औषधि व्यवसायी सङ्घको अध्यक्षमा खण्डेवाल निर्वाचित
वीरगञ्ज । नेपाल औषधि व्यवसायी सङ्घको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि वीरगञ्जमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा खण्डेवाल निर्वाचित भएका हुन् । निर्वाचनको मतपरिणामअनुसार खण्डेवालले एक सय चार मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लोकहरि श्रेष्ठले ८७ मत प्राप्त गरे । यस्तै सङ्घको उपाध्यक्षमा रामप्रसाद खरेल, आयाततर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा, सङ्घको थोकतर्फको उपाध्यक्षमा टङ्कप्रसाद अधिकारी र खुद्रातर्फको उपाध्यक्षमा यामनाथ पौडेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । सङ्घको महासचिवमा श्रीधर खनाल, कोषाध्यक्षमा सम्राटमान जोशी, सचिवमा कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् । सङ्घको सदस्यमा बद्री खनाल, भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र, कञ्चन शर्मा खतिवडा, सरलाकुमारी बिष्ट, मुकुन्दकृष्ण श्रेष्ठ र अविनाशकुमार पाण्डे निर्वाचित भएका छन् । सङ्घको १४औँ अधिवेशनको गत शुक्रबार एक कार्यक्रमकाबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गरेका थिए । रासस
होन्डा नेपालले ल्यायो पाँच सिटर एलिभेट, यस्तो छ भेरियन्टसहितको मूल्य
काठमाडौं । होन्डा नेपालले ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । यो एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ । कम्पनीका अनुसार होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । त्यस्तै, यो गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ । २२० मिलिमिटरको असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै, एलिभेटले एसयूभीहरुका लागि नयाँ मानक सेट गरेको छ । त्यस्तै, गाडीको इन्जिनले १२१ पिएस (लगभग ११९ हर्स पावर ) को प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीको भनाइ छ । होन्डा एलिभेट नेपालभरिका आधिकारिक होन्डा डिलर शिपहरूमा उपलब्ध हुनेछ ।
एक्कासी किन स्थगित गरियो माईखोला हाइड्रोको साधारण सभा ?
काठमाडौं । माईखोला हाइड्रोपावरको गत भदौ १७ गते सञ्चालक समितिको बैठकले असोज ९ गते वार्षिक साधारसभा बोलायो । कम्पनीले १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्तावसहित काठमाडौंको लर्ड पार्टी भेन्यु धुम्बाराहीमा बिहान ९ बजे साधारण सभा बोलाएको थियो । ५ दिन अर्थात् भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगित गरेको सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ेमार्फत् लगानीकर्ताहरुलाई जानकारी गरायो । प्राविधिक कारण असोज ९ गते वार्षिक साधारणसभा गर्न सम्भव नरहेकाले अर्काे निर्णय नभएसम्म स्थगित गरिएको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेश रजकले अचानक काम परेकाले साधारण सभा स्थगित गरिएको बताए । माई खोला हाइड्रोको काम परेर नै आफूहरु उपत्यका बाहिर रहेकाले तोकिएको समयमा साधारणसभा गर्न असम्भव भएपछि स्थगित गरिएको उनको भनाइ छ । ‘हामी सबैको अर्जेन्ट काम परेको हुँदा उपत्यका बाहिर आएका छौं, माइ खोला हाइड्रो कै काम भएकाले सभा स्थगित गरिएको हो, हाइड्रोपावरमा केही भएको छैन,’ उनले भने, ‘४/५ दिनसम्म साधारण सभा स्थगित गरिएको हो ।’ उनका अनुसार हाइड्रोपावर कम्पनीमा कुनै समस्या आएको छैन । असोजभित्रै साधारण सभा गर्ने उनको भनाइ छ । कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले १ः१ अनुपात अर्थात् हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता पाउने छन् ।
सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र क्लिनिकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८८ वटा शाखा, १४८ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४३ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
चिटकटो रसिदबाट बीमा रकम असुल्ने प्रवृत्ति हट्दै, पेट्रोलियम व्यवसायी र नेको इन्स्योरेन्सले गरे सहकार्य
काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ र नेको इन्स्योरेन्सबीच सहकार्य भएको छ । वर्षौदेखि चिटकटो रसिद जारी गरी बीमा बापत रकम असुल्ने प्रवृत्तिलाई हटाउन संघले नेको इन्स्योरेन्ससँग ट्रान्जिट बीमा अर्थात मार्गस्थल बीमा गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार गत साउन ३१ गतेबाट निगमका सबै डिपोहरुबाट मूल्यअभिवृद्धि कर (भ्याज) बीजक बीलसहित बीमा पोलिसी जारी भइसकेको छ । पेट्रोलियम ब्यवसायीहरुलाई प्रत्यक्ष लाभ हुने गरी संघले नेको इन्स्योरेन्स मार्फत विभिन्न सेवा सुविधासहितको बीमा पोलिसी जारी हुने जानकारी गराएको छ । वर्षाैदेखि मार्गस्थल बीमाको नाममा नेपाल आयल निगमको संचालक समितिको निर्णयनुसार भनि राष्ट्रिय बीमा कंम्पनी लिमिटेडसंग सम्झौता गरी सम्झौता गरेको भन्दा बढी रकम असुल्दै आएको र बीमा पोलिसी एवं भ्याट (मु.अ.कर बिजक) विल जारी नहुने गरेकोमा गत साउन ३१ गतेबाट बीमा पोलिसी व्यवसायीहरुकै नामबाट जारीसँगै भ्याट विल जारी गरिने व्यवस्था गरिएको छ । वर्षाैदेखि एशोसिएशनका पदाधिकारी र बीमा कम्पनीको मिलेमतोमा मार्गस्थल बीमाको नाममा हुने रकम अपचलनको अन्त्य हुने छ । व्यवसायीहरुले बीमा वापत बुझाएको रकमको रसिद राखी खर्च शीर्षकमा उल्लेख गर्न पाउने भएकाले लेखापरीक्षण गर्दा व्यवसायीहरुले व्योहोर्दै आएको झमेलाबाट मुक्ति पाउने छन् । चिटकटोबाट बीमा रकम दावी गर्दा व्यवसायीहरुले पीडित हनुपर्ने अवस्थाको अन्त्य हुने छ । निगमका डिपोहरुबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा प्रत्येक व्यवसायीको नाममा प्रत्येक पटक चलान अनुसार मुल्य अभिवृद्धि कर (भ्याट) विजक सहितको बीमालेख नेको इन्स्योरेन्सबाट प्रत्येक्ष जारी हुने छ । चिटकटो रसिदबाट गैरकानुनी हिसाबले रकम असुली गर्ने बीमा कम्पनीले पोलिसी जारी नगर्ने गरेको हुँदा भैरहवा लगायत देशका विभिन्न स्थानहरुमा दुर्घटना भएको अवस्थामा बीमा दावी नपाउने समस्याको अन्त्य हुने छ ।
इच्छाराजको सिभिल सहकारी समस्याग्रस्त घोषणा, शिबशिखरलाई पनि गरिँदै
काठमाडौं । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । प्रदेश सरकार अन्तर्गत रहेको सिभिल सहकारीलाई प्रदेशको मन्त्रालयले नै संकटग्रस्त घोषणा गरेर संघमा पठाएको हो । भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको उच्च स्रोतका अनुसार प्रदेशको सहकारी मन्त्रालयले नै सिभिल सहकारीलाई संकटग्रस्त घोषणा गरेको हो । ‘सिभिल सहकारी प्रदेशको मातहतमा पर्छ, त्यसैले पनि बागमती प्रदेश अन्तर्गतको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो, प्रदेशले सहकारीलाई समस्याग्रस्त गर्नका लागि केही कानुनी अड्चन पनि भएकोले समस्याग्रस्त घोषणा गरेको फाइल केन्द्रमा पठाउने कुरा भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो । बचतकर्ताको बचत ठगी गरेको आरोपमा सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ र उनकी श्रीमती सिर्जना शाक्यसहित केही सञ्चालकहरु अहिले जेलमा छन् । १ हजार ४९९ जना पीडित बचतकर्ताबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको थियो । यस्तै, भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयले शिवशिखर सहकारीलाई पनि संकटग्रस्त घोषणा गर्ने तयारी गरेको छ । मन्त्रालय स्रोतका अनुसार शिबशिखर सहकारीलाई केही दिनभित्रै संमस्याग्रस्त घोषणा गर्ने तयारी भइरहेको छ । बचतकर्ताको रकम ठगीको आरोपमा शिबशिखरका पूर्व अध्यक्ष केदार शर्मा र उनकी श्रीमती गिता शर्मासहितका केही सञ्चालकहरु अहिले जेलमा छन् । पछिल्लो समय सरकारले धमाधम सहकारीलाई समस्याग्रस्त घोषणा गरिरहेको छ । गत असारमा मन्त्रालयले पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा गरेकाे थियाे । नियमअनुसार वित्तीय कारोबार गर्न नसकेका वा नगरेका सरकारीलाई सहकारी विभागको सिफारिसमा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गर्छ ।
बजारमा देखियो स्कोडा ‘स्लाभिया’, मूल्य कति पर्छ ?
