कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै माईतीघरमा नर्सहरुको धर्ना
काठमाडौं । अस्पतालमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन् । मंगलबार काठमाडौंको माईतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमबारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् । आजपनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् । उनीहरुले न्युन तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरुको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् । धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरुको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताए । उनले न्युन तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरेपनि कामको मूल्याङ्कन हुन छोडेको बताए । उनले पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने बताए । ‘नर्स पेशालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्छ, अस्पतालमा एक जना नर्सले बिमारी हर्ने चाप कम गर्नुपर्छ, एक जना नर्सले हेर्ने बिरामीको कार्यभार कम भएमात्रै बिरामीले चाहेको जस्तो सेवा दिन सकिन्छ’, नर्स दीपा गिरीले बताइन् । त्यस्तै, धर्नामा बस्ने नर्सहरुले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराईयोस्, गल्ती देख्नेहरुले हाम्रो राम्रो काम पनि देखोस्, मिडियामा भाइरल हुन नर्स पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन, व्यक्ति गलत होला तर नर्सिङ पेशा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् ।
माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष डा. महतो बने वन मन्त्री, को हुन् उनी ?
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई मन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा जसपाकै प्रमिला कुमारीलाई राष्ट्रपति पौडेलले शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका छन् । जसपाका नेता महतो मन्त्री नियुक्त भएसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रहेका महतो मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सांसद भएपछि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था अनुसार उनले बैंकको अध्यक्षबाट राजीनामा दिएका थिए । डा. महतो एक उद्यमी र सामाजिक कार्यकर्ता हुन् । उनले बेलारुस राज्य अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।
गणतन्त्रले नेपालमा छोरीलाई पनि राष्ट्रप्रमुख बन्न संभव तुल्याएको छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवन रुपान्तरणमा लाग्नु राजनीतिक र सञ्चार क्षेत्रको साझा दायित्व भएको बताएकी छन् । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाको २७ औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै उनले राजनीतिक र सञ्चार क्षेत्र दुबैको सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसलाई संस्थागत गर्दै यसको माध्यमबाट जनताको जीवन रुपान्तरण गर्ने साझा दायित्व बाँकी रहेको बताएकी हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट व्यवस्था भएको उल्लेख गर्दै उनले सत्ता सञ्चालकबाट हुने कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रवृत्ति