बजारमा रेड्मी १२ सी सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी १२ सी मिडियाटेक हिलियो जी ८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन भएको कम्पनीले जनाएको छ । रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ । लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२ सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ । रेड्मी १२ सीस्मार्टफोनमा १२ सी मिडियाटेक हिलियो जी ८५ चिपसेटकासाथ साथै ५ हजार एमएएच ब्याट्री जडान गरिएको छ ।’ १२ सी मिडियाटेक हिलियो जी ८५ प्रोसेसरद्वारा संचालित, रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । ६ं५ जीबीसम्म विस्तारित र्याम र १ टिबी स्टोरेज एक्सटेन्सन भएको रेड्मी १२ सीले छिटो र छरितो हुनुका साथै उत्तरदायी प्रतिक्रिया प्रदान गर्दछ, यस संगै मनपर्ने भिडियो, फोटो, संगीत र खेलहरूका लागि पर्याप्त स्टोरेज पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म ५०० रुपैयाँ छुट पाउन सकिन्छ । रेड्मी १२ सीस् ३+३२ जीबी, ४+६४ जीबी, ६+१२८ जीबी गरि तीन स्टोरेज भेरियन्ट र तीन रंग ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ र यो फोनको मूल्य क्रमशः १३,४९९ ,१४,४९९ र १६,९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाडौं । शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी भोलि शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २, बारा क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ । सङ्घीय सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेशका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई आचारसंहिता लाग्ने आयोगले जनाएको छ । यस्तै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मीलगायतले आचारसंहिताको पालना गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ । निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, र वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारलाई आचारसंहिता लाग्ने प्रवक्ता पौडेलले जानकारी दिए । आचारसंहिता अवधिभर तोकिएका निकाय, अधिकारी तथा व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृति गर्न वा सञ्चालन गर्न, कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने, कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्ता पदमा नियुक्त गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
सहकारीको लागि दोस्रो तहको नियामक आवश्यक छ : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सह कारी क्षेत्रमा केही सीमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनामी भएको बताएका छन् । उनले सहकारी क्षेत्रले सीन्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरेर त्यो बजेटको उपयोग सीमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए । केही सीमित कमिकमजोरी र फ्रडका घटनाहरुले सहकारीप्रति अविश्वास भएको भएपनि समग्रमा सहकारीले सर्वसाधारणको जीवनस्तर सुधारमा प्रभावकारी काम गरेको उनी बताउँछन् । यस्तै, उनले राष्ट्र सहकारीको क्षेत्रको प्रभावकारी नियमनका लागि दोस्रो तहको नियामक निकाय निर्माणका लागि राष्ट्र बैंकले समन्वय गर्ने धारणा राखे । उनले सहकारी क्षेत्रमा विदेशी अभ्यासहरु पनि अवलम्बन गरेर सबैले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्नु पर्ने बताए ।
सहकारीमा सुधारको संकेत देखिँदैछ : अध्यक्ष कँडेल
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताएका छन् । महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले विगत लामो समयदेखि सहकारीमा समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै सुधारको संकेत देखिएको बताएका हुन् । तीन दिनसम्म चल्ने महासम्मेलनमा सहकारी संस्थाका विगतहरुलाई संस्थागत गर्नका लागि चाल्नु पर्ने कदमहरु र नेपालको सहकारीको आगामी दिशाको विषयमा चर्चा हुने उनले बताए । ‘तीन दिनसम्म सहकारीको स्वनियमन र सुशासनको विषयमा पनि छलफल हुनेछ, विश्वव्यापी रुपमा देखिएको आर्थिक समस्या र यसले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि निश्कर्ष निकालिनेछ, सहकारीमा प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, सहकारीको योगदान र आगामी दिनहरुमा सहकारीलाई कुन गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा हुनेछ,’ उनले भने । आज राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय महासम्मेलन सुरु भएको छ । महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा आज महासम्मेलन सुरु भएको हो । सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन भन्ने नाराका साथ महासम्मेलन सुरु भएको हो । महासम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका छन् । महासम्मेलनमा पूर्व अर्थमन्त्री, मन्त्रीहरू, गभर्नर, पूर्व गर्भनर, सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी लगायत देशका ८०० बढी सहकारीको सहभागिता रहेको छ ।
