ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएँ : केशव दुलाल
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् । दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकाे मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।
ताप्लेजुङ-दार्चुला बाइक टूर गर्दै १० युवा पत्रकार र कलाकार
काठमाडौं । एनटीपी मल्टीमिडिया ग्रुपले १५ दिन ताप्लेजुङ-दार्चुला बाइक टूर गर्ने भएको छ ।नेपालको पर्यटन प्रवद्र्धनका लागि युवा पत्रकार तथा कलाकारको टोली जेठ १० गतेदेखि २५ गतेसम्म बाइक टूर गर्ने भएको हुन् । नेपाल टूरिजम प्रोमोसन टूर (ताप्लेजुङ–दार्चुला)का संयोजक विष्णु विवेकले एनटीपी मल्टीमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरुको थप प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयासस्वरुप ताप्लेजुङ–दार्चुला बाइक टूर गर्न लागेको बताए । ‘पाँच वटा बाइकमा १० जनाको टिमले गर्ने टूरको लागि नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग सहकार्य गरिएको छ,’ उनले भने । जेठ १० गतेदेखि सुरु हुने टूर अन्तर्गत काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना रहेको उनले बताए । झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुग्ने योजना ग्रुपको रहेको छ । यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालीकोट, दैलेख भएर सुर्खेत सदरमुकाम बीरेन्द्रनगर झर्ने योजना ग्रुपको रहेको छ । टूरले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा दिनुका साथै सातै प्रदेशको पर्यटन प्रवद्र्धनमा सरोकारवालाहरुको भूमिकालाई थप सशक्त बनाउने ग्रुपले विश्वास लिएको जनाएको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई रन्जना सिनेप्लेक्समा टिकट किन्दा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोडस्थित रन्जना सिनेप्लेक्सबीच सम्झौता भएको छ । बैंक र सिनेप्लेक्सबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएका हो । उक्त सम्झौतापश्चात बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहकको मोबाइलबाट नै पैसा चोरिएको हो, हाम्रो सिस्टममा खराबी छैन : माछापुच्छ्रे बैंक
काठमाडौं । माछापुच्छ्रे बैंकले आइतबार रौतहटस्थित चन्द्रपुर शाखाको ग्राहकको पैसा उनकै मोबाइलबाटै हराएको बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंकले यस्तो बताएको हो । ग्राहकको ९ लाख रुपैयाँ स्वयंम उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंकहरु र खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ । ‘बैंकको सिस्टममा केही समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पुर्ण एसएसमएस एक्टिभेसन कोड तथा ओटिपी ग्राहककै मोबाइलमा गएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा अनाधिकृत व्यक्तिको पहुँचमा नपुगी उक्त कारोबार नहुने देखिन्छ,’ बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंकले यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध पनि गरिसकेको जनाएको छ । बैंकले ग्राहकहरुको खातामा रहेको पैसा सुरक्षित रहेको बताउँदै डिजिटल बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।
नेष्डोलाई तत्काल राष्ट्र बैंकको आदेश लागू नगर्न सर्वोच्चको आदेश
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई तत्कालको लागि राष्ट्र बैंकले दिएको लाभांश कार्यान्वयन नगराउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अर्को आदेश नभएसम्म वैशाख ४ गते राष्ट्र बैंकले दिएको लाभांश कार्यान्वयन नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीका नाममा कारण देखाउ आदेशसमेत दिएको छ । गत वैशाख ५ गते लघुवित्तले आफूले प्रस्ताव गरेको लाभांश कटौती गरेपछि राष्ट्र बैंकविरुद्ध रिट हालेको थियो । नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७८/७९का लागि चुक्तापुँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३.६८४२ गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी राष्ट्र बैंकमा पेस गरेको थियो । तर, राष्ट्र बैंकले फागुन १० गतेको परिपत्रअनुसार लाभांश बाँड्न भन्दै नेष्डो समृद्धको लाभांशमा संशोधन गरेर कुल १७.९३ प्रतिशतमात्र बाँड्ने निर्देशन दिएको थियो ।
आइजीआई प्रुडेन्सियलका नवनियुक्त सीईओ श्रेष्ठले लिए शपथ
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले शपथ लिएका छन् । नवनियुक्त सीईओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ लिएका हुन् । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज पछि बनेको सञ्चालक समितिको बैठकले नयाँ कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने सिफारिस गरेको थियो । जुन सिफारिसलाई नेपाल बीमा प्राधिकरण लेजेठ ५ गते स्वीकृति दियो । त्यसपछि जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकमा उनले नयाँ नयाँ कम्पनीको सीईओको रुपमा शपथ लिए । नवनियुक्त सीईओ श्रेष्ठ करिब तीन दशकदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा साविकको आईएमई जनरल इन्स्योरेन्सले प्रिमियम लगायत विभिन्न शीर्षकमा फड्को मारेको थियो । श्रेष्ठ साविकको आईएमई जनरल इन्स्योरेन्सका सीईओ समेत हुन् । तत्कालिन एनबी इन्स्योरेन्स समस्याग्रस्त हुँदा आइएमई समूहले उक्त इन्स्योरेन्सको सेयर किनेको थियो । त्यतिबेला श्रेष्ठ कम्पनीको कायम मुकायम सीईओको रुपमा इन्स्योरेन्समा आवद्ध भएका थिए ।
सवारी साधन एसेम्बलिङ्ग उद्योगको छुट कटौती गरे ठूलो लगानी डुब्छ : नाडा
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनले सरकारले आउँदो बजेटमार्फत सवारी साधन एसेम्बलिङ्ग उद्योगको महशुलमा छुट कटौती गर्न लागेको विषयमा आपत्ती जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नाडाले यस विषयप्रति आपत्ती जनाएको हो । सरकारले यसरी सेवा कटौती गर्ने नीति ल्याएमा एसेम्बल उद्योगमा लगानी गरिरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्नुका साथै नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित रहेको नाडाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधरणले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्नेका साथै रोजगारी सृजना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने नाडाको भनाइ छ । ‘सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउँदै जानु पर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने छ,’ नाडाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेपालमा ४ वटा दुई पाँग्रे सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको छ । यस्तै, दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको छन् भने केही खुल्ने तयारीमा रहेका छन् । सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ ।
लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापन वापत मिडियाले पाउने रकम नरोकिने बताएकी छिन् । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराइने प्रतिवद्धता जनाएकी हुन् । ‘अहिले रकम कटौती गरेको भन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थमन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौं, अर्थबाट रकम आउने छ, यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने छ, लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनशाय छैन,’ उनले भनिन् । मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हक अधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भनिन्,‘तपाइँहरुलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।’ उनले आन्दोलनमा रहेको पत्रकार महासंघको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गरिन् । ‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनशाय नभएकाले तपाइँहरुले आन्दोलन नै गर्न पर्दैन्थ्यो, अब आन्दोलन रोक्न आग्रह गर्दछु । लोककल्याणकारी विज्ञापन वापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ उनले भनिन् । ज्ञापन बुझाउने क्रममा महासंघ केन्द्रका महासचिव रोशन पुरी, वरिष्ठ पत्रकार दामोदर दुवाडी, महासंघका प्रदेश अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोका लगायतको उपस्थिति रहेको थियो ।