वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख रुपैयाँ भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत दुई कोषलाई भुक्तानी दिएको हो । यसअघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा दुई अर्ब ९४ करोड २८ लाख रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो । व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले उल्लेख गरेको छ । नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च ब्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायहरुमा रहेका पुराना बक्यौता रकम तिरिएको तथा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको निगमले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजनासमेत तीव्र गतिमा अघि बढाइएको निगमले जनाएको छ । रासस
प्रवर्द्धकको हातखुट्टा बाँधेर विद्युत क्षेत्रको विकास हुँदैन : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जलविद्युत प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युतको विकास नहुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नवनिर्वाचित कार्यसमितिलाई पार्टी कार्यालमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष लिङ्देनले जलविद्युत प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत विकास नहुने बताएका हुन् । विद्युत विकास बिना अरु क्षेत्रको विकास पनि सम्भव नभएको लिङ्देनले बताए । कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले वन ऐन २०७६ र वातावरण संरक्षण ऐन २०७६ मा गर्नका लागि संसदमा पेश भएको नेपाल ऐन संसोधन संसदले जस्ताको तस्तै पारित गरेमा नेपालमा जलविद्युत र विधुत् प्रसारणलाईन मात्र नभएर कुनै पनि विकास निर्माणका कामहुनै नसक्ने धारणा राखेका थिए । समग्र ऊर्जा क्षेत्रका समस्याको बारेमा आफू जानकार रहेको र इप्पानले उठाएका विषयमा पूर्णसहमत भएको अध्यक्ष लिङ्देनले बताए । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले एउटा डाडाबाट अर्को डाडामा तार तान्दा २०० मिटर मुनिको सबै जग्गा किन्नुपर्ने नियम कसैगरी पनि व्यवहारिक नभएको बताएका थिए । ‘२०० मिटर तल कहाँनेर जग्गा पर्छ भन्ने नै अनुमान गर्न सकिन्न । कुनै पनि रुख बिरुवालाई तारले छुँदैन’, डाँगीले भने, ‘अनि त्यो जग्गाको पनि सरकारले प्रति हेक्टर न्युनतम २८ लाखदेखि ८० लाख रुपैयाँसम्म तोक्नु भनेको अब प्रसारण लाईन आयोजना र जलविद्युत आयोजना नबनाउ, देश विकास नगर भनेको हो ।’ ६ ओटा आयोजना बनाइसकेको प्रवर्द्धकलाई जिल्ला वन अधिकृत ९डिएफओ०ले पक्राउ पूर्जी जारी गरेका उदाहरण दिँदै खत्रीले भने, ‘त्यतिले मात्र नभएर विद्युत विक्री वापत आउने भुक्तानी रोक्न विद्युत प्राधिकरणलाई पनि पत्राचार गरेका छन् ।’ इप्पानका उपमहासचिव प्रकाश दुलालले वन ऐन संसोधन गरेर जग्गा दिनुपर्ने र रुख रोप्नुपर्ने नियमको ठाउँमा पैसा मात्रै तिर्ने व्यवस्था राखिएको भन्दै यो ऐनको उद्देश्य वन जोगाउने नभइ पैसा थुपारेर अपचलन गर्ने जस्तो देखिएको बताएका थिए ।
२५ लाख लगानीको ‘दि स्टाइल जोन’ सलुन सञ्चालनमा, सेवामा २५ प्रतिशत छुट
काठमाडौं । काठमाडौंको चाबहिलमा महिला र पुरुष दुबैलाई सेवा दिने अत्याधुनिक युनिसेक्स सलुन ‘दि स्टाइल जोन’ सञ्चालमा आएको छ । साउन १ गतेदेखि उक्त सलुन सञ्चालनमा आएको हो । सलुनको उद्घाटन बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक र उनका नाती प्रनिल पाठकले गरेका हुन् । उद्घाटनको क्रममा सभामुख पाठकले उद्यम व्यवसायले महिलाहरूको आयस्तरमा सुधार ल्याउनुका साथै अगाडि बढ्न पनि थप हौसला प्रदान गर्ने बताए । ‘व्यवसाय गर्दा पनि अझ आफूलाई अनुभव भएको र मनले खाएको व्यवसाय उचित हुन्छ,’ उनले भने । सञ्चालनमा आएको ‘दि स्टाइल जोन’ सलुनमा महिला र पुरुष दुबैलाई हुने युनिसेक्स सेवा उपलब्ध भएको सलुनकी प्रबन्ध निर्देशक निलम मिश्रले जानकारी दिइन् । अत्याधुनिक सलुनमा सबै उमेर समूहका ग्राहकको लागि हेयर कटिङ, हेयर स्टाइलिङ, कलरिङ, मेक अप, मेहेन्दी, ब्राइडल प्याकेज, स्किन केयर, आई ल्यासेस बनाउने तथा मिलाउने, मेनिकयूर, पेडिकयूर, नेल आर्ट आदि सेवा उपलव्ध भएको प्रबन्ध निर्देशक मिश्रले उद्घाटनको क्रममा जानकारी दिइन । ‘२५ लाख लगानीमा सुरु गरिएको उक्त सलुन (ब्युटी पार्लर) मा साउन महिनाभरी ग्राहकले जुनसुकै सेवामा २५ प्रतिशत छुट पाउनु हुनेछ,’ उनले भनिन् ‘सलुनमा विश्व बजारमा चलेका उत्कृष्ट सेवाहरू उपलब्ध छ ।’ विवाह र बच्चा भएपछि बैंकको जागीर छाडेर घरमा बसेकी मिश्रले बच्चाको साथै आफ्नो करियर ग्रोथ गर्न सलुन स्थापना गरेकी हुन् । ‘घर बसेपछि मलाई आफै उद्यमी बन्ने अर्थात केहि गरौं भन्ने चाहना जागृत भयो,’ उनले भनिन् ‘त्यसैलाई साहाकार पार्न सलुन सञ्चालनमा ल्याएकी हुँ । यो व्यवसाय सुरु गर्न मलाई मेरो परिवारको पूर्ण साथ र सहयोग सहयोग छ ।’ उनले सलुनमा ५ जनालाई रोजगारी दिएकी छिन् । एक हजार स्वायर फिटमा फैलिएको उनको सलुनमा प्रशस्त सवारीसाधन पार्किङको सुविधा समेत रहेको छ । ‘चावहिलबाट भत्केको पुल जाने मेन बाटोमा क्लिन्टन स्कूल पर्छ र त्यहि स्कूलको अपोजिट साइटमा मेरो पार्लर छ, उनले भनिन् । ‘यहि स्पेसमा पहिला पनि चलेको सलुन थियो,’ उनले भनिन् ‘त्यहि भएर ग्राहकलाई यहाँ आइपुग्न गाह्रो पर्दैन ।’
