गौरीगंगा नगरपालिकाबाट सनराइज बैंकको बैंकिङ्ग सेवा
काठमाडौं । सनराइज बैंकले कैलालीको गौरीगंगामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगंगा नगरपालिकाका वडा अध्यक्ष मनिराज जोशी र सभापतीमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानिय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायत अन्य कार्यालयका कर्मचारीको समेत उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरु लिन सकिने जनाएको छ । व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । हालसम्म बैंकले १३९ वटा शाखा, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
जेठ ७ गतेदेखि कृषि बीमाको कुनै पनि भुक्तानी नहुने
काठमाडौं । नेपाल बीमक संघले कृषि सम्बन्धी सबै बीमा लेख जारी र भुक्तानी गर्ने काम स्थगित गर्ने निर्णय गरेको छ । संघले सोमबार एक विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि यो निर्णय लागु हुने जनाएको छ । सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषि सम्बन्धी सबै बीमा लेख जारी गर्ने र भुक्तानी गर्ने काम स्थगित गरिने संघले बताएको छ । ‘कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सो संग सम्बन्धित क्षतिको दावी भूक्तानी दिन कम्पनीहरु असमर्थ रहेको साथै बीमालेखको बीमाँकमा कृषि विभागको असहमति रहेकोले बीमाँक एकिन नगरि दावी भूक्तानी दिन नसकिने भएको ले मिति २०८०।०२।०७ देखि कृषि सँग सम्बन्धित बीमालेखहरु जारी गर्न तथा दावी भूक्तानी दिन स्थगन गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ । सरकारले बीमा कम्पनीहरुलाई कृषि बीमाशुल्कमा तोकेको तीन अर्ब अनुदान रकम बाँकी रहेको छ । बीमा कम्पनीहरुले सरकारले तोकेको अनुदान सामान्यतया १ वर्ष पश्चात मात्र प्राप्त गर्ने गरेका छन् ।
बन्द रहेका उद्योगको अनुगमन तिव्रताका साथ गर्दैछौ : उद्योग मन्त्री
पर्सा । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले व्यवसाय मैत्री वातावरण निर्माणका आफु लागि परेको बताएका छन् । यसका लागि आवश्यक रणनीतिक उपकरणहरू कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । नेपाल प्रेस युनियन पर्साको १०औं जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । नागरिकको अर्थपूर्ण सहभागिता नै सरकारको परिकल्पना रहेको बताउदै मन्त्री रिजालले देशको आर्थिक समृद्धि र सुशासन तर्फ नीति निर्माणमा सरकार आगाडी बढेको स्पष्ट पारेका छन् । मन्त्री रिजालले नागरिकहरूमा आशा र समृद्धिका आधारहरूको विषयगत छलफल तथा नीति निर्माण, बजेट तथा कार्यक्रमहरूको व्यवस्था गर्दै सरकार अगाडी बढेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले बन्द रहेका उद्योगहरुको अनुगमन तिव्रताका साथ अगाडि बढिरहेको बताए । बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याई आर्थिक समृद्धितर्फ अघि बढ्न सरकारले निति अगाडी सारेको समेत मन्त्री रिजालले स्प्ष्ट पारे ।
मनकामना केबलकार चढ्ने यात्रुको संख्यामा वृद्धि, वैशाखमा सवा लाख बढीले लिए सेवा
काठमाडौं । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ । कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको संचालक लक्ष्मण बाबु श्रेष्ठले बताए । ुअहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिँदै आएको छन्, वैशाखभर एक लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको छन्,ु उनले भने । उनका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ । आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए। वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१.१७ प्रतिशत (छ लाख १९ हजार ३७३) र भारतीय २४.१० प्रतिशत (दुई लाख ९ हजार ७४३) रहेको उनले जानकारी दिए । पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको उनले बताए । कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ ।
सरकार र राष्ट्र बैंकले एक अर्कालाई दोष लगाउन अन्त्य गरौं
काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सरकार र राष्ट्र बैंकबीचको दोषरोपण अन्त्य हुन आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकार र राष्ट्र बैंकको उद्देश्य फरक हुने भएकाले नीतिगत प्राथमिकता फरक हुने बताए । ‘सरकारले बढी खर्च गर्न खोजेर मूल्य वृद्धि बढाउने तर राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्नको लागि नीतिगत औजारहरु प्रयोग गरी चेक एण्ड ब्यालेन्स मिलाउने काम हुन्छ,’ उनले भने । यस्तै, उनले कोभिड–१९ को समयमा वित्त नीतिले गर्न नसक्ने काम मौद्रिक नीतिमार्फत भएको बताए । उनले राष्ट्रिय योजना आयोगले बनाउने योजनालाई बढी भन्दा बढी यथार्थपरक बनाउने र तोकिएका लक्ष्य पूरा गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
