विकासन्युज

रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा झा नियुक्त, भन्छन्-रेललाई नाफामा लान्छु

काठमाडौं । नेपाल रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा निरंजन कुमार झा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झालाई प्रबन्ध निर्देशकमा आइतबार नियुक्त गरेको हो । झाले  दिउसो ३ बजे मन्त्रालयबाट नियुक्ति पत्र प्राप्त भएको बताए । ‘अहिले अपरेसनमा आइरहेको ठाउँलाई व्यवस्थित गर्ने छु, विराटनगर –बुद्धनगर–लहान–पट्नासम्म नियमित रूपमा कार्गो रेल सञ्चालन गर्ने पहल हुने छ,’ उनले भने । कम्पनीलाई नाफामा लैजानको लागि पनि आफ्नो भूमिका हुने झाले जानकारी दिए । झा कम्पनीमा पहिलो पटक भदौ २०७८ मा संघीय समाजवादीको कोटामा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । उनको पदावधि सकिए लगत्तै मन्त्रालयले उनैलाई पुन नियुक्त गरेको हो ।

दानपत्रमा प्राप्त भएको जग्गा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

राउण्ड टेबल नेपालको अध्यक्षमा नितेशकुमार अग्रवाल निर्वाचित

काठमाडौं । राउण्ड टेबल नेपालको २३ औ वार्षिक साधारणसभा भदौ ९ गते सम्पन्न भएको छ । काठमाडौंस्थित हायात होटलमा आयोजित साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । त्यस्तै निर्वतमान अध्यक्ष राहुल अग्रवाल रहेका छन् । राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था हो, जसको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ हो । यस संघले आफ्नो उदेश्य पुरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरुको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरुलाई स्थानिय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तररुपमा इम्प्रुभ गर्न प्रयासरत रहन्छ । राउण्ड टेबल नेपाल विगत २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको श्रेत्रमा अग्रसर भई कार्यहरु गरिरहेको छ । नव–निर्वाचित कार्य समितिले खासगरी आफ्नो कार्यकालमा राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरु जस्तै विद्यालयहरुको स्तरउन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रवितृ कार्यक्रम, तथा १ देश १ लाख विरुवाको नारालाई समेत निरन्तरता दिने भएको छ । यसका साथै आफ्ना सदस्यहरुलाई विभिन्न तालिम तथा गोष्ठीहरुको आयोजना गरी सदस्यहरुको सिप विकासका साथै सदस्यहरुवीचको सम्बन्ध अझ सुर्दिढ गर्ने योजना रहेको जानकारी गराएका छन् ।

महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

पाकिस्तान । एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् । कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । यो घटना शनिबार अपराह्नको हो । कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ । प्रहरीले परिचय सार्वजनिक एक जना महिलालाई आफ्नो नवजात शिशुलाई कराँचीको लियाकताबाद क्षेत्रस्थित भवनको छैठौँ तल्लाबाट फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ । प्रहरीले पक्राउ परेकी ती महिलासँग सोधपुछ गरिरहेको तथा उनको मानसिकस्थिति शङ्कास्पद रहेको जनाइएको छ । छिमेकीले ती महिला लागूऔषधको दुव्रयसनमा फसेकी बताएका छन् । प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ । रासस

सेयर कर्जामा १२ करोडको सीमा राख्नु हुँदैन, बैंकको ब्याज घट्नै पर्छ : पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर कर्जामा १२ करोडको सीमा हटाएर कुल कर्जामा १०% को सीमा तोक्नु पर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले देशको वर्तमान अर्थतन्त्रको विषयमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले सेयर बजार सुधारको लागि १२ करोडको सीमा हटाउनुपर्ने बताएका हुन् । उक्त सीमा हटाउँदा बजार सुरक्षित हुने र लगानीकर्ताले गुमाउने अवस्था पनि नआउने पाण्डेले बताए । ‘लगानीकर्ताले १४ खर्ब गुमाइसके । यो राष्ट्रको पनि नोक्सान हो । सरकारलाई राजश्व आउन सक्थ्यो’, पाण्डेले भने । बैंकले एउटा क्षेत्रको लागि लगानी गरेको कर्जा अर्को क्षेत्रमा प्रयोग गर्ने अवस्था देखिएमा नगदमा कारोबार हुने व्यवस्था गर्नुपर्ने पूर्व अर्थमन्त्री पाण्डेले बताए । ‘सेयर मूल्य घट्यो भने मार्जिन कल आउँछ । त्यसले अर्को समस्या सिर्जना गर्छ’, उनले भने । उनले देशको अर्थतन्त्र चलायमान बनाउनको लागि बैंकको ब्याजदर घटाउनुपर्ने बताए । ‘ब्याज घटेन भने उत्पादन बढ्न सक्दैन । ब्याज नघटी हुँदैन’, पाण्डेले भने । पछिल्ला दिनहरुमा सरकारको राजश्व कम भइरहेको यस्तै अवस्थ रहे अर्को वर्ष निर्माण ठप्प हुन सक्ने पाण्डेले बताए । अहिलेको सरकारले अर्थतन्त्रका गम्भीर विषयलाई सम्बोधन नगरेर देशलाई आर्थिक संकटतर्फ लगेको पाण्डेको भनाई छ । सरकारले बजेटमार्फत ल्याएको हवाई टिकटमा मूल्य अभिवृद्धीकर लगाउने नीति सच्याउनुपर्ने बताए । हवाई टिकटमा भ्याट लगाउन नहुने उनले बताए ।

एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक

काठमाडौं । एनएमबि बैंकको डेबिट कार्डबाट कारोबार गर्दा १०० रुपैयाँ क्यास ब्याक हुने भएको छ । एनएमबि बैंकले डेबिट कार्डमा १०० रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा १०० रुपैयाँ क्यासब्याक पाइने बैंकले जनाएको छ । यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

उच्च अंकले ओर्लियो सेयर बजार, २१२ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आइतबारबो सेयर बजारमा नेप्से परिसूचक २९.८१ अंक घटेर १९६०.७८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ५.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ इण्डेक्स १.६८ अंक घटेको छ । आइतबारको सेयर बजारमा २१२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । गएको साताको अन्तिम दुई कारोबार दिनमा पनि आरोलो लागेको नेप्से आइतबारको बजारमा पनि सुधार हुन सकेन । नेप्से घटे पनि आइतबारको बजारमा कारोबार रकम भने बढेको छ । आइतबार २७६ स्टकको ३७ हजार ४१ पटकको कारोबारमा एक अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार थ्रीस्टार हाइड्रोपावरको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको शेयरमूल्य २३ रुपैयाँ १० पैसा बढेर २५४ रुपैयाँ १० पैसा पुगेको छ । लिबर्टी इनर्जी र सिटि होटलको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबारको सेयर बजारमा सोल्टी होटलको सेयर कारोबार शीर्ष स्थानमा रहेको छ । सोल्टी होटलको तीन करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स र सिटि होटलको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आइतबार सबै उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ भने जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्ने कम्पनीले जनाएको छ । आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास(लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा भूमिका निर्वाह गरेको छ ।