विकासन्युज

व्यवसायीको माग सम्बोधन नभए अब सरकारविरुद्धको आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ

पोखरा । सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकार विरुद्धको आन्दोलन जरुरी रहेको व्यवसायी उमेशलाल श्रेष्ठले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठले  नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सभामा यस्ताे बताएका हुन् । उनले आफ्ना माग सुनवाई गर्न पनि सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जन भएकाे बताए । ‘हामी उद्यमी व्यवसायीमा आन्दोलन नारा जुलुस भन्ने हुँदैन, हामीले व्यापार व्यवसाय गरी सरकारलाई कर तिरेर नाफा कमाउने हो, अहिले हामी यस्तो अवस्थाबाट गुज्रिएका छौं कि आफ्ना माग सुनवाई गर्न पनि सरकार विरुद्ध आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको छ.’ उनले भने । सरकारले व्यवसायीका माग सुनुवाई नगरेकै कारण समस्या झन जटिल बन्दै गएको उनले आराेप लगाएका छन् । अहिलेको समस्या समाधान गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकको मध्यस्तता हुनुपर्ने उनको तर्क छ । यस्तै, पछिल्लो समय उद्योगी व्यवसायीको ब्यापार घट्नुका साथै बजारबाट उधारो समेत नउठेका कारण अहिले बैंकको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगिएको उनले बताए । ‘अहिले दैनिक रुपमा बैंकको किस्ता र ब्याज तिर्नका लागि पत्रिकामा तीनपुस्ते सहित सूचना प्रकाशित हुने काम गरेको छ,’ उनले भने, ‘अहिलेको जटिल अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनका लागि सरकार र राष्ट्र बैंकले समन्वय गरी कर्जाको किस्ता र ब्याजको पुर्नतालिकिकरण गर्नुपर्छ ।’ राष्ट्र बैंकको अव्यवहारिक निर्णयका कारण अहिले उद्योगी व्यवसायी उच्च व्याजदरको चपेटामा परेको समेत उनको भनाई छ । ‘आधारदरलाई हेर्ने हो भने वाणिज्य बैंकको ब्याज १० प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘तर राष्ट्र बैकले त्यसमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गर्दा हामी मारमा परेका छौ । अब हामीले सरकार र राष्ट्र बैकसँग छलफल गरि प्रिमियमलाई २ प्रतिशतमा कामय गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ ।’    

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा संसद विघटन, छिट्टै निर्वाचनको घोषणा गरिने

बैङ्कक । थाइल्याण्डको संसद सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेकाे उच्च सरकारी स्रोतले जनाएको छ । निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन लागेको हो । संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारी बारे थाइल्याण्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ । सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्व सेना प्रमुख प्रयुतले एक दशकको निर्बासनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरी विरुद्ध प्रतिस्पर्धा गर्नेछने । पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य विपक्षी फेउ थाई समूहले निर्वाचनमा सफलता हाँसिल गर्नका लागि कडा मेहनत गरिरहेको छ तर थाइल्याण्डको सैनिक प्रशासन (जुन्टा) ले सन् २०१७ मा बनाएको संविधानका कारण पार्टीलाई शीर्ष पद सुरक्षित गर्न कठिन बनाउन सक्ने विश्लेषकहरूले बताएका छन् । सोमबार राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि गर्नेछ । निर्बाचन गर्ने सम्भावित मितिका रूपमा मे ७ वा १४ लाई हेरिएको छ । सन् २०१४ मा भएको ‘कू’ पछि यो दोस्रो निर्वाचन हो भने सन् २०२० मा बैङ्ककमा युवाको नेतृत्वमा भएको ‘प्रजातन्त्र पक्षधर’ प्रदर्शनले देशलाई हल्लाएपछिको यो पहिलो निर्वाचन हो । निर्बाचनका लागि हप्तौंदेखि अनौपचारिक अभियान चलिरहेको छ । बढ्दो जीवनयापन खर्च र महामारीबाट प्रभावित राज्यको सुस्त पुनः उत्थान दुबैथरिका चुनाबी एजेन्डाका रूपमा देखिएका छन् । सन् २०१९ को विवादास्पद चुनावमा आफ्नो शासनलाई मजबुत बनाउनुभएका ६८ वर्षीय प्रयुतले थाई राजनीतिमा विरलै देखिने लामो कार्यकाल सम्हाल्न सफल भएका छन् । आइतबार प्रकाशित एक सर्वेक्षणमा प्रयुत १५ प्रतिशतभन्दा बढी मतका साथ तेस्रो स्थानमा रहेकाे छ भने ३८ प्रतिशत मत पाएका पेटोङटार्नभन्दा उनी निकै कमजोर देखिएका छन् । नेसनल इन्स्टिच्युट अफ डेभलपमेन्ट एडमिनिस्ट्रेसनले दुई हजार मानिसमा गरेकोे सर्वेक्षणमा करिब ५० प्रतिशतले फेउ थाईलाई मत दिने बताएका थिए भने प्रयुतको युनाइटेड थाई नेशन पार्टीलाई करिब १२ प्रतिशत मत दिने बताएका थिए । रासस

जमिनमा तेल चुहिएपछि कुवेतमा आपतकालीन अवस्थाको घोषणा

कुवेत सिटी । जमिनमा तेल चुहिएपछि कुवेत आयल कम्पनीले सोमबार ‘आपतकालीन अवस्था’ को घोषणा गरेको छ । कुवेती सञ्चार माध्यमले सार्वजनिक गरेको भिडियोमा तेलको ठूलो मात्राले पेट्रोलियम पदार्थ बग्दा बज्दै गरेको पाइप घेरिएको देखिएपछि सरकारी स्वामित्वको कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको पश्चिमी भागमा तेल चुहिएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ ।’ कम्पनीका प्रवक्ता कुसाई अल–आमेरले भने, ‘यो चुहावट जमिनमा भएको भएपनि आवासीय क्षेत्रमा नभएकोले चुहावटका कारण कुनै चोटपटक लागेको छैन र उत्पादनमा पनि कुनै असर परेको छैन ।’ चुहावटको स्रोत पत्ता लगाउन र घटनालाई नियन्त्रण गर्न टोलीहरू पठाइएको छ तर अहिलेसम्म चुहावट कहाँबाट भएको भन्नेबारे थाहा भइनसकेको अल–अमेरले बताए । कुवेतको अल राई अखबारले ट्वीटरमा एउटा भिडियो सार्वजनिक गरेको छ जसमा एउटा पाइपबाट बाँझो जमिनमा ठूलो परिमाणमा तेल चुहेको देखिएको छ । यद्यपि एएफपीका सम्वाददाताले यो फुटेजलाई स्वतन्त्र रुपमा पुष्टि गर्न नसकिएको बताएका छन् । कुवेत एक प्रमुख तेल उत्पादक देश हो जहाँ सरकारले करिब ९० प्रतिशत राजस्व तेलबाट आर्जन गर्छ । पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) को प्रमुख सदस्य राष्ट्रमध्ये एक कुबेतले हाल प्रति दिन लगभग २७ लाख ब्यारेल कच्चा तेल उत्पादन गरिरहेको छ। कुवेत आयल कम्पनीले यसअघि सन् २०२० र २०१६ मा आफ्नो क्षेत्रमा तेल चुहावट भएको जानकारी दिएको थियो । सन् २०१७ मा पनि केही दिनको अन्तरालमा किनारमा दुई वटा चुवावटका घटना भएको कुबेती अधिकारीले बताएका छन् । रासस

अर्थतन्त्र जटिल समस्यामा छैन तर जोगाइराख्न गाह्रो छ : मन्त्री थपलिया

सिन्धुली । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले नेपालको अर्थतन्त्र जटिल अवस्थामा नरहेको बताएका छन् । सिन्धुलीमा आज पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्र जटिल समस्या नभए पनि सुधारका लागि निर्यात बढाउनुपर्नेमा जोड दिए । निर्यातको तुलनामा आयात अत्यधिक बढी हुँदा अर्थतन्त्र जोगाइराख्न नसकिने उनको भनाइ छ । ‘अर्थतन्त्रमा देखिएको अन्तर्राष्ट्रिय असर नेपालमा पनि परेको छ, हामीले उत्पादन वृद्धि गर्दै अनावश्यक खर्च कटौती गर्न नसकिएन अवस्था जटि हुनेछ’, उनले भने । उत्पादन वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताउँदै स्वाधिन राष्ट्रियताको सवालमा अघि बढ्न उत्पादन वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए । उनले मुलकको कृषि उत्पादन वृद्धिपछि उद्योग स्थानपना गरी रोगजारी सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए । उनले कृषि क्षेत्रमा अनुदान बढाइ उत्पादन वृद्धिमा जोड दिनुपर्ने भनाइ राखे । बागमती प्रदेशले फजुल खर्च रोक्न चालु पुँजीमा २० प्रतिशत खर्च कटौती गरेको उनले जानकारी दिए । उनले प्रदेश सरकार यतिबेला पुँजीगत खर्च बढाउन लागेको बताए । ‘वर्तमान सरकार गठन हुँदा १० प्रतिशत भएको पुँजीगत खर्च अहिले २५ प्रतिशतसम्म पुगेको छ’, उनले भने, ‘पुँजीगत खर्च वृद्धि गर्ने, विकासलाई व्यवस्थित गर्ने समृद्ध विकास कसरी गर्न सकिन्छ भनेर ध्यान दिइरहेको छु ।’ उनले आगामी आर्थिक वर्षमा बजेट वृद्धि गर्नेतर्फ संकेत गर्दै चालु आवको ७२ अर्बबाट ८० अर्ब बजेट पुर्याउनुपर्ने बताए । प्रदेशका १३ वटै जिल्लाको सन्तुलित विकासमा ध्यान दिएर बजेट ल्याउने उनको भनाइ छ । उनले आगामी आवको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारमा जोड दिइने बताए ।

राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अहिले जुन घटकबीच सहकार्य गरिएको छ त्यस आधारमा सरकार पाँच वर्ष टिकाउ हुन्छ भन्ने विश्वास गरिएको उल्लेख गरे । उनले भने, ‘अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ । राष्ट्रकासामु रहेका सबै चुनौतीको सामना गर्न एकताबद्ध भएर अगाडि बढ्छ ।’ अहिलेको दिन आउनसक्ने परिस्थितिको पहिले नै आँकलन गरिएको बताउँदै अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीले यसअघि नै स्पष्ट गरिसकेकाे उल्लेख गरे । ‘हाम्रो मानसिकता अरुलाई दोष दिनेछ’, उनले भने, ‘आफनो कमीकमजोरीलाई सुधार नगरेसम्म राजनीतिक सुधारतर्फ जान सक्दैन । यसप्रति सबै नेता र सांसदलाई ध्यानाकर्षण गर्न चाहन्छु ।’ प्रधानमन्त्रीले राखेकाे विश्वासको प्रस्तावलाई समर्थन गर्दै अध्यक्ष नेपालले प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गरे ।

आईएमई लाइफ इन्स्योरेन्स आइपीओ जारी गर्ने अन्तिम तयारीमा

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी अन्तिम अवस्थामा रहेको जानकारी दिएकाे छ । साेमबार सम्पन्न छैटौं वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले यस्ताे जानकारी दिएका हुन् । सभाले सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेकाे छ । सभाले कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्तावहरु सर्वसम्म्तिबाट पारित डा. अर्यालले आ. व. २०७९/८० को पुष मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले बृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए ।  

सत्यदीप र एसबी ग्रुपले बनाउँदै गरेको नेपाली लुब्रिकेन्ट उत्पादनको अन्तिम चरणमा

काठमाडौं । अटोमोबाइल पार्ट्स व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादनमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्ने भएकाे छ । यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । नयाँ वर्ष २०८० पश्चात वैशाख महिनादेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकाी दिएकाे छ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले सबै संरचना निर्माणको कार्य पुरा भइसकेको बताए । ‘बैशाख देखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ, हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतीक्षामा छौ,’ उनले भने । युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन् र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने छ । दैनिक रुपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ । त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने छन् । बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुने उनी बताउँछन् । कम्पनीकाे अनुसार उक्त उद्योग स्थापनाका लागि करिब ५० करोड रुपैयाँ लागत लाग्ने छ । एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफले हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेका छाैं, अझै पनि लगानीयोग्य रकमको खोजी गरिरहेका छाैं,’ उनले भने । नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैले उत्पादन गर्नेछ । बजारमा २५० एमएल देखि २१० लिटर सम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ । नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भए पश्चात पहिलो चरणमा करिब ५० जनाले रोजगारी पाउने सर्राफले बताए । यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसर समेत हुनेछ ।

आठ महिनामा १२ अर्ब विमानस्थल भन्सार राजस्व संकलन, लक्ष्यभन्दा ४० प्रतिशत कम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५९ दशमलव ०२ प्रतिशत हो । विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व सङ्कलन गरेको हो । कार्यालयले चालु आवमा ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ । फागुनमा मात्रै दुई अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै सङ्कलन भएको कार्यालयको भनाइ छ । फागुनमा सङ्कलन भएको राजस्व लक्ष्य ६३ दशमलव २३ प्रतिशत समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ । उक्त शीर्षकमा कार्यालयले पाँच अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ । साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा चार अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा एक अर्ब १९ करोड २५ लाख ५७ हजार सङ्कलन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व सङ्कलनमा कमी आएको बताए । उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो । रासस