विकासन्युज

यस वर्ष सबैभन्दा बढी रासायनिक मल आयात, किसानलाई सहज आपूर्ति गर्न सरकार प्रतिबद्ध

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट पारेकी छन् ।  चितवनको खैरहनीमा शनिबार (आज) आयोजित कार्यक्रममा उहाँले यस वर्ष रोपाइँ गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण मल पु¥याउन नसकिएको बताइन् । ‘कुन देशबाट मल आयात गर्दा सहज हुन्छ भनेर हामीले रातदिन खटेर काम गरेका छौं । आगामी साउन १ गतेदेखि नयाँ ‘लट’को आयात सुरु हुँदैछ । मल बन्दरगाहमा पुगिसकेको छ,’ मन्त्री चौधरीले भनिन् । उनले आगामी दिनमा ‘क्यालेन्डर’ बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय गरी वितरण प्रक्रिया प्रभावकारी बनाइने जानकारी दिइन् । माग र आपूर्तिबीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न ‘टोल-फ्री नम्बर’ सञ्चालनमा ल्याइएको बताइन् ।  मन्त्री चौधरीका अनुसार सरकारले चालु आर्थिक वर्षमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल देशभर पठाइसकेको जानकारी दिँदै खेती प्रणाली विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढेको बताइन् । मागअनुसार आपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट गरिन् ।   

बझाङ जीप दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

काठमाडौं । बझाङमा शनिबार (आज) अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका हुन् ।  जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको राससलाई टेलीफोनमा बताए । स्थानीय र सुरक्षाकर्मी उद्धारमा सक्रिय छन् ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स परिचालन भएका बताए । जीपमा १५ जना सवार रहेका  जानकारी प्राप्त भएको उनको भनाइ छ । 

लागुऔषधसहित २८ जना पक्राउ

काठमाडौं ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ । उनीहरूलाई काठमाडौं, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरबाट शुक्रबार र आज पक्राउ गरिएको हो ।  पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।  

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार  सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका  उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राईलाई पक्राउ गरिएको हो ।  प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट ७ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका-२, धनबहादुरलाई तारकेश्वर नगरपालिका-८, उमेशलाई टोखा नगरपालिका-५, सचितालाई काठमाडौं महानगरपालिका-३ र निरोजलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

बैंकहरूको नाफा ६४.५६ अर्ब, कुमारीले १ हजार १६८ प्रतिशत बढाउँदा नबिलको सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकले कुल ६४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशत अर्थात् १० अर्ब ५९ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा वाणिज्य बैंकहरूले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ वटा बैंकको नाफा बढेको छ भने ६ वटा बैंकको नाफा घटेको छ । ११ महिनाको अवधिमा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले कमाएको छ । बैंकको नाफा ३२.५१ प्रतिशत बढेर ८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । नाफा वृद्धिदरका आधारमा कुमारी बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकको खुद नाफा १ हजार १६८ प्रतिशत बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा ३७ करोड १० लाख रुपैयाँ मात्र थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८ प्रतिशत बढेर ३ अर्ब ७२ करोड रुपैयाँ, सानिमा बैंकको ४४.८४ प्रतिशत बढेर ३ अर्ब १२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ४४.२५ प्रतिशत बढेर २ अर्ब १७ करोड रुपैयाँ, प्राइम बैंकको २९.०६ प्रतिशत बढेर ३ अर्ब ७४ करोड रुपैयाँ, हिमालयन बैंकको २८.५९ प्रतिशत बढेर १ अर्ब १६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २६.३० प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ तथा सिटिजन्स बैंक इन्टरनेसनलको २३.७१ प्रतिशत बढेर १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका हुन् । राष्ट्र बैंकका अनुसार एनएमबी बैंकको नाफा १९.७८ प्रतिशत बढेर ३ अर्ब ६३ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको १८.६६ प्रतिशत बढेर १ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १२.१७ प्रतिशत बढेर २ अर्ब ८९ करोड रुपैयाँ, नेपाल बैंकको ८.३७ प्रतिशत बढेर ३ अर्ब ३२ करोड रुपैयाँ र कृषि विकास बैंकको ७.६७ प्रतिशत बढेर १ अर्ब ९५ करोड रुपैयाँ नाफा गरेका हुन् । समीक्षा अवधिमा एनआईसी एशिया बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको खुद नाफा घटेको छ । तीमध्ये एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ३८.८१ प्रतिशत घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ । यस्तै, प्रभुको नाफा ३४.९१ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँ, एनआईएमबीको २१ प्रतिशत घटेर ४ अर्ब ४९ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डको ३.७४ प्रतिशत घटेर २ अर्ब ६२ करोड रुपैयाँ, एभरेष्टको २.७६ प्रतिशत घटेर ४ अर्ब १२ करोड रुपैयाँ तथा ग्लोबल आइएमईको ०.९६ प्रतिशत घटेर ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

पूर्व माओवादी लडाकु चौधरी ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं । पूर्व माओवादी लडाकु एवम् स्वघोषित राजनीतिक विश्लेषक लाहानुराम चौधरी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चौधरीलाई पक्राउ गरेको हो । १० जनाभन्दा बढीलाई युरोप भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । ४६ वर्षीय चौधरीले लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई कार्यालयका टोली पक्राउ गरेको हो । पूर्व माओवादी कमाण्डर चौधरीले विभिन्न राजनीतिक तथा सामाजिक मुद्दाहरूमा आफ्नो टिप्पणी गर्दै आएका छन् । उनी कैलाली लम्किचुहा नगरपालिका ६ का स्थायी बासिन्दा हुन भने हाल काठमाडौंको चन्द्रागिरी ५ स्थित थानकोटमा बसोबास गर्दै आएका थिए । पछिल्लो समय एक अन्तवार्तामा उनले प्रधानमन्त्री बालेन शाहले पहिले ५० वर्षपछि देश धकेल्ने प्रचण्डको पाता कस्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै चर्चामा आएका थिए ।

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु

काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक (न्यू मर्स्याङ्दी सबस्टेसन) देखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने क्रममा मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माण हुन नसक्दा लामो समयदेखि लाइन सञ्चालनमा आउन सकेको थिएन । गत असार ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले स्थलगत निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजनाका जिम्मेवार अधिकारीबीच समन्वय गरी निर्माणमा देखिएको अवरोध हटाउन पहल गरेका थिए । त्यसलगत्तै टावर निर्माण कार्य तीव्र रूपमा अघि बढ्दै सम्पन्न भएपछि प्रसारण लाइन सञ्चालनमा आएको हो । प्रसारण लाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्यामा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ । साथै, विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै विद्युत् आपूर्तिको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ । ऊर्जा मन्त्री श्रेष्ठले बर्खायाममा मर्स्याङ्दी करिडोरका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताए । यसअघि प्रसारण क्षमताको अभावका कारण कम क्षमतामा सञ्चालन गर्नुपर्ने जलविद्युत् आयोजनाहरूलाई पनि अब राहत पुग्ने उनको भनाइ छ । उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने उल्लेख गर्दै यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षा सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो । आयोजना सञ्चालनमा आएपछि मर्स्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह भई देशको विद्युत् प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।

आत्मदाहको प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारकै क्रममा निधन भएको छ । शनिबार बिहान आफ्नै घरको भान्साकोठामा आफूमाथि आगो लगाएका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो । उनको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार राउतको उपचारका क्रममा केहीबेरअघि निधन भएको हो । प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए ।