विकासन्युज

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं । राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८÷७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्नुहुने कार्यसूची  छ । आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभासमक्ष पेस गर्ने छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भैरवसुन्दर श्रेष्ठले मनसुन सुरु भएसँगै विभिन्न ठाउँमा बाढी, पहिराका घटना बढेको विषय उठाउनुहुँदै विपद् व्यवस्थापनका काममा सरकार गम्भीर हुनुपर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा दुई देशको सीमा विवाद, इपिजी प्रतिवेदनलगायतका महत्वपूर्ण विषय नउठाइएमा उनले प्रश्न उठाए । त्यस्तै माथिल्लो कर्णाली जलविद्युत् आयोजना लामो समयदेखि भारतीय कम्पनीले ओगटिरहेका विषयमा भारत भ्रमणका क्रममा कुनै विषय नउठेको तर फुकोट कर्णाली जलविद्युत् आयोजनाबिना प्रतिस्पर्धा भारतलाई दिनेगरी सहमति भएको उनको भनाइ छ । सांसद युवराज शर्माले नेपालमा भारतीय चलचित्र रोक लगाइएको, बजेटमा रोजगारी सिर्जना गर्ने विषय सम्बोधन हुन नसकेको, विभिन्न नदीमा लगाइएको बाँधका कारण तराईका कितिपय स्थान डुबानमा पर्ने गरेकालगायत विषय उठाए । सांसद मदनकुमारी शाह गरिमाले सुदूरपश्चिम क्षेत्रलाई सरकारले सधैँ उपेक्षा गर्ने गरेको बताए । सुदूरपश्चिम क्षेत्रका नागरिकले आफ्ना साना माग पूरा गर्नका लागि पनि शक्ति प्रदर्शन गर्नुपर्ने र काठमाडौं धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । अहिले कैलालीको गेटामा आन्दोलन चलिरहेकामा सरकारले त्यसलाई बेवास्ता गरेकोबारे उजले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए । ’शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने भनिएकामा आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उल्लेख गरिएकोप्रति कैलालीको गेटामा आन्दोलन चलिरहेको छ । तर सरकारले त्यसलाई सुनेको छैन । यो विषयमा सरकारको ध्यानाकर्षण होस्’, उनले भने ।

हाईमास्ट लाइट जडान गर्न महानगरले छुट्यायो ३० करोड बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाईमास्ट लाइट जडान गर्नको लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाले १३ औं नगरसभामार्फत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न स्थानमा हाईमास्ट लाइट जडान गर्नको लागि उक्त रकम छुट्याएको हो । ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक सो लाइट जडान गर्ने महानगरपालिकाले बताएको छ । यस्तै, महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी ‘धुलो रहित काठमाडौं’ योजनालाई कार्यान्वयन गरिनेछ । यस योजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रकम छुट्याएको छ । सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापना सहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महानगर २५ करोड रकम विनियोजन गरेको छ । यसै गरी महानगर क्षेत्रभित्रका प्रमुख सडकहरूमा फाइवर तथा अन्य केवल विस्तारको लागि आफ्नो उपयोगी डक्ट निर्माण गरी साझा पूर्वाधारको अवधारणा अनुरूप कार्य अगाडी बढाउन  १० करोड बजेट विनियोजन काठमाडौं महानगरले छुट्याएको छ । महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रूपमा सुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले सञ्चालित ‘सुन्दर महानगर योजना’ अन्तर्गत २५ करोड रकम विनियोजन गरेको पनि उपप्रमुख सुनिता डंगोलले बताइन् । महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजना सहित ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।

कोठाभाडा बढी लिएर कम लिएको भन्ने घरधनीलाई महानगरले कारवाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भाडा कम लिएको भनेर छुट लिएका घरधनीलाई १० प्रतिशत जरिवाना गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए १० प्रतिशत जरिवाना गर्ने भएको जनाएको हो । व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरी बहाल कर लिने महानगरले जनाएको छ । वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीका अन्य कुनै स्रोत नभएका करदाताले भने ७५ प्रतिशतसम्म छुट पाउने महानगरले जनाएको छ ।

नेपाल रेमिट र एनएमबी बैंकबीच सम्झौता, नेपालमा रेमिट्यान्स् रकम पाउन सहज हुने

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल र एनएमबी बैकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिने भएको छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरे । नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

काठमाडौं महानगरले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने, मेट्रो मार्टलाई एक करोड बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने भएको छ । आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई ब्राण्डिङ गर्ने बताएकी हुन् । ‘स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु,’ उनले भनिन् । उक्त पेय प्रदार्थको ब्राण्डिङ सहकारी मार्फत गर्ने भएको छ । त्यस्तै, संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निर्माण गरी प्रभावकारी कार्यक्रम संचालन गर्न सहकारी विभाग अन्तर्गत आवश्यक रकमको प्रबन्ध मिलाएको छ । महानगरले उत्पादन र उपभोगलाई जोड्न अनलाईन ई कमर्श पोर्टल मार्फत मेट्रो मार्ट सञ्चालनमा ल्याउन १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विद्यालयका प्राचार्यको भत्ता बढ्यो, अब प्रत्येक सामुदायिक विद्यालयमा एउटा नर्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता वृद्धि गरेको छ । महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै भत्ता बढाएको जनाएको छ । महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न “गरीखाने शिक्षा, महानगरको इच्छा” योजना अन्तर्गत बिभिन्न कार्यक्रम संचालन गर्न रु ५० करोड विनियोजन गरेको छ । यस्तै, सामुदायिक विद्यालय परिसरभित्रको सरसफाई र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि रु ५ करोड रकम विनियोजन गरेको छ भने सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्न आवश्यक प्रबन्ध मिलाएको छ । यस्तै, महानगरक्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुलाई मात्र खाजा खर्च उपलब्ध गराउंदै आइरहेकोमा आर्थिक वर्ष २०८०÷८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकम सहितको प्रबन्ध मिलाएको छ । महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्न रु. ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको छ भने आर्थिक वर्ष २०८०÷८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट रु. १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ ।

काठमाडौं महानगरले सस्तोमा औषधि बिक्री गर्न फार्मेसी खोल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई सस्तोमा औषधी उपलबध गराउन फार्मेसी सञ्चालन गर्ने भएको छ । महानगरले आइतबार आगामी आथिक वर्षको बजेट सार्वजनिक गर्दै महानगरवासीलाई सहुलियत मुल्यमा औषधी उपलब्ध गराउनका लागि “सुलभ फार्मेशी”को स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रुपान्तरण गरी महानगरवासीहरुका लागि “सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा” योजना मार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन रु ३५ करोड रकम विनियोजन गरेको छ । महानगरले ध्यान, योग, व्यायाम एवं बैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्दतिका माध्यमबाट आरोग्य जीवन सम्बन्धी कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको बजेटमा उल्लेख छ । बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पताल संगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल संचालनमा ल्याउन रु. १० करोड बजेट विनियोजन गरेको भने नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन रु.७ करोड रकम विनियोजन गरेको छ । यस्तै, काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) संचालन गर्न रु. १ करोड ४४ लाख बजेट विनियोजन गरेको छ भने महानगर भित्रका व्यक्तिगत तथा संस्थागत भान्छाहरुलाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न “स्वच्छ भान्छा” कार्यक्रमका लागि रु. ३ करोड ५० लाख रकम विनियोजन गरेको छ । महानगरको समग्र स्वास्थ्य कार्यक्रम तर्फ कुल रकम ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले टेलिभिजन स्थापना गर्न ५ करोड बजेट विनियोजन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत यस्तो घोषणा गरेकी हुन् । टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।