हुलाकी राजमार्ग कालोपत्रसँगै वीरगञ्जको पहिचान फेरियो
वीरगञ्ज । केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । विगतमा सडक सञ्जालको विकास नहुँदा र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्र भएपछि विकासको गतिमा अघि बढेको छ । पूर्वपश्चिम हुलाकी सडक कालोपत्र भएसँगै यहाँका बासिन्दा खुशी भएका छन् । हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्र भएपछि उनीहरूलाई सदरमुकाम वीरगञ्जसम्म पुग्न सहज हुनाका साथै हिलो र धुलोबाट मुक्त भएका छन् । ‘वीरगञ्ज बजारदेखि ठोरीसम्मको दूरी करिब ५२ किलोमिटर पर्छ, गाउँबाट वीरगञ्ज बजार पुग्न पहिला मोटरसाइकलमा सात/आठ घण्टासम्म लाग्दथ्यो’, ठोरी गाउँपालिका–४ का ललित श्रेष्ठले भने, ‘ सडक कालोपत्र भएपछि अहिले दुई घण्टामै सदरमुकामसम्म पुग्छौँ ।’ अब धुलो र हिलोबाट मुक्ति पाइएको अभास भइरहेको उनको कथन थियो । ‘विगतमा सडक जीर्ण हुँदा वीरगञ्जसम्म पुग्न सात घण्टा लाग्थ्यो’, नेकपा एमालेका स्थानीय नेता खगेन्द्र श्रेष्ठले भने, ‘हाम्रो सदरमुकाम नै वीरगञ्ज हो, त्यसैले सदरमुकाम पुग्नै पर्दथ्यो तर बटो राम्रो नभएकाले पुग्न धेरै समय लाग्ने हुँदा त्यो दिन घर फर्किन नभ्याइने भएकाले बाध्य भएर बेलुका वीरगञ्जमै होटल बास बस्नु पर्दथ्यो तर अब त्यो सबै बाध्यताबाट मुक्त भएका छौँ । अब बेलुका भए पनि घरसम्म पुग्न कुनै समस्या हुँदैन ।’ ‘पर्सा राष्ट्रिय निकुञ्ज भएकाले व्यापक पर्यटकीय सम्भावनाको क्षेत्र ठोरी भए पनि सडक पूर्वाधारका कारण पछाडि परेको थियो’, उनले भने, ‘सडक बनेसँगै अहिले विस्तारै ठोरी पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेकाले स्थानीयवासीको आयश्रोतसमेत बढ्न थालेको छ ।’ ‘विगतमा सडक जीर्ण हुँदा सवारीसाधन त्यति नचल्ने भएकाले गाउँमा उत्पादन भएको काउली, भन्टा, मूलालगायत नगदे बाली सहजरुपमा वीरगञ्ज बजारसम्म पुर्याउन समस्या हुन्थ्यो’, बहुदरमाई नगरपालिकाका श्रवण महतोले भने, ‘अहिले भने उक्त सडकमा थुप्रै सङ्ख्यामा अटो रिक्सा चल्न थालेकाले सहजरुपमै ती बाली बजार पु¥याउन सकेका छौँ ।’ यसबाट किसानसमेत उत्साहित भएको उनको भनाइ थियो । ठोरीका ललित, खगेन्द्र र बहुदरमाईका श्रवण महतोको मात्र होइन, हुलाकी सडक कालोपत्र भएसँगै सो क्षेत्रका दुई दर्जनभन्दा बढी गाउँवासीलाई सदरमुकामसम्म आवतजावतमा सहज भएको छ । नेपालकै पहिलो हुलाकी राजमार्गअन्तर्गत रौतहटदेखि चितवनसम्मको करिब ९० प्रतिशतभन्दा बढी सडकखण्डमा कालोपत्र भैसकको छ । पूर्वमा रौतहटको दुर्गाभगवती गाउँपालिकास्थित बडहर्वादेखि पश्चिम चितवनको माडीस्थित कसहा क्षेत्रसम्मको दुई सय ८३ किलोमिटर सडकमध्ये हालसम्म दुई सय ५१ किमी सडकमा कालोपत्र सकिएको जनाइएको छ । हुलाकी राजमार्ग निर्देशनालय वीरगञ्ज योजना कार्यालयका अनुसार हुलाकी सडकअन्तर्गत रौतहटदेखि चितवनसम्म करिब दुई सय ५१ किमी सडकमा कालोपत्र सकिएको छ । बाँकी करिब ३२ किमी सडकमध्ये वनजङ्गल तथा जग्गासम्बन्धी विवादलगायत कारणले काम अघि बढ्न नसकेको जनाइएको छ । ठोरी क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जङ्गल परेकाले त्यहाँ सडक विस्तारलगायत विषयमा वातावरण प्रभाव मूल्याङ्कनका लागि हुलाकी सडक विभाग र मन्त्रालयमा सिफारिस पठाइएको उक्त कार्यालयका सूचना अधिकारी इञ्जिनियर दुर्गा मण्डलले जानकारी दिए । वातावारण प्रभाव मूल्याङ्कन प्रतिवेदन आएलगत्तै सो क्षेत्रमा सडक कालोपत्रलगायत काम अघि बढाइने उनले बताए । सूचना अधिकारी मण्डलका अनुसार हुलाकी सडकअन्तर्गत रौतहटदेखि चितवनसम्म निर्माणाधीन पुलमध्ये चालु आर्थिक वर्षको हालसम्ममा पाँच वटा पुल निर्माण भइसकेको छ । चालु आवमा १४ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा बाँकी नौ वटा पुलमा निर्माण भइरहेको छ । अरुवा