टोपबहादुर र नारायण पौडेलको व्यवसायिक कनेक्सन, कोरोनाकालमा बनाएका थिए महाबिर प्यालेस
काठमाडौं । पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जाल नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको विषय चर्चामा छ । अनुसन्धानको क्रममा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि अनुसन्धानमा तानिएका छन् । यही विषयकाे अनुसन्धानको दायरामा नेकपा एमालेका सचिव तथा सांसद टाेपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । रायमाझी आइतबार राति सवा ८ बजेतिर काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परे । प्रहरीको फरार सूचीमा रहेका उनी आइतबार बुढानीलकण्ठको उनको साथीको घरबाट पक्राउ परे । पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनलाई आइतबार राति बूढानीलकण्ठको पासिकोटस्थित साथीको घरमा भेटाएको थियो । पुरानो चिनजान भएका अर्घाखाँचीकै गाउँले नारायण पौडेलको घरमा उनी फेला परेका थिए । उनी लुकेको घर अर्थात् उनलाई लुकाउने नारायण पौडेलको पनि अहिले व्यापाक चर्चा भइरहेको छ । पौडेल को कुन् भन्ने विषयमा पनि धेरैको चासो छ । रायमाझी र पौडेल लामो समयदेखिको साथी रहेको बुझिएको छ । पौडेल टोपबहादुरसँग घनिष्ट छन् । सुरुवातदेखि नै टोपबहादुरसँगको व्यवसायीक सहकार्य पनि रहेको स्रोतको भनाइ छ । पौडेललाई रायमाझीले विभिन्न राजनीतिक नियुक्ति पनि दिलाएका थिए । पौडेल राष्ट्रिय खेलकुद परिषद्को सदस्य र ग्रामीण खानेपानी फण्ड बोर्डको समेत सदस्य उनै रायमाझीकै पहुँचमा नियुक्त भएको स्रोतको दाबी छ । रायमाझीकै पहलमा पौडेल नगर विकास परिषद्मा पनि नियुक्ति भएको बताइन्छ । कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुखसमेत रहेका पौडेलले २०६४ देखि सोही क्याम्पसमा अध्यापन गर्दै आएका छन् । त्यस बाहेक उनी पर्यटन व्यवसायीका रुपमा पनि परिचित छन् । उनको विभिन्न होटलहरुमा लगानी छ । पौडेल होटल तिब्बत होलिडे इन ठमेलका लगानीकर्ता हुन् । सो होटलमा धनबहादुर श्रेष्ठसँग उनले सहकार्य गरेका छन् । सोही होटलमा २०६३ मा पुष्प कमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई सार्वजनिक गरिएको थियो । पौडेलको गौशालामा रहेको होटेल रामेश्वरममा पनि लगानी रहेको बुझिएको छ । यस्तै, उनले कोरोनाको समयमा सोल्टीमोडमा रहेको महाबिर प्यालेस पनि निर्माण गरेका थिए । भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप लगाएका रायमाझीले पौडेलाई सोही समयमा सोही होटलमा लगानी गरेको हुन सक्ने अनुमान धेरैको छ ।
नेपाल टेलिकममा अब नमस्ते पे क्युआरबाटै बील भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुविधा संचालनमा ल्याएको छ । नेपाल टेलिकमले एक कार्यक्रमकाबीच आज सो सेवाको शुभारम्भ गरेको हो । नेपाल टेलिकमकी निर्देशक सबिना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे । सो अबसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरे । उनले भने, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’ नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ । कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताले क्युआर मार्फत भुक्तानी गरे बापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ ।
मौद्रिक नीतिका सीमाहरु छन्, बढी नै अपेक्षा गरियो : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरेपनि मौद्रिक नीतिमा सिमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने बताए । ‘सरकार र समाजबाट मौद्रिक नीति माथि बढी अपेक्षा गरेको देख्छौं, मौद्रिक नीतिका सीमाहरु छन्, राष्ट्र बैंकको उद्देश्य र मौद्रिक नीतिका उदेश्यभन्दा बाहिर गएर थप काम गर्न खोज्दा उद्देश्य भन्दा बाहिर हुन्छ,’ उनले भने । उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउँदै भने,’राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक छ ।’ यस्तै, उनले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष वाह्य क्षेत्रमा सहज रहेपनि आगामी दिनमा चुनौतिपूर्ण रहेको बताएका छन् । उनले चुनौतिहरुको सामना गर्नको लागि राष्ट्र बैंक सजक किसिमले लागेको बताए । उनले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनको लागि ठूलो चुनौति वित्त नीतिमा देखिएको बताउँदै भने,’सरकारले राजश्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यक छ ।’