विकासन्युज

लक्ष्मी बैंकले धितोमा राखेका ४६ वटा मोटरसाइकल र स्कुटर बेच्दै

काठमाडौं । लक्ष्मी बैंकले धितोमा राखिएको घरजग्गा र ४६ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि ऋणीले वेवास्ता गरेपछि धितो राखिएको घरजग्गा र सवारी बिक्री गरेर असुल गर्ने भएको हो । व्यास नगरपालिका तनहुँका ऋणी खड्गमाई मोटर्सका सञ्चालक राम कुमारले कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । गोप्य सिलबन्दी बोलपत्र बैंकको शाखा कार्यालय दमौली, तनहुँमा दाखिला गर्नुपर्नेछ । ऋणी राम कुमार श्रेष्ठको नाममा रहेको व्यास नगरपालिकामा रहेको कित्ता नम्बर २१ को ८–१–०–० क्षेत्रफल भएको जग्गा र जमानतकर्ता कल्पना श्रेष्ठको नाममा रहेको कित्ता नम्बर १४१९ को ०–२–३–२ क्षेत्रफल भएको जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । साथै, बैंकको नाममा दर्ता रही ऋणी खड्गमाई मोटर्सले लिएका विभिन्न कम्पनीका मोरसाइकर र स्कुटर्सहरु बिक्रीमा राखिएको हो । यदि ७ दिनभित्रमा कर्जाको सम्पूर्ण साँवा ब्याज तथा हर्जना लगायतका अन्य दस्तुर चुक्ता गरेमा धितो फुकुवा गरी लैजान बैंकले आग्रह गरेको छ ।

प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ जारी गर्दै आइएमई लाइफ इन्स्योरेन्स

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रिमियम मूल्यसहित उक्त रुपैयाँमा आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा थप १७६ रुपैयाँ प्रिमियम थप गरि सेयर निष्काशन गर्न बोर्डको अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने छ । जसअनुसार कम्पनीले कूल ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको सेयर बजारमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ ।

इम्पेरियल वर्ल्ड स्कुलले बनायाे ‘गणित पार्क’

सांकेतिक तस्विर काठमाडौं । विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलो पटक गणित उध्यान (म्याथ पार्क) को सुरुवात गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले पार्क सुरुवात गरिएको हो । बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको उक्त पार्क आज पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्रचार्यले पार्कको उद्घाटन गरिन् । पार्कमा विद्यार्थीहरुले गणित प्रयोग गरी रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न यो पार्कको भूमिका रहने अपेक्षा गरिएको छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरुले आफै पार्कमा गणितका नयाँ कुरा सिक्न सक्ने र यसले कक्षा कोठाको सिकाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । सचिव बज्राचार्यले नेपालमा पहिलो स्थापना भएको गणित पार्कले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणितप्रति विद्यार्थीको आर्कषण कम हुने गरेको बताउँदै गणित पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताइन् । उनले मन्त्रालयले हाल ‘स्टीम’ शिक्षाका सामग्री तयार पार्ने गरिरहेको र पूरा भएपछि विद्यालयलाई वितरण गर्ने तथा शिक्षकलाई पनि तालिम दिने बताइन् । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा पनि हुन आवश्यक रहेको बताइन् । अङ्ग्रेजी जानीनजानी बोल्ने गरिए पनि गणितको सिकाइ सोअनुसार नहुने भन्ने विषय महत्वका साथ नहेरिएको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टीम विभागका प्रमुख विनोद पन्तले बताए । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण पार्क निर्माण गर्न सकिएको जानकारी दिइन् । रासस

