विकासन्युज

काठमाडौं महानगरले अनुगमन गर्न निर्धारण गर्यो १६ सूचक

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ । अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्राप्त गर्नुपर्ने सूचना तथा विवरण सरल, सहज र विनाअवरोध प्राप्त गर्न सकियोस् तथा मापदण्ड र सेवाको गुणस्तर मापन गर्न सकियोस् भन्ने उद्देश्यले सूचक निर्धारण गरिएको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । त्यसैगरी तत्काल सुधार गर्दा हुने त्रुटिलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानूनी कारबाही गर्ने, स्वास्थ्य क्षेत्रका सेवाग्राहीले सुधारको महसुस तत्काल गर्ने, राम्रो गर्नेलाई प्रोत्साहित गर्ने, गलत गर्नेलाई कानूनी कारबाहीमा ल्याउने जस्ता सूचक तयार गरिएको उपप्रमुख डङ्गोलले बताइन् । अनुगमन समितिको संयोजक रहनुभएका उपप्रमुख डङ्गोलका अनुसार स्वास्थ्य क्षेत्र नागरिकको धेरै गुनासा रहेकाले सूचक नै तयार गरी अनुगमन गर्न लागिएको हो । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रका सम्भावित समस्या व्यवस्थापन गर्न यसअघि जारी गरिएका ऐन, नियमावली, विनियमावली, कार्यविधि र मापदण्डका आधारमा अनुगमन गर्ने बताए । विभागले आधुनिक, प्राकृतिक, आयुर्वेद, होमियोप्याथिक चिकित्सासम्बन्धी स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक र अस्पतालहरूबाट प्रदान गरिने सेवा, सेवाको गुणस्तर, सेवा सञ्चालन गर्ने पूर्वाधार जस्ता क्षेत्रको अनुगमन गर्नेछ । पाँचदेखि २५ शय्यासम्मका स्वास्थ्य सेवा प्रदायक अस्पताल कामपाको अनुगमन क्षेत्रभित्र पर्छन् । हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ सय औषधि पसल सञ्चालन छन् । सञ्चालित धेरै औषधि पसल कानूनविपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याइने बताए । ‘अधिकांश फार्मेसी सञ्चालकले सम्बन्धित विषय नपढेको र अरुको शैक्षिक प्रमाणपत्र प्रयोग गरेर औषधि बिक्री वितरण गर्दा अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने गर्दा थप समस्या परेको छ,’ उनले भने । उनका अनुसार कामपा क्षेत्रमा औषधि पसल सञ्चालन गर्न कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानूनी मान्यता छ र बिरामी आउँदा सामान्यतया बस्ने स्थानको व्यवस्था गरेको हुनुपर्ने जस्ता मान्यता रहेको छ । कामपाले चालु आवमा स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । यसरी गरिने अनुगमन नियमित र आकस्मिक हुनेछन् । रासस

अर्थमन्त्री डा. महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले यस्तो बताएका हुन् । नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठुलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेका हुन् । बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवं नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए । उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरे । खासगरी विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवं उपकरण पर्याप्त नहुने यथार्थ इङ्गित गर्दै अर्थमन्त्री डा. महतले सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको तथ्य औँल्याए । कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा समेत उनले जोड दिए । एआईआएबीको आठौँ वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सृजित समस्या सम्बोधनको उच्च आकाङ्क्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्ट वक्ताको रूपमा सहभागी भए ।

मिर्गौला प्रत्यारोपण : सुमेरुले गर्यो पहिलो ‘स्वाप पेयर एक्सचेन्ज’

