अनलाइनमार्फत ९ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
काठमाडौं । सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्स कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टान र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई टिम्स कार्ड र गाईडबिना पदयात्रामा जान नपाउने नियम लागू गरेसँगै अनलाईनमार्फत टिम्स कार्ड लिने पदयात्रीको सङ्ख्या बढेको हो । टान र पर्यटन बोर्डले संयुक्त प्रदान गर्दै आएको टिम्स कार्डलाई अप्रिल १ देखि अनलाईनमार्फत वितरण गर्न थालेसँगै नौ हजार तीन सय २० पदयात्रीले टिम्स कार्ड लिएका हुन् । यस्तै, सोही अवधिमा एक हजार पाँच सयभन्दा बढी ट्रेकिङ कम्पनी टिम्समा आबद्ध भएका छन् । सरकारले टिम्स कार्ड लिएबापत पदयात्रीसँग दुई हजार रुपैयाँ शुल्क लिँदै आएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोला पर्यटकको सहजताका लागि अनलाइनमार्फत टिम्स कार्ड वितरण गरिएको बताउँछन् । ‘पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनका लागि सरकारले अनिवार्य गाईड र टिम्स कार्डको व्यवस्था गरेको हो’, उनी भन्छन् । अध्यक्ष बाँस्तोला बर्सेनि एक दर्जनभन्दा बढी पदयात्री बिना सूचना एक्लै पदयात्रामा जाँदा हराइरहेको बताउँदै पर्यटकको सुरक्षाकै लागि गाइड अनिवार्य गरिएको बताउँछन् । ‘पर्यटक एक्लै पदयात्रामा जाँदा र हराउँदा नेपाल पदयात्राका लागि सुरक्षित गन्तव्य हैन भन्ने सन्देश विदेशमा गएको छ, यसलाई चिर्न जरुरी छ’, अध्यक्ष बाँस्तोला भन्छन् । टिम्स कार्ड र गाइड अनिवार्य गरेसँगै पर्यटक सुरक्षित हुने, नेपाली पर्यटक गाइडले रोजगारी पाउने, कम्पनीबाट जाँदा कम्पनीले राज्यलाई राजस्व तिर्ने भएकाले सबैलाई फाइदा हुने टानले जनाएको छ । रासस
दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा छोरा हुन् । ‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन’, उनले भने । भारतीय सीमा सुरक्षा बल एसएसबी सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए । ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ’, उनले भने । सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ । हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन् । ‘वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौँ’, डिएसपी भट्टले भने–’झण्डै फाँच फिट जती हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ ।’ सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ । म¬ङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगिएको थियो । उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो । हाल सो क्षेत्रमा यार्सागुम्बा सङ्कलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा सङ्कलन गरिन्छ । रासस
तोलामा १२ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला १२ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ११ हजार २ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
विज्ञापनमा अनुमति लिन काठमाडौं महानगरपालिकाको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौं महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौं महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो । तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ । त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घर जग्गाधनीबाट असुल उपर गरिने ब्यहोरा सूचनामा उल्लेख गरिएको छ । रासस
काँकडभिट्टाबाट १७ करोडको बन्दाकोभी भारत निर्यात
झापा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा १७ करोड रुपैयाँभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन रुपैयाँ मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिए । काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उनले बताए । चालु आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक लाख ५६ हजार नौ सय ९२ रुपैयाँ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरले जानकारी दिए । सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषिउपज आयात भएको छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलैँची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ । रासस
पश्चिमी वायुको प्रभावले वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौंको आकाशमा बिहानैदेखि बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागमा केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
लिंकन विश्वविद्यालयद्वारा लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित
काठमाडौं । लिंकन इन्टरनेशनल कलेजका चारसय बढी विद्यार्थी दीक्षित भएका छन् । बैशाख १६ गते ललितपुरको गोदावरी स्थित सनराइज सम्मेलन केन्द्रमा भएको लिंकन युनिभर्सिटी विश्वविद्यालय कलेजको पाँचौ दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेजका चारसय छ जना विद्यार्थी दीक्षित भएका हुन् । लिंकन इन्टरनेशनल कलेजमा बिबिए अध्ययन गर्ने एकसय चार र एमबिए अध्ययन गर्ने तीनसय दुई जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । अहिलेसम्म विश्विद्यालयबाट २२ सय भन्दा धेरै विद्यार्थी दीक्षित भइसकेका छन् । दीक्षान्त समारोहमा लिंकन विश्वविद्यालय कलेज मलेसियाका अध्यक्ष प्रा.डा. अमैया भौमिक र प्राे. चान्सलर डा. हज्जा बीबी फ्लोरिना अब्दुल्ला उपस्थिति भएका थिए । दीक्षान्त समारोहमा लिंकन इन्टरनेशनल कलेज लगायत सो विश्वविद्यालय कलेजसँग आवद्ध ११ वटा कलेजका विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । दीक्षान्त समारोहमा विश्वविद्यालयबाट सहभागी भएका अतिथि, विभिन्न कलेजका प्रतिनिधि लगायतले आफ्ना भनाइ पनि राखेका थिए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो
रोल्पा । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा चालु शैक्षिक सत्रमा करिब तीन हजार विद्यार्थी भर्ना भएका छन् । सो विद्यालयमा धान्ने मुस्किल हुने गरी विद्यार्थीको चाप बढेको छ । यहाँ नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । विद्यालयले नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी भाषामा तथा कक्षा ६ देखि १० सम्म अङ्ग्रेजी र नेपालीमा पठनपाठन गराउँदै आएको छ । कक्षा ११–१२ मा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन र विज्ञान विषयमा पठनपाठन हुँदै सो विद्यालयले सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सिभिल इन्जिनियरिङ विषयमा तीन वर्षे डिप्लोमा र एनेक्स कार्यक्रमअन्तर्गत १८ महिने सव ओभसियर विषयमा समेत पठनपाठन गराउन थालेको छ । चालु शैक्षिक सत्रमा शिसु कक्षादेखि कक्षा १० सम्म एक हजार आठ सय १७ विद्यार्थी भर्ना भएका विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले बताए । जिल्लाकै पुरानो माध्यमिक विद्यालयको रुपमा रहेको सो विद्यालय २०२३ सालमा स्थापना भएको हो । सो विद्यालयले २०५२ सालदेखि उच्च मावि तहमा पठन पाठन सुरु गरेको हो । हाल सो विद्यालयको कक्षा ११ र १२ मा आठ सय २२ विद्यार्थी अध्ययन गरिरहेका छन् । सिभिल इन्जिनियरिङ डिप्लोमा र प्री डिप्लोमा तहमा थप एक सय ४० सहित विद्यालयमा दुई हजार सात सय ५६ विद्यार्थी अध्ययनरत छन् । अभिभावकको सहयोगले विद्यालयको शैक्षिक अवस्थामा व्यापक सुधार सम्भव भएको पोख्रेलले बताए । बर्सेनि विद्यार्थी निजी विद्यालय छाडेर यहाँ पढ्न आउने गरेका छन् । विद्यार्थीको चाप बढ्न थालेपछि भैतिक संरचनाको व्यवस्थापनमा चुनौती थपिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर डागीले जानकारी दिए । ‘विद्यार्थी थप हुँदै जाँदा शिक्षकको सङ्ख्या पनि थप्नुपर्ने आवश्यकता छ’, उनले भने । विद्यालयले दुईवटा हेल्थ डेक्ससमेत स्थापना गरेको छ । हेल्थ डेक्समा उनीहरुको स्वास्थ्य परीक्षण गरिन्छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका २४ सहित ६५ शिक्षक कर्मचारी कार्यरत छन् । रासस