नबिल सक्षम कर्जा : सस्तो ब्याजमा एक करोडसम्म ऋण, बीमा सुविधा पनि

काठमाडौं । नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्नेलगानीकर्तालाई लक्षित गर्दै नबिल बैंकल ‘नबिल सक्षम कर्जा’ प्रडक्ट ल्याएको छ । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेहरूको लागि सस्तो ब्याजदरमा लगानी गर्ने गरी उक्त प्रडक्ट ल्याएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव र ब्याजदर उच्च भएका बेला नबिल बैंकले भने नबिल सक्षम कर्जामार्फत् कर्जा लगानी गर्ने भएको हो । बैंकबाट ऋण लिएर व्यापार तथा उद्यम सञ्चालन गर्ने नवप्रवर्तन तथा उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका लगानीकर्तालाई लक्षित गरी सक्षम कर्जा प्रडक्ट ल्याएको एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरज कुमार बस्नेत बताउँछन् । उनका अनुसार यस प्रडक्ट अन्तर्गत स्टार्टअपले पनि कर्जा लिन पाउनेछन् । ‘बैंकबाट ऋण लिएर व्यवसाय सुरुवात गर्ने लगानीकर्तालाई लक्षित यो प्रडक्ट ल्याइएको हो, यस प्रडक्टले नयाँ र पुराना दुवै प्रकारका लगानीकर्तालाई समेट्छ,’ उनले भने । बस्नेतका अनुसार यस प्रडक्ट मार्फत् कूल सम्पत्तिको ८० प्रतिशतसम्म बैंकले कर्जा दिनेछ । नबिल बैंकको प्रडक्टले नयाँ तथा पुराना व्यवसायीको व्यवसाय थप फस्टाउने उनको भनाइ छ । नबिल सक्षम कर्जा मार्फत् ऋण लिने व्यवसायीहरुको धेरै रहेको उनले बताए । उनका अनुसार हालसम्म २ सयभन्दा बढीले नबिल सक्षम कर्जामार्फत् ऋण लिएका छन् । ‘नबिल सक्षम कर्जा कार्यक्रम अन्तर्गत न्यूनतम १५ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म सीमा तोकिएको छ, हालसम्म २ सय लगानीकर्ताले नबिल सक्षम कर्जा लिएका छन्, कर्जा अवधि १० वर्ष हुन्छ,’ उनले भने । नबिल सक्षम कर्जा अन्य ऋण लिने प्रक्रिया जस्तै गरी लिन सकिन्छ । देशभरका नबिल बैंकका शाखाबाट नबिल सक्षम कर्जा लिन सकिने बस्नेत बताउँछन् । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको आधारमा कर्जा दिइरहेको उनले बताए । बैंकबाट कर्जा लिँदा घर, जग्गा, गाडी, स्टक धितो सुरक्षणमा राख्न मिल्ने उनले बताए । ‘नबिल सक्षम कर्जा लामो समय अवधिसम्मको लागि प्रयोग गर्न पाइन्छ, कर्जा लिनको लागि आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ, प्रक्रिया त्यति धेरै असहज छैन,’ उनले भने, ‘कुन प्रयोजनको लागि कर्जा लिन खोजिएको हो स्पष्ट खुलाउनुपर्छ, बैंकले अध्ययन गरेर प्राथमिकताका साथ कर्जा उपलब्ध गराउँछ ।’ यो कर्जा सुविधा लिनका लागि धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाइनेछ । सहजै कर्जा सुविधासँगै निःशुल्क क्रेडिट कार्ड, एसएमएसमार्फत् निःशुल्क कारोकार अलर्ट, निःशुल्क मासिक बैंक स्टेटमेन्ट र नबिल केयरद्वारा घातक रोगको बीमा सुविधा प्रदान गर्नेछ ।

‘खेतबारीमा विद्यार्थी’ अभियान : नाफाको ७५ प्रतिशत विद्यार्थीलाई, बाँकी विद्यालयले लिने

