‘देश जहाँ छोयो त्यहीँ फाटेको छ, नेपालको शिक्षामा विष छ’
काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए । ‘१० वर्ष सांसद भइसक्दा मैले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको छु,’ उनले भने । यस्तै, उनले नेपालको शिक्षामा विष भएको बताए । रोजगार नभएर मात्र कक्षा १२ पछि नेपाली विद्यार्थी विदेश नगएको उनको भनाइ छ । नेपालमा विद्यार्थीहरुलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालिएको बताए । ‘१२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरु विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ, हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ, स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा, शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ,’ उनले भने ।
कोशी प्रदेश नामकरण : लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू पदम लिम्बूको परिवारलाई राहतस्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहका महेन्द्र विष्टले जानकारी दिए । बैठकले कलबल्गुडी झापाको निर्देशकमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । साथै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएको दुईवटा संशोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने समेत निर्णय गरेको छ । बैठकले प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालय, प्रदेशसभामा उपस्थित सम्पूर्ण राजनीतिक दललाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । रासस
४ कम्पनीको सेयरमा लाग्यो सर्किट
काठमाडौं । सोमबार चार कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार नेप्सेको तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा क्रमशस् सुपर माइ हाइड्रोपावर, एसियन हाइड्रोपावर र कालिन्चोक दर्शन लिमिटेड रहेको छ । यस्तै, नकारात्मक सर्किट लाग्नेमा नेशनल माइक्रोफाइनान्सको रहेको छ । कम्पनीको लाभांश राष्ट्र बैंकले घटाएर पठाएपछि कम्पनीको सेयर मूल्यमा त्यसको प्रभाव परेको हो । आज नेप्से १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको छ । यसरी बजार बढ्दा ४३ लाख कित्ता सेयर किनबेच भई एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन डिस्टिलरीका सेयरधनीहरु रहेका छन् । कम्पनीको आज ५ करोड ९० लाखको सेयर कारोबार भएको छ ।
आकर्षक बन्दै स्याङ्जाको ‘ऐतिहासिक सत्र पोखरी’
स्याङ्जा । स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो । पूर्वाधार बिना पनि यहाँ वनभोज खाने तथा घुम्न विशेष गरी आन्तरिक पर्यटक पुग्ने गरेका थिए । आन्तरिक पर्यटकको रोजाइको स्थल बन्दै गएपछि यसलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणमा जोड दिइएको वडाध्यक्ष बोधराज कुँवर (राजु) ले बताए । ‘समथर भूभाग र ऐतिहासिक महत्वको स्थान सत्र पोखरीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गरिरहेका छौंँ,’ उनले भने, ‘यस ठाउँको गुरुयोजना बनाएर काम अगाडि बढाएका छौंँ, पूर्वाधार निर्माण भएसँगै थप पर्यटक आउने विश्वास छ ।’ गतवर्ष वालिङ नगरपालिका कार्यालयबाट रु तीन लाख खर्च गरी दुई वटा पोखरी निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु दश लाख विनियोजन भएको छ । उक्त ठाउँमा पोखरी, धारा, शौचालय, वनभोज खानका लागि ट्रस, विद्युत्, पार्क निर्माणको काम भइरहेको छ । ‘यहाँ वनभोज आउनेहरु आफै पानी बोकेर आउनुपथ्र्यो, बिजुली थिएन, समस्या थियो’, उनले भने, ‘अहिले व्यवस्थित पार्कसहित वनभोज खान आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भएका छन्, क्रमशः अरु काम गर्छौ ।’ यस ठाउँमा स्याङ्जासहित छिमेकी जिल्ला पर्वतका विभिन्न ठाउँबाट घुम्न तथा वनभोजलाई मानिस आउने गरेका ऐतिहासिक सत्र पोखरी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलबहादुर थापाले बताए । ‘यहाँ व्यवस्थित नहुँदा र आवश्यक पूर्वाधारको अभावकाबीच त वनभोज खान र घुम्न आउनेको भीड लाग्ने गथ्र्यो”, उनले भने, ‘अब त झनै सहज भएको छ, पक्कै पनि सङ्ख्या वृद्धि हुनेछ ।’ तीन वटा पोखरी निर्माण भएका छन् । अरु चौध वटा थप गरी यहाँको ऐतिहासिक महत्वलाई प्रचार र संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रकोरुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए । रासस
चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस
काठमाडाैं । नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो । चार डिआईजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको वढुवा समितिका सदस्य–सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
अवकाशपछि कालिजपालनमा रमाउँदै तुलसीपुरका विण्णुमणि आचार्य
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्यले व्यावसायिकरूपले कालिज पालन गरेका छन् । सोही पेसामा रमाएका उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त राष्ट्रसेवक आचार्य भन्छन् ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसेँ । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधैँ कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।’ सुरुमा सामाजिक सञ्जाल युटुबमार्फत व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो हेरेँ । त्यसपछि कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ । घरमा फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरु गरेको उनी उल्लेख गर्छन् । ‘दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यावसाय सुरुआत गरेको हुँ अहिलेसम्म तीनसय भन्दाबढी कालिज बिक्री गरिसकेँ । अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन् ।’ आचार्य भन्छन् । उनले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ खोलेर २५ लाख रुपैयाँको लागतमा कालिजपालन सुरु गरेका हुन् । ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १८१ बचेरा पाँच सय ५० रुपैयाँकादरले किनेर यो व्यवसाय सुरुआत गरेका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ । उनले एक जनालाई रोजगारी दिएका छन् । आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ । दाङको तापक्रम लगभग त्यस्तै छ । ‘अहिलेसम्म पाँच सय कालिज बिक्री गरिसकेँ । सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरेँ । अहिले भने दुई हजारसम्ममा दिने गरेको छु । अण्डा पनि राम्रोसँग बिक्री भएको छ । एउटा अण्डा बिक्रीबाट एक रुपैयाँसय आम्दानी हुने गरेको छ । सुरुआतमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन विस्तारै आम्दानी हुन्छ’, उनी भन्छन् । छ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ । भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ । कालिजले घाँस, मकै खान्छ । अण्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ । कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनुपरेको छैन तर अवलोकन तथा खरिद गर्ने जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केरमात्र नजिक जान दिने उनले गरेका छन् । ‘कालिज फुर्तिलो र लडाकु स्वभावको हुन्छ । त्यसैले चुच्चो मुखमा क्याप लगाउनुपर्छ । विदेशमा त्यही गरिन्छ । यहाँ भने त्यसो गरिएको छैन उनीहरु लड्न लागेपछि औजारको सहायताले छुट्याउने र केही समय छट्टै ठाउँमा राख्ने गरेको छु’, आचार्य भन्छन् । भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । ‘बजारमा माग त धेरै छ, तर यो वर्ष पोथी कालिज र बच्चा एउटा पनि नबेची धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्छु’, आचार्य भन्छन् । पढेलेखेकाले पैसा कमाउनकै लागि जागिर खानै पर्ने या विदेश नै जानुपर्छ भन्ने छैन तर राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा उनी जोड दिन्छन् । रासस