बढेको भन्दै यो गलत भएको बताइन् । ‘कतिपय वृत्तबाट गणतन्त्रले के दियो भन्ने प्रश्न पनि उठाउन थालिएको छ’– मन्त्री शर्माले भनिन्, ‘म थोरै पुराना कुरा सम्झन चाहन्छु– हामीले महिला आन्दोलन संगठित गर्दा विभिन्न देशका महिला नेताको नाम लिएर हामीले पनि नेपालमा त्यस्तै महिला नेता स्थापित गर्नुपर्छ भनेर प्रशिक्षित गथ्र्यौं तर त्यो बेलामा नेपालमा महिला पनि राष्ट्रप्रमुख बन्न सक्छन् भनेर कल्पना गर्ने स्थिति थिएन । आज जन्मने हरेक छोरीहरुले राष्ट्रप्रमुख, सभामुख, न्यायालय प्रमुख बन्ने सपना देख्नसक्छन्, यो गणतन्त्रको देन हो ।’ महिला मात्र होइन, दलित, जनजाति, मधेशी, मुश्लिमलगायत हिजो हेपिएका र दबाइएका समुदायको अहिले राजनीतिक र प्रशासनिक नेतृत्वमा जुनखाले संख्या बढिरहेको छ, त्यो पनि गणतन्त्रकै देन भएको उनले स्पष्ट गरिन् । हिजो नागरिकले आफूलाई लागेको बोल्न लेख्न नपाउने अवस्थाबाट आज पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा आइपुगेको चर्चा गर्दै मन्त्री शर्माले यो संघीय लोकतान्त्रिक गणतन्त्रकै कारण संभव भएको बताइन् । हिजोको अत्याचारपूर्ण राजनीतिक र सामाजिक व्यवस्थाबारे आजका पुस्तालाई जस्ताको तस्तै सुनाएर पछाडि फर्कने होइन, अगाडिको बाटो देखाउने काम मिडियाले गर्नुपर्ने पनि उनले बताइन् । ‘हामीलाई थाहा छ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता राजनीतिक स्वतन्त्रताको प्रमुख अंग हो । अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै मिडियाहरुले जनताका आवाज नीति निर्मातासम्म पुर्याउने र नीति निर्माताहरुले गरेका काम जनतासम्म लैजाने महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्’– उनले भनिन्– ‘जसले सजिलै आफ्नो आवाज सुनाउन सक्दैनन्, उनीहरुको आवाज बोल्ने काम मिडियाको हो । त्यसमा पनि अझ रेडियोहरुको पृथक भूमिका छ । रेडियोहरुले जनताको आवाज सबैभन्दा धेरै बोल्छन् भन्ने आम विश्वास पनि छ ।’ प्रविधिको विकाससँगै सूचना प्रवाह गर्ने माध्यमको संख्यामा बृद्धि हुँदै गए पनि रेडियोप्रतिको विश्वसनीयता कम नभएको उल्लेख गर्दै उनले बरु प्रविधिको प्रयोग बढाउँदै रेडियो प्रसारणको दायरा पनि बृद्धि गर्ने अवसर प्राप्त बताइन् । ‘हिजो रेडियो प्रसारणको पहुँच सानो क्षेत्रमा सीमिति थियो तर आज देशको कुनै एउटा कुनाबाट प्रसारण हुने रेडियोहरु इन्टरनेट र मोबाइल एपको माध्यमबाट संसारभरि सुन्न सकिने स्थिति आएको छ’– मन्त्री शर्माले भनिन्– ‘प्रविधिको विकासलाई अवसरको रुपमा प्रयोग गर्दै रेडियो डिजिटलाइजेसन गर्नुपर्ने ध्यान दिनुपर्ने बेला आएको छ । यसमा आवश्यक पर्ने नीति नियम पुनरावलोकन गरेर सहजीकरण गर्न सरकार तयार नै छ ।’ सो क्रममा मन्त्री शर्माले ९६ वर्षीय अग्रज पत्रकार भैरव रिसालसहित विभिन्न व्यक्तिलाई सम्मान पनि गरेकी थिइन् ।
विदेश जाने भन्ने पनि सपना हुन्छ ? रञ्जित आचार्यको विचार
