विकासन्युज

धनकुटामा ३ सडक आयोजनाको काम तीव्र

धनकुटा । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । ५६ करोड ५२ लाख रुपैयाँ सम्झौता लागतमा उक्त सडक कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कालोपत्रको काम यही असारभित्र सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी १० किलोमिटर सडकको ७० प्रतिशत काम सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख रुपैयाँ लागतमा यो सडक निर्माण थालिएको हो । त्यस्तै, यही सडक खण्डअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको काम पनि तीव्र गतिमा भइरहेको छ । प्रदेश सरकारको २२ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । यसलाई पनि यही वर्षभित्र कालोपत्र गर्ने गरी काम भइरहेको कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिए । निर्माण भइरहेका यहाँका सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेर निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ । ‘योजना सञ्चालनका क्रममा देखिएका समस्या समाधानका विषयमा निर्माण कम्पनी तथा स्थानीय सरोकारवाला पक्षसँग आवश्यक छलफलसमेत गरेका छौँ’, उनले भने । ‘हामीले सञ्चालन गरेका योजनालाई तोकिएको मापदण्डअनुसार समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ’, महतोले भने, ‘यहाँ सञ्चालन भइरहेका योजनाको काम तीव्रगतिमा अघि बढेको छ । एउटा सडकको कालोपत्र सुरु गरेका छौँ । अन्य दुई सडक निर्माण पश्चात् केही समयमा कालोपत्र सुरु गर्ने लक्ष्य छ ।’ बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडकअन्तर्गत आयोजनाको काम निर्माण कम्पनीले तीव्रगतिमा अघि बढाए पनि बजेट अभावका कारण सम्झौता रकम भुक्तानी दिन समस्या रहेको प्रमुख महतोले बताए । प्रदेश सरकारबाट आवश्यक पर्ने बजेट समयमा नआउँदा भुक्तानी दिन नसकिएको उनको भनाइ छ । ‘यो सडक निर्माणको काम तीव्रगतिमा भइरहेको छ’, उनले भने, ‘निर्माण कम्पनीले गरेको कामको समयमा भुक्तानी दिन सकिरहेका छैनौँ । प्रदेश सरकारबाट आवश्यक बजेट आएको खण्डमा यो काम समयमा सम्पन्न हुनेछ ।’ कालोपत्र भइरहेको उक्त सडकको नियमित अनुगमन तथा कोर कटर मेसिनका माध्यमबाट ल्याब परीक्षण गर्ने काम भइरहेको कार्यालयका ल्याब टेक्निसियन रिपु पण्डितले जानकारी दिए । स्थानीय तथा विषेशज्ञको उपस्थितिमा प्वाल पारेर सडकको गुणस्तर परीक्षण गरिरहेको उनले बताए । सडक ‘आस्फाल्ड’ प्रविधिमा चार सेन्टिमिटर मोटाइमा कालेपत्र भइरहेको पण्डितको भनाइ थियो । ‘हामीले यसको गुणस्तरमा विषेश ध्यान दिएका छौँ’, उनले भने, ‘कालोपत्र भएको चार ठाउँमा परीक्षण गर्दा आवश्यक मापदन्डअनुसार नै निर्माण भएको छ । कतिपय ठाउँमा चारको ठाउँमा सात सेन्टिमिटरसम्म मोटाइ छ । निर्माण कम्पनीले हाम्रो प्रत्यक्ष निग्रानीमा कालोपत्र गरिरहेको छ ।’ मापदण्डअनुसार समयमा सम्पन्न गर्ने लक्ष्यले काम गरिरहेको निर्माण कम्पनी शर्मा, भिमेश्वर भेजीले जनाएको छ । विसं २०७७ देखि निर्माण सुरु भएको सडक यही असारभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । हाल निर्माण भइरहेको २३ किलोमिटर सडकको अन्तिम बिन्दु तेलियादेखि–ओख्रे–ताम्लिङ सडकखण्डको कालोपत्र भइरहेको कम्पनीका प्रतिनिधि अर्पेन्द्रकुमार अधिकारीले जानकारी दिए । सडकको  स्टरचर, सवबेस पूर्णरुपमा र १० किमी सडकको बेसको काम सकिएको उनको भनाइ छ । वर्षात्ले समस्या हुने भएकाले पहिलो चरणमा यो खण्डको काम सकेर अर्को चरणमा  कालोपत्र सुरु गर्ने लक्ष्य रहेको उनले बताए । ‘सडक निर्माण निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिहेका छौँ’, अधिकारीले भने, ‘निर्माणका क्रममा आकस्मिक समस्या आएन र कार्यालयले समयमा भुक्तानी दियो भने असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । यदि वर्षात्ले असर पुर्यायो भने असोज महिनाभित्र जसरी पनि सम्पन्न गर्छौं ।’ यो सडकखण्डको दैनिक सात सयदेखि नौ सय मिटरसम्म एकतर्फी कालोपत्र भइरहेको उनले जानकारी दिए । हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेनी १० किलोमिटरमध्ये यस आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र हुने कार्यालयले जनाएको छ । उक्त सडकखण्डको आवश्यक स्टक्चरको काम सम्पन्न गरेर कालोपत्रको काम चरणमा रहेको निर्माण कम्पनी रायामाझी, आजात जेभीका प्रमुख प्रेमकुमार मल्लले जानकारी दिए । ‘यो सडकको आवश्यक स्टक्टरको काम सकिएको छ’, उनले भने, ‘अबको एक हप्तापछि कालोपत्र सुरु भई नौ महिनाभित्र पूर्णरुपमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।’ हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेनी सडक विसं २०७८ असोजदेखि निर्माण थालिएको निर्माण कम्पनीले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडक पनि यही वर्ष कालोपत्र सुरु हुने जनाइएको छ । कालोपत्रको काम असारसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनी रमन दिव्यज्योति रोजन जेभीले जनाएको छ । हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको निर्माण कम्पनीका इञ्चार्ज अरुणप्रसाद थपलियाले जानकारी दिए । ‘यो सडक निर्माणको काम तीव्र गतिमा अघि बढाएका छौँ’, उनले भने, ‘वर्षात्का कारण केही समस्या भइरहेको छ । मौसमले साथ दियो भने असारसम्म कालोपत्रको काम सक्छौँ ।’ यो सडक पनि ‘आस्फाल्ड’ प्रविधिबाट साढे पाँच मिटर चौडाइ र चार सेन्टिमिटर बाक्लो कालोपत्र हुने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । रासस

