विकासन्युज

तरकारी खेतीबाटै करोडौँको मालिक बने पुष्कर बञ्जाडे

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख रुपैयाँ बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् । एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ । दैनिक तीन/चार क्विन्टल टमाटर बेचिरहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ४० देखि ५० रुपैयाँसम्म थोक मूल्यमा टमाटरका साथै तरकारी पनि दैनिक १० हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन् । बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा  १५/१६ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ । उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ । बञ्जाडेले भने, ‘अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेको मान्छे भनेर इष्या गर्थे  तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।’ पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुन् । सामान्य परिवारका जन्मीएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाएका हुन् । उनले भने, ‘गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गरेका उनलाई पाँच करोड रुपैयाँभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ ।’ तरकारीबाट वर्षमा १० लाख रुपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाएका बञ्जाडेले तीन करोड रुपैयाँभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए । पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साहै समस्या छ । बारीमा आकाशे पनि सङ्कलन गर्न ५० हजार लिटरको आकाशे पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाएका छन् । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन् । वर्षात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । ‘अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा गर्व भयो,’ पुष्करनाथले भने, ‘पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्याए ।’ रासस

सांसद टोपबहादुर रायमाझी पक्राउ बारे संसदमा जानकारी

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेकाे बारे संसदमा जानकारी गराइएकाे छ । सभामुख देवराज घिमिरेले रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै संसदलाई उक्त विषयमा जानकारी गराएका हुन् । ‘गजेन्द्र बुढाथोकीको समेत जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी केशवप्रसाद दुलालसमेत भएको ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा माननीय टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते राती ८ः२५ बजेको समयमा जिल्ला काठमाडौं बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जिल्ला प्रहरी परिसर टेकुको चलानी नम्बर १२२७३ मिति २०७८ जेठ १ गतेको पत्रबाट सूचना प्राप्त भएको हुँदा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम १ बमोजिम यो सदनलाई जानकारी गराउँछु,’ उनले भने । रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो । नोट : यसअघिको समाचार गलत भएको कारण सच्याइको छ ।

सिमित व्यक्तिले बैंकिङ क्षेत्रको स्रोत प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठुलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले उपलब्ध स्रोत, साधनहरु अनुत्पादक र कम उत्पादक क्षेत्रहरुमा केन्द्रीत हुँदापनि अर्थतन्त्रमा समस्या देखिएको बताएका हुन् । उनले बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै यसतर्फ समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए । ‘उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न सकेन, दैनिक उपभोग्य वस्तुहरुको ठुलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिदै गएको छ, सरकारको नीति, योजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको हाे,’ उनले भने । उनले किसानहरुले बेलैमा मल पाउनेगरी मलको आपूर्ति सुनिश्चित भएको बताए । त्यस्तै भ्रष्टाचारविरुद्ध सरकार गम्भिर रुपले लागेको उनको भनाई छ ।

एक हजार ८१८ विन्दुमा नेपाल स्टक एक्सचेन्ज

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता सेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार नौ सय ८० बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूह १० दशमलव ५५, वित्त समूह एक दशमलव ११, उत्पादन तथा प्रशोधन समूह २२ दशमलव ७० र लघुवित्त समूह १० दशमलव ८० अङ्कले बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ५१ दशमलव ७७ र होटल तथा पर्यटन समूहको उपसूचक १६ दशमलव ६४ अङ्कले घटेको छ । बैंकिङ समूह तीन दशमलव ७०, जलविद्युत् समूह पाँच दशमलव ३४, लगानी समूह शून्य दशमलव ०६, जीवन बीमा समूह आठ दशमलव ४७, म्युचुअल फन्ड शून्य दशमलव ०५, व्यापार समूह छ दशमलव ९४ र अन्य समूह सात दशमलव ४५ अङ्कले घटेको छ । नेपाल इन्भेस्टमेन्ट बैंक ग्रोथ फन्डको सेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ भने सबैभन्दा धेरै घट्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा छ दशमलव ४५ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको तीन करोड चार लाख ६७ हजार बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंकको एक लाख ३९ हजार छ सय ३० कित्ता सेयर किनबेच भएको छ ।