काठमाडौं । नाडा अटो शोमा नयाँ नयाँ मोडल सार्वजनिक गर्ने दौडधुप चलिरहेकोमा अटो शोमा सहभागि नभएको स्कोडाले भने चुपचाप नयाँ मोडल बजारमा ल्याएको छ । कम्पनीले कम्प्याक्ट सेडान स्लाभिया नेपाल ल्याएको हो । र्यापीडको स्थानमा आएको भएपनि स्लाभिया निकै प्रिमियम र फिचर लोडेड हुनेछ । यसको मूल्य पनि र्यापीडको तुलनामा महंगो हुने देखिएको छ । स्कोडाको आधिकारीक बिक्रेता एमएडब्लू स्कोडाले एक दुई दिन भित्रै यसको बिक्री सुरु गर्ने जनाएको छ । स्लाभियामा कसशकको जस्तै १.० लिटर टीएसआई पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसमा रहेको थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध छ । स्कोडा स्लाभिया एक्टीभ, एम्वीसन र स्टाईल भेरियन्टमा भारतमा उपलब्ध छ । नेपाल भने कुन भेरियन्टमा लन्च हुन्छ, त्यसको जानकारी प्राप्त भएको छैन । फक्सवागेन टाइगुन र स्कोडा कुशक जस्तै स्लाभिया पनि ‘एमक्यूबी एजीरो आइएन प्लेटफर्म’मा बनेको कार हो । यसको लम्बाई ४५४१ एमएम, चौडाई १७५२ एमएम र उचाई १४८७ एमएम रहेको छ । स्लाभियामा २६५१ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ड्यूल टोन इन्टेरियर रहेको स्कोडा स्लाभियामा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । सनरुफ, वायरलेस चार्जर, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटीकि क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सीट, ६ वटा एयरव्याग, टीपीएमएस, इएससी, इडिएस जस्ता आधुनिक फिचर यसमा पाउन सकिन्छ । यसको मूल्य भने आधिकारीक रुपमा बाहिर आएको छैन । यद्यपि, ४५ लाखदेखि ६० लाख रुपैयाँ भित्रै यसका सबै भेरियन्ट उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
लुम्बिनी विकास बैंकले दियो विद्यालयहरुमा पोशाक, खेलकुदको सामग्री र कलर प्रिन्टर
काठमाडौं । लुम्बीनी विकास बैँक देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ । विदुर नगरपालिका वडा नं. ३ अवस्थित रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक वितरण गरको छ । साथै, वडा नं. ५ अवस्थित श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरुको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामाग्री वितरण गरको छ र बेलकोटगढी नगरपालिका वडा नं. ८ अवस्थित श्री कल्याणीदेवी माध्यामिक विद्यालयको लागि १ थान कलर प्रिन्टर सहयोग गरको छ । सो सामाग्रीहरु बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्तान्तरण गरे । उक्त सहयोग गरेकोमा श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकार र श्री कल्याणीदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनीले लुम्बिनी विकास बैँकलाई धेरै–धेरै धन्यवाद व्यक्त गरेका थिए । उक्त हस्तान्तरण समारोहमा बैकका मुख्य प्रबन्धक दिपक खनाल, वरिष्ठ प्रबन्धक भेषराज गौतम, शाखा प्रमुख रमेश कुमार नेपाल लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।