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

सामान्य अंकले नेप्से बढ्यो, बैंकिङ र व्यापार समूहको उपसूचक घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता सेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ पुगेको छ । नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ । बैंकिङ र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव २९ र व्यापार समूह २० दशमलव २९ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय सात दशमलव ५७ र जीवन बीमा समूहको उपसूचक ८८ दशमलव ३२ अङ्कले बढेको छ । विकास बैंक समूह १० दशमलव ६६, वित्त समूह १३ दशमलव १५, होटल तथा पर्यटन समूह ५५ दशमलव ५३, जलविद्युत् समूह १४ दशमलव २२ र लगानी समूह शून्य दशमलव १७ अङ्कले बढेको छ । त्यसैगरी, लघुवित्त समूह १७ दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ७४ दशमलव ०८ र अन्य समूह शून्य दशमलव ५८ अङ्कले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीनलाईफ हाइड्रो लिमिटेडको सेयर मूल्य सात दशमलव ३७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टकाे सात करोड ३४ लाख ९८ हजार पाँच सय बराबरको एक लाख ७७ हजार पाँच सय ७९ कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सोल्टी होटल लिमिटेडको दुई लाख १६ हजार २२ कित्ता सेयर किनबेच भएको छ । रासस

आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परे : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले गरेको पत्रकार सम्मेलनमा उनले अहिले करिब आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परेको बताएका हुन् । उनका अनुसार चार वटा बैंक भने क्यापिटल एडुकेसीको ठूलो मारमा छन् । उनले अहिले औसतमा बेसरेट १०.२७ प्रतिशत रहेको र ब्याजदर अझै घट्ने क्रममा रहेको बताए । असारको अन्तमा ४ प्रतिशत स्प्रेडदर कायम गर्दा कर्जाको ब्याजर पनि घट्ने उनी बताउँछन् । ‘यो वर्ष ३ खर्ब निक्षेप बढेको छ, कर्जाको तुलनामा निक्षेप बढेको छ, तरलता पनि सहज हुँदै गइरहेको छ, अझैं  २ सय अर्ब बढ्न सक्छ, कर्जा पनि बढ्ने अनुमान छ,’ उनले भने । सरकारको खर्च बढ्न सके बैंकिङ उद्योग सहज हुने अध्यक्ष केसी बताउँछन् । यस वर्ष आर्थिक गतिविधि कम भएको कारण केही असर पर्न सक्ने उनको भनाइ छ ।