सलिकोको सीईओ क्षेत्रीले पाए बीमा प्राधिकरणको स्वीकृति
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएका छन् । प्राधिकरणले उनलाई आज (चैत १३ गते) सोमबार सलिकोको सीईओ बन्नको लागि स्वीकृति दिएको हो । यसअघि क्षेत्री साविकको सगरमाथा इन्स्योरेन्सको सीईओ थिए । साविकको सगरमाथा र लुम्बिनी जनरल एक आपसमा मर्ज भएसँगै बनेको सलिकोको सीईओमा क्षेत्रीलाई नियुक्त गरिएको थियो । मर्जपछि बनेको कम्पनीको नयाँ सञ्चालक समितिले गत फागुन २९ गते नै क्षेत्रीलाई सीईओमा नियुक्त गरेको थियो । उनको नियुक्तिसँगै स्वीकृतिको लागि प्राधिकरणमा पठाइएको थियो । जुन, करिब तीन सातापछि प्राधिकरणले स्वीकृति दिएको छ । यससँगै नवनियुक्त सीईओ क्षेत्रीले आगामी चार वर्षसम्म सलिकोको कार्यभार सम्हाल्ने छन् । क्षेत्रीसँग बीमा क्षेत्रमा दुई दशक भन्दाबढी समयको अनुभव छ । क्षेत्रीले साविकको सगरमाथा इन्स्योरेन्समा सीईओको रुपमा डेढ कार्यकाल बिताए । उक्त इन्स्योरेन्समा जानु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका थिए । साथै, क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् ।
जापान : जहाँ समय, मेहनत र कामको उच्च सम्मान छ
टोकियो, १३ चैत (रासस) : हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौं ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साँकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान बसाइ बिट मार्ने समय एउटै भइदियो । त्यसैले ‘बकेट लिस्ट’ यो सपना मौका मिले फेरि पूरा गर्ने रहर पूरा गर्ने भन्दै थाँती राख्याँै । यद्यपि, जापानमा रहँदा बाँकी धेरै रहर भने पूरा भए । त्यसैले करिब १० दिनको बसाइ निमेषभरमै सकिए झैँ लाग्यो । हाम्रा लागि जापान घुम्न पाउनु अवसर थियो र यो अवसर जापान सरकारको परराष्ट्र मन्त्रालयको जापान इन्टरनेशनल कोअपरेशन सेन्टरले जुराइदिएको थियो । ‘जापान फ्रेन्डसिप टाइज प्रोग्राम’अन्तर्गत फेब्रुअरी २२ देखि २८ सम्म सञ्चालित जेनेसिस ‘जापान–इस्ट एशिया नेटवर्क अफ एक्सचेञ्ज फर स्टुडेन्ट एण्ड युथ’ कार्यक्रममा भाग लिन नेपालसहित पाकिस्तान, भूटान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट ३० जना विद्यार्थी र ३० जना ‘वर्किङ युथ’ गरी ६० जना सहभागी थियौँ । कार्यक्रमको उद्देश्य थियो–जापानको संस्कृति, परम्परा, रहनसहन र विकासलाई निजकबाट नियाल्नु । यस पटकको यो कार्यक्रमलाई ‘ऊर्जा’ क्षेत्रमा केन्द्रित गरिएको थियो । यद्यपि, जापानले गरेको विकास, इतिहास, परम्परा, संस्कृति तथा साक्षात्कारलाई पनि कार्यक्रममा केन्द्रित गरिएको थियो । यस अर्थमा हामीले जापान बसाइमा ऊर्जा क्षेत्रका साथै विभिन्न पक्षबारे जानकारी र अनुभव बटुल्दै थियौँ । नेपालबाट प्रतिनिधित्व गर्ने १० जना नारिता विमानस्थलबाट प्रक्रिया पूरा गरी बाहिर निस्किँदै गर्दा पाकिस्तानबाट आएका साथीहरु र ‘जाइस’का दुई जना कर्मचारीले हामीलाई पर्खिरहनुभएको थियो । कराँचीबाट दुबई हुँदै नारिता पुगेका पाकिस्तानका साथीहरुले भने हामीभन्दा आधा घण्टाअघि नै विमानस्थलको प्रक्रिया पूरा गरिसकेका थिए । उसो त श्रीलङ्कन साथीहरु सोही दिन बिहान होटल पुगिवरी टोकियो टावर घुम्न