकेट हात पारे । यस सिरिजमा नेपाल लगातार चौँथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेलमा नेपालले विजय हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा तीन विकेटको जित हासिल गरेको थियो । नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैँटौँ स्थानमा छ । त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारसहित ५० अङ्कका साथ शीर्षस्थानमा छ ।

प्रोग्रेशिभ फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  प्रोग्रेशिभ फाइनान्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले विभिन्न पदका लागि कर्मचारकाे माग गरेको हाे । कम्पनीले डिपार्टमेन्ट हेड देखि एसिस्टेन्ट लेभलसम्म विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर लेभलका लागि पनि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।