गलेश्वर । शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कँडेलले बताए । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । ‘कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरेका छौं,’ शिक्षालयका प्रमुख कँडेलले भने, ‘हाम्रो आफ्नै कृषि फार्म पनि छ, त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती, माछापालन आदि गरेका छौँ, खेतबारीमा नै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यावहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौं ।’ कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कँडेलले बताए । किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ । बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटिएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ६० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनाका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर आम्दानी गर्दै आएका शिक्षालयका प्रमुख कँडेलले बताए । यस शिक्षालयका विद्यार्थीले पढाइ सँगसँगै आम्दानी पनि गर्दै आएका छन् । विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुने गरेका छन् । बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले राख्ने गरेको छ । ‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौं,’ शिक्षालयका प्राचार्य जङ्गबहादुर गर्बुजाले भने, ‘विद्यार्थीले खेती उब्जाउबाट बिक्री गरेको रकमको २५ प्रतिशत हामी राख्छौँ किनभने फेरि अर्को पटक पनि लगानी गर्नुपर्ने हुन्छ ।’ विद्यार्थीहरुको धेरै समय कक्षाकोठामा भन्दा खेतबारीमै बित्ने गरेको छ । उनीहरुले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि आफ्ना छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुसी छन् । ‘घरका सबैले पुरानै तरिकाबाट कृषि गर्दै आएका थियौँ, खेतबारीमा दिनै फाल्दासमेत तरकारी खेतीबाट कुनै पनि आम्दानी हुन सकेको थिएन,’ तिलकुमारी रिजालले भनिन्, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौँ, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि बिक्री गर्न सकेका छौं ।’ विद्यार्थी गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुसी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो,’ आइएसइएजी प्रथम वर्षमा पढ्ने विशाल रिजालले भनिन्, ‘सानैदेखि घरमा बुबाआमासँगै खेतबारीमा जाने उहाँहरुलाई सघाउने गर्थे, सहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै सस्तोमा पढ्न पाएकामा खुशी छु ।’ ‘टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर हामीले आफ्नै छात्रबास निर्माण गर्यौं,’ शिक्षालयका संयोजक कँडेलले भने, ‘चमेनागृह पनि सञ्चालनमा ल्याएका छौं । छात्रबासमा बस्ने विद्यार्थीले आफ्नो खर्चमा मेसमा खान्छन् बस्नका लागि कुनै शुल्क लाग्दैन ।’ रासस

हुम्लाका रैथाने बाली बिक्री गर्न खाद्य व्यवस्था कम्पनी र दुई गाउँपालिकाबीच सम्झौता

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका दुई वटा गाउँपालिकासँग रैथाने बालीको सङ्कलन तथा बिक्री वितरणका लागि सम्झौता गरेको छ । स्थानीय तहमा उत्पादकत्व तथा क्रयशक्तिमा वृद्धि र खाद्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले हुम्लाको सिमिकोट र अदानचुली गाउँपालिका गरी दुई स्थानीय तहसँग समझदारी गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । कम्पनीले यहाँ उत्पादित फापर, सिमी, चिनु, कागुनोलगायतका अग्र्यानिक खाद्यान्न बाली बजारीकरण गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय प्रतिनिधि, कृषि कार्यालय, उद्योग वाणिज्य सङ्घ र गाउँपालिकाले मूल्य निर्धारण गरेपछि कम्पनीले बाली खरिद तथा बिक्री गर्नेछ । कम्पनीले सिमिकोट गाउँपालिकासँग कात्तिक ३ मा र अदानचुली गाउँपालिकासँग यही माघ २९ गते उक्त सम्भौता गरेको थियो । यहाँ उत्पादित खाद्यान्न बालीको बजारीकरणमा समस्या भएपछि कम्पनीले स्थानीय तहसँग सम्झौता गरी काम सुरु गरेको हो । कम्पनीका सूचना अधिकारी न्यौपानेले अन्य स्थानीय तहसँग पनि यसैगरी सम्झौता हुने जानकारी दिए । उत्पादक किसानको हित संरक्षण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ मा कर्णालीका पाँच जिल्लाबाट सिमी, फापर, उवा खरिद गरिएको थियो । समझदारी अनुसार सिमिकोट गाउँपालिकाबाट १३ क्विन्टल सिमी, १९ क्विन्टल फापर, ११ क्विन्टल चिनु र ८० केजी कागुनो प्राप्त भइसकेको छ । विगतमा स्थानीय तहमा उत्पादित चामल र दाल मात्रै बिक्री वितरण गर्ने कम्पनीले पछिल्लो समय अन्य बालीको बजारीकरण सुरु गरेको हो । रासस

सगरमाथा लुम्बिनीको वरिष्ठ डीसीईओ बनिन् बरिष्मा साउद आचार्य

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को वरिष्ठ डेपुटी सीईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । फागुन २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो । यसअघि उनी साविकको लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओको रुपमा कार्यरत थिइन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएसँगै कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई नयाँ कम्पनीको वरिष्ठ डीसीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त वरिष्ठ डीसीईओ आचार्यसँग नेपाली बीमा क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ । त्यसअघि उनी शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिईन् ।

