सेयर बजार घट्नुमा प्रिमियम मूल्यको दोष, अदालत जाने लगानीकर्ताको चेतावनी
काठमाडौं । पछिल्लो समय विभिन्न ८ कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरे । घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरे । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीको सेयर पनि पूर्ण रुपमा बिक्री भइसकेको छ भने केही कम्पनीको निष्काशन प्रक्रिया जारी छ । तर, पछिल्लो सयम एकपछि अर्काे कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा भने लगानीकर्तामा निराशा छाएको छ । १ सय रुपैयाँमा लगानी गरिरहेका लगानीकर्ताहरुलाई एकैपटक प्रिमियम थप गर्नु पर्दा लगानीका लागि स्रोत पनि अभाव हुन थालेको लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता असन्तुष्ट र निराश मात्रै होइन, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि विवादमा मुछिएको छ । यतिसम्म की नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत सेबोनले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न दिएको आरोप लागेकाे छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा सर्वसाधारणहरु मारमा परेको लगानीकर्ता माधव खनाल बताँछन् । एकपछि अर्काे कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन अनुमति दिँदा लगानीको स्रोत खुम्चिएको उनको भनाइ छ । उनका अनुसार प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न अदालत जाने तयारी भइरहेको छ । ‘धितोपत्र बोर्डले आर्थिक चलखेल गरेर प्रिमियम व्यवस्था लागू गर्याे, प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दा पूँजी बजारलाई फाइदा भन्दा नोक्सान बढी गर्छ, अधिकांश लगानीकर्ताहरुको पैसा प्रिमियममा फसेको छ, बजारलाई तल झार्न टेवा पुर्याइरहेको छ, यो गलत काम हो, अब यसलाई रोक्नु पर्छ,’ उनले भने, ‘सेबोनसँग प्रिमियममा आईपीओ बिक्री प्रक्रिया रोक्न छलफल भइरहेको छ, यदि सेबोनले यो प्रक्रिया रोकेन भने अदालतमा मुद्दा हालेर भएपनि रोक्छौं ।’ खनालका अनुसार कुनै पनि व्यवसायमा १ सय रुपैयाँमा लगानी गरिएको छ भने ५ वर्षमा ५ सय प्रतिशत वृद्धि हुन सक्दैन । त्यसैले २/३ वर्ष कम्पनी चलाएर प्रिमियममा आईपीओ निष्काशन गर्ने परिपाटी बन्द गर्नु पर्ने उनको धारणा छ । प्रिमियममा आईपीओ बिक्री गर्ने कम्पनीका संस्थापकहरुले कानुनी रुपमा पूँजी बजारबाट सर्वसाधारणको रकम लुटेको उनको आरोप छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया जबरजस्ति लादिएको उनको बुझाइ छ । ‘काम गर्दा जोखिम र आम्दानी दुइटै हुन्छ तर, प्रिमियममा आईपीओ जारी गर्दा कम्पनीका संस्थापकलाई फाइदा मात्रै भयो, जोखिम शून्य भयो, कानुनी रुपमा निष्काशन गर्न पायो भन्दैमा सबै लगानीकर्तालाई मारमा पारेर बजारबाट पैसा उठाउन पाउँदैन,’ उनले भने, ‘प्रिमियम मूल्यमा आईपीओ जबरजस्ति लादिएको हो, भित्रभित्रै चलखेल गरिरहेका छन्, सर्वसाधारणलाई भिडाइरहेका छन्, जबरजस्ति लादिए पछि आवेदन दिनै पर्ने बाध्यता बन्यो ।’ ‘लगानीकर्ताहरुले घरजग्गा बिक्री गरेर लगानी गरिरहेका हुन्छन्, कुनै कम्पनीको सेयरमा जबरजस्ति प्रिमियम लादिएपछि बाध्यताले भर्नै पर्ने स्थिती छ, अरु विकल्प नभएपछि के गर्नु ?’ लगानीकर्ता खनाल बताउँछन् । लगानीकर्ता छोटेलाल रौनियार पूँजी बजारमा मागभन्दा सप्लाई मात्रै थप्ने काम भइरहेको बताउँछन् । समय परिस्थिती अफ्ठ्यारो रहेकाले धितोपत्र बोर्डले प्रिमियममा आईपीओ निष्काशन प्रक्रिया केही समय स्थगित गर्नु पर्ने उनको भनाइ छ । ‘पूँजी बजारमा मागभन्दा बढी सप्लाई भइरहेको छ, बजार निरन्तर घटिरहेको छ, लगानीकर्ताको मनोबल कमजोर बनेको छ, कारोबार रकम पुनः एक अर्बमा सीमित भइसक्यो,’ उनले भने, ‘यी सबै विषयलाई ध्यानमा राखेर प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया केही समय स्थगित गर्नु पर्छ, लगानीकर्ताले पनि चाहना देखाएका छैनन् ।’ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा सेबोनले कम्पनीको रेटिङ्गलाई थप अध्ययन गर्नु पर्ने उनको भनाइ छ । एक सय रुपैयाँमै आईपीओ आउनु पर्छ भन्ने आफ्नो माग नभएपनि लगानीकर्ताको भावना हेरेर प्रिमियम मूल्यमा आईपीओ ल्याउनु पर्ने उनको भनाइ छ । ‘जुनसुकै कम्पनीको रेटिङमा शंका छ, लगानीकर्ताहरुले औंला उठाएका छन्, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको घोराही सिमेन्टको रेटिङ कै विषयमा बोर्ड पनि विवादित बन्यो, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा खिचडी भइरहेको छ,’ उनले भने, ‘एक सय रुपैयाँमै सेयर आउनु पर्छ धारणा होइन, ३२ सय अंकमा पुगेको बजार २ हजार अंकभन्दा तल झर्दा लगानीकर्ता आत्तिएका छन्, लगानीकर्ताहरुले यो अवधिमा १४/१५ खर्ब गुमाइसके, त्यसकारण लगानीकर्ताको मुख्य विषयलाई ध्यानमा राखेर प्रिमियम मूल्यमा आउने आईपीओ स्थगित गर्दा राम्रो हुन्छ ।’ लगानीकर्ता कुमार पौडेल प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा प्रमोटरहरुलाई मात्रै लाभ भइरहेको बताउँछन् । उनले सेबोनले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई पनि प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको आरोप लगाए । लगानीकर्ताहरुले आवेदन भरिरहेका छन् भन्दैमा नियामक निकाय चुप लागेर बस्न नहुने उनको भनाइ छ । ‘लगानीकर्ताहरुलाई १ सय रुपैयाँमा आईपीओ आउँदा फाइदा हुन्छ, प्रिमियममा आईपीओ निष्काशन गर्दा प्रमोटरको भ्यालू दिएको हो तर, अहिले प्रिमियममा आइरहेका आईपीओमा शंका लाग्छ,’ उनले भने, ‘नेटवर्थ राम्रो नभएका कम्पनी पनि प्रिमियममा आईपीओ निष्काशन गरिरहेका छन्, नियामकले यसमा अध्ययन गर्नु पर्छ । पूँजी बजार चरम वियरिसमा गुज्रिरहेको र लगानीकर्ताको लगानी पेनिक भइरहेको अवस्थामा बोर्डले धमाधम प्रिमियमा आईपीओ जारी गर्न दिनु गलत काम भएको लगानीकर्ता राजु पौडेल बताउँछन् । रेटिङमा गलत गरेको प्रमाणित भएपनि आईपीओ निष्काशन गर्न दिनु धितोपत्र बोर्डको कमजोरी रहेको उनको भनाइ छ । ‘बजारमा सप्लाई मात्रै दिने तर, ‘डिमाण्ड’ सिर्जना गर्ने विधि धितोपत्र बोर्डले गरेको छैन, विवादित घोराही सिमेन्ट, रिपब्लिका मिडियालाई आईपीओ जारी गर्न दिँदा शंका गर्ने ठाउँ देखिन्छ, रेटिङमा विवाद प्रमाणित छताछुल्ल भएपनि लेनदेनमा बिकेका हुन की भन्ने शंका उब्जिन्छ,’ उनले भने, ‘रिपब्लिका मिडिया डुब्न लागेको कम्पनी हो, जसको भौतिक पत्रिका बिक्री हुन छाडेको छ, यसले बजारमा लगानीकर्ताको सेन्टिमेन्ट पुरै गिराएको छ ।’ राष्ट्र बैंक, सरकार लगायत सबै निकाय सेयर बजारप्रति नकरात्मक बनेका बेला सेबोन पनि पूँजी बजारप्रति गलत क्रियाकलाप गरिरहेको उनको भनाइ छ । प्रिमियममा आईपीओ निष्काशन गर्दा पूँजी बजार घटाउन मद्दत पुगेको उनले बताए । ‘प्रिमियममा आईपीओ निष्काशन गरेर प्रमोटरहरुले बजारबाट पैसा खिचेर लगेका छन्, जसको असर दोस्रो बजारमा प्रत्यक्ष परेको देखिन्छ,’ उनले भने, ‘कमजोर हाइड्रोपावरलाई पनि प्रिमियमा निष्काशन गर्न दिँदा लगानीकर्ताको मनोबलमा झनै गिरावट आएको छ ।’ एनसेल, डाबर नेपाल, सूर्य टोबाको, वाइवाई लगायत फण्डामेन्टलमा राम्रा कम्पनीलाई प्रिमियममा आईपीओ बिक्री गर्न अनुमति दिनु स्वभाविक रहेको उनको भनाइ छ । तर, समय उचित हुनु पर्ने उनले बताए । ‘प्रिमियममा आईपीओ बिक्री गर्दा समय हेर्नु पर्छ, बजार बुलिस, लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक, नगद कारोबार बढेको बेला बजारलाई असर गर्दैन तर, पैसामा बिके जस्तो गरेर कमजोर कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न दिँदा आशंका गर्ने ठाउँ उब्जिएको छ,’ उनले भने । धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा लगानीकर्ता मारमा परेको गुनासो आफूले नसुनेको बताउँछन् । प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दा महँगो लागे आवेदन नदिँदा हुने उनको सुझाव छ । ‘प्रिमियम मूल्य महँगो लागे आवेदन नभरे हुन्छ, प्रिमियममा आईपीओ आएको छ भने किन्नै पर्ने बाध्यता छैन,’ उनले भने, ‘प्रिमियम मूल्य कसरी गणना गर्ने र रेटिङ कति हुनु पर्ने सबै नीति नियम अनुसार नै भइरहेका छन्, यस विषयमा केही सुधार गर्नु छ भने बोर्ड सधैं तयार छ ।’ उनका अनुसार कम्पनीको रेटिङलाई बोर्डले क्रस चेक गरेर स्वीकृत दिने गरेको छ । साथै, प्रिमियम मूल्यआ आईपीओ निष्काशनको अनुमति माग्न बोर्डमा कुनै पनि कम्पनी नआएको उनले बताए । प्रियियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न लगानीकर्ता अदालत जान सक्ने उनको भनाइ छ ।
मलङ्गवाको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिए । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् । सर्वसाधारणहरु आ-आफ्नो दिनचर्यामा व्यस्त हुन थालेका छन् । मलङ्गवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । व्यक्तिहरुले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर बिरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । मलङ्गवामा दुई पक्षबीच ढुङ्गा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आईतवार बिहान ८ बजेसम्मका लागि कफ्र्य आदेश जारी गरेको थियो । अस्ती शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिवार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो । रासस
मोरक्को भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक
मोरक्को । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ । शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भैैचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी एक हजार दुई सय ९३ जनाको मृत्यु भएको छ भने ४५२ को साथमा ताराउदान्ट प्रान्तमा चार सय ५२ जनाले ज्यान गुमाएका छन् । मौले ब्राहिम गाउँमा कलिला केटाकेटीका शव देखेर भक्कानिएका ७० वर्षका बौचारा उद्धारकर्मीले घर नजिकै ५० जनाको शव गाडेको बताएका छन् । निरन्तरको पराकम्पले भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । उनीहरूले दुई रात घरबाहिर सडमा बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । सार्वजनिक स्थान, चौरस्ता एवं डबलीमा उनीहरूले आश्रय लिएका छन् । पहाडी क्षेत्रमा भएको क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट अति प्रभावित दुर्गम पहाडी गाउँमा पुग्न सेना र आपतकालीन सेवाका अधिकारी खटिएका छन् । उद्धार टोलीहरू आवासीय भवनलाई भूकम्पले भग्नावशेषमा परिणत गरेका स्थानमा कोही जीवित भेटिन्छन् कि भन्ने आशमा दौडिएका छन् । उद्धारकर्मी र टोलीको सङ्ख्या बढाइएको गृह मन्त्रालयले जनाएको छ । ‘मैले सबै गुमाएँ,’ श्रीमती र चार छोराछोरी गुमाएका मौले ब्राहिमको पहाडी गाउँका बासिन्दा लाहसेन बर्बरी आसुँ झार्दै भन्छन् । उद्धारकर्मीहरूले लाहसेनका तीन छोरीको शव घरको भग्नावशेषबाट निकालेका छन् तर अहिलेसम्म उनकी श्रीमती र छोराको शव फेला परेको छैन । ‘म अब केही गर्न सक्दिन, म संसारबाट टाढा जान