भ्याइसकेका थिए । हामीभन्दा पछि बङ्गलादेश र माल्दिभ्सबाट साथी आइपुगे भने भोलिपल्ट बिहान मात्रै भुटानका साथीहरु टोकियो अवतरण गरे । छ देशका ६० जना सबैका लागि यो पहिलो जापान भ्रमण थियो । भोलिपल्ट ब्रेकफास्टपछिको करिब एक घण्टा अन्य देशका केही साथीहरुसँग परिचय गर्दै सहर नियाल्ने मौका मिल्यो । सँगसँगै बिहानीको मधुरो घामसँगै सिरसिर चलेको चिसो हावाको कुनै प्रवाह नगरी साइकल कुदाउने र जेब्राक्रसिङमा छिटोछिटो हिँड्दै गन्तव्य छोट्याउँदै गरेका जापानीहरुलाई हेर्दै हामीले पहिलो बिहानीमा करिब आधा घण्टा पैदलै हिँडेर सहर नियाल्यौँ । चिटिक्क सफा र कोलाहलमुक्त सहरमा एकनाश ठडिएका गगनचुम्बी भवन, सफा र शान्त सहरलाई पृष्ठभूमिमा राखेर सम्झना स्वरुप केही थान तस्बिर पनि लियौँ । प्यासिफिक समुन्द्र किनारको ‘कावासाकी इको म्युजियम’ पुग्दा नौलो लाग्यो । जहाँ विद्यार्थीका विभिन्न सिर्जनामार्फत पर्यावरण र ऊर्जाबारे केही जानकारी लियौँ । साथै छेवैमा रहेको सोलार प्लान्ट अवलोकन गर्ने अवसर पनि मिल्यो । जहाँ ३८ हजार सोलार प्यानल जडान गरी ८७ लाख ४० हजार किलोवाट आवर ऊर्जा उत्पादन भइरहेको थियो । यसरी उत्पादन भइरहेको ऊर्जा जापानका दुई हजार आठ सय घरधुरीमा खपत हुने गरेको रहेछ । जापान बसाइका क्रममा हामीले विश्वविद्यालयका विभिन्न प्राध्यापकबाट जापानले भोगिसकेको ऊर्जाको समस्या र समाधानका लागि चालिएका विभिन्न प्रयासबारे जान्ने मौका पायौँ । सन् २०११ को भूकम्पका कारण फुकुशिमा न्यूक्लियर प्लान्ट बन्द भएपछि जापानले ऊर्जा स्रोतमा नयाँ विकल्पमा योजना बनाइरहेको रहेछ । ‘लो कार्बन बिल्डिङ’लाई प्रोत्साहन दिनुका साथै सन् २०५० सम्ममा ग्रीनहाउस ग्यास उत्सर्जन ८० प्रतिशतले घटाउने उद्देश्यले लिएको ‘नेट जिरो २०५०’ सम्बन्धी जान्ने मौका पायौँ । जापान बसाइका क्रममा बकेट लिस्टमा बुलेट रेल नहुने कुरै भएन । टोकियोदेखि नागोयासम्म पुग्दा र फर्कंदा ‘सिङ्काशेन बुलेट रेल’मा यात्रा गर्ने अवसर जु¥यो । कूल दुई सय ६५ किलोमिटरको दूरी डेढ घण्टाभन्दा कम समयमै तय गर्दै जापानको ग्रामीण क्षेत्रमा काठबाट निर्मित ससाना घरले भरिएका सुन्दर गाउँ र ‘माउन्ट फूजी’को अवलोकन गर्ने अवसर पनि पायौँ । यातायातको साधनका रुपमा साइकलको प्रयोग अत्यधिक हुने रहेछ । टोकियोमा मात्रै प्रत्येक वर्ष १० लाखभन्दा बढी साइकल बिक्री हुने रहेछ । यसले वातावरण जोगाउन र ऊर्जा खपत कम गर्न खेलेको भूमिकाबारे पनि हामीलाई जानकारी गराइयो । अधिकांश व्यक्ति सकेसम्म साइकल नै चलाउने रहेछन् । स्वस्थ खाना, शारीरिक व्यायाम, उच्च गुणस्तरयुक्त जीवनशैलीकै कारण जापानीजहरुको औसत उमेर संसारमै सबैभन्दा राम्रो भएको रहेछ भन्ने बुझ्न गाह्रो भएन । हाम्रो बसाइभर हामीलाई निरन्तर साथ दिनुभएकी एक पथप्रदर्शक (गाइड) का अनुसार जापानका मुख्य सहरमा निजी सवारीसाधन निकै कमले चढ्ने रहेछन् । धेरैका लागि सार्वजनिक यातायात भरपर्दो माध्यम रहेछ । जापानमा औसतमा ६० प्रतिशतले निजी सवारीसाधन चढ्दै गर्दा टोकियोको हकमा भने जम्मा ३७ प्रतिशत रहेछ । हामीलाई के लागेको थियो भने टोयोटा, होन्डा, निशान, माज्दालगायतका गाडी उत्पादक देशमा पनि सबैसँग कार हुनैपर्ने हो । तर बस, ट्याक्सी र मेट्रो रेल जस्ता सार्वजनिक सवारी साधनको उच्च गुणस्तरयुक्त सुविधाका कारण निजी सवारीसाधन प्रयोग गर्ने टोकियो जस्ता सहरमा कम हुँदै गएको रहेछ । यद्यपि सहरमा जस्तै सार्वजनिक यातायातको सुुविधा नभएका ग्रामीण क्षेत्रमा भने निजी कार हुनु अत्यावश्यक मानिँदो रहेछ । भ्रमण अवधिमा टोकियो र नागोयामा रोयल प्यासेस हेर्ने मौका पायौँ । नागोयामा इलेक्ट्रिकल म्युजियमदेखि सोउ सपिङ स्ट्रिटको टर्किस कबाबको