विकासन्युज

हिमालय एअरलाइन्सले गर्यो बालबलिकाको व्यवसायमा सहयोग

काठमाडौं । हिमालय एअरलाइन्स्ले नेपालका बाल–बालिकाहरुको सुरुवाती व्यवसायमा सहयोग गरेको छ । हिमालय एअरलाइन्स्ले प्रयास स्टेप टुर्वाडस एजुकेसन मार्फत सातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ । एअरलाइन्स्ले बिहीबार नेपालमा आयोजित कार्यक्रममा यसवर्ष शैक्षिक सत्रका लागि बाल–बालिकाहरूलाई विभिन्न ग्रेडका नोटबुक, रजिष्टर र शैक्षिक पाठ्यक्रम पुस्तकहरू जस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो । उक्त एअरलाइन्स्ले स्वावलम्बनको बाटो पछ्याउने बालबालिकाको प्रबल इच्छाको प्रशंसा गर्दै, यस वर्ष एअरलाइन्स्ले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल – ‘लभ एपेटाइट’ को लागि विशेष ज्ञान आदानप्रदान सत्र आयोजना गरेको थियो । एअरलाइन्स्ले आयोजना गरेको संक्षिप्त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक श्री आकाश लामाले स्वैच्छिक रूपमा बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजना (लागत, मूल्य निर्धारण रणनीति) मा केन्द्रित भई मार्गदर्शन गरे । खाना तथा भान्साको शिष्टाचार, पाक विधिको साझेदारी आदि विषयमा उनले प्रशिक्षण दिए । एअरलाइन्स्को ब्रान्ड टोलीले प्रचार प्रसारको दृष्टिकोणबाट विभिन्न मार्केटिङ र ब्रान्डिङ प्रविधिहरूमा पनि प्रकाश पारेको थियो र उनीहरूलाई विशेष रूपमा डिजाइन गरिएको मेनु प्रदान गर्यो, जसले स्टार्ट–अपलाई अझ प्रभावकारी रूपमा बढ्न मद्दत गर्नेछ ।

सांग्रिला बैंकका ग्राहकले कार्ड बोक्नै नपर्ने, मोको वालेटबाट भुक्तानी हुने

काठमाडाैं । फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा संचालित मोको डिजिटल वालेट र सांग्रिला डेभलपमेन्ट बैंक बीच सम्झाैता भएकाे छ । वालेट र बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हाे । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरेर कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी ६ हजारभन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन् । हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स हो । विषेश गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

डिजिटल च्यानलबारे एनएमबि बैंकले गर्यो स्मार्टच्वाइसबीच सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकको बदलिँदो वित्तीय प्राथमिकतालाई सम्बोधन गर्न विभिन्न प्रकारका समयसान्दर्विक योजनाहरु ग्राहकहरू माझ प्रस्तुत गर्दै आईरहेको छ । एससीटी र बैंकबीच भएको यस सम्झौताले ग्राहकलाई विभिन्न डिजिटल च्यानलहरू प्रयोग गर्न प्रोत्साहन गर्दै ग्राहकलाई डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्न समेत निर्णायक भूमिका खेल्न सक्नेछ । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सरकारबाटै हेपिएको रेल्वे कम्पनी, सम्झौताको १९ वर्षमा पनि पाएन पैसा

