विकासन्युज

नेपाल टेलिकमले १४ करोडका पुराना कवाडी ब्याट्री लिलाम गर्दै

काठमाडौं । नेपाल टेलिकमले पुराना काम नलाग्ने कवाडी सामान लिलाममा बिक्री गर्ने भएको छ । टेलिकमको उपत्यकाभित्रका विभिन्न निर्देशनालय तथा कार्यालयहरुमा मौज्जात रहेका झण्डै १४ करोड रुपैयाँ बराबरका ब्याट्रीहरु लिलाम बिक्री गर्ने भएको हो । टेलिकमले डिसमेन्टलेड ब्याट्री कवाडी सामानहरूको न्यूनतम मूल्य १३ करोड ७६ लाख १५ हजार रुपैयाँ तोकेको छ । नेपाल टेलिकमको वयरलेस निर्देशनालय बबरमहल काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । इच्छुक फर्म वा संस्था तथा कम्पनीले चैत १५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।

आम्दानी घटेपछि फेसबुकले फेरि १० हजार कर्मचारी हटाउने

एजेन्सी । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाले १० हजार मानिसलाई जागिरबाट निकाल्ने जनाएको छ। नोभेम्बर २०२२ पछि मेटाले यति ठूलो संख्यामा मानिसहरूलाई कामबाट निकाल्न लागेको यो दोस्रोपटक हो । यसअघि पनि मेटाले ११ हजार मानिसलाई जनालाई जागिरबाट हटाएको थियो । मेटाका प्रमुख कार्यकारी तथा संस्थापक मार्क जुकरबर्गले यो निर्णय निकै कठिन तर आवश्यक रहेको बताएका छन् । १० हजार मानिसलाई कामबाट निकाल्नुको साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिने जुकरबर्गले जनाएका छन्। उनले कर्मचारीलाई सन्देशमा लेखेका छन् कि कम्पनीले सन् २०२२ मा आफ्नो राजस्वमा उल्लेख्य गिरावट आएको थाहा पाएपछि झट्का भोग्नुपरेको थियो । उनले अमेरिकामा बढेको ब्याजदर, विश्वको अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको बताए । ‘मलाई लाग्छ कि हामी नयाँ आर्थिक अवस्थासँग जुध्न तयार हुनुपर्छ किनभने यो अवधि अलि लामो हुनेछ’, उनले भनेका छन् ।

भरतपुर नागरिक उड्डयनले साढे ६ करोडमा भवन भाडामा दिँदै

काठमाडौं । नेपाल नगरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको भरतपुर नागरिक उड्डयन कार्यालयले भवन भाडामा दिने भएको छ । कार्यालयको व्यापारिक भवन ५ वर्षका लागि भाडामा लगाउने भएको हो । भरतपुर नागरिक उड्डयन कार्यालयको चौबिस कोठाको ९८८.२८ वर्गमिटर क्षेत्रफलमा रहेको व्यापारिक भवन भाडामा लगाउने कार्यालयले जनाएको छ । उक्त भवन भाडामा लिन इच्छुक फर्म तथा कम्पनीहरुले चैत ३० गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । कार्यालयले उक्त भवन ५ वर्षका लागि भाडामा लिने भएको हो । ५ वर्ष अवधिमा न्यूनतम ६ करोड ४३ लाख २० हजार रुपैयाँ तोकिएको छ । साथै, दोस्रो वर्षदेखि कुल ठेक्का रकममा कार्य सम्पन्न भएको वर्षको रकम घटाएर बाँकी रकम राष्ट्र बैंकको मूल्यवृद्धि सूचकाङ्क अनूसार थप गरी दोस्रो पक्षले किस्ता रकम बूझाउनू पर्नेछ । बोलपत्र वापत ३२ लाख १६ हजार रुपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ ।

हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

काठमाडौं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको ३.१९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गरे । स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिनुभएको उनका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । विं.सं २०८० साउनभित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने गरी भूमि कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि देव एण्ड सायर कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिए ।

