विकासन्युज

व्यवसायी गोल्छालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । सोमबार (आज) सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको हो । गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो । ‘कानुनी व्यवस्था अनुसार यी निवेदकसँग प्रत्यर्थी अनुसन्धान अधिकारीले धरौटी वा समानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राख्ने गरी भएको मिति २०८३ वैशाख ११ र २०८३ वैशाख २१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ सर्वोच्चले भनेको छ ।  सर्वोच्चले धरौटीमा बुझाउन नसके मात्रै हिरासतमा राख्न आदेश दिएकाे छ ।  ‘धितोपत्र सम्बन्धी कसूरका हकमा यि निवेदकसँग धरौटी वा जनमानत माग गरी उल्लिखित दफा १०४ को कानुनी व्यवस्थाअनुसार आवश्यक अनुसन्धान गर्न र धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।  सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा गैरकानुनी थुनामा राखिएकाले रिहा गर्न परमादेश माग गरिएको थियो । सर्वोच्चले उनको रिट भने खारेज गरेको छ ।  गोल्छा गत ११ वैशाखमा पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।

साइबर ब्यूरोबाट बोलेको भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । साइबर ब्यूरोको नाम दुरुपयोग गरी ठगी गर्ने चार पक्राउ परेका छन् ।   ३० वर्षीय दिपक लिम्बु, २१ वर्षीय सौरव लिम्बु, २८ वर्षीय सजल राई र २४ वर्षीय सृजन थापालाई सुनसरी इलाका प्रहरी कार्यालय, धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरेको साइबर ब्यूरोले जनाएको छ । उनीहरूले पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाउने गरेका थिए ।  विद्युतीय माध्यमबाट ठगी कार्य भएको भन्दै पीडितहरूले निवेदन दिएको आधारमा उनीहरू पक्राउ परेका हुन्।  ब्यूरोका अनुसार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

राष्ट्रिय सहकारी बैंकको डीसीईओ बने प्रकाश अधिकारी

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अधिकारीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले सोमबारदेखि नै पदभार सम्हालेका छन् । अधिकारी नेपाल बैंकबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनीसँग दुई दशकभन्दा बढी बैंकिङ अनुभव रहेको छ । एमबीएस तथा बीएसम्मको शैक्षिक योग्यता हासिल गरेका अधिकारी गत फागुनमा नेपाल बैंकबाट अनिवार्य अवकाशमा गएका थिए ।

विजयको कथा : पहिले फिल्म, अब ‘राजनीतिक नायक’ बन्ने यात्रातर्फ

काठमाडौं । भारतको तमिलनाडुको राजनीतिमा विजय नेतृत्वको टीभीकेले आफ्नो पहिलो चुनावमै नयाँ इतिहास रचेको देखिएको छ । उनको पार्टीले डीएमके र एआईएडीएमके जस्ता द्रविड दलहरूलाई पछाडि पार्दै गएको देखिन्छ । यो अभूतपूर्व घटना मानिएको छ किनकि सन् १९६७ देखि नै राज्यको राजनीतिमा यी दलहरूको वर्चस्व कायम रहँदै आएको थियो । एम. जी. रामचन्द्रन पछि तमिलनाडुमा आफ्नो पहिलो चुनावमै विजयले सत्तामा रहेका सबै प्रमुख दलहरूलाई उछिन्दै जनताबीच आफ्नो प्रभाव प्रमाणित गरेका छन् । विजय जसले ३३ वर्षअघि तमिल सिनेमामा ‘संकोची नायक’का रूपमा प्रवेश गरेका थिए, अहिले राजनीतिमा आएपछि पहिलो चुनावमै नयाँ कीर्तिमान बनाउन लागेका हुन् । उनको व्यक्तिगत जीवन र फिल्मी करिअर लगभग उस्तै रह्यो, तर राजनीतिमा विजयले नयाँ शैली अपनाइरहेका छन् । विजयले कम उमेरमै अभिनय सुरु गरेका थिए । ‘नालैया थीरपू’ जस्ता प्रारम्भिक असफलताहरूका बाबजुद उनी विस्तारै अघि बढे । उनलाई वास्तविक पहिचान ‘पूवे उनक्कागा’ बाट प्राप्त भयो, जसले उनको छवि परिवर्तन ग‍र्यो र उनलाई पारिवारिक दर्शकसँग जोड्यो । सन् २०१० पछि उनका फिल्महरूमा नेतृत्वका गुणहरू अझ स्पष्ट रूपमा देखिन थाले । अनुसन्धानकर्ता मोहम्मद इलियासका अनुसार ‘मार्सल’ र ‘सरकार’ जस्ता फिल्महरूले ‘उनीलाई एक नेताका रूपमा स्थापित गर्ने छवि’ निर्माण गरे, जसको तुलना प्रायः एम. जी. रामचन्द्रनसँग गरिन्छ । यससँगै उनको राजनीतिक रुचि पनि बिस्तारै बढ्दै गयो । उनले भने झैं ‘मञ्चभन्दा अगाडि बढेर सहयोग गर्न, सत्ता हातमा हुनु आवश्यक हुन्छ ।’ 

