विकासन्युज

मझगाउँ विमानस्थल निर्माणले गति लिन सकेन, २५ प्रतिशतमात्र काम सम्पन्न

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माका अनुसार अहिले बर्खाले गर्दा विमानस्थलको काम रोकिएको छ । बर्खामा निर्माण सामग्री ढुवानीका लागि समस्या भएकाले काम रोकिएको उनले बताए । ‘माटो र ग्राभेलको काम चलिरहेको थियो, बर्खाले माटो र ग्राभेल ढुवानीमा समस्या छ’, उनले भने, ‘त्यसैले अहिले काम रोकिएको छ, बर्खा रोकिएपछि फेरि काम सुरु हुन्छ ।’ आयोजनाका अनुसार अहिलेसम्म विमानस्थलको धावनमार्गको नौ सय मिटर सवबेस निर्माण भएको छ । यस्तै नौ सय मिटर नाली निर्माणको काम पनि सकिएको छ । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा विमानस्थल पुनः निर्माण भइरहेको हो । विमानस्थल पुनः निर्माणमा यहाँको भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत तथा सङ्घीय सरकारको ५० प्रतिशत लगानी छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नवाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो । उक्त क्षेत्रमा धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमा पनि लिएको थियो । काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको काम भइरहेको हो । मझागाउँ विमानस्थलमा अहिले एक हजार पाँच सय २५ मिटर लामो धावनमार्ग निर्माण गरिनेछ । विसं २०३० देखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो । सशस्त्र द्वन्द्वका बेला विसं २०५६ मा सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो । त्यसपछि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । कञ्चनपुरमा विमानस्थल सञ्चालनमा नआउँदा हवाई सेवाका लागि यहाँका स्थानीय धनगढी जाने गर्दछन् । रासस

साधना र सबैको लघुवित्तबीच मर्जर हुने

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्थाबीच शुक्रबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ । उक्त सम्झौतामा साधना लघुवित्तको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्तको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका थिए । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्तका अध्यक्षकृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशब कुमार पौडेल रहने सहमति भएको संस्थाले जनाएकाे छ । तनहुँ जिल्लाको बन्दिपुर १, डुम्रे स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारी स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ ।

पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौं । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको  जानकारी दिए । दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२-०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२-०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो । प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आईएमई लाईफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको शुक्रबार होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोहबीच ‘आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३’ सम्पन्न भएको छ । कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो । आईएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्ने गर्दछ । उपरोक्त कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिती थियो । अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका संचालक समितिका सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बीमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पुर्याउनुका साथै अभिकर्ताको रुपमा स्व–रोजगारको समेत अवसर दिने बताए । आईएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले कम्पनीले छैंटौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र पछिल्ला ६ वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आईएमई लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए । यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनु पर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरि सहयोग गरिरहने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । यसैगरी आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए । हालै मात्र जनसाधारणको लागि शेयर सार्वजनिक गरिएकोमा सम्पूर्ण लगानीकर्ताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएकोमा समेत प्रमुख कार्यकारी अधिर्कत फुयालले खुशी ब्यक्त गरे । आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट शाखा एवं शाखा प्रमुखलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका निर्देशकहरु दीपचन्द्र रेग्मी, विनोद केसी, उषा ढकाल लगायतले अवार्ड वितरण गरेका थिए ।  

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो । सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए । कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए । बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ ।

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए । उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे । “अर्थतन्त्रमा केही समस्या आएका छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ”, अर्थमन्त्री डा महतले भने, “राज्य संयन्त्रबाट जहाँ कमी कमजोरी भएको छ त्यहाँ सुधारका लागि निरन्तररुपमा लागिपरेका छाँै । केही सीमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोशिस भइरहेको छ ।” पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनले जानकारी दिए । राजस्व सङ्कल्प अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरुपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा.महतको भनाइ छ । राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उहाँले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए । अर्थतन्त्र सुधारोन्मुख बनाउन सकारात्मक ‘डिस्कोर्स’को आवश्यकता भएको उनले बताए । “राज्य संयन्त्रका सबै अङ्गले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा जानेर नजानेर गर्न नसक्दा पनि समस्या आएका छन्”, अर्थमन्त्री डा.महतले भने, “निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्याङ्कन गर्न आवश्यक छ ।” निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उनले बृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लग्नुको महत्वबारे स्पष्ट पारे । यस्तै निजी क्षेत्रले आत्मनियमन अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए । छाता सङ्गठनले एउटा मूल्य र मान्यतामा आधारित रहेर काम गर्न आत्म नियमनकर्ताको भूमिका निर्वाह गर्न मन्त्री डा.महतको सुझाव छ । वैदेशिक सहयोग लिदा नेपालको आवश्यकता र प्राथमिकताका आधारमा मात्र लिने उनले प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझाबलाई कार्यान्वगन गर्न सरकारसँग माग गरे । उनले सरकारी निकामनकारी निकायबाट प्रवाह हुने सूचनालाई सबैको पहुँचमा सहज रुपमा पुर्याउनसमेत अर्थमन्त्री डा.महतसमक्ष सुझाव प्रस्तुत गरे । नेपाल उद्योग परिसङ्घका कार्यबाहक अध्यक्ष वीरेन्द्र प्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खस्कदो अर्थतन्त्रलाई सुधार गर्न एकजुट भएर अघि बढन् आह्वान गरे ।

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार पनि घट्यो

काठमाडौं । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको सेयर बजार एक दिन बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता ४ दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार ९३२ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक २०.५४ अङ्कले घटेर १ हजार ९९३.३८ पुगेको बजारमा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ मूल्य बराबरको कारोबार भएको थियो । यस दिन कुल २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ इकाई सेयर कारोबार भएका थिए । त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ५.०९ ले बढेर १ हजार ९९८.४८ पुगेको बजारमा ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल २७९ कम्पनीका ३७ लाख ७९ हजार ७३१ कित्ता सेयर कारोबार भएका थिए । कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक ५.०५ अङ्कले घटेर १ हजार ९९३.४२ अङ्कमा कायम भएको थियो । यस दिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर २९ हजार ६४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा खुम्चिन पुगेको थियो । त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक २.८२ अङ्कले घटेर १ हजार ९९०.५९ अङ्कमा कायम भएको छ । कुल २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता सेयर ३२ हजार २९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ पुगेको थियो । यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो ।

यस्तो छ आज र भोलिको मौसम

काठमाडौं । केही दिन कम भएर आज काठमाडौँ उपत्यकालगायत केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नभएको जल तथा मौसम विज्ञान विभाग, हावापानी केन्द्रले जनाएको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलले केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नहुने जानकारी दिनए । उनका अनुसार अहिले गण्डकी प्रदेशलगायत केही ठाउँमा वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । यी क्षेत्रबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै १८ गते पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान साथै बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।