सिन्धु विकास बैंकले गर्यो २०८० सालको भित्ते र टेवल पात्रोको विमोचन
काठमाडौं । सिन्धु विकासले २०८० सालको लागी भित्ते तथा टेवल पात्रोहरुको विमोचन गरेको छ । उक्त विमोचन कार्यक्रममा बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिती रहेको थियो । सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ, एससिटि डेबिट कार्ड, यसएमएस बैकि, क्युआर कोड, सि एसबिए लगायत सम्पुर्ण बैंकिङ सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।
युनाइटेड मोदी हाइड्रोपावरको लाभांश पारित, संचालकमा पाण्डे नियुक्त
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावको लाभांश पारित भएकाे छ । कम्पनीकाे ९औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ७.०३६८ प्रतिशत लाभांश पारित गरेकाे हाे । सभाले आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (कर बाहेक) तथा ०.३६८ प्रतिशत कर पयोजनका लागि नगद लाभांश प्रस्ताव पारित गरेकाे हाे । त्यसैगरी, सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गर्नुको साथै २०७९/०८० को लेखापरीक्षण कार्यको लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
कञ्चनपुरका सामुदायिक विद्यालयले पनि अङ्गे्रजी माध्यममा पठनपाठन गर्ने
दोधारा चाँदनी । विद्यालय भर्ना अभियान तीव्र भएका बेला कञ्चनपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने योजना ल्याएर विद्यार्थी आकर्षित गर्न थालेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयले अहिले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सञ्चालन गरेका छन् । अभिभावक तथा विद्यार्थीमा निजी विद्यालयमा आकर्षण रहेका बेला सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएका हुन् । कञ्चनपुरको पुरानो सामुदायिक विद्यालय वैजनाथ माध्यमिक विद्यालयले पनि यसै शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए । ‘हामीले नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका हौँ ।’ उनले यसवर्ष विद्यार्थीको सङ्ख्या थप्ने लक्ष्यसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको बताए । हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयमा पनि निजी विद्यालयले जस्तै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन सुरु गरेको भृकुटी माध्यमिक विद्यालयका शिक्षिका विमला भट्टको भनाइ छ । ‘सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोलासमेत उपलब्ध गराउँदैछौँ’, भट्टले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी तल्लो कक्षामा समेत अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौँ ।’ उनले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या बढ्न थालेको बताए । महेन्द्रनगर माध्यमिक विद्यालयले पनि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सुरु गरिने बताए । ‘आगामी शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाई गर्ने भएका छौँ’, जोशीले भने, ‘अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।’ उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकशिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताए । कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको पनि उनले जानकारी दिए । सामुदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा रहेका र गुणस्तर सुधारका विभिन्न योजना बनाइएको उनको भनाइ छ । कञ्चनपुरमा दुई सय ५९ वटा सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । रासस
दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । यसरी बजार घट्दा २८ लाख ७० हजार कित्ता सेयर ९२ करोड रुपैयाँमा कारोबार भएको छ । जसमा सबैभन्दा बढी सेयर कारोबार गर्नेमा शिवम् सिमेन्ट रेहेको छ । कम्पनीको आज ४ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह शून्य दशमलव ५४, निर्जीवन बीमा समूह एक दशमलव ६९ र व्यापार समूह चार दशमलव ०४ अङ्कले बढेको छ । आज सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४२ दशमलव १२ र जलविद्युत् समूहको उपसूचक २८ दशमलव ५८ अङ्कले घटेको छ । वित्त समूह २२ दशमलव ६०, होटल तथा पर्यटन समूह नौ दशमलव ४१, लगानी समूह शून्य दशमलव ६३, र जीवन बीमा समूह १८ दशमलव ६२ अङ्कले घटेको नेप्सेले जनाएको छ । उत्पादन तथा प्रशोधन समूह १९ दशमलव ३७, लघुवित्त समूह १३ दशमलव १४, म्युचुअल फन्ड समूह शून्य दशमलव ११ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ । यस्तै, आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कालिन्चोक दर्शन र सिटिजन्स म्युचअल फण्ड-२ रहेको छ । आज कालिन्चोक दर्शनको सेयर मूद्य २८.३० रुपैयाँ र सिटिजन्स म्युचल फण्ड-२ को सेयर मूल्य ०.७० रुपैयाँले बढेको छ ।