कनेक्ट आइपिएसको क्रान्ती : विद्यालयको कारोबारलाई पनि डिजिटलमय बनाउँदै

काठमाडौं । धनगढीकी सपना विष्टकी छोरी काठमाडौं बागबजार स्थित काठमाडौं मोडेलमा पढ्छिन् । उनले आफ्नो छोरीको विद्यालय शुल्क कनेक्ट आईपीएसमार्फत् भुक्तानी गर्छिन् । उनले बैंकका मोबाइल एप्लिकेशनदेखि अन्य वालेट पनि चलाउँछिन् । तर, आफ्नो छोरी विद्यालयको शुल्क भने कनेक्ट आईपीएसमार्फत् नै भुक्तानी गर्छिन् । कनेक्ट आईपीएस मार्फत् शुल्क भुक्तानी गर्दा सस्तो र भरपर्दा रहेको उनको अनुभव छ । ‘म दिनभरी कार्यालयमा व्यस्त हुन्छु, छोरीको विद्यालय शुल्क बुझाउन जान पनि समय मिल्दैन, कनेक्ट आईपीएसबाट शुल्क भुक्तानी गरेर रसिद बुझाउँछु,’ उनले भनिन्, ‘अन्य मोबाइल एप चलाउँछु तर, शुल्क धेरै लाग्ने, कहिले पैसा काटेपनि नदेखाउने समस्या हुन्छ, कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा ढुक्क भइन्छ ।’ अन्य भुक्तानी माध्यम प्रयोग भन्दा कनेक्ट आईपीएस सर्वसुलभ रहेको उनको बुझाइ छ । आफ्नो समयको सही व्यवस्थापन र हिसाब स्पष्ट हुने गरेको उनले बताइन् । पहिला बैंकमा लाइन लागेर रकम भुक्तानी गर्दा समय जाने गरेको भएपनि आजकाल घरमै बसेर विद्यालयको शुल्क बुझाउँदा पारदर्शी पनि भएको उनको भनाइ । पछिल्लो समय विष्ट मात्रै नभएर अन्य थुप्रै व्यक्तिले कनेक्ट आईपीएस मार्फत् आफ्ना छोराछोरीको विद्यालयको शुल्क र विद्यार्थीहरुले आफ्नो कलेजको शुल्क बुझाउने गरेका छन् । यस्तै, काठमाडौंकै प्रिती झा कार्यालय (अफिस) जाने समयमाआफ्नो छोराछोरीको विद्यालय शुल्क भुक्तानी गर्थिन् । विद्यालयको शुल्क बुझाउँदा जहिल्यै पनि उनी ढिलागरी कार्यालय पुग्थिन् र अफिसको गालि खानु पथ्र्याे । तर, जब अनलाइन बाटै भुक्तानी गर्न सकिने व्यवस्था बन्यो त्यसबेलादेखी उनी समयमै कार्यालय पुग्छिन् । ‘अहिले नगद कारोबार नै घटेको छ, पहिला म अफिस जाँदा शुल्क तिर्न जान्थे, सरहरुले ढिला पुगेपछि रिसाउनु हुन्थ्यो, अहिले कनेक्ट कनेक्ट आईपीएसमार्फत् नै भुक्तानी गर्छु, जसले गर्दा कार्यालय जाने समयको सट्टामा लाइन लाग्नु परेको छैन,’ उनले भनिन् । नेपाल क्लियरिङ्ग हाउसका डिजिटल मार्केटिङ्ग प्रमुख अम्रित अधिकारी चेक वा कागजका माध्यमबाट हुने कारोबारलाई अन्त्य गर्न विद्यालयको शुल्कलाई डिजिटल माध्यमबाट थालनि गरेको बताउँछन् । कागजी व्यवस्थालाई अन्त्य गर्न अनलाइनका माध्यमबाट विद्यालय र कलेजहरुको शुल्क विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको उनको भनाइ छ । विद्युतीय माध्यमबाट कारोबार गर्दा सेवामा गुणस्तरीयता र तीव्र हुने उनले बताए । कसरी प्रयोग गर्ने ? कनेक्ट आइपीएसको मोबाइल एप्लिकेशन अर्थात् गुगल ब्राउजरमा लग इन गरेपछि क्रेडिटर्स पेमेन्टमा गएर शैक्षिक सेवा (एजुकेसन सर्भिस)मा क्लिक गर्नुपर्ने हुन्छ । सो क्याटागोरीमा रहेका विभिन्न विद्यालय तथा कलेजलाई छनोट गर्नु पर्ने हुन्छ । सूचीकृत विद्यालयहरुको नाम खोजेर शुल्क उल्लेख गरी भुक्तानी गर्न सकिने उनले बताए । दाखिला गरेको रकमको रसिद कार्यालयमा गएर बुझाउनु पर्ने हुन्छ । उनका अनुसार हालसम्म २५० भन्दा बढी विद्यालय तथा कलेजहरु आवद्ध भएका छन् । ‘कनेक्ट आईपीएसमा विद्यालय तथा कलेजहरु जोडिने क्रम जारी छ, विद्यालयहरुले पनि अनलाइन माध्यममा जानु पर्ने भएकाले जोडिरहेका छन्, उपत्यका बाहिरका पनि १ सय बढी विद्यालय जोडिएका छन्,’ उनले भने ‘संस्थाले आवद्ध हुनका लागि बैंकको खाता नम्बर पठाएर कनेक्ट आईपीएसमा सूचीकरण गर्न सक्छन् ।’ अधिकारीका अनुसार मोबाइल एप्लिकेशनबाट २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । ब्राउजरबाट लग इन गरेर २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने उनले बताए । साथै, जति बैंक लिंक गर्याे सोही अनुसारको कारोबारको सीमा बढ्दै जाने उनको भनाइ छ । ‘एक पटकमा मोबाइल एप्लिकेशनबाट २ लाख र गुगुल ब्राउजरबाट २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ,यदि ५ वटा बैंक लिंक गरेको छ भने १ करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ, जति बैंक लिंक गर्याे सोही अनुसार कारोबारको सीमा निर्धारण गरिन्छ,’ उनले भने । कनेक्ट आईपीएस नै किन प्रयोग गर्ने ? कनेक्ट आईपीएस वालेटभन्दा फरक भुक्तानी प्रणाली हो । कनेक्ट आईपीएसमा सिधै बैंक जोड्नु पर्ने हुन्छ । अधिकारीका अनुसार कनेक्ट आईपीएसमा कारोबारको सीमा धेरै हुने भएकाले प्रयोगकर्तालाई फाइदा हुन्छ । साथै, वालेटको जस्तो पैसा लोड गर्न नपर्ने भएकाले कारोबारका लागि झण्झट नरहेको उनले बताए । साथै, बैंक लिंक गरेको हुँदा ब्याज रकम आइरहने उनको भनाइ छ । ‘कनेक्ट आईपीएस वालेटभन्दा फरक भुक्तानी प्रणाली भएकाले सिधैं बैंक जोड्नु पर्छ, कनेक्ट आइपीएसमा कारोबारको सीमा धेरै भएकाले वालेटको जस्तो पैसा लोड गरिरहनु पर्दैन, साथै, वालेटमा रकम लोड गरेपछि ब्याज आउँदैन तर, यसमा बैंकसँग लिंक भइरहेको हुँदा ब्याज पनि आइरहन्छ,’ उनले भने । सुरक्षाका हिसाबले पनि कनेक्ट आईपीएस सुरक्षित रहेको उनले बताए । जस्तो कुनै व्यक्तिको लग इन गरेको छ । यदि उसले आफ्नो आइडी अन्य कसैलाई दिएको छ भने कारोबार गर्नका लागि पिन नम्बर आवश्यक पर्छ । साथै, एक लाख भन्दा बढी कारोबार गर्दा ओटिपी कोड आवश्यक पर्ने उनले बताए । अन्य विद्युतीय भुक्तानी माध्यमभन्दा कनेक्ट आईपीएस सस्तो रहेको उनको दावी छ । ‘विभिन्न समयमा स्कीम वा अफर पनि ल्याएका हुन्छौं, सबैभन्दा सस्तो भुक्तानी शुल्क कनेक्ट आइपीएसमा छ, ५ सय रुपैयाँसम्म कारोबार गर्दा २ रुपैयाँ शुल्क,५ सयदेखि ४ हजार ९९९ रुपैयाँसम्म कारोबार गर्दा ४ रुपैयाँ शुल्क र ५ हजारदेखि २० लाख रुपैयाँको कारोबारमा ८ रुपैयाँ मात्रै शुल्क छ, अन्य संस्थाको आफ्नो रणनीति अनुसार ४०/५० रुपैयाँसम्म शुल्क लिएका हुन्छन्,’ उनले भने । राष्ट्र बैंकको लगानी रहेकोसंस्था भएकाले पनि धेरै शुल्क लिन नमिल्ने उनले बताए । उनका अनुसार न्यूनतम शुल्क पनि सिस्टमलाई सन्तुलन कायम गर्न लिएको हो । कनेक्ट आईपीएसको सेवा निशुल्क गर्ने हो भने निजी कम्पनीलाई असर पर्ने भएकाले न्यूनतम शुल्क निर्धारण गरेको उनको भनाइ छ । कनेक्ट आइपीएसमार्फत् चैतसम्म ३ खर्ब ८० अर्ब बढीको कारोबार भएको छ । दिनप्रतिदिन कनेक्ट आइपिएसको प्रयोगकर्ता बढ्दै गएका छन् । चैतसम्म १० लाख ५१ हजार कनेक्ट आएपिएसका प्रयोगकर्ता छन् ।