काठमाडौं । विभिन्न सात वटा मन्त्रालयले रेल्वे कम्पनीमा सेयर लगानीको सम्झौता गरेर छोडेको पाइएको छ । सरकारका विभिन्न मन्त्रालय तथा मातहतका निकायले कम्पनीको सेयर खरिद गर्ने सम्झौता गरेर सेयर नै नलिई छोडेको कम्पनीले जनाएको छ । रेल्वे कम्पनीसँग २०६१ सालमा नै अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, उद्योग विभाग, र महालेखा नियन्त्रक कार्यालयले सेयर लगानीका लागि सम्झौता नै गरेका थिए । सम्झौता भएको १९ वर्ष हुँदा समेत उक्त मन्त्रालय तथा विभागले सेयर खरिदमा कुनै चासो नदेखाएको रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले जानकारी दिए । उनका अनुसार लामो समयसम्म प्रतिवद्धता गरेर सेयरमा लगानी नगर्दा रेल्वे कम्पनीमा समस्या थपिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ करोड र बाँकी विभाग तथा मन्त्रालयले साढे सात/साढे सात करोड गरी ६० करोड रुपैयाँ लगानी गर्ने सर्त राख्दै सम्झौता गरेका थिए । प्रतिवद्धता अनुसार उक्त रकमका लागि ताकेता गर्दा कुनै पनि निकायले चासो नै नदिएको झाले बताए । ‘सुरुवातमा यसको लागि कत्तिको पहल भयो थाहा भएन, उहाँहरूले आफ्नो पक्षबाट गर्नु भयो होला, म आएको दिनदेखि यसका लागि पहल गरिरहेको छु, हाम्रो प्रवर्धक पत्रमा नै उहाँहरूले कबुल गरेकै आधारमा सेयर पुँजी भरिएको थियो, तर पैसा आएन,’ उनले भने । प्रतिवद्धता अनुसारको रकम आएपछि व्यवसायीक प्लान बनाउने योजना रहेको बताउँदै झाले रकम नहुँदा योजना बनाउनै नसकिएको बताए । सेयर बापतको पैसा आएमा सरकारी बजेटको तत्तका अवश्यकता नरहेको उनको भनाइ छ । ‘ती मन्त्रालय तथा निकायले कम्पनीमा सेयर लगानी गर्ने भनेर लिखित प्रतिबद्धता नै गरेका थिए, यस विषयमा अर्थ मन्त्रालयमा पनि कुरा उठाइरहेका छौं, अर्थलाई आगामी बजेट २०८०÷८१ को बजेटमा उनीहरूले पाउने रकम कटौंती गरी कम्पनीलाई दिनुहोस् भनी रहेका छौं,’ उनले भने । सो रकम आएपछि रेल्वे कम्पनी सक्षम हुने र आउँदा बजेटबाट रेल्वे कम्पनीलाई छुट्टै बजेटको आवश्यकता नपर्ने उनले उल्लेख गरे । सरकारले दिएन पैसा सरकारले नेपालमा नै रेलका लागि आवश्यक जनशक्ति उत्पादन नहुँदा सम्मका लागि भन्दै भारतबाट आवश्यक म्यानपावर ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै भारतबाट आवश्यक जनशक्ति ल्याउने र उनिहरुका लागि सेवासुविधा (तलब) सरकारले नै भुक्तानी गर्नेगरी सहमित दिएका थिए । मन्त्रिपरिषद्को निर्णय अनुसार आवश्यक जनशक्ति भारतबाट ल्याईएको थियो । उक्त जनशक्तिका लागि भुक्तानी गर्नुपर्ने रकम अहिलेसम्म अर्थमन्त्रालयबाट नपाएको झाले बताए । ‘सरकारले निर्णय अनुसार रकम निकासाका लागि हामीले अर्थ मन्त्रालयमा अनुरोध गरेका थियौँ, तर अहिलेसम्म रकम पाएका छैनौँ’, उनले भने, ‘सरकारले रकम नदिएपछि रेलको आम्दानीबाट नै हामीले भुक्तानी गरिरहेका छौँ ।’ वार्षिक ८ करोड आम्दानी नेपालमा रेल सञ्चालनमा आएको डेढ वर्ष भन्दा बढी समय भइसकेको छ । रेल सञ्चालनमा आएतापनि आम्दानी भन्दा खर्च नै बढी भएको छ । ‘रेलको अहिले वार्षिक आम्दानी ८ करोड रुपैयाँ छ, आम्दानी सँगसँगै खर्च पनि उतिकै छ, अहिले आम्दानीको दोबर खर्च छ,’ उनले भने । रेलको आम्दानीले कर्मचारीलाई तलब खुवाउन पुग्ने भएतापनि रेलको मर्मत सम्भारका लागि ठूलो रकम खर्च भएको उनको भनाई छ । ‘रेलको मर्मत सम्भार भारतमा मात्रै हुन्छ, मर्मतसँगै वासिङ लगायतका काममा बढी खर्च हुन्छ’, उनले भने, ‘आवश्यक पूर्वाधार निर्माण तथा अन्य सेवा थप हुँदा आम्दानीले मात्र कम्पनीको खर्च धान्न सकेन ।’ रेल्वे कम्पनीमा अहिले ११० जना कर्मचारी छन् । फुल फेजमा रेल चलाउँदा २१० भन्दा बढी कर्मचारीको आवश्यकता पर्ने पनि कम्पनीले जानकारी दिएको छ । सोको लागि कम्पनीले लोकसेवाको मध्यमबाट कर्मचारी नियुक्ति गर्ने उनले बताए । उनका अनुसार हाल रेल मर्मत सम्भार गर्ने वर्कसप नेपालमै खोल्ने गृहकार्य भइरहेको छ । निकट भविष्यमा कार्गो रेल सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । ‘रेललाई नाफामा लाने हाम्रो कोसिस जारी छ, यसको लागि हामीले आवश्यक कामहरू गरिरहेका छौं, रेलका पूर्वाधारहरू यही बनाई, दक्ष जनशक्ति यही उत्पादन गर्यो भने रेल नाफामा लम्कन्छ,’ उनले भने ।

