विकासन्युज

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप पक्राउ

काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दिपलाई प्रहरीले बुधबार साँझ बुटवलबाट पक्राउ गरेको हो । बुटवलबाट पक्राउ गरेका उनलाई बिहीबार काठमाडौं ल्याउने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी मुद्दामा अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट एमाले सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

विदेशी मदिर छ्याप्छ्याप्ती छन्, नेपालमै उत्पादन हुने मदिराको मूल्य छैन : मूख्यमन्त्री चौधरी

काठमाडौं । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनु पर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँगको भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउन अनुरोध गरे । मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । ‘कोरियाबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ थारुको घरमा बनेको चाहिँ घोप्याउनु पर्ने स्थिति छ’ मूख्यमन्त्री चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरु बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’ मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनहरु धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाईलाई प्राथमिकता राख्नुपर्ने बताए । उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादनहरु बढाउनु नै आजको आवश्यकता रहेको बताए । अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि स्वदेशी उत्पादनलार्य जोड दिनु पर्ने उनले बताए । स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई जोड दिएर अर्थतन्त्रलाई वलियो बनाउनु पर्ने उनको भनाइ छ । ‘मास बेस इन्कम जेनेरेट हुने गरी काम गर्नुपरो’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘भइरहेको भन्दा केही नयाँ गर्नुपर्छ भन्ने छ, हामी उत्पादन र रोजगारीका लागि केही गर्छौँ ।’ रोजगारी सिर्जना हुने गरी आन्तरिक उत्पादनहरुलाई जोड दिनुपर्छ भन्ने सधै आफ्नो मान्यता रहेको उनले बताए । भेटमा मूख्यमन्त्री चौधरीलाई उपाध्यक्ष श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । चौधरीले मूख्यमन्त्रीको रुपमा केही दिन अघिमात्रै प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।

घाँसभित्र हराउँदै हरिहर भवन

ललितपुर । मन्त्री हेडक्वार्टर छेवैमा छ राणाकालीन दरबार संरचना हरिहर भवन । विसं २०७२ वैशाख १२ गतेकोे भूकम्पले भत्काएपछि अहिलेसम्म हरिहर भवन हरियो घाँसभित्र हराइरहेको छ । चन्द्र शमशेर जबराले विसं १९८२ मा आफ्ना माहिला छोरा शङ््कर शमशेर जबराका लागि हरिहर भवन बनाएको इतिहास छ । शंकर शमशेर हरिहर भवनमा २००६ सम्म बसेर बेलायत गएपछि २०१० सालमा राजदूतबाट फिर्ता बोलाउँदा नेपाल नफर्किएकाले नेपाल सरकारले उनको हरिहर भवनसहित सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरेको थियो । विसं २०२३ मा सरकारी स्वामित्वमा आएको यस दरबार संरचना हरिहर भवनमा निजामती किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय रहेको थियो । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको यस भवनमा रातो स्टिकर टाँसिएपछि त्यहाँ रहेका कार्यालय खाली गरिएका थिए । भूकम्पका कारण क्षतिग्रस्त हरिहर भवनमा हाल बरपिपल, सिस्नु, सहरालगायत अन्य धेरै बिरुवा र घाँसपातले भरिएको छ । राष्ट्रिय निजामती किताबखाना र राष्ट्रिय मानवअधिकार आयोगको केही कामकाज हाल हरिहरभवनकै परिसरमा टिनको प्रिफ्याब टहरामा हुन्छ । त्यहाँ पुगेका सेवाग्राहीले बिजोग अवस्थामा रहेको हरिहर भवनलाई नियालिरहेका भेटिन्छन् । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल भन्छन्, ‘२०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त भएपछि हामीले कार्यालयको सामान निकालेर टिनको टहरामा राख्यौं, त्यसको केही वर्षपछि राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणले हरिहर भवनको परिसरमा रहेको टिनको टहराबाट पनि हामीलाई हट्न पटक-पटक पत्रचार गर्यो, तर भवन निमार्णका लागि अहिलेसम्म पहल भएको छैन ।’ हाल राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन नजिकै वार्षिक एक करोड ९३ लाख ५५ हजार सात सय ६० रुपैयाँ भाडा तिरेर बसेको छ । ‘हामीले यति ठूलो रकम भाडामा खर्च गरेका छौं, भाडा तिर्ने रकमले नागरिकको अधिकारका लागि काम गर्न पाएको भए देशको समृद्धि र शासनमा टेवा पुग्थ्यो, हामीले भवन निमार्णका लागि भूकम्पपछिका सबै सरकारसमक्ष ज्ञापनपत्र बुझायौं तर आश्वासनमा मात्र समय बित्यो,’ प्रवक्ता पोखरेलले भने । राष्ट्रिय निजामती किताबखानाका केही काम पनि टिनको प्रिफ्याब टहरामा हुन्छन् । किताब खाना पनि हरिहर भवन निमार्णको प्रतीक्षामा छ । राष्ट्रिय पुस्ताकलाय भने त्यहाँबाट अन्यत्र सरिसकेको छ । राष्ट्रिय निजामती किताबखानाको सामान अझै पनि हरिहर भवनभित्र रहेको किताबखानाका सूचना अधिकारी प्रकाशजङग कार्कीले बताए । उनका अनुसार एकवर्ष अगाडिसम्म सामान निकाल्न गएको तर अहिले भवन निकै जीर्ण अवस्थामा भएकाले त्यहाँ जान सकिदैन । भूकम्प गएको एक दशक बित्न लागि सक्यो । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय निजामती किताबखाना हरिहर भवन निमार्णको प्रतीक्षामा छन् । रासस

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीविरुद्ध पक्राउ पुर्जी जारी

चितवन । नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका व्यक्तिका लागि पक्राउ पुर्जी जारी गरिसकिएको छ । परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध किटानी जाहेरी परेको हो । पक्राउ पुर्जी जारी गरी देशभर प्रहरीका युनिटसँग समन्वय गरिएको कार्कीले बताए । उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चिवतनलगायत निजी क्षेत्रको ज्ञापनपत्र बुझ्दै कार्कीले भने, ‘हामीले पक्राउ पुर्जी जारी गरिसकेका छौं, अपराध महाशाखा, सिआइबीलगायतको टोलीलाई समेत खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय गरेका छौं ।’ आरोपी भनिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउने पनि कार्कीले बताए । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए । ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारका विभिन्न निकायमा दर्ता गरी जस्तोसुकै विषयम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको निजी क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । यसको परिणाम कँडेलले मृत्युको शिकार बन्नुपरेको भन्दै यस्ता घटना रोक्नका लागि समेत दोषीलाई पक्राउ गरी कारबाही गर्न श्रेष्ठले माग गरे । दोषीलाई कारबाही नहुने हो भने अन्य कयौँ व्यवसायीले आत्महत्या गर्न बाध्य हुने भन्दै संघले तत्काल पक्राउ गर्न दबाबस्वरुप आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ । निजी क्षेत्रको अगुवाइमा बिहीबारदेखि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्नेसमेत जनाइएको छ । आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि ११ः३० बजे धर्ना दिने र बिहीबारसम्म पनि दोषी पक्राउ नभए थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । मृतक शंकर कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । रासस

‘सरुमा चुल्हो’को ग्रयान्ड ओपनिङ आजदेखि

पोखरा । बिनु-बसन्तीको संयुक्त सञ्चालनमा पोखरा सभागृह मिडटाउनको आडमा रहेको ‘सरुमा चुल्हो’को आजबाट ग्रयान्ड ओपनिङ भएको छ । रेष्टुरेन्टमा कार्यरत मुख्य सेफले १३ जना स्टाफहरुको संयुक्त सहभागितामा रिवन काटेर रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ गरेका हुन् । दुईजनाको झण्डै तीन करोड लगानीमा सञ्चालन भएको रेष्टुरेन्टमा स्वस्थ्कर पकाउने विधि सहित उत्कृष्ट स्वादमा परिकार उपलब्ध गराउने दाबी सञ्चालकले गरेका छन् । रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ यहि बैशाख ३१ गतेसम्म कायम रहने र सो अवधिमा विभिन्न विशिष्ट परिकारहरुमा विशेष छुटको व्यवस्था रहेको जनाइएको छ । पोखरामै फलेको पहेँलो चामलको भात, स्थानीय उत्पादित तरकारी, रिसिङको कालो दाल लगायत स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको सञ्चालिकाहरुले बताएका छन् । रेष्टुरेन्टले नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल साथै सी फुड पनि अर्डर अनुसार उपलब्ध गराउनेछ । पोखराभित्र घरमै बसेर फुडमुडमार्फत पनि अर्डर गर्न सकिने रेष्टुरेन्टले जनाएको छ ।

