विकासन्युज

एशियाली शारीरिक सुगठन प्रतियोगिताको कार्यकारी समितिमा ४ जना निर्वाचित

काठमाडौं । एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भदौ १५ देखि २० गतेसम्म हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको कार्यकारी समितिमा पहिलो पटक ४ जना नेपालीहरुलाई निर्वाचित गरिएको छ । आइतबार सम्पन्न एसियन बडि व्युलडिगं एन्ड फिजिक्यु स्पोर्टस् फडिरेसनको कार्यकारी समितिमा पहिलो पटक ४ जना नेपालीहरुलाई निर्वाचित गरिएको छ । जसअनुसार, कार्यकारी उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ, उपाध्यक्षमा विजयलाल कायस्थ, अध्यक्ष, प्राविधिक समितिमा दिनेश राजभण्डारी र कार्यकारी सदस्यमा राजेश उपाध्याय रहेको कम्पनीले जनाएको छ ।

नेपाल र भारतको खेल हेर्न रवी लामिछाने श्रीलङ्का गए, बालेन पनि जाँदै

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने श्रीलंका प्रस्थान गरेका छन् । एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतसँग खेल्दै छ । नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । एसिया कपमा यो नेपालको दोस्रो खेल हो । पहिलो खेल भने पाकिस्तानसँग भएको थियो । उक्त खेलमा नेपाल पराजित भएको थियो । त्यसैगरी, काठमाडौं महानगरपालिकाको मेयर बालेन साह पनि नेपाल र भारतको खेल हेर्न श्रीलङ्का जाने तयारीमा रहेको बुझिएको छ । उनी हिमालयन एयरलाइन्सको जहाजमार्फत आइतबार दिउँसो श्रीलंका जान लागेका हुन् ।  

जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुनिश्चित गरिन्छ : ऊर्जामन्त्री

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताएका छन् । आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५ प्रतिशत जनसङ्ख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने जानकारी दिएका छन् । मन्त्री बस्नेतले एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा बिस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सात वटा टावर मर्मत भइरहेको बताएका छन् । उनले केही टावर थप गरी सञ्चार सेवा सबै क्षेत्रमा सुनिश्चित गरिने प्रतिबद्धता जनाएका छन् । जिल्लाका कच्ची सडक स्तरोन्नति भइरहेको उनको भनाइ छ । साथै जिल्लाका अस्पतालमा डाक्टरको सङ्ख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको उनको भनाइ छ ।

श्रुति तिवारी गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टीन हिरो नेपाल’ उपाधिबाट सम्मानित

काठमाडौं। ग्लोकलद्वारा आयोजित ‘ग्लोकल टीन हिरो २०२३’को  उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा शनिबार अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२३ को घोषणा द सोल्टी काठमाडौमा गरिएको थियो । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आर्यन सिग्देल तनहुँ, अतिथ अधिकारी,  बाँके, माधव खनाल लमजुङ, निराजन रिमाल काठमाडौँ,  प्रीति पन्थ गुल्मी र श्रुति तिवारी धनुषाबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो । श्रुति तिवारी समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पणलाई देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलहरूमा सक्रिय रूपमा संलग्न छिन् । बालअधिकारका लागि उनले बालविवाह र दुर्व्यवहारको बारेमा सचेतना जगाएकी छिन्, र बालबालिकाको भविष्य सुरक्षित गर्न एकिक्रिट चाइल्ड क्लब जस्ता संस्थाहरूसँग साझेदारी गर्दै छिन् । उनको बाल अधिकारको लागि संलग्न हुनुले बालबालिकाको सुरक्षा र भविष्यको लागि गरेको प्रयासलाई दर्साउँछ । विवाह परिप्रेक्ष्यमा बालविवाह र दुर्व्यवहारको खिलाफ सचेतना जगाउन उनको योगदान अत्यधिक महत्त्वपूर्ण छ ।

नारायणगढ-मुग्लिन सडकका दुई पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसैँअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दसैँं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभानस्थित पुल असार महिनादेखि सञ्चालनमा आएको छ । उनले भने ‘सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहमा कालोपत्र गर्न बाँकी छ । वर्षातका कारण केही ढिलो भयो, दसै अघि काम सम्पन्न हुन्छ ।’ आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो । बाँकी १२ मध्ये १० पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको आयोजना प्रमुख कार्कीले बताए । पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु गरिएको छैन । पुलको मुखमा बसेकालाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको छ । यी दुई पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो । आयोजना प्रमुख कार्कीले भने ‘जलविद्युत् कम्पनीमासमेत विस्फोटका सामग्री आउन थालेकाले दसैँपछि यो पुल निर्माणस्थलको भित्तो विस्फोट गर्न सकिएला । यससँगै कामलाई तीव्रता दिएर यसै वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्ने योजना छ । पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो ।’ ती घर हटाउन ९७ लाख आवश्यक पर्नेमा ७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाइएको छ । बाँकी छ परिवारलाई छिट्टै दिइनेछ । एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् भने अर्का एकजनाले यस अघि नै मुआब्जा लिएर पुनः सोही ठाउँमा बसेको बुझिन आएकाले अध्ययन हुँदैछ । पुलको मुखमा बसेकालाई मुआब्जा दिएर हटाउन लागिएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार पुल अघिनै निर्माण भई सञ्चालनमा आइरहेका छन् । आयोजना प्रमुख कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरिएको एक वर्षको समय यही विसं २०८० को पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएकामा निर्धारित समयमै काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाईसमेत नौदेखि ११ मिटर फराकिलो छ । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक पर्दछ । केही वर्षअघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाइएको हो। तत्कालीन समयमा काटिएको भित्तोका कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ । रासस

पेप्सीकोला दुर्घटना : उपचारकाे क्रममा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुई जनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको थियो । दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् । दुर्घटनामा सङ्लग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन् । असोज ३ गते सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्। असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउँदै कार्यक्रमलाई आम समुदायको स्वामित्व हुनेगरि बिस्तार गर्नुपर्ने बताएका छन्।