ऋण नतिरेर धमाधम पलायन हुँदै साना व्यवसायी, सकसमा पर्न सक्छन् बैंक

काठमाडौं । ग्रिल तथा स्टील उद्योगको व्यवसाय गर्ने बुद्ध विश्वकर्मा केही दिन अघि दुवई उडे । लामो समयदेखि ग्रिल तथा स्टीलको व्यवसाय गर्दै आएका उनी पछिल्लो समय उद्योग नचलेपछि र बैंकको ऋणले सकस दिन थालेपछि नेपाल ग्रिल तथा स्टील व्यवसायी महासंघबाट ‘एक्सपेरियन्स लेटर’ लिँदै दुवई हानिए । उनीसँगै सोही क्षेत्रमा उद्यमीका रुपमा काम गर्ने विष्णु खतिवडा, नाजिर हुसेन, दिनेश अधिकारी, कमल देवकोटा र राजन शाक्य लगायतका उद्यमीहरु कुवेत, मलेसिया र कतार लगायतका देशमा जान बाध्य भए । उनीहरुको एउटै कारण थियो, समस्यामा परेको व्यवसाय र बैंकको ब्याज । व्यवसाय नचलेपछि बैंकको ब्याज तिर्न र घर चलाउन उनीहरु विदेश जान बाध्य भए । पछिल्लो समय उद्योग व्यवसायमा आएको मन्दीले एकपछि अर्को व्यवसायी तथा उद्यमीहरु विदेश पलायन भइरहेका छन् । ठूला व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा ऋण प्रदान गरेपनि साना उद्यमीहरुले ऋण नपाउने र पाए पनि चर्को ब्याज हुँदा आफुहरुलाई समस्या सिर्जना भएको उनीहरुको गुनासो छ । बैंकको व्याज भुक्तानी, कर्मचारी व्यवस्थापन तथा घरभाडा तिर्न नसकेर साना व्यवसायीहरु अहिले धमाधम पलायन हुन थालेका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल अधिकांश ग्रिल व्यवसायी व्यवसायबाट पलायन हुन थालेको बताउँछन् । ‘हाल सञ्चालन भएका साना ग्रिल उद्योगहरु धेरै बन्द भइसके, जेनचेन सञ्चालन भएका उद्योग समेत समस्यामा छन्,’ उनले गुनासो गर्दै भने, ‘बजारमा वस्तुको माग छैन, व्यवसाय नचलेपछि व्यवसायीहरु पलायन हुन बाध्य भएका छन् ।’ उनले अधिकांश व्यवसायीहरु महासंघमा आएर अनुभव पत्र लिएर जाने गरेको बताए । अनुभव पत्र लिएर उनीहरु विदेश जान थालेका हुन् । ‘मैले ग्रिल उद्योग सञ्चालन गरेको ३५ वर्ष भयो, कोरोना कालमा यो भन्दा केही सहज थियो, मानिससँग पैसा थियो, बाहिर निस्कन मात्र गाह्रो भएको थियो, अहिले निकै अप्ठ्यारो अवस्थामा म आफै छु’ उनले दुखेसो गर्दै भने । यस्तै, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले पनि ३० प्रतिशत साना उद्यमीहरु समस्यामा परेर यो क्षेत्रबाट पलायन भइसकेको बताए । उनका अनसार ती उद्यमीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण पनि तिर्न सकेका छैनन् । ‘अहिले ३० प्रतिशत बढी साना उद्यमीहरु यो क्षेत्रबाट पलायन भइसकेका छन्, कतिपय विदेश गए, कतिपय टे«डिङ्गमा लागे, कतिपय उद्यमीहरु उद्यम नै छोडेर घरमा बसेका छन्, उद्योग चलाउनका लागि बैंकबाट लिएको ऋणको ब्याज र किस्ता पनि तिर्न सकेका छैनन्, उनीहरु ऋण तिर्नकै लागि विदेश गइरहेका छन्,’ सिंहले विकासन्युजसँग भने । उनका अनुसार अहिले कतिपयले आफुसँग भएको सम्पत्ति र जग्गा बेचेर बैंकको ऋण तिरिरहेका छन् भने कतिपय मिटरब्याजीबाट पनि ऋण लिएर बैंकको ब्याज तिर्न बाध्य भएका छन् । धेरै उद्यमीहरु कालोसूचीमा नपरोस् भन्नका लागि पनि मिटरब्याजीबाट ऋण लिएर बैंकको किस्ता तिरिरहेको उनको भनाइ छ । सकसमा पर्न सक्छन् बैंक अहिले बैंकको उच्च ब्याजदर भएको भन्दै उद्योगी व्यवसायीहरु बैंकविरोधी नारा लगाइरहेका छन् । उनीहरुले ऋण र ऋणको किस्ता तथा ब्याज पनि नतिर्ने अडान राख्दै