खोला, डोरा खोला, पर्साको तिलाबे खोला र चितवनको टुनामुना तथा चिताइ खोलाको पुल निर्माण भइसकेको तर रौतहटको बागमती नदीका साथै भकुवा, चितवनको रियू, बगै, घाँघर, भालु , पतरी, बाँदरमुडे र मुगै खोलामा पुल निर्माणाधीन अवस्थामा रहेको छ । सडकतर्फ बाराको गढीमाई–बरियारपुर–कबही गोठ सडकको दस किमी सडकमध्ये साढे नौ किमी सडक कालोपत्र सकिएको र बाँकी ५०० मिटर सडक जग्गासम्बन्धी विवादका कारण रोकिएको सूचना अधिकारी इञ्जिनियर मण्डलले जानकारी दिए । भरतपुर–ठोरी–माडी देवेन्द्रपुरदेखि बगै बसपार्कसम्म सडकमा भने वन जङ्गलका कारणका साथै निर्माण सामग्रीको अभाव तथा वातावरण प्रभाव मूल्याङ्कन हुन नसकेकाले करिब २० प्रतिशत मात्र सडकको काम रोकिएको उनको भनाइ थियो । चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माण गरिसक्नुपर्नेमा हुलाकी राजमार्गभित्र जङ्गल तथा सडकमा परेका घर, टहरा हटाउन भएको ढिलाइ, ठाउँठाउँमा जग्गासम्बन्धी विवादलगायतले हुलाकी राजमार्ग निर्माणको काम केही पछि धकेलिएको उक्त कार्यालयका प्रमुख दरोगाप्रसाद साहले जानकारी दिए । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनाका साथै हजारौँ युवामा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ । पूर्वपश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्न हुलाकी हिँड्ने छोटो बाटो थियो । उक्त बाटोलाई पद्मम शमशेरले आगाडि बढाएकाले पद्मम रोड पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने आठ सय १७ किमीको ३२ वटा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले विसं २०४७ मा नेपाल भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । भारतीय सहयोगको सैद्धान्तिक सहमति विसं २०६१ मा भए पनि नेपालमा विसं २०६२/६३ को परिवर्तनपश्चात् भारत सरकारले नेपाल सरकारबाट छनोट भएका एक हजार चार सय ४० किमी सडकको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरिएको थियो । सोबापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले बेहोर्दा र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने र हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहितको सम्झदारी भएको थियो । रासस
एसईईका विद्यार्थीलाई टेलिकमको नि:शुल्क सिम, डाटा र टकटाइम पनि उपलब्ध
काठमाडाैं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने टेलिकमले जानकारी दिएकाे छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । टेलिकमकाे अनुसार सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउनका साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सकिनेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्ने कम्पनीले बताएकाे छ ।
नयाँ वर्षमा सामसङको इलेक्ट्रोनिक्स किन्दा ४१ प्रतिशतसम्मको क्यासब्याक पाइने
काठमाडौं । सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ। नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्मको क्यासब्याक पाइनेछ । ग्राहकले कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्युएलइदि टिभीहरूमा आकर्षक क्यासब्याक पाउनेछन् । साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्नेछन् । त्यसैगरी, ग्राहकले सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नेछन् । यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको कम्पनीले जानकारी दिएको छ । यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ । सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी दिएको छ । कम्पनीको अनुसार यो अफर जेठ २ गतेसम्म लागु हुनेछ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारी माग गरेको छ । बैंकले एसोसियटस् डिरेक्टर, डिरेक्टेड लेण्डिङका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले बैंकको इमेलमार्फत दरखास्त दिन सकिने कम्पनीले जनाएकाे छ ।
एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
काठमाडौं । एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले राससलाई जानकारी दिए । ‘विवाह अघि जन्म भएको तर पितृत्व ठेगान नभएको बच्चा भएको एकल महिलाको विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न सकिनेछ’, विभागले भनेको छ । विभागले विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चाको मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गर्न सकिने जनाएको छ । माथिका दुई व्यवस्था अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने विभागले जनाएको छ । माथिको अवस्थाबाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली संसोधनसहित २०७७ र विभागको यसअघिको परिपत्रअनुसार गर्नुपर्ने भनिएको छ । रासस
पर्यटकीयस्थल बन्दै दमौलीको ‘मगर भिलेज’
दमौली । मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिर्छुलुङ गाउँ पुगेपछि मगर भिलेज रिसोर्ट भेटिन्छ । उक्त रिसोर्ट पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए । उनले भने, ‘प्राकृतिक वातावरण, स्थानीय संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै यो रिसोर्ट सञ्चालन गरिएको छ । यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।’ ‘मगर संस्कृतिको अध्ययनका लागि जिल्ला तथा जिल्लाबाहिरबाट विद्यार्थी, सर्वसाधारण र सहकारी सङ्घसंस्थाका टोली आउँछन् र यहाँको मनोरम दृश्य हेर्दै मोहित भएर फर्किन्छन्’, सञ्चालक रानाले भने । गत वर्षदेखि सञ्चालनमा आएको रिसोर्टले एक वर्षमै ख्याति कमाइसकेको छ । यस रिसोर्टमा रहेको घुमाउने घर र खुर्पेटोले यहाँ पुग्ने सर्वसाधारणको ध्यान खिच्ने गरेको छ । ‘आजभोलि घुमाउने घर कमै मात्रामा देख्न पाइन्छ, हामीले घुमाउने घर बनाएर राखेका छौँ, घर अगाडि खुर्पेटो पनि छ,’ उनले भने, ‘घुमाउने घर र खुर्पेटोमा फोटो खिचाउन आगन्तुक लालायित हुन्छन् ।’ रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री पनि राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको सञ्चालक रानाको भनाइ थियो । रिसोर्टमा पुगेका पाहुनालाई प्राङ्गारिक खाना खुवाउने व्यवस्था मिलाइएको छ । यहाँ विभिन्न गीतको छायाङ्कनसमेत हुने गरेको छ । ‘गाउँले दृश्य भिडिओमा समावेश गर्न र थुप्रै गीतको छायाङ्कन भइसकेको छ,’ सञ्चालक रानाले भने । रिसोर्टमा रहेको डुङ्गाको पिङ यहाँको अर्को आकर्षण बनेको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ भ्युटावर निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो । मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । कूल ३८ लाख चार हजार नौ सय रुपैयाँको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ । मगर समुदायको कौरा र झ्याउरे गीतका साथै प्राङ्गारिक खानाको परिकार मिर्छुलुङको विशेषता हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिएको थियो । रासस
दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा
काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । २०७८को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका ४ वटा टावरहरुको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएसँगै करिब ३ सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति पुर्याएका टावरहरुको पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला–१ जलविद्युत आयोजनासम्म दोर्दी करिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१को प्रसारण लाइन प्रयोग गरी लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । वैकल्पिक