बन्दीपुरमा होटल रेष्टुरेन्टहरू राति ११ बजेसम्म खोल्न पाउनु पर्ने माग

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । प्रहरीले बन्दीपुरमा एक औपचारिक कार्यक्रम गरी नागरिक सुनुवाइ तथा अन्तर्क्रिया कार्यक्रम सहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि सम्पन्न गरेको हो । सहभागीहरूको तर्फबाट ट्राफिकको चेकिङ आवश्यकता भन्दा बढि भएको, होटल रेष्टुरेन्टहरू राति ११ बजे सम्म खोल्न पाउनु पर्ने माग, बन्दीपुरमा प्रहरी कर्मचारी संख्या बढि बनाई प्रहरी सक्रियता समेत बढाउनु पर्ने, डुम्रेमा राजमार्गमा, ट्राफिक संकेत, खाल्टाखुल्टी मर्मत, धुलो नियन्त्रण गर्नुपर्ने माग गरिएको थियो । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले कार्यक्रममा उठेका सबै गुनासो तथा जिज्ञासाको सम्बोधन समेत गरेका थिए । उनले कानून बमोजिम गर्नु पर्ने कारवाही प्रक्रियाहरूमा कुनैपनि कमी हुन नदिइने, नागरिक को दायित्व बहन गर्न सबैमा अनुरोध, सहकार्य गर्ने, राजमार्ग व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरे । प्रहरीले विभिन्न निकाय, संघ संस्था, बुद्धिजीवी, समाजसेवी, विभिन्न क्लब, समिति तथा विभिन्न निकायका व्यक्तित्वहरूसँगको सहकार्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू गरिएको जिल्ला प्रहरी प्रमुख अवदेश बिष्टले बताए । यसअन्तर्गत लागू औषध दुर्व्यसनी नियन्त्रण, साइबर सुरक्षा, सडक सवारी सुरक्षा सचेतना, घरेलु हिंसा न्यूनीकरण, वन डढेलो, आगलागी नियन्त्रण, लगायत विभिन्न विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम गरिएको उनको भनाइ छ । समाजमा हुन सक्ने कुनै पनि किसिमका विकृति, बिसंगतीहरूको नियन्त्रण गर्दै अपराध मुक्त समाजको स्थापना गर्ने तथा सम्पुर्ण जनमानसमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने तथा प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आम नागरिक माझ पारदर्शी तथा सहभागितमूलक बनाउँदै लैजाने प्रयास भएको प्रमुख बिष्टले बताए । कार्यक्रममा बन्दिपुर गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङले विभिन्न अपराधहरू नियन्त्रण गर्नका लागि प्रहरी सजग हुनुपर्ने बताइन । उनले स्थानीय तहबाट हर किसिमको साथ प्रहरीलाई गर्न गाउँपालिका प्रतिवद्ध रहेको समेत बताइन् । जिल्ला प्रहरी कार्यलय तनहुँको तथ्यांक अनुसार गत ६ महिनाको अवधिम भिन्न कार्यक्रमहरू भएका छन् । जसअनुसार स्कुल लक्षित ३३ वटा, टोल सुधार समिति लक्षित ४२ वटा, सडक सवारी सुरक्षा लक्षित ४७ वटा कार्यक्रम भएका भने ४८७ जना ट्राफिक कारबाहीमा परेका छन् । राजमार्ग सुरक्षार्थ व्यवस्थापन तथा बिभिन्न किसिमका भवितव्य घटना, दुर्घटना, आगलागी का घटना, प्रकोपहरूमा तुरुन्तै परिचालन हुनु पर्ने जस्ता घटनाहरूमा २३ वटा घटनामा प्रहरी परिचालन भएको प्रहरीले बताएको छ ।

लगातार किन भइरहेको छ जहाज अवतरणमा समस्या ?

काठमाडौं ।  यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍याे । काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍याे । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । त्यसदिन एयर इण्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो । विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ । त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौं आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेवल एप्रोच’ भएकाले ओभरसुट गरेको हो । यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट ग¥यो । जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाही एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरु बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उनीहरुको भनाइ छ । नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेवल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन । ‘ओभरसुट सबभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ’, उनले भने, ‘ओभरसुटलाई अनस्टेवलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’ नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ, र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् तर, नेपालमा ओभरसुट भएपछि नियामक निकालये स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ । जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीँ धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ । विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए । ‘पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रुपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ’, उनले भने । जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टिआइएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ । विशेष गरी चैत वैशाख महिनामा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टिआइएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् । कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् । यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थल छन् । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ । मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ । तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन । डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि टिआइएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि टिआइएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन् । दैनिक एक घण्टा होल्ड यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौँ आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गदर्छन् । टिआइएमा दैनिक आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । रासस

सिटिजन्स बैंकका ग्राहकलाई आर बि डायग्नोस्टिकमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र आर बि डायग्नोस्टिकबीच समझदारी भएको छ । बैंक र आर बि डायग्नोस्टिकबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले आर बि डायग्नोस्टिमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ४० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

अब मूल्यवृद्धि ७ प्रतिशतकै हाराहारिमा झर्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अब मूल्यवृद्धि ७ प्रतिशतकै हाराहारिमा झर्ने बताएका छन् । शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिकपछि राखिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सहज भएकाले अब मूल्यवृद्धि विस्तारै घट्दै जाने बताए । उनले स्थानीय तहको रकमले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम भएको बताए । खराब कर्जा बढेको कारण बैंकिङ क्षेत्र दबाबमा परेको उनी बताउँछन् ।