स्वाद जिब्रोमा अझै पनि बाँकी छ । दिनभरको कार्यक्रम सकिएपछि साँझ ७ बजेपछि मात्रै ‘फ्रि टाइम’ मिल्थ्यो । तर नागोयामा रहँदा फ्रि टाइमलाई पूर्णरुपमा उपयोग गर्र्न पाएनौँ । किनभने यति ठूलो सहर पनि राति ७ नबज्दै सुत्दो रहेछ । हामीलाई यति ठूलो सहर किन यति छिट्टै बन्द भएको होला भन्ने लागेको थिएन । सडकमा निकै कम मान्छे हिँड्ने रहेछन् । ‘सबवे’ र ‘मेट्रो स्टेशन’ वरपर भने मान्छेको अचाक्ली देखिने भिड राति १० बजेपछि भने पातलिँदै जाने रहेछ । दैनिक औसत २४ लाख मानिसले हिँड्ने सिबुया क्रसिङमा पनि राति १० बजेपछि कम हुँदै गएको देख्ने मौका मिल्यो । सपिङमल पनि ८ बजेदेखि १० बजेसम्म लगभग बन्द भइसक्ने रहेछन् । नागोया छँदा ‘जेडीएस’ छात्रवृत्ति (प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप) अन्तर्गतका विद्यार्थीसँग साक्षात्कार गर्ने अवसर मिल्यो । जापान सरकारले स्नातकोत्तर तहमा यसप्रकारको छात्रवृत्ति उपलब्ध गराउने रहेछ । सार्क राष्ट्रका हामीलाई सहज होस् भनेर होला धेरैजसो नेपाली र इन्डियन खाना पाइने होटल नै उपलब्ध गराइएको थियो । केही छाक जापानिज खाना खाए पनि पेट भने बिरयानी, रोटी, नान र दालले नै भरियो । रमाइलो कुरा त के भने टोकियो र नागोयाका जति पनि रेष्टुराँ र मार्ट पुग्यौँ नेपाली नभेटिने कुनै ठाउँ रहेनछ । जापान पुगेपछि टोकियोको पुगेपछि चार सय ५० मिटर अग्लो ‘स्काइ ट्री’ नघुमी फर्कंने कुरै भएन । अझ होटलको कोठाबाट चिटिक्क परेको फ्रेम झैँ आँखै अगाडि देखिएपछि त्यहाँ जाने रहर झनै थपिएको थियो । यो रहर पनि जापान पुगेको पर्सीपल्ट पूरा भयो । दिनभरको कार्यक्रम डिनरसँगै पूरा हुन्थ्यो र निवासका लागि होटलतिर लाग्थ्यौँ । एक दिन त रात छिप्पिँदै गर्दा जापानमै बस्ने चन्द्र दाईसँग ट्याक्सी चढेर स्काइ ट्री पुग्यौँ । दुई हजार तीन सय येनको टिकट काटेर तीन सय ५० मिटर माथि पुगेर झिलिमिली टोकियो हेर्ने रहर पनि पूरा भयो । पाकिस्तानका साथीहरु भने सोही दिन चार किलोमिटरको पैदल यात्रामा स्काइ ट्रीलाई नजिकबाट हेर्ने रहर पूरा गरेछन् । जापानमा नोटको साटो सिक्काको प्रचलन धेरै हुने रहेछ । एक हजारभन्दा कमको नोट नहुने भएकाले सिक्का प्रचलन गर्नुको विकल्प नै रहेनछ । तर अहिले भने विद्युतीय भुक्तानीको प्रयोग अत्यधिक भएको रहेछ । जापान पुगेपछि जानैपर्ने सूचीमा ‘हाचीको पार्क’ पनि थियो । सन् २००९ मा रिचार्ड गेरको चलिचित्र ‘हाचीको, अ डग डेल’ हेरेपछि त्यो बेलादेखिको घुम्ने रहर करिब एक दशकपछि पूरा हुँदै थियो । त्यसैले जापान बसाइको अघिल्लो रात मेट्रो चढेर हाचीकोको स्ट्याचु हेर्न पुगे । केही सपिङ कम्प्लेक्स घुमियो भने पार्कमा बसेर धेरैबरे गफ गर्ने रहर पनि पूरा गरियो । एक साता लामो बसाइमा जापानीहरुको अनुशासन देखेर भने सबै दङ्गै परियो । विनम्रसँग बोल्ने, कत्ति पनि हल्ला नगर्ने र अरुलाई असाध्यै सम्मान गर्ने उनीहरुको चर्चा अन्तिम दिन प्रस्तुतिका क्रममा सबैले मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रम सकिँदै गर्दा छवटै देशका राजदूतावासबाट आउनुभएका प्रतिनिधिसँग हाम्रा अनुभव साट्दै टुङ्ग्यायौँ । उहाँहरुसँग साक्षात्कार पनि भयो । करिब १० दिनको बसाइ हाम्रा लागि अविस्मरणीय रह्यो । सार्क राष्ट्रका साथीसँग नयाँ सम्बन्ध स्थापना गर्नेदेखि जापानले गरेको विकास, यहाँको संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने अवसर मिल्यो । यस सङ्क्षिप्त मधुरस्मृतिमा जापान बसाइको अनुभव उतारे पनि यसक्रममा हामीले सङ्कलन गरेको अनुभव भने दीर्घकालसम्म रहनेछ । यो छोटै समयको बसाइबाट मैले भने जापानबाट समय, मेहनत र कामप्रतिको सम्मानको गहिरो अनुभव लिएर फर्किएँ । रासस