व्यवस्थाको रुपमा दोर्दी खोला–१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाहरुको विद्युत् जोडिएको थियो । टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत आयोजनाहरुको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताए । प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युतसहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभी मर्स्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ । निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ । २०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका ४ वटा टावरहरु २०७८को असारमा असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो । आयोजना २०७४ सालमा सुरु गरिएको थियो ।
म्युचुअल फण्ड : बजार घट्दा ब्याज खाने, बढ्दा नाफा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका बेला ऋणीहरुको लागत बढेको भन्दै उद्योगी तथा व्यवसायीहरुले आन्दोलन गरे । सडकदेखि सदनसम्म ब्याजदरको विषय राजनीतिक मुद्धा बन्यो । बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्नेदेखि अराजक गतिविधिसम्म भए । कर्मचारी माथि हातपात समेत भयो । बैंकमा साढे ३ करोडको हाराहारीमा निक्षेपकर्ता छन् भने १८ लाख जति ऋणी छन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढ्दा विरोध भन्दा स्वागत हुनु पर्ने हो तर, विरोध बढ्यो । कर्जा लिने ऋणी भन्दा निक्षेपकर्ता २०औं गुणा बढी छन् । ब्याजदर बढ्दा ऋणीलाई भन्दा बढी निक्षेपकर्तालाई हुने भएपनि ऋणीहरुले नै आन्दोलन गर्नु परेको देखिन्छ । पछिल्लो समय ब्याजदर क्रमिक रुपमा घट्दैछ । जसले गर्दा ऋणीलाई राहत हुनेछ भने निक्षेपकर्तालाई भने सकस पर्ने देखिन्छ । व्यक्तिगत निक्षेपकर्ताभन्दा पनि संस्थागत निक्षेपकर्तालाई बढी घाटा हुने मर्चेन्ट बैंकरहरु बताउँछन् । निक्षेपकर्ताकै रुपमा रहेका म्युचुअल फण्डहरुले बैंकको निक्षेपमा अर्बौं रुपैयाँ लगानी गरेका छन् । जनताबाट संकलन गरेको रकमलाई बैंकको निक्षेपमा लगानी गर्न पल्केका म्युचुअल फण्ड ब्याजदर घट्दा भने तनावमा छन् । सेयर बजार ओरालो लागेका बेला बैंकको निक्षेपमा लगानी गरेका म्युचुअल फण्डहरु पछिल्लो समय ब्याजदर घटेपछि भने निक्षेप झिक्ने तयारीमा रहेको बैंकरहरु बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३० वटा म्युचुअल फण्ड सूचीकृत छन् । ३० वटै म्युचुअल फण्डले बैंकको मुद्दती निक्षेपमा फागुनसम्म साढे ३ अर्ब बढी रकम लगानी गरेका छन् । तथ्याङ्कअनुसार बैंकको मुद्दती निक्षेपमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । जुन माघको तुलनामा १ प्रतिशत रकम घटी हो । माघमा म्युचुअल फण्डले ३ अर्ब ६८ करोड रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका थिए । फागुनमा सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले बैंकको मुद्दतीमा लगानी गरेको छ । यस फण्डले फागुनसम्म २७ करोड रुपैयाँ, एनआईबिएल समृद्धि फण्ड-२ ले २२ करोड ५० लाख रुपैयाँ, एनआईबिएल ग्रोथ फण्डले १९ करोड ८० लाख रुपैयाँ, आरविवि म्युचुअल फण्ड-१ ले १८ करोड ७५ लाख रुपैयाँ र प्रभु सेलेक्ट फण्डले १८ करोड २५ लाख रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका हुन् । यस्तै, कुमारी धनवृद्धि योजनाले १८ करोड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ ले १७ करोड १० लाख, एनएमबि हाइब्रिड फण्ड एल-१ ले १६ करोड ८८ लाख, एनआईसी एशिया सेलेक्ट-३० ले १५ करोड ५० लाख, सानिमा लार्ज क्याप फण्डले १५ करोड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १४ करोड, लक्ष्मी इक्विटी फण्डले १३ करोड ५० ला, सनराइज फोकस्ड इक्विटी फण्डले १३ करोड, नबिल इक्विटी फण्डले १२ करोड ५० लाख, एनआईसी एशिया ग्रोथ फण्डले १२ करोड ३५ लाख, सनराइज फर्ष्ट म्युचुअल फण्डले १२ करोड, सिद्धार्थ इक्विटी फण्डले ११ करोड ५० लाख र नबिल ब्यालेन्सड फण्ड-३ ले ११ करोड रुपैयाँ बैंकको मुद्दतीमा राखेर ब्याज खाइरहेका छन् । यस्तै, एनएमबि फिफ्टी, सनराइज ब्लुचिप फण्ड र मेगा म्युचुअल फण्ड-१ ले १० करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यस्तै, एनआईसी एशिया ब्यालेन्सड फण्डले ९ करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले ७ करोड ८० लाख, लक्ष्मी उन्नति कोष र कुमारी इक्विटी फण्डले ७/७ करोड, सानिमा ग्रोथ फण्डले ५ करोड ५० लाख, सिटिजन्स म्युचुअल फण्ड-१ ले ४ करोड ७५ लाख, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ ले ३ करोड, नबिल ब्यालेन्सड फण्ड-२ ले २ करोड ६१ हजार र सिटिजन्स म्युचुअल फण्ड-२ ले ५० लाख रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका छन् । फागुनमा ३ वटा फण्डले मुद्दतीमा लगानी बढाएका छन् भने ४ वटा फण्डले पैसा निकालेका छन् । सनराइज फोकस्ड इक्विटी फण्डको ४४.४४ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको २० प्रतिशत र एनआईबिएल समृद्धि फण्ड-२ को २.२७ प्रतिशत रकम मुद्दतीमा लगानी गरेका हुन् । यस्तै, सानिमा लार्ज क्याप फण्डको ६.२५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-१ को ४०.६२ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को ६२.५ प्रतिशत लगानी मुद्दतीबाट झिकेर सेयरमा लगानी गरेको देखिन्छ । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्की सेयर बजारमा लगानी गर्ने वातावरण नभएर बैंकको निक्षेपमा लगानी गरेको बताउँछन् । म्युचुअल फण्डको ठूलो रकममध्ये १०/१२ करोड मुद्दतीमा राख्नु थोरै भएको उनको भनाइ छ । साथै, बैंकबाट आएको ब्याज इकाईधनीहरुलाई नै वितरण गर्ने गरेको उनले बताए । ‘बजारमा लगानीको वातावरण बन्दै गएपछि मुद्दती निक्षेपको लगानी घट्दै जान्छ, बैंकको मुद्दतीबाट आएको ब्याज इकाईधनीहरुले नै पाउने हो, सेयर बजारमा लगानी गर्ने स्थिति छैन भने मात्रै मुद्दतीमा निक्षेपमा राखिन्छ, कल वा करेन्ट खातामा राख्नुभन्दा मुद्दतीमा राखेपछि आउने ब्याजले आम्दानीमा सपोर्ट गर्छ,’ उनले भने । म्युचुअल फण्डले मुद्दतीमा निक्षेपमा लगानी गरेर ब्याज खायो भनेर आरोप लगाउनु भन्दा पनि नगद व्यवस्थापन गरिएको उनी बताउँछन् । यदि नगद रकम भयो भने बजार तल झरेको बेलामा खरिद गर्न सहज हुने उनको भनाइ छ । ‘फण्ड व्यवस्थापनको एक भाग नगद व्यवस्थापन हो, बजारमा उतारचढाव भइरहन्छ, घटेको बेलामा राम्रो ‘प्रफर्मेन्स’ गर्न सकिएन भने मुद्दतीमा राख्ने हो,’ उनले भने । यदि बजार बढेको छ भने निक्षेपको रकम घट्ने गरेको उनले बताए । साथै, तरलता व्यवस्थापन गर्नका लागि भएपनि मुद्दतीमा लगानी गर्ने गरेको उनको भनाइ छ । हकप्रद, ऋणपत्र, अक्सन सेयर बिक्री गर्नका लागि सहज होस् भनेर १०/१५ प्रतिशत रकम होल्ड गर्ने गरेको उनले बताए । एक मर्चेन्ट बैंकरका अनुसार म्युचुअल फण्डले पोर्टफोलियो व्यवस्थापनका लगि मुद्दतीमा लगानी गर्ने गरेका छन् । बजारमा घटेको बेलामा घाटा खानुभन्दा मुद्दतीमा राखेर ब्याज खानु उपयुक्त हुने उनले बताए । म्युचुअल फण्डहरुले कूल रकमको १५ प्रतिशत रकम मुद्दतीमा लगानी गर्न पाउने व्यवस्था अनुसार फण्डहरुले आ-आफ्नो योजना अनुसार ५, १० र १५ प्रतिशत रकम मुद्दतीमा लगानी गर्न सक्ने उनले बताए । ‘म्युचुअल फण्डले पोर्टफोलियो सन्तुलन कायम गर्न मुद्दतीमा लगानी गर्छन्, बजार घटेको बेला प्रतिफल राम्रो नआएपछि निक्षेप लगानी गर्ने हो मुद्दतीबाटै १२/१३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्,’ उनले भने, ‘म्युचुअल फण्डले विशेषगरी दोस्रो बजारमै लगानी गर्ने भएपनि अहिले घटेको हुँदा मुद्दतीमा बढाएका हुन् ।’