टोपबहादुरको पक्राउ बारे संसदलाई जानकारी, के हुन्छ पद ?

काठमाडौं । प्रहरीले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसदलाई जानकारी दिएको छ । काठमाडौं प्रहरी परिसद्ले सोमबार पत्र लेख्दै संसदलाई रायमाझी पक्राउ परेको बारे जानकारी दिएको हो । योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीको सांसद पद निलम्बनको प्रकिया अघि बढेको छ । कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि त्यसको जानकारी संसदलाई दिएपछि निलम्बनको प्रकिया अघि बढ्छ । भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा उनलाई प्रहरीले वैशाख ३१ गते बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

प्रहरीले मेरो पनि निवेदन दर्ता गर्नै मानेन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थीमा संग्लङ भएको भन्दै सार्वजनिक भएका अडियो टेस्ट गर्नका लागि ३ घण्टा पखर्नु परेको बताएकी छिन् । सोमबार संसदमा बोल्दै उनले आफ्नो भन्दै सार्वजनिक भएको अडियो नक्कली भएको भन्दै परीक्षण गराउन सिबिआइ र साइबर क्राइमले निवेदन दर्ता गर्नै नमानेको बताईन । ‘भुटानी शरणार्थी प्रकरणमा मेरो भ्वाइस राख्दै अडियो सार्वजनिक भयो, मैले ६ दिन अगाडी परेन्सीक टेस्टका लागि सीविआइ र साइबर क्राइममा परीक्षणका लागि दिएको थिए, उहाँहरुले मेरो निवेदन दर्ता गर्नै मान्नुभएको थिएन, यहाँ साथीहरुले मेरो विश्वास गर्नुहुँदैन होला, सत्ता पक्षको ठूलो नेताको श्रीमति भनेर, तर मैले ३ घण्टा लगाएर निवेदन दर्ता गराए’, उनले भनिन । उनले निवेदन दर्ता गर्न नमान्नुको कारणको जवाफ गृह मन्त्रालयसँग माग्ने भन्दै दर्तामा किन अलमल भएको भन्दै प्रश्न समेत गरिन । यस्तै, उनले ३ घण्टा लगाएर निवेदन दर्ता गरेको ६ दिन भैसक्दा समेत फेक हो कि होइन भनेर जानकारी नआउँदा झन समस्या थपिएको बताईन । ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि आएको छ, तर मेरो मात्र नाम किन लिइन्छ, मलाई महिला भएकै कारण मेरो क्यारेक्टरको रेप गरियो’, उनले भनिन । उनले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको भन्दै सो प्रकरणका दोषीलाई कारबाही गर्न समेत माग गरेकी छिन् ।

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको वैशाख १७ गते सहकारीबाट ३३ लाख रुपैयाँ चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्र्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनीहरुको साथबाट नगद पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ल प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता उनले बताए । रासस