एक करोड रुपैयाँभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

सर्लाही । सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरको उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष एक करोड ११ लाख ६० हजार रुपैयाँमा आँप ठेक्का लगाएको छ । केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताए । करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट छन् । यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन् । बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन् । साथै थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि छन् भने अर्लीलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट छन् । यस वर्षका लागि लिची १२ लाख १८ हजार रुपैयाँमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताए । ‘केन्द्रमा यसवर्ष विगतका तुलनामा आँप धेरै फले पनि लिची भने कम फलेको तर लिचीमा पनि विगतको तुलनामा बढी रकममा ठेक्का लागेको छ’, उनले भने । यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करिब २४ लाख रुपैयाँ खर्च गरी आधुनिक मेसिनसमेत खरिद गरेर ल्याइएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताए । रासस

तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ : बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर अझै घट्ने बताएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर संघले ब्याजदर अहिले पनि घट्दो क्रममा रहेको र अझै घट्ने बताएको छ । संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले ब्याजदर अझै घट्ने बताए । ‘अर्थतन्त्रका विभिन्न सूचकहरु सुधारको दिशामा छन्, निक्षेप पनि बढ्दै गइरहेको छ, तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने । उनले सरकारको खर्च बढ्दा निक्षेप बढ्ने आशा रहेको बताए । तरलता सहज अवस्थामा रहेको र कर्जाको तुलनामा निक्षेपको दर बढेको उनी बताउँछन् ।

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, असारभित्रै एकीकृत कारोबार

काठमाडौं । लक्ष्मी बैंक र सन्राइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकको तर्फबाट सञ्चालक इ.बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने छन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुने छ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ । सम्झौतापत्र दुवै बैंकको साधारण सभाले पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति पश्चात् कीकृत कारोबार शुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

व्यवसायीले आफुखुसी वस्तुको मूल्य तोक्न थालेकाले उपभोक्ता मूल्य राख्न आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न आग्रह गरेको छ । पछिल्लो समय व्यवसायीले आफुखुसी वस्तुको मूल्य तोक्न थालेकाले विभागको यस्तो प्रतिक्रिया आएको हो । उक्त विभागले एक सूचना जारी गर्दै व्यावसायिक फर्म तथा पसलमा राखिएका वस्तुमा उपभोक्ता मूल्य उल्लेख नगरी राख्ने गरेको गुनासो आएको उल्लेख गरेको छ । ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ मा उल्लिखित उपभोक्ता अधिकारअन्तर्गत प्रत्येक उपभोक्तालाई आफूले उपभोग गर्न चाहेको वस्तु वा सेवाको मूल्यवारे सूचित हुने अधिकार छ । मूल्यअभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ‘ख’ अनुसार मूल्यअभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुराँ, बार, कारोवारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य ट्याग प्राइस, मेनु प्राइस र सेल्स प्राइसमा कर सहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नुपर्ने व्यवस्था भए पनि  बजार अनुगमनका क्रममा वस्तुमा मूल्य नै नराख्ने गरेको पाइएको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए । ’बजार अनुगमनका क्रममा अधिकांश व्यावसासिक फर्ममा राखिएका वस्तुमा मूल्य ट्याग राखिएको नै पाइदैन, बस्तुको मूल्य नराख्ने र आफूखुसी मूल्य तोक्ने क्रम बढ्दो रुपमा रहेको पाइएको छ’, उनले भने । कुनै पनि व्यवसायीले उपलब्ध गराउने वस्तु वा सेवाको अन्तिम उपभोक्ता मूल्यको बारेमा उपभोक्तालाई अग्रिम जानकारी गराउने कानुनी व्यवस्था भए पनि सो बमोजिम नगरिएकाले कानुन बमोजिम कारबाही गरिने बिभागले  जनाएको छ । यस्ता गतिविधि नगर्न÷नगराउन, बिक्री कक्षमा राखिएको प्रत्येक वस्तुको मूल्य उपभोक्ताले अग्रिम रूपमा सूचना पाउने गरी टाँस्न एवं उपभोक्ता संरक्षण ऐन तथा मूल्य अभिवृद्धि कर नियमावलीको पूर्ण परिपालना गर्न भनिएको छ  ।सरकारले आगामी आर्थिक वर्षको बजेटमासमेत बस्तुको मूल्य तथा गुणस्तरमा उपभोक्ता नठगिने वातावरण बनाउने उल्लेख गरेको छ । ‘उपभोक्ताको हित संरक्षण गरिनेछ, सबै प्रकारका सिण्डिकेट र कार्टेलिङ अन्त्य गरी व्यापारिक कारोबारमा नैतिकता, स्वच्छता, प्रतिस्पर्धा र अनुशासन कायम गरिने,  बजार अनुगमनलाई थप प्रभावकारी बनाइ मूल्य र गुणस्तरमा उपभोक्ता नठगिने वातावरण सुनिश्चित गरिने उक्त नीति तथा कार्यक्रमको ६३ बुदाँमा भनिएको छ । रासस