मनकामनाबाट फर्केको माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौं । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका-३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको सो माइक्रोमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । मृतकहरू सबै भारतीय रहेको प्रहरीले बताएको छ । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउनै बाँकी छ ।
इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू
काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । यो आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ । आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ । आवश्यकताअनुसार मन्त्रिपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि आदेशमा गरिएको छ । इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चापदार्थमा मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल (कास्साभा), सडेगलेको अन्न, मर्चा (यस्ट) र अन्य आवश्यक रसायन समावेश छन् । खाद्यान्नको दुरुपयोग रोक्नका लागि खाद्यान्नका रूपमा प्रयोग हुने अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ । उद्योगहरूले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्र बिक्री वितरण गर्नुपर्नेछ । यसले बजारलाई नियन्त्रित गर्दै इथानोलको प्रयोग पेट्रोलमा मिश्रणसम्म सीमित गर्ने नीति स्पष्ट गर्दछ । उद्योगहरूले उत्पादन प्रक्रियामा वातावरणमैत्री उपाय अपनाउनुपर्ने, गुणस्तर मापदण्ड कायम गर्नुपर्ने र गुणस्तर परीक्षणको जिम्मेवारी आफ्नै प्रयोगशालाबाट गर्नुपर्ने आदेशमा उल्लेख छ । निगमले पनि प्रत्येक ट्यांकरको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ । इथानोलको मूल्य निर्धारण सरकारद्वारा सिफारिस समितिको सुझावमा प्रत्येक आर्थिक वर्ष सुरु हुनु अघि हुने छ । मूल्य निर्धारण नहुँदा अघिल्लो वर्षको मूल्य कायम रहनेछ । निर्धारित मूल्य प्रत्येक वर्ष साउन १ गतेदेखि लागू हुनेछ । नेपाल आयल निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नुपर्नेछ र उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ । उद्योगले सम्झौतामा उल्लंघन गरेमा प्रचलित कानुन अनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था गरिएको छ । इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ । अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ । मन्त्रालयले सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड तयार गरी लागू गर्नेछ । सरकारले इथानोल मूल्य निर्धारण र उद्योगलाई सुविधा दिने सिफारिसका लागि समिति गठन गरेको छ । समितिको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुनेछन् भने अर्थ, कृषि, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल आयल निगमका प्रतिनिधि सदस्य रहनेछन् । आदेशअनुसार समितिले कच्चापदार्थ लागत, कर छुट, सुविधा, राष्ट्रिय प्राथमिकता उद्योग मान्यता, उपकरण आयातमा कर छुट, कृषक र कृषि सहकारीलाई मल, बीउ, विद्युत् महसुलमा सहुलियतलगायत विषयमा सिफारिस गर्नेछ । यो नीति कार्यान्वयनबाट कृषि अवशेष र जैविक स्रोतको उपयोग बढाउने, नयाँ उद्योग स्थापना गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । यसको कार्यान्वयनको प्रभावकारिता भने उद्योगको क्षमता, कच्चापदार्थको उपलब्धता तथा सरकारको नियमनमा निर्भर हुनेछ ।
एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएका हो । एमालेले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायलाई समेटेर अन्तिम नामावली तयार पारेको छ । पार्टीले आदिवासी जनजाति क्लस्टरबाट ४ जनालाई सांसदका रूपमा चयन गरेको छ । जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन् । खस आर्य समूहबाट सबैभन्दा धेरै ५ जनाको नाम टुंगो लगाइएको छ । खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेकी पार्टीका केन्द्रीय सचिव पद्यमा अर्याल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल सांसद बनेका छन् । अर्याल स्याङ्जा र हमाल लमजुङकी हुन् । खस आर्यकै पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराललाई चयन गरिएको छ भने सोही समूहको पुरुषतर्फबाट गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बनेका छन् । बैठकले थारु समुदायबाट १ जना पुरुष कृपाराम राणालाई सांसद बनाउने निर्णय गरेको छ । दलित कोटाबाट २ जना महिला सांसद छानिएका छन् । जसमा विष्णुमाया वीके र नीता घटानी रहेका छन् । मधेसी क्लस्टरबाट ३ जनाको नाम टुंगो लाग्दा २ महिला र १ पुरुष परेका छन् । मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल सांसद बनेका छन् । मुस्लिम समुदायबाट १ जना महिला साजिदा सिद्दीकीलाई सांसदका रूपमा चयन गरिएको छ ।
तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौं । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ आयोजित नेपाल फार्मा एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल फार्मा एक्स्पो २०२६ नेपाल औषधि उत्पादक संघ (एपन) को आयोजनामा फागुन २८, २९ र ३० गते काठमाडौंमा आयोजित तीनदिने एक्स्पोमा औषधि उद्योगसँग सम्बन्धित नवीन प्रविधि, कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा अत्याधुनिक मेसिनरीहरूको प्रदर्शनी गरिएको थियो। प्रत्येक दुई वर्षमा आयोजना हुने यो एक्स्पोको यसपटक दशौं संस्करण हो । संघका अध्यक्ष विप्लब अधिकारीले नेपालमा विश्वस्तरीय र गुणस्तरीय औषधि उत्पादन भइरहेको सन्देश जनतामाझ पुर्याउन एक्स्पो आयोजना गरिएको बताए । उनका अनुसार विश्व बजारमा विकास भएका नयाँ प्रविधि र आविष्कारलाई आत्मसात् गर्दै नेपाली औषधि उद्योग अघि बढिरहेको छ । ‘नेपालमा उत्पादन हुने औषधिको गुणस्तरबारे कुनै शंका नगर्न उपभोक्तालाई आग्रह गर्दछु,’ उनले भने । एक्स्पोका मिडिया संयोजक शैलेश वैद्यका अनुसार तीन दिनको अवधिमा २५ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पोमा २०० भन्दा बढी प्रदर्शनी कक्ष राखिएका थिए, जसमध्ये ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विश्व बजारमा आएका नवीनतम कच्चा पदार्थ, अत्याधुनिक औषधि उत्पादन मेसिनरी तथा प्याकेजिङ प्रविधिको प्रदर्शन गरिएको थियो। साथै स्वदेशी औषधि उद्योगहरूले आफ्ना उत्पादन, उपलब्धि र प्रगतिका नमुनासमेत प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस एक्स्पोले नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ ।
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ । सभापति रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ ।
विदेश पलायन रोक्न उद्यमीलाई बिनाधितो ऋण वितरण
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको हो । गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार थप ९ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको जानकारी दिए । ‘विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई किस्ता बन्दीमा फिर्ता गर्ने गरी एक जनालाई एक लाखका दरले अनुदान उपलब्ध गराएको,’ उनले भने, ‘वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न पछिल्लो तीन वर्षदेखि घुम्ती कोष परिचालन गरी सहयोग गर्दै आएको छ ।’ यसअघि गत कात्तिकमा १२ जनालाई १२ लाख, २०८१ मा २० जनालाई, २०८० मा नौ जनालाई सहयोग गरेको थियो । हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको गाउँपालिकाले जनाएको छ । थप ऋण पाउनेमा वडा नम्बर १ का चक्रे दमाई, ३ का सोमबहादुर दमाई, दुर्गा रेग्मी, शन्तु भण्डारी, वडा नम्बर ४ का रिता मल्ल, बसन्तीकुमारी मल्ल, दुर्गबहादुर दर्जी, वडा नम्बर ६ का कौशिला नेपाली र वडा नम्बर ७ का रोहितप्रसाद आचार्य रहेका छन् । सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मर्निभर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ । कृषि उद्यमलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनका अनुसार हरेक वर्ष फरकफरक उद्यमीलाई विउँपुजी सहयोग गरिएको छ । पालिकाभित्रै व्यावसायिकरूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
धुलिखेल-खावा सडकखण्ड दुई साता राति बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डमा कालोपत्रे गर्ने कामका कारण दुई सातासम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै सडक सुधार तथा कालोपत्रे कार्यलाई तीव्र बनाउन चैत ७ गतेदेखि चैत २० गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमनमा प्रतिबन्ध लगाइने जनाएको हो। कार्यालयका अनुसार यो अवधिमा ठूला चारपाङ्ग्रे सवारीसाधन (बससमेत) लाई साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइनेछ। त्यस्तै, टिपर तथा ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालन गर्न नदिइने सूचनामा उल्लेख गरिएको छ। सडक निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न र सवारी आवागमनका कारण हुने अवरोध कम गर्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ। सडक डिभिजन कार्यालयले यात्रु तथा सवारी चालकलाई यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि आवश्यक जानकारी लिन अनुरोध गरेको छ।
निर्वाचन समीक्षा गर्दै एमाले, समानुपातिक सांसदको नाम टुङ्गो लगाइने
काठमाडौं । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज (शनिबार) नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ः०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।