मारुती सिमेन्टका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरेको भन्दै सिमेन्ट उत्पादक संघको आपत्ति
काठमाडौं । बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ । कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामाथि थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पूर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो । सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ । पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्रविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीय रूपमा उद्योगीलाई निसाना बनाइएको संघको भनाइ छ । उद्योगीलाई अनावश्यक दुःख दिने उद्देश्यले पक्राउ पुर्जी जारी भएको विरोध भएपछि प्रशासन दबाबमा परेको थियो । कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बाैंको लगानी गर्ने करोडौं राजस्व र हजारौंलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्य गर्नु समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने संघको भनाइ छ । गुणस्तरसम्बन्धी विषयमा आकर्षित हुने कारबाही सम्वन्धित ऐन नियम अनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी (अपराधिक) मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु उद्योगीलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाइदा नहुने संघको दाबी छ ।
काठमाडौं महानगरले तोक्यो सवारी साधन पार्किङ शुल्क, २ र ४ पाङ्ग्रेलाई कति ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र पार्किङ हुने सवारी साधनको लागि शुल्क निर्धारण गरिएको जानकारी दिइन् । उनकाअनुसार, दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको छ । आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको डंगोलले बताइन् । काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी निर्धारण गरिएकोृ छ । त्यसैगरी, एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप हुने उनले बताइन्र । ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्छ भने एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।
बर्जर रंगोत्सवको विजेता ढुङ्गानाले पाए ७५ इन्चको टिभी
काठमाडौं । बर्जर रंगोत्सवका विजेता ढुङ्गानाले पाए ७५ इन्चको टिभी बर्जर पेन्ट्सले सञ्चालन गरेको बर्जर रंगोत्सवमा इटहरीका रुपेश ढुंगानाले बम्पर उपहार जितेका छन् । बर्जर पेन्ट्सले २०७९ भाद्र १ गतेदेखि मंसिर १० गतेसम्म र फिफा विश्वकप २०२२ को बर्जर रंगोत्सव उपभोक्ता अफर सञ्चालन गरेको थियो । ढुंगानाले बम्पर उपहारमा ७५ इन्चको सोनाी एलइडी टिभी जितेको कम्पनीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, बुटवलका भूपनारायण पौडेल र बिरगन्जका शिवकुमार नन्दवालले सामसङ ३४५ लिटरको रेफ्रिजेरेटर जितेका छन् । बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेको कम्पनीले बताएको छ । अन्य पुरसकारहरुमा विजेताहरुले सामसुङ बासिङ मेसिन, मोबाइल फोन, स्मार्ट वाच आदी जितेको कम्पनीले बताएको छ ।
इन्धन डिपोले आर्थिक क्रियाकलाप बढाउँछ : उद्योग मन्त्री रिजाल
पोखरा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पोखरामा निर्माण भएको इन्धन डिपोले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्ने बताएका छन् । सोमबार पोखर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पोखरामा पर्यटक बढ्दै गएकाले हवाई इन्धनको माग पनि बढिरहेको मन्त्री रिजालले बताए । नेपाल आयल निगमले करिब ७७ करोडरूपैयाँ लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माणको शिलान्यास गरेको हो । पोखरामा निर्माण भएको देशकै दोस्रो ठूलो इन्धन भण्डारण गृहको पनि मन्त्री रिजालले उद्घाटन गरेका छन् ।
प्रभु क्यापिटलद्वारा ‘लोयल्टी प्वाइन्ट्स’ र ‘रिफरल स्किम’ सञ्चालनमा
काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटलले सेवाग्राहीका लागि सेवा संगै लोयाल्टी पोइन्ट र रेफलर स्किम अफर लन्च गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटलले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ । लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले सोमबार सार्वजनिक गरेको हो । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै क्यापिटलका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिकं कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ । सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसंग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार लोयल्टी प्वाइन्ट्सको श्रेणी निम्न अनुसार हुनेछः क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।