चाहन्छु,’ विलाप गर्दै उनको मुखबाट अवर्णनीय पीडा अभिव्यक्त हुन्छ । भूकम्प प्रभावित एउटा गाउँको एक स्थानमा भग्नावशेष पन्छाउँदा १८ जनाको शव निकालिएपछि एक जना ज्येष्ठ महिला नागरिकले डाको छोडेर रोयको दृश्यले उद्धारकर्मी तथा सञ्चारकर्मीलाई पनि भावुक बनाएको थियो । केन्द्रविन्दुभन्दा करिब ५० किलोमिटर पर अवस्थित ताफेघते गाउँमा केही भवनमात्र ठडिएका छन्भने अधिकांश ध्वस्त भएका छन् । बहत्तर वर्षीय ओमर बेन्हाना आफ्ना तीन जना नातिनातिनी र बुहारी एकै चिहान भएको बताउँछन् । शनिबार नै उक्त गाउँका स्थानीयले ७० जनाको शव व्यवस्थापन गरेका थिए । तीन दिन राष्ट्रिय शोक मोरक्कोका राजा मोहम्मद छैटौँले तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै पीडित परिवारलाई खाना आवासको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् भने उद्धार टोलीहरूलाई सघाउन देशको राष्ट्रिय सेनालाई आग्रह गरेका छन् । राष्ट्रिय शोकको यो घडीमा सार्वजनिक स्थल र सरकारी भवनहरूमा फहराईएका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारी समाचार समितिले जनाएको छ । यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर शहर तहसनहस भएको थियो । रासस
सेरेस मिनी ईभीको मूल्य सार्वजनिक, १४ देखी १८ लाख रुपैयाँ पर्ने
काठमाडौं । सेरेसले नेपाल ल्याएको मिनी इभी ई–१ को मूल्य सार्वजनिक भएको छ । सो मिनी ईभी ३ भेरिएन्टमा उपलब्ध हुने नेपालका लागी आधिकारिक वितरक एमएडव्लु बृद्धि अटो कर्पले जनाएको छ । जसको मूल्य १४ लाखबाट शुरु भएर १८ लाखसम्म पर्नेछ । एमएडब्लु बृद्धिका अनुसार १८० किलोमिटर रेन्ज दिने ई–१ वेस र फुल अप्सनमा उपलब्ध हुनेछ । जसको मूल्य १३ लाख ९९ हजार र १४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा १३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यसैगरी लङ रेन्जको मूूल्य १७ लाख ९९ हजार तोकिएको छ । यसमा १६ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने सिंगल चार्जमा यसले २२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । एमएडब्लु स्रोतका अनुसार यो मूल्य सिमित अवधीका लागी मात्र लागु हुनेछ । यसअघि सेरेस–३ को मूल्य समेत सार्वजनिक गरेको थियो । कम्फर्ट र प्रिमियम भेरिएन्टमा उपलब्ध यसको मूल्य ४७ लाख ९९ हजार र ४९ लाख ९९ हजार तोकिएको छ । सिमित अवधिका लागि मात्र तोकिएको सो मूल्य पछि वढेर ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार पुग्ने कम्पनीको भनाई छ । सेरेसका यी नयाँ ईभी दुइ दिनपछि शुरु हुने नाडा अटो शोमा अवलोकन गर्न पाइनेछ । साथै ग्राहकले मेलास्थलबाटै गाडीको वुकिङ समेत लिन सक्नेछन् ।
हिमालय एयरलाइन्सले काठमाडौंबाट छिङ्डाओ उडान शुरु गर्यो
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गर्ने भएको छ । आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा बोल्द मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेको खुशी व्यक्त गरे । उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए । उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउनसके र ग्रामिण संस्कृतिको जरासम्म पुर्याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए । चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदुतसँग आग्रह गरे । मन्त्री किराँतीले काठमाडौं—पोखरा—चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे ।
बिवाइडी विश्वकै शीर्ष १० अटोमोबाइल ब्राण्ड बन्यो
काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बिवाईडी विश्वकै शीर्ष १० ठूला कार कम्पनीहरुमा सामेल भएको छ । बिवाईडी मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरुमा सामेल भएको हो । नविकरणीय उर्जामा आधारित गाडी (न्यु इनर्जी भेहिकल) बनाउने बिवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ प्रतिशत धेरै गाडीको बिक्री पनि गरेको छ । कम्पनीले यो अवधिमा १२.५ लाख गाडीहरु बिक्री गर्दै शिर्ष १० औं स्थानमा सामेल भएको हो । बिवाईडीले गत महिना अर्थात अगस्ट २०२३ मा २ लाख ७४ हजार ३८६ गाडीहरु बिक्री गरेको छ । लगातार चौथो महिनामा बिवाइडीले आफ्नै रेकर्ड तोड्दै अगस्टमा यति गाडीहरु बिक्री गरेको हो । २०२३ को पहिलो ६ महिनामा बिवाईडीको बिक्री पनि ७२.७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले यो अवधीमा ३५ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ । बिवाईडी सन् १९९५ मा स्थापित चिनियाँ कम्पनी हो, जसले सुरुवातमा रिचार्ज हुने ब्याट्रीहरुको उत्पादन गर्ने गरेको थियो । जापानबाट चीनमा आयात हुने ब्याट्रीहरुलाई विस्थापित गर्न प्रतिस्पर्धि बनेर आएको बिवाईडीले सन् २००२ बाट गाडीसँग सम्बन्धित कुराहरुको निर्माण गर्न सुरु गरेको थियो । सन् २०२२ अप्रिलबाट भने कम्पनीले कम्बस्टन इञ्जिन गाडीहरुको उत्पादन बन्द गर्ने र विद्युतीय गाडीमा मात्रै केन्द्रित हुने घोषणा गरेको थियो ।
सानिमा क्यापिटलको लाभांश घोषणा
काठमाडौं । सानिमा क्यापिटलले १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । भदौ २२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सेयरधनीलाई करसहित १८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो । उक्त प्रतिफल सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि म्युचुअल फण्ड अन्तर्गत सानिमा इक्विटी नामक योजनाको आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण हुने छ । हाल उक्त योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँ छ ।
रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कारबाट चार संस्था सम्मानित हुने
काठमाडौं । रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषबाट यसवर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत हुने भएका छन् । कोषको आज यहाँ सम्पन्न साधारणसभाले यस वर्ष सामाजिक सेवा पुरस्कारबाट विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । कोषका अध्यक्ष धु्रव नेपालले कोषको बसेको साधारणसभाले सामाजिक क्षेत्रका सक्रिय रहेका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरिएको बताए । उनले पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न पाँच जना संलग्न एक छनोट समिति गठन गरेर छनोट गरिएको बताए । कोषका अध्यक्ष नेपालका अनुसार रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्र नगर नगरपालिका– ३, सुर्खेतलाई दिइने भएको छ । यो पुरस्कारको राशि दुई लाख र सम्मानपत्र रहेको छ । कोषका अनुसार सो संस्थाले वृद्धवृद्धालाई आश्रय, भोजन प्रदान गर्नाका साथै स्वास्थ्य उपचार सेवा दिँंदै आएको छ । कोषले रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, काठमाडौँको तारकेश्वर नगरपालिका–७ अवस्थित संस्थालाई दिने निर्णय गरेको हो । रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट दृष्टि फाउण्डेशन, नेपाल धनगढी उपमहानगरपालिका–१, कैलालीलाई दिने निर्णय गरिएको छ । त्यसैगरी रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग सङ्घद्वारा सञ्चालित तारकेश्वर नगरपालिका– ३ सिथत बालगृह ठुलागाउँ लाई दिने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रहेको छ ।