पढ्न जानको लागि, काम गर्नको लागि देश छाड्ने त वर्षेनी लाखौं छन्, जो हामीले देखिरहेका छौं । त्यतिमात्रै होइन, मासिक रुपमा ८० हजारदेखि एक लाख कमाउने स्थापित पारिवारका, जागिर खाइरहेको रोजगारी पाइरहेका र राम्रोसँग आफ्नो जीवनस्तर चलाइरहेका मानिसहरु पनि नेपालबाट पलायन भइरहेका छन् । हामीले धेरै लेखाजोखा गरिरहेका छैनौं, तर डिभी परेर जानेहरु बाहेक पनि यहाँ भएको सम्पत्ति बेचेर केही सम्पत्ति हातमा राखेर सधैँलाई विदेश नै जाने भनेर परिवार लिएर पनि विदेशीइरहेका छन् । यस्तो संख्या जति भएपनि काम गर्नसक्ने, अनुभवी, दक्ष जनशक्ति हो, जसले आफूले काम गरेर देशको विकासको लागि केही परिणाम दिनसक्ने जनशक्ति हो । यदी हामीले समस्याको कुरा गछौं भने देशभरी नै समस्या छ । हामीले सरकारले केही गरेन भन्छौं, नेताहरुले केही गरेन भन्छौं, गाली गर्छौं । यहाँ के लाग्छ भने नेताहरुलाई किन गाली गर्ने ? यी नेताहरुले केही गरेको भए पो गाली गर्ने । यिनले त केही त गरेका छैनन् किन गाली गर्ने ? यहीँ नै सकारात्मक कुरा के छ भने यिनले केही नगरेकै कारणले कहिँ न कहीँ न कहीँ हाम्रा लागि अवसर छन् । सरकारले राम्रा स्कुल चलाइदिएको भए निजी स्कुल नै चल्दैनथे । मैले नै स्कुल नै सञ्चालन गर्दैनथेँ होला, इन्स्टिच्युट सञ्चालन गर्दैनथेँ होला । सरकारले बेलैमा हाइड्रो क्षेत्रमा लगानी गरेर बिजुली उत्पादन गरेर लोडसेडिङको अवस्था सिर्जना नभएको भए आजको दिनमा जसरी निजी क्षेत्रले हाइड्रो पावरमा लगानी गरिरहेको छ, यो अवस्था नै सिर्जना हुने थिएन । त्यस्तै, स्वास्थ्य लगायत जतिपनि क्षेत्रहरु सरकारले नै गर्नुपर्ने हो त्यसमा पनि सरकारले केही नगरेको कारणले आज निजी क्षेत्रले ती क्षेत्रमा पनि अवसर देख्ने अवस्था सिर्जना भएको हो । मुख्य विषय उपभोक्ताले के खोजेको पहिचान गर्नसक्नुपर्यो । उदाहरणको रुपमा गोल्डस्टार कम्पनीले उपभोक्ताले खोजेको गुणस्तर र आकर्षणलाई ख्याल गरेर अहिले २५ सय तीन हजार मूल्यसम्मका जुत्ताहरु बजारमा ल्याएको छ । जसलाई नेपालीहरुले पनि लगाइरहेका छन् । त्यसैले सम्भावनालाई पहिल्याउन सक्यो भने अवसर छ । अहिले आर्थिक मन्दीको कारणले गर्दा बजारमा सुस्तता आएको छ होला, उपभोक्ता र व्यवासायीहरु अलिक निराश भएका होलान् । यो लामो समयसम्म टिक्नु हुँदैन । यसको लागि नीति निर्माताहरु र सरोकारवालाहरुले अहिले नै केही न केही गर्नुपर्छ । सबैजनाले नारी छामिसक्यौं, बिमारी हो भनेर थाहा पाइसक्यौं । तर, औषधि खुवाउने कसैले जमर्को गरेको छैन । हामीलाई थाहा छ, नेपालमा धेरै नै ठूलो मात्रामा भ्रष्टाचार भयो । भ्रष्टाचार भएको कालोधन भयो भन्ने हामीलाई लाग्छ भने अब त्यो कालोधन बाहिर निकाल्ने उपाय हामीले गर्नुपर्छ । यदी हामीले त्यसो नगर्ने हो भने केही व्यक्तिहरुले त्यो धनलाई लुकाएर नै बस्नेछन् । हामीले भर्खरै सुनेका छौं, भारतमा डिमोनिटाइजेसन भएको विषय । यस्तो कुरा किन गरिरहेको छ भारतले ? हामीकहाँ पनि त्यो अवस्था आएको भने हामीले पनि गर्नसक्नुपर्छ । हाम्रो धेरै ऋण छैन, हाम्रो अर्थतन्त्र त्यति धेरै ठूलो छैन, त्यसैले यदी ऋण लिनसक्ने अवस्था हाम्रो हो भने ऋण लिएर पनि अवसर सिर्जना गर्नुपर्यो । त्यो ऋणलाई उत्पादित क्षेत्रमा लगानी गर्न सकिन्छ । राज्यले केही काम गर्नुपर्छ । उदाहरणको लागि कुनै बेला थियो । हामीले काठमाडौंमा कामको लागि अन्र्तवार्ता लिने बेलामा भक्तपुरको मान्छे आयो भने टाढाको भयो भनेर लिँदैनथ्यौं । कुनै बेला भक्तपुरको जुजु धौ दही खानको लागि भक्तपुर नै जानुपर्ने अवस्था थियो । जब सरकारले १४ किलोमिटर लामो ६ लेनको सडक बनाएपछि आज भक्तपुर काठमाडौं एउटै बनेको छ । त्यो १४ किलोमिटरको बाटो बनेपछि त्यसको क्षेत्र वरिपरि कति धेरै विकास भयो । कसले गर्यो त्यो विकास ? निजी क्षेत्रले गर्यो । भनेपछि यत्ति कुरा बुझिदिए त हुन्छ, राज्यले धेरै गर्नपर्ने रहेनछ, राज्यले पूर्वाधार विकास गरिदियो भने बाँकी सबै काम जनता आँफैले गर्छ । मात्रै राज्यले कस्तो पूर्वाधारमा खर्च गर्ने र त्यो पूर्वाधारको उत्पादकत्व कस्तो हुन्छ बुझेर गर्नुपर्छ । त्यसैले आजको युवापुस्ताको लागि मुलुकमा अवसर धेरै क्षेत्रमा छ, मात्रै अवसरलाई बुझ्नसक्नुपर्यो । सकारात्मक रुपमा अवसरको खोजी गर्न सक्यौं भने प्राप्त गर्न सकिन्छ । तर, समस्या कहाँनेर छ भने आजको युवापिँढीले सकारात्मक ढंगले हेरिरहेको छैन । युवाहरुलाई लाग्छ की यो देश छाडेर विदेश गयो भने मेरो लक्ष्य प्राप्ति हुन्छ । लक्ष्य के हो भने विदेश जाने । कसैको पनि विदेश जाने लक्ष्य हुन्छ र ? लक्ष्य भनेको त म विदेश गरेर काम गरेर कमाउने होइन, आफ्नै देशमा काम गरेर कमाउँछु र कुनैदिन ती देशहरुमा घुम्न चाहिँ जान्छु, परिवारलाई घुमाउन लिएर जान्छु भन्ने हुनसक्छ बरु । ज–जसले त्यस्तो लक्ष्य लिएका छन्, ज–जसले यही देशमा केही गर्न सकिन्छ भनेर आफ्नो तरिकाले केही गर्न खोजिरहेका छन्, उनीहरु सफल भएका छन् । पछिल्लो समयमा नेपालमा नै बसेर धेरै युवाहरुले विदेशी कम्पनीहरुको काम गरेर मासिक लाखौं रुपैयाँ पनि कमाइरहेका छन् । अहिले विदशको काम गर्नको लागि विदेशमा नै जानपर्ने अवस्था पनि छैन । जस्तो, हलिवुड, नेटफिल्क्स, आइटी लगायत धेरै त्यस्ता क्षेत्रहरु छन् । प्रविधिले गर्दा संसार साँघुरो भएको छ । तर, धेरैले त्यस्तो अवसरहरु देख्न सकिरहेका छैनन् । युवाहरुले त्यस्तो अवसर देख्न सक्न पर्यो । नेपाली उत्पादनहरुलाई नै लिएर काम गर्न सकिन्छ । यहाँनेर एउटा छलफल गर्नुपर्ने हुन्छ । सम्भावना देख्ने विषयलाई लिएर कुरा गर्दा आजको युवापुस्ता आफ्नो स्कुल कलेजको अध्ययनकै प्रकृयामा अलिकति चुकिरहेको छ । उदाहरणको रुपमा म विद्यालय तहमा पढ्दै गर्दा कक्षा ८ मा फेल भएँ । सो समयमा तीन महिना मेरो अध्ययनमा ग्याप हुने अवस्था सिर्जना भयो । सो बेलामा मैले हिमालयन कार्गोमा इन्टर्नसिप गर्न काममा जोडिएँ । त्यतिबेला मेरो पारिश्रमिक भनेको एउटा कचौरामा अण्डा हालेको चाउचाउ मात्रै थियो । मैले दिनभरी त्यहाँ छ घण्टा काम गरेँ । एसएलसी सकिएपछि मैले अर्को कम्पनीमा गएर काम गर्न थालेँ । मलाई तलबको मतलब थिएन, तर पाँच छ महिना काम गरेपछि मैले १२ सय रुपैयाँ तलब पनि पाउन थालेँ । अहिलेको युवापुस्तामा काम सिक्नको लागि प्यासनको अभाव देखिन्छ । काम जहाँ पनि रहेर सिक्न सकिन्छ । नजिकैको पसल, उद्योग, फार्म लगायत धेरै ठाउँहरुमा काम सिक्न सकिन्छ । उद्यमीहरुलाई थप श्रमिक चाहिएको छैन भपने उनीहरुले पारिश्रमिक पनि दिएर काम सिक्न नदिन सक्छन् तर, त्यस्तो ठाउँमा पारिश्रमिक नलिईकन काम सिक्न चाह्यो भने अवस्य पाइन्छ । कसैले दिन्न भन्दैन । त्यसो गर्दा समाज के हो ? समाजको आवश्यकता के छ ? समाजले के खोजिरहेको छ ? के–के विषयमा उत्पादन र उद्यमको आवश्यकता छ भन्ने विषयमा थाहा पाउन सकिन्छ । आजको युवा पुस्ताले यो बुझ्न जरुरी छ की एउटा उपभोक्ता भएर हेर्न सकियो