देउवा-आरजुको दबाबपछि अर्थमन्त्रीले हटाए सचिव, नयाँ अर्थसचिव बने पोखरेल

काठमाडौं । लामो रस्साकस्सीपछि अर्थसचिव तोयम रायालाई सरुवा गरिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनीकी पत्नी आरजु राणाको निरन्तर दबाबपछि अर्थमन्त्री डा। प्रकाशशरण महत अर्थसचिव रायको सरुवा गर्न तयार भएका हुन् । आफु निकटलाई अर्थ मन्त्रालयमा ल्याउनु पर्ने भन्दै अर्थमन्त्रीमा नियुक्त हुँदै दबाब दिइरहेका देउवा–आरजुले अन्ततः अर्थसचिव रायालाई सरुवा गरेर नयाँ अर्थसचिवका रुपमा अर्जुन पोखरेललाई ल्याएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव पोखरेललाई बनाउने निर्णय गरेको हो । पोखरेल प्रधानमन्त्री कार्यालयमा थिए । अर्थसचिव  रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । बजेट नजिकिएसँगै अर्थमन्त्री डा। महत र अर्थसचिव तोयम रायबीच अविश्वासको वातावरण सिजर्ना बन्दै गएको थियो । कारण थियो सरुवाको तयारी । अर्थ मन्त्रालय स्रोतका अनुसार महत अर्थमन्त्रीमा नियुक्त हुँदा नै अर्थसचिवको सरुवा गर्न चाहन्थे । तर, कसलाई ल्याउने भन्ने यकिन नहुँदा रायाको सरुवा गरिएको थिएन । अर्थसचिव राया पनि आफु सरुवा हुनेमा ढुक्क भएको भन्दै बजेट निर्माणमा खासै ध्यान नदिइरहेको बुझिएको थियो । यस विषयमा विकासन्युजले यसअघि नै अर्थमन्त्री र सचिवबीच दूरी बढ्यो, बजेट लेखन प्रभावित हुन सक्ने शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो । अर्थमन्त्री बनेपछि आफू र आफ्नो राजनीतिक दलको कर्मचारीलाई टीममा राखेर काम गराउने प्रवृति अर्थमन्त्रालयका लागि नयाँ होइन । त्यही प्रवृतिको अभ्यास अर्थमन्त्री महतले पनि गरे । नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा राय अर्थसचिव बनेका थिए । हुन त आरजुको रोजाइमा कृष्णहरी पुष्कर पनि थिए । तर, अर्थसचिव बन्ने प्रतिस्पर्धा पोखरेलले जिते । आरजुले पोखरेल र पुष्करमध्ये एक जनालाई अर्थसचिव बनाउनु पर्ने  दबाब महतलाई दिँदै आएकी थिइन् । तर, अर्थमन्त्री महतले पोखरेललाई रोजे । सम्पत्ति शुद्धिकरण विभाग प्रमुख, अर्थ मन्त्रालयको प्रवक्ता, सोही मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भएर काम गरिसकेका पोखरेलले उद्योग सचिवका रुपमा पनि काम गरिसकेका छन् ।

आफैं सक्रिय भएर चेम्बर र महासंघले ब्याजदर घटाउन पहल गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालसहित कार्यसमितिलाई चेम्बर भवनमा स्वागत गर्दै चेम्बर र महासंघबीच उच्च व्याजदर, अख्तियारसम्बन्धी विधेयकलगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो । सो क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई सङ्गठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने बताए । चेम्बर र महासंघबीचको सम्बन्ध स्थापनाकालदेखि नै नङ र मासुको जस्तो भएको बताउँदै आगामी दिनमा पनि आर्थिक एजेण्डामा साझा धारणा बनाएर अघि बढ्नुपर्ने कुरालाई पनि मल्लले जोड दिए । बैंक तथा वित्तीय संस्थामा कायम उच्च ब्याजदरलाई तत्काल घटाउन संयुक्त रुपमा पहल गर्नुपर्ने अध्यक्ष मल्लले बताए । ‘मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका विभिन्न विषयमा सरकारले आश्वासन दिने तर कार्यान्वय नगर्ने अवस्था सिर्जना भएको छ, सरकारलाई ध्यानाकर्षण गराउनका लागि पनि निजी क्षेत्रका अग्रणी संस्थाले साझा धारणा तय गरेर अघि बढ्न जरुरी छ,’ उनले भने । उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले पनि आर्थिक मुद्दालाई सम्बोधन गर्न संयुक्त पहल गर्नुपर्नेमा जोड दिए । विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले भने, ‘चेम्बर र महासङ्घको आर्थिक मुद्दा एउटै छ, अख्तियार क्षेत्राधिकारसम्बन्धी विधेयक, उच्च व्याजदर जस्ता विषयमा एउटै स्वर बनाउनसमेत आवश्यक छ ।’ निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयलाई सरकारले पनि गम्भीरतापूर्वक लिनुपर्ने पनि ढकालले बताए ।

नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १५ प्रतिशत बोनस वापतको १६ लाख ८३ हजार २५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।