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त पाँच सञ्चालक समिति सदस्य पदका लागि सूचना आव्हान गरेको छ ।      मन्त्रालयले यही वैशाख १२ गते नेपाल वायुसेवा निगममा रिक्त चार जना सञ्चालक समिति सदस्य नियुक्तका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको थियो । सो सूचनाअनुसार दरखास्त सङ्कलन गरिरहेकै बेला यही वैशाख १९ गते जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम बाँकी एक जना सञ्चालक समिति सदस्य पनि स्वतः पदमुक्त भएकाले रिक्त सदस्य सङ्ख्या पाँच कायम गरिएको छ ।      मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार उक्त रिक्त पदसमेत थप गरी सोही विज्ञापनका आधार कायम रहने गरी नियुक्त गर्नुपर्ने सञ्चालक समिति सदस्यको सङ्ख्या पाँच कायम गरिएको हो ।     

ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?

काठमाडौं । 'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।        मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार उक्त अध्यादेशबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य तथा सदस्यहरु रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका छन् ।        यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरु डा. मधुसुधन अधिकारी र डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।  

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न ४७ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार अन्तिम दिनसम्म उक्त संख्यामा आवेदन दर्ता भएको हो । अध्यक्ष छनोटका लागि गठित समितिले वैशाख १५ गते सूचना प्रकाशित गर्दै वैशाख २१ गते कार्यालय समयभित्र आवेदन दिन आह्वान गरेको थियो । सोही अनुसार सोमबार साँझ ५ बजेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। आवेदकमध्ये धितोपत्र बोर्डका बहालवाला तथा पूर्व कर्मचारी, पूर्व मर्चेन्ट बैंकर र वित्तीय क्षेत्रमा अनुभव हासिल गरेका विभिन्न व्यक्तिहरू रहेका छन् । प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि समितिले अन्तिम पाँच जनाको नाम सिफारिस गर्नेछ, जसको आधारमा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नेछ । यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य छन्।

अप्रिलमा भित्रिए एक लाख ७ हजारभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन एक लाख ७ हजार ९३४ पर्यटक भित्रिएका हुन् । बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो । त्यसपछि दक्षिण एसियाबाट एसियाली राष्ट्रबाट २६ हजार ७ २६ पर्यटक भित्रिएका छन् । युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट एक हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् । मुलुकगत रूपमा भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ भने अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको संख्या पनि क्रमशः बढ्दो क्रममा रहेको छ । यसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ । देशगत तथ्यांक हेर्दा सैबभन्दा बढी १५ हजार १९६ र दोस्रोमा चीनबाट ११ हजार ७२२ पर्यटक भित्रिएका छन् भने तेस्रोमा बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन् ।  सन् २०२५ को अप्रिलमा एक लाख १६ हजार ४९० पर्यटक भित्रिएका थिए भने कोरोना महामारी अघि सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए । पछिल्लो समय पश्‍चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावितलगायतका कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको देखिन्छ । नेपालमा पर्यटक संख्यामा वृद्धि गर्नका लागि डिजिटल मार्केटिङ, तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप योजना, कार्यक्रम र रणनीतिहरु आवश्यक छ ।