भने यस्ता धेरै स्टार्टअप सम्भावनाहरुको विषयमा थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा मानिसहरुले प्रयोग नै नगरिरहेका वस्तुहरुलाई लिएर पनि स्टार्टअप शुरु गर्न सकिन्छ । ‘उदाहरणको लागि कुनै एउटा स्थानमा मानिसहरुले जुत्ता नै लगाउँदैनथे, त्यो ठाउँमा जुत्ताको मार्केटिङ गर्ने क्रममा एउटा जुत्ता उद्योगबाट कर्मचारी पुगेछ । उसले कसैले पनि जुत्ता नलगाएको देखेपछि यहाँ हाम्रो उद्योगको काम छैन भनेर फर्किएछ । त्यसको लगत्तै जुत्ता उद्योगको मालिक त्यो ठाउँमा पुगेछ । उसले उद्योगबाट तुरुन्त एक ट्रक जुत्ता मगाएर सबैलाई निःशुल्क लगाउन दिएछ ।’ खाली खुट्टा हिँड्ने मानिसहरुले जब जुत्ता लगाए उनीहरले आनन्दको महशुस गरे । उद्योगले एकपटक निःशुल्क दिएको जुत्ता त सँधै टिक्दैन, त्यसपछि उनीहरुले खरिद नै गरेर लगाउन शुरु गर्छन् । यस्तै प्रकारका सम्भावना पनि हामीकहाँ हुनसक्छन् । त्यसैले अवसरको लागि गहिरिएर अध्ययन पनि गर्नसक्नुपर्छ । नेपालको चाउचाउको बजारमा अधिकतम् मूल्य ३० रुपैयाँ सम्मको पाइने अवस्थामा अहिले करेन्ट चाउचाउले ५० रुपैयाँमा चाउचाउ बेचिरहेको छ । अहिले करेन्ट चाउचाउको माग सबैभन्दा धेरै छ । करेन्टले के बुझ्यो भने नेपालीहरुले टाठोपिरो मन पराउँछन् । त्यसैले उसले सोही उपभोक्ता सर्वेक्षणको आधारमा काम गर्दा उ सफल भइरहेको छ । उपभोक्ताले हरेक समय वर्तमानमा उपभोग गरिरहेको भन्दा नयाँ खोजिरहेको हुन्छ । खाइरहेको कुरामा नयाँ स्वाद, लगाइरहेको कुरामा नयाँपन, यसलाई निड ग्याप भनेर बुझिन्छ । यो जब पत्ता लगाउन सकिन्छ । त्यहाँ व्यवसायको सम्भावना हुन्छ । यो विषय खोजेर अनुसन्धान गरेर थाहा पाउन सकिने विषय हो । स्टार्टअप व्यवसाय वा सफल आइडियाको कुनै प्रेस्किृप्सन हुँदैन, अथवा पूर्वनिर्धारित नियम हुँदैन । यो कुनै व्यक्तिको व्यक्तित्व विकाससँग जोडिएको विषय पनि हो । यो कुनै सफल व्यक्तिको जीवनी अध्ययन गरेर त्यसलाई पछ्याएर प्राप्त गर्न सकिँदैन । आजको दिनमा धेरै युवाहरुले भन्ने गर्छन आफ्नो प्यासन के हो भन्ने विषय नै थाहा भएन । उदाहरणको रुपमा एउटै कक्षामा गणित पढ्दा कुनै विद्यार्थीले शिक्षकलाई राम्रो मान्दैनत कुनै विद्यार्थीले राम्रो मान्छ । जसलाई गणित पढ्न आउँछ उसले शिक्षकलाई पनि राम्रो मान्छ, जसलाई गणित पढ्न आउँदैन उसले शिक्षक पनि राम्रो मान्दैन । यहाँनेर जसलाई गणित पढ्न इच्छा छ, उसलाई शिक्षक पनि मन पर्छ । अनि जसलाई गणित पढ्न मन पर्दैन उसलाई शिक्षक पनि मन पर्दैन । यहाँनेर कसैको पनि दोष छैन । तर, यहाँनेर जसलाई गणित पढ्न नै मन पर्दैन उसले साइन्स पढेर बैज्ञानिक बन्छु भन्ने उद्देश्य राख्यो भने उसको कति गल्ति हुन्छ ? त्यसैले विद्यार्थीले आफूले पढ्दै गर्दा कुन कुरा सहज हुने गर्दथ्यो त्यही कुरामा अगाडि बढ्न खोज्यो भने उ सफल हुने सम्भावना रहन्छ । जसले प्यासनमा काम गर्छ, उसले काम नै गर्नुपर्दैन । किनकी उसको त्यो प्यासन हो, इन्ट्रेस्ट हो । तर, यो पत्ता लगाउनु चाहिँ पर्छ । त्यसको लागि कहिले पसलमा काम गर्न सकिन्छ, कहिले उद्योगमा काम गर्न सकिन्छ, रेष्टुरेन्ट र कहिले फार्ममा काम गर्न सकिन्छ । विभिन्न ठाउँहरु छन् जहाँ गएर निःशुल्क रुपमा सिक्न सकिन्छ । तर, आफ्नो क्षमताको पहिचान गर्नको लागि