आएका छन् । लामो समयदेखि तरलताको अभाव खेपिरेका बैंकहरुले विजनेस बढाउन सकेका छैनन् । यही समयमा उद्योगी व्यवसायीहरुले ऋण नतिर्दा झन बैंकहरु समस्यामा पर्ने देखिन्छ । बैंकरहरुका अनसार अहिले विशेष गरेर निर्माण, स्टील तथा सिमेन्ट क्षेत्रबाट सावाँ ब्याज भुक्तानी भइरहेको छैन । यिनै क्षेत्र बढी समस्यामा छन् । यसमा पनि अहिले पछिल्लो समय बढी समस्यामा परेको भनेको साना तथा मझौला उद्योग क्षेत्र हो । यो क्षेत्रका उद्यमीहरु अहिले बैंकको ऋण नै नतिरेर धमाधम व्यवसायबाट पलायन हुँदा बैंकहरु समस्यामा पर्ने देखिन्छ भने बैंकको खराब कर्जा बढ्ने निश्चित भएको छ । उसो त अहिले बैंकको खराब कर्जा औसत ३ प्रतिशत पुगिसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म खराबकर्जाको अनुपात ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान बैंकर्सको छ । त्यो भनेको अहिलेको कुल कर्जाको सवा २ खर्ब रुपैयाँ हो । अहिले साना उद्यमीहरु व्यवसायबाट नै पलायन हुँदा त्यसको प्रत्यक्ष असर बैंकमा पर्ने देखिएको छ । बैंकहरुले लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा कुल १ खर्ब २१ अर्ब ७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन वाणिज्य बैंकहरुको कुल कर्जाको २.८३ प्रतिशत हो । हालसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । एमएसएमई क्षेत्रमा सबैभन्दा बढी लगानी राष्ट्रिय वाणिज्य बैंकले गरेको छ । यो बैंकले ३४ अर्ब ७९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले २७ अर्ब १५ करोड ९० लाख, लक्ष्मी बैंकले १२ अर्ब ३८ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक ७ अर्ब ३ करोड, नबिलले ६ अर्ब ९९ करोड २० लाख, कुमारी बैंकले ५ अर्ब ९७ करोड ३० लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २ अर्ब ५१ करोड ७० लाख रुपैयाँ एमएसएमई क्षेत्रमा कर्जा लगानी गरेका छन् । यस्तै, एभरेष्ट बैंकले २ अर्ब २५ करोड ४० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब ७३ करोड ६० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७२ करोड ३० लाख, माछापुच्छ्रे बैंकले १३ करोड ८० लाख, सिद्धार्थ बैंकले ४ करोड ९० लाख र सिटिजन्स बैंकले ४ करोड ९० लाख रुपैयाँ कर्जा साना तथा मझौला उद्यममा प्रवाह गरेका छन् । ७ वटा वाणिज्य बैंकले भने साना तथा मझौला उद्यमीमा लगानी गरेको देखिँदैन । लगानी नगर्ने बैंकहरुमा हिमालयन, एनआइसी एसिया, कृषि विकास, सनराइज, एनएमबि, प्रभु र सानिमा बैंक रहेको बुझिएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारीले अहिले सबै क्षेत्रबाट कम नै पेमेन्ट हुने गरेको भएपनि एमएसएमई क्षेत्रबाट भने न्यून रुपमा असुल भइरहेको बताए । उनका अनुसार निर्माण, सिमेन्ट, स्टील लगायतका क्षेत्रबाट पनि सावाँ ब्याज असुल हुन सकेको छैन । ‘पछिल्लो समय अधिकांश बैंकहरुले एमएसएमई क्षेत्रमा लगानी बढाएका छन्, सरकारले पनि स्टार्टअप तथा साना उद्यमीहरुलाई लगानी बढाउनु पर्छ भन्ने नीति अगाडि सारेपछि त्यसमा बैंकहरुले लगानी बढाए, तर अहिले असुल हुन सकस नै छ, ठूला व्यवसायीभन्दा साना व्यवसायी समस्यामा परेको हामीले महसुस गरेका छौं, त्यसैले पनि पैसा उठिरहेको छैन,’ सीईओ अधिकारीले विकासन्युजसँग भने ।