
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालसहित कार्यसमितिलाई चेम्बर भवनमा स्वागत गर्दै चेम्बर र महासंघबीच उच्च व्याजदर, अख्तियारसम्बन्धी विधेयकलगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको हो ।
सो क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउन र निजी क्षेत्रको आवाजलाई सङ्गठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने बताए । चेम्बर र महासंघबीचको सम्बन्ध स्थापनाकालदेखि नै नङ र मासुको जस्तो भएको बताउँदै आगामी दिनमा पनि आर्थिक एजेण्डामा साझा धारणा बनाएर अघि बढ्नुपर्ने कुरालाई पनि मल्लले जोड दिए ।
बैंक तथा वित्तीय संस्थामा कायम उच्च ब्याजदरलाई तत्काल घटाउन संयुक्त रुपमा पहल गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।
‘मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका विभिन्न विषयमा सरकारले आश्वासन दिने तर कार्यान्वय नगर्ने अवस्था सिर्जना भएको छ, सरकारलाई ध्यानाकर्षण गराउनका लागि पनि निजी क्षेत्रका अग्रणी संस्थाले साझा धारणा तय गरेर अघि बढ्न जरुरी छ,’ उनले भने ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले पनि आर्थिक मुद्दालाई सम्बोधन गर्न संयुक्त पहल गर्नुपर्नेमा जोड दिए । विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले भने, ‘चेम्बर र महासङ्घको आर्थिक मुद्दा एउटै छ, अख्तियार क्षेत्राधिकारसम्बन्धी विधेयक, उच्च व्याजदर जस्ता विषयमा एउटै स्वर बनाउनसमेत आवश्यक छ ।’
निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयलाई सरकारले पनि गम्भीरतापूर्वक लिनुपर्ने पनि ढकालले बताए ।