अन्वेषण चाहिँ गर्नुपर्ने हुन्छ । घरमै बसेर थाहा हुन्छ, कुनैदिन आउला भनेर चाहिँ हुँदैन । सरल र सहज पनि हुँदैन । उदाहरणको लागि पेन्सिलको उपयोगिता तब हुन्छ, जब जब त्यसलाई मेसिन प्रयोग गरेर तिखो बनाइन्छ । युवाहरुलाई लक्षित गरेर स्टार्टअप व्यवसायको वातावरण सिर्जना गर्नको लागि राज्यको पनि महत्वपूर्ण दायित्व हुन्छ । स्टार्टअपको नीति बनाउने, नीति अन्तर्गत प्रोत्साहन गर्ने, विभिन्न कार्यक्रम सञ्चालन गरेर युवाहरुलाई तालिम दिने, वातावरण बनाइदिने, लगायतका कामहरु राज्यले गर्नुपर्छ । अहिले हामी सरोकारवाला सबै लागेर उद्योग मन्त्रालयलाई नीति बनाउन लगाएका छौं । नीति बनेको अवस्था छ । त्यो नीतिमा सहुलियतपूर्ण कर्जा, कर निःशुल्क, दर्ताको एक झ्याल नीति लगायतका विषयहरु समावेश गरिएको छ । सो नीति ८० प्रतिशत कार्यान्वयनमा आउँदा पनि आगामी १० वर्ष भित्रमा स्टार्टअपको क्षेत्रमा ठूलो परिवर्तन हुने अनुमान गर्न सकिन्छ । ठूलो संख्यामा युवाहरुलाई प्रोत्साहन गर्छ । अर्को विषय स्थानीय तहहरुले अझ महत्वपूर्ण ढंगले स्टार्टअपको क्षेत्रमा काम गर्न सक्छन् । उनीहरुले इन्क्युभेसन सेन्टर निर्माण गरेर पालिका भित्रका युवाहरुलाई आइडिया लिएर आउ तिम्रो आइडियालाई हामी व्यवासायिक रुप दिन्छौं भन्न सक्छन् । साथै स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र सर्वेक्षण गरेर यो–यो क्षेत्रमा व्यवसाय तथा उद्यमको सम्भावना छ भनेर पनि भन्न सक्छ । पालिकाहरुले किसान तथा उत्पादकहरुको उत्पादनलाई बजारीकरण गर्ने जिम्मेवारी लिएर उनीहरुको व्यवासायलाई दीगो बनाउन सहयोग गर्न पनि सक्छ । पालिकाहरुले उत्पादित वस्तुहरुलाई सर्टिफाइड गरेर पहिचानयुक्त बनाउने कुरामा पनि सहयोग गर्न सक्छन् । तर, जबसम्म हाम्रो मुलुकको प्रधानमन्त्री र पालिकाका प्रमुखहरुलाई उनीहरुको भूमिका सिइओको भन्ने अनुभूति हुँदैन त्यतिबेलासम्म यस्ता विषयहरुले मुर्तता पाउन सक्दैनन् । हामी पनि आजका विकसित मुलुकका मानिसहरु जत्तिकै सम्पन्न हुन सक्छौं । यो विषय कुनै गाह्रो विषय पनि होइन । किनकी हाम्रो मुलुक आँफैमा धेरै ठूलो छैन । हामी जनसंख्यामा पनि धेरै छैनौ । आजको दिनमा हाम्रो प्रतिव्यक्ति आम्दानी ११ सय डलर मात्रै छ । २ हजार र ३ हजार डलरको लक्ष्य राख्ने वित्तिकै हाम्रो जीवनस्तर स्वभाविक रुपमा माथि पुग्छ । अहिले नै जीवस्तरको तुलना गर्ने हो भने अमेरिकामा जागिर खाइरहेको एक जना युवाले आजको दिनमा साँझ पार्टी वा रमाइलो गर्न सक्छ ? सक्दैन । उसले त्यसको लागि धेरै समय कुर्नुपर्छ, विकेन्ड कुर्नुपर्छ । के हामीकहाँ त्यस्तो छ ? अवश्य छैन । हामी जो सुकैले आफ्नो काम सकिएपछि आजै पार्टी गर्नसक्छौं । कुनचाहिँ जीवनशैलीलाई राम्रो भन्ने ? हामीकहाँ राजनीतिमा अस्थिरता छ, भ्रष्टाचार छ, बेथिति छ । हामी निराश छौं किनकी हाम्रा अभिभावक सहि भएका छैनन् । तर, आज छिमेकी मुलुकमा ४४ डिग्री तापक्रम छ, हामीकहाँ कति सितलता छ ? यदी हेर्ने तरिकालाई जब हामी सकारात्मक बनाउँछौं हामी त्यहाँ सफलता प्राप्त हुनसक्छौं । नयाँ पुस्तालाई संघर्ष बिनाको रिजल्ट चाहिएको छ । त्यो सम्भव छैन । तर संघर्ष त गर्नैपर्छ । संघर्ष गरेर प्राप्त गरेको सफलताले आत्मसम्मान मिल्छ । आज त थुप्रै युवाहरु विदेश