सडक पेटीमा राखिएका सामान र मोटसाइकल जफत

काठमाडौं । भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ । सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि नगरपालिकाले मोटरसाइकलसहित विभिन्न सामान जफत गरेको हो । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको घलाते र चुनदेवीमा २५ पसल बाहिर बाटो र पेटीमा बेचबिखनका लागि राखेका सामान, मोटरसाइकललगायत सामान जफत गरिएको उनले बताए । अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीका लागि मोटरसाइकल नराख्न पटक–पटक निर्देशन दिँदासमेत अटेर गेपछि बिक्रीका लागि राखेको मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको गोराले जानकारी दिए । त्यसैगरी अमरबत्ती इन्टरप्राइजेज प्रालि, ख्वप हार्डवेयर प्रालि, खोटा खाजा घर, युनिस्टल ट्रेडर्स, बागमती आर्टस्, आरबी निर्माण सप्लार्यस, एभरेष्ट अटोटेक एण्ड सप्लायर्स र ह्वाक्सी फर्निचर (डेकोर) प्रालिलाई तीन दिनभित्र दर्ता नवीकरण गरी नगरपालिकामा हाजिर हुन निर्देशन दिएको छ । म्याद गुज्रेका सामान बिक्री गर्न राख्ने कृष्ण किराना पसलमा पेय पदार्थ एवं खाद्य पदार्थ नष्ट गरिएको र श्रीलाल कोसवारको ग्रिल पसल तथा वर्कसप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसललाई अनुुगमनकै क्रममा दर्ता गराएको नगरपालिकाले जनाएको छ ।

कुमारी बैंकमा भएको घटनाप्रति सिबिफिनको खेद प्रकट

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले बैंकको कार्यालय तथा कर्मचारीहरुमाथि गरिएको धरपकड र जबरजस्तीप्रति खेद प्रकट गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुर हेटौंडास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड र कार्यालय बन्द गर्ने गतिविधिहरुप्रति सिबिफिनले खेद प्रकट गरेको हो । ‘व्यवसायिक संस्थाहरुले फागुन ३० गते मकवानपुर हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति सिबिफिन गहिरो खेद प्रकट गर्दछ,’ प्रेस विज्ञप्तिमा भनिएको छ । वर्तमान अवस्थामा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट हुनुपर्ने र भयरहित वातावरणमा बैंकिङ सेवा सुचारु गर्न उचित शान्ति सुरक्षाको व्यवस्था गर्न नेपाल सरकार, नियामक निकाय र सरोकारवाला पक्षहरुको ध्यानाकर्षण समेत गराएको छ । सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रको रुपमा परिभाषित गरिएको छ । यस्ता क्षेत्रमा बन्द तथा हडताल गर्न नहुने र नपाइने गरी राजपत्रमा सूचना प्रकाशित गरेको भएपनि उल्लङ्घन गरेको भन्दै खेद प्रकट गरेको हो । जस्तोसुकै समस्याहरुको समुचित समाधानका उपायरु वार्ता तथा संवादको माध्यमबाट पहिल्याउन सकिने सिबिफिनले बताएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधान गर्न कनेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसँग माग गरेको छ ।

वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै

काठमाडौं । वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए । सिमुलेशन ल्याबसहित अन्य सेवामा विस्तार गर्ने गरी छ तलामा निर्माण भएको उक्त भवनको भुइँ तलामा रेडियोलोजी सेवा, ब्लड बैंक, फार्मेसी, पहिलो तलामा कोभिड नियन्त्रण सेवा र दोस्रो तलामा सर्जिकल वार्ड र कोभिड नियन्त्रण सेवा सञ्चालनमा रहेका छन् । त्यस्तै, तेस्रो तलामा सर्जिकल वार्ड र क्याबिन, चौथो तलामा १८ शय्यासहितको आइसियु सेवा, एचडियु (उच्च निर्भरता एकाइ), पोस्ट अपरेटिभ वार्ड र क्याबिन रहेका छन् । पाँचौँ तलाामा शल्यक्रिया कक्ष र फार्मेसी र छैटौैँ तलामा सिमुलेशन ल्याब र कार्यालय सञ्चालनमा रहेका छन् । गत वर्ष चैतमा सञ्चालनमा रहेको उक्त उच्चस्तरको सिमुलेशन ल्याब चिकित्सकको सीप विकास गर्न तथा परीक्षण गर्न वीर हस्पिटलको नयाँ भवनमा सञ्चालनमा आएको छ । विश्व स्वास्थ्य सङ्गठनको सहायतामा हरेक प्रदेशको स्वास्थ्य तालिम केन्द्रमा पनि यस्तै सिमुलेशन ल्याब बनाउने योजना रहेको छ । प्रादेशिकस्तरका ल्याबमा सिमुलेशन सञ्चालनको लागि वीर हस्पिटलले तालिम प्रदान गर्ने हस्पिटलका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट प्राडा रविराम श्रेष्ठले जानकारी दिए । उनले भने, ‘सिमुलेशन ल्याब एक खालको अस्पताल सेटअप नै हो । यो बिरामीलाई जाँच गर्नुभन्दा अगावै गर्ने एउटा परीक्षण गर्ने विधि हो । बिरामीलाई जाँच्दा चाहिने उपकरणका सामान आवश्यकता पर्छ । चिकित्सक नर्स पनि उही हुनेछन् । मात्र बिरामीको सट्टा डमीको विस्तारित रुप हुनेछ ।’ सिमुलेशन परीक्षणबाट धेरै हदसम्म चिकित्सकका कमजोरीलाई न्यूनीकरण गर्नमा सघाउ पु¥याउने डा श्रेष्ठले बताए । उक्त ल्याबमा चिकित्सकले एउटै रोगलाई पटक–पटक परीक्षण गर्न सकिने हुँदा परीक्षणको क्रममा आफ्ना कमीकमजोरी देखाउने र उक्त डमीमा सफ्टवेयर जडान हुने हुनाले बिरामीमा पर्न जाने पीडालाई पनि महसुस गर्न सकिने हुँदा सिकाइको लािग यो विधि अति उत्तम हुने अस्पतालका सह-प्राडा ऋतु प्रधानले बताइन् । चिकित्सको आफ्नो सीप परीक्षण गरी आफ्नो आत्मविश्वासलाई अभिवृद्धि गर्न मद्दत पु¥याइ बिरामीमाथि पर्न जाने चिकित्सकको कमजोरीलाई न्यूनीकरण र स्वास्थ्य सङ्कट देखा पर्दा त्यसलाई व्यवस्थित गर्नमा समूहमा परीक्षण गरी उपयुक्त तरिकाले जाँच गर्नमा ठूलो सघाउ पु¥याउनमा महत्वपूर्ण योगदान गर्नेमा उनको भनाइ छ । विकसित मुलुकमा अस्पतालको भवन नै सिमुलेशन ल्याबको व्यवस्था भए पनि वीर अस्पतालमा भने नर्सिङ साइड (डेलिभरि सेवा) र मेडिकल साइड गरी दुई सिमुलेशन ल्याब सेवा सञ्चालनमा रहेका छन् । रासस

राष्ट्र बैंकको निष्कर्श : लघुवित्तको खराब कर्जा बढ्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा दर बढेको निष्कर्श निकालेको छ । राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले चालू आर्थिक वर्ष २०७९/८० दोस्रो त्रैमाससम्म खराब कर्जा बढेको बताएको हो । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म थोक कर्जा प्रदायक र खुद्रा प्रदायक लघुवित्त संस्थाहरुको खराब कर्जामा वृद्धि भएको छ । थोक प्रदायक लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा १२१.०२ प्रतिशत छ भने खुद्रा प्रदायक लघुवित्त संस्थाहरुको ८२.६२ प्रतिशत बढेको हो । पुस मसान्तसम्म थोक प्रदायक लघुवित्तको खराब कर्जा ५२ करोड रुपैयाँ छ भने खुद्रा प्रदायक लघुवित्तको १८ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा थोक प्रदायक निष्क्रिय कर्जा १२.०३ प्रतिशत घटेको थियो भने खुद्रा प्रदायकको निष्क्रिय कर्जा १७.०३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा थोक प्रदायक लघुवित्तको सक्रिय कर्जा भने २.६९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा सक्रिय कर्जा १३.९० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा थोक प्रदायक लघुवित्त संस्थाहरुले ५९ अर्ब ७८ करोड रुपैयाँ कर्जा तथा सापट रकम लिएका छन् । कुल कर्जा तथा सापटी रकम गत असारको तुलनामा ३.१७ प्रतिशत वृद्धि भएको हो । यस्तै, समीक्षा अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरुले ३ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ कुल कर्जा तथा सापट रकम लिएका हुन् । जुन गत असार मसान्तसम्मको तुलनामा ०.०८ प्रतिशत बढी हो । यस्तै, लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमासमा लघुवित्त संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशत वृद्वि भएकोमा चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको राष्ट्र बैंकले जनाएको छ । साथै, समिक्षा अवधिमा लघुवित्त संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशत वृद्धि भएर ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशत घटेर ३२ लाख ६० हजार रहेका छन् । [pdf id=394968]