जाने भनेर लाम लागिरहेका छन् । त्यसैले यहाँ केही गर्नको लागि सहज पनि त छ । हामीले त्यसरी पनि हेर्न पनि त सकिन्छ । अहिले वेब सर्चको माध्यमबाट पनि धेरै सम्भावना र आइडियाहरुको विषयमा पनि जानकारी प्राप्त गर्न सकिन्छ । कतिपय अवस्थामा आफ्ना प्यासनहरु अभिव्यक्त नगर्दापनि युवाहरु पछाडि पर्ने अवस्था सिर्जना भएको छ । त्यसका लागि आफ्ना आइडियाको विषयलाई लिएर संवाद गर्न जरुरी हुन्छ । त्यसो गर्दा आइडिया कस्तो हो भन्ने थाहा हुन्छ । त्यसरी खुला संवाद गर्न नचाहने हो भने पनि अहिले संवाद गर्नकै लागि प्रविधिको विकास भएको छ । हामीले आफ्ना कुराहरु च्याट जिपिटीसँग पनि हाम्रा कुराहरु राखेर संवाद गर्न सक्छौं । अन्त्यमा, अहिलेका युवाहरुले आफ्नो पढाइ बाबुआमाको लगानीबाट राम्रोसँग हुनुपर्ने मान्यता राख्छन् । त्यसपछि विदेश जानुपर्छ भन्ने सोँच राखेको पाइन्छ । उनीहरुको सोँच मुलुक छाड्न पाएपछि स्वतन्त्र हुन पाइन्छ भन्ने रहेको हुन्छ । युवाहरुले विदेश जाने लक्ष्य बनाएका हुन्छन्, जुन एकदमै गलत हो । जिन्दगीको लक्ष्य विदेश जाने हुनैसक्दैन । साँच्चीकै लक्ष्य लिनसक्नुपर्यो । हरेक व्यक्तिसँग असिमित क्षमता छ । आफ्नो क्षमतालाई चिन्न सक्दा मात्रै सफलता प्राप्त गर्न सकिन्छ । तर, संघर्ष अस्विकार गरेर टिकट काटेर विदेश जान चाहिँ सहज हुन्छ । (स्टार्टअप विज्ञको रुपमा परिचित आचार्यसँग गरिएको कुराकानीमा आधारित)
मन्त्रिपरिषद्ले पायो पूर्णता, जसपाका वीरेन्द्र कुमार बने वनमन्त्री
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेको थियो । योसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
विगतभन्दा राम्रो नीति तथा कार्यक्रम आएको छ : सांसद शर्मा
काठमाडौं । राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि विगतको भन्दा राम्रो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले देश र जनताका समस्या सम्बोधन गर्ने प्रयास नीति तथा कार्यक्रममा समेटिएको बताए । ‘नीति कार्यक्रममा कमजोरी छैनन् म भन्दिन, तर विगत छ वर्षयताको सबैभन्दा उत्कृष्ट छ’, उनले भने, ‘सबैको भविष्य यसको कार्यान्वयनसँग जोडिएको छ, नीति तथा कार्यक्रम राम्रै आउने तर कार्यान्वयन नहुने हाम्रो नियती रहेको छ, तर यसपटक कार्यान्वयन हुने ढङ्गबाट नीति तथा कार्यक्रम आएको छ ।’ नीति तथा कार्यक्रमले मुख्यतः मुलुकका तीन वटा क्षेत्रमा देखिएको समस्या समाधानको प्रयत्न गरेको सांसद शर्माको भनाइ छ । ‘नीति तथा कार्यक्रमले अहिलेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अराजकताको समस्या समाधान गर्ने र राष्ट्रलाई नयाँ ढङ्गले अगाडि बढाउने सङ्कल्पका साथ आएको छ’, उनले भने ।
मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।
बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम
गलकोट । बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीपहिरोले क्षति पुर्याएको घर बनाउनका लागि प्राप्त हुने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् । घर निर्माण पश्चात् ८२ बाढीपीडितले रु। चार लाखका दरले पाउनुपर्ने रकममध्ये जम्मा ५० हजारका दरले मात्रै पाएकामा दोस्रो किस्ता रकम सात महिनादेखि पाउन नसकेका हुन् । नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए । ‘ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको रहेछ ३७ जनाले ज्यान गमाएका र १५ जना बेपत्ता भएका रहेछन्, घर बनाउनका लागि प्रक्रिया पुगेका ८२ पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट सात महिनाअघि मात्रै पहिलो किस्ताबापत रु ५० हजारका दरले लिएका रहेछन्’ उनले भने ‘दोस्रो किस्ताका लागि नगरपालिकाले माग गरेको छैन, यसका लागि मापदण्डअनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ, उक्त नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितहरुको प्रक्रिया नपु¥याउँदा सात महिनादेखि दोस्रो किस्ताको रकम अड्किएको छ ।’ नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको प्रजिअ श्रेष्ठको भनाइ थियो । विसं २०७७ मा बागलुङ जिल्लालाई मनसुनजन्य विपद् प्रभावित जिल्लाको रुपमा सूचीकृत गरिएकाले ढोरपाटनसहित जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित छ पालिकाका बाढी तथा पहिरोपीडितले घर बनाउन नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्णरुपमा पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयले विपद्का बेला कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरेपनि सबैभन्दा बढी पीडित रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताए । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी आएको उनको भनाइ थियो। ‘सबैभन्दा समस्याग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता बापतको दुई लाख रुपैयाँ दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाणसहित माग आउन प¥यो, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौंँ’–संयोजक गौतमले भने । ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताबापत पाउनुपर्ने दुई लाख रुपैयाँका दरले एक करोड ६४ लाख रुपैयाँ रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालयले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको थियो । बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि प्राविधकि खटाउने तयारी गरिएको छ तर मुल्याङ्कन फाराम नपाउँदा विवरण सङ्कलनमा ढिलाइ भएको उक्त नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि तत्कालै बाढीग्रस्त क्षेत्रमा पाठाइने र मूल्याङ्कन पश्चात जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताए । बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भएपनि घर निर्माण गरेका थिए। दोस्रो किस्ता वापत दुईलाख रुपैयाँ भुक्तानी गरेपछि पुनः घर सम्पन्नताको सिफारिसपछि तेस्रो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीका कारण ढोरपाटनमा घरसँगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविद्युत् आयोजनामा क्षति पु¥याएको थियो । उक्त नगरपालिकाका ८२ बाढीपीडितसहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा नौ, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी २१३ बाढीपीडितले घर निर्माणका लागि रु चार लाख पाउने जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगराउदा हालसम्म दुई सय १३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् । रासस