काठमाडौं । ललितपुर धापाखेल स्थित सुमेरु अस्पतालले आफ्नै परिवार भन्दा बाहिरका सदस्यबीचको मृगौला साटफेर गरेर गरिने प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालले गत बुधबार मृगौला रोग लागेर प्रत्यारोपण गर्न पर्ने अवस्थामा पुगेका दुई बिमारीका परिवारका सदस्यबीचमा मिर्गौला साटासाट गरेर प्रत्यारोपण गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको हो । नेपालमा वर्षेनी मिगौैला रोगीको संख्या बढ्दै गएको छ । तथ्यांकअनुसार औसत कुल जनसंख्याको १० प्रतिशत मानिसहरुमा मिर्गौला रोग सम्बन्धी समस्या देखिने गरेको छ भने त्यसमध्ये तीनहजार मानिसको मिर्गौला प्रत्येक वर्ष काम नलाग्ने वा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको हुन्छ । मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन, २०५५ को व्यवस्था अनुसार पछिल्लो समयमा नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने अस्प्तालहरुले बिमारीहरुको परिवारबीचमा मिर्गौला साटफेर गरेर पनि प्रत्यारोपण गर्ने अभ्यास गर्दै आएका छन् । सोही अनुसार सुमेरु अस्पतालले पनि बिमारीका दुई परिवारका सदस्यबाट मिर्गौला साटफेर गरेर प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको अस्पतालका मिर्गौला ट्रान्सप्लान्ट तथा वरिष्ठ युरोलोजिष्ट डा. विजयमानसिंह कटवालले बताए । डा. कटवालका अनुसार सो प्रत्यारोपण नेवार समुदाय र लिम्बु समुदायको परिवारबीचमा भएको हो । आफ्नै परिवारका सदस्यबीचमा मिर्गौला साटफेर गर्न रगतको समूहमा देखिने समस्यालाई अन्तर बिमारीको परिवारका सदस्यबाट पूर्ति हुन सक्ने उनको भनाइ थियो । मृगौला ट्रान्सप्लान्ट सर्जन तथा बरिष्ट युरोलोजिष्ट डा. कटवालको नेतृत्वमा सिनियर सर्जन डा. डिभि कार्की, डा. किरणप्रसाद श्रेष्ठ, डा. जियाउल हक, नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललितकुमार यादव र डा. सुमित आचार्य, डा. महालक्ष्मी देउजा, डा. एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतको टिम उक्त प्रत्यारोपणमा सहभागी भएको अस्पतालले जनाएको छ । डा. कटवालका अनुसार एकैपटक ४ जनाको अप्रेसन गर्नुपर्ने सो प्रत्यारोपणमा २८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । अहिलेसम्म १९ वटा मिर्गौला प्रत्यारोपण गरेको सुमेरु अस्पतालको यो महत्वपूर्ण सफलता रहेको उनको भनाइ थियो ।  दाताको अभावमा अधिकांश मिर्गौला सम्बन्धी रोगीहरु प्रत्यारोपणबाट बञ्चित हुँदै आएका छन् । तर, बिमारीका परिवारबीचमा सहमति हुन सकेमा दुई बिमारीका परिवारका सदस्यले पनि साटफेर गरेर प्रत्यारोपण गर्न सकिने कानूनी व्यवस्थाले केही सहज बनाएको चिकित्सकको भनाइ छ । सुमेरु अस्पतालमा साढे १० लाग्छ प्रत्यारोपण खर्च सुमेरु अस्पतालमा अघिल्लो अनुसन्धान प्रकृया बाहेक साढे १० लाख रुपैयाँ खर्चमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । डा. कटवालका अनुसार सम्पूर्ण औषधी सहित, अप्रेसन शुल्क र ७ दिनको अस्पताल बेड चार्ज सहित सम्पूर्ण प्याकेज खर्च सोही शुल्कमा समावेश हुन्छ ।

एमाले निकट व्यवसायीलाई पौडलले भने : हाम्रो पूर्ण साथ रहन्छ, सडक आन्दोलन गर्नुस्

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि सरकारलाई दवाव दिन आवश्यक रहेको बताएका छन् । यसको लागि उनले एमाले निकट व्यवसायीलाई सरकालार्य ध्यानाकर्षणभन्दा पनि सडकमा उत्रिएर दबाव दिन आग्रह गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अब ध्यानाकर्षणभन्दा पनि सडकमा उत्रिएर दबाव दिन आवश्यक छ, त्यसमा हाम्रो पूर्ण साथ रहन्छ, तपाईंहरु संगठित भएर मात्रै अगाडि बढ्नुस्,’ पूर्व अर्थमन्त्री पौडेलले भने । ‘सेयर बजार एमाले आउँदा हरियो, बाहिरिँदा रातो किन हुन्छ ?’ थप बोल्दै उनले भने- ‘एमालेले समस्यालाई पहिचान गरेर समाधान गर्छ । त्यस कारण हामी आउँदा उत्साह हुन्छ र बाहिरिँदा निरासा हुन्छ, त्यसकारण सेयर बजार रातो हुन्छ ।’ समस्याहरुलाई प्राथकिताका आधारमा निर्धारण गरेर सम्बन्धित निकायमा राख्न उनले व्यवसायीलाई आग्रह गरेका छन् । ‘म अर्थमन्त्री हुँदा अर्थतन्त्रका सूचकहरु सकारात्मक थिए, तर, अहिले नकारात्मक छ, यो सरकारको नेतृत्वमा अर्थतन्त्र सुधार हुन सक्दैन, अर्थतन्त्र सुधारका लागि यो सरकारले कुनै पनि व्यवहारिक तथा नीतिगत व्यवस्था गर्न सक्दैन,’ दावी गर्दै उनले भने ।

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाईल एप

काठमाडौं । नेशनल लाईफले स्मार्ट मोबाईल एपको शुरुवात गरेको छ । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता, ग्राहक हरुलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोबाईल एपको शुरुवात गरेको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरे । मोवाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले शुरु गरेको यस स्मार्ट मोवाईल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्वन्धि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्ने भएकोले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरे । यसै गरी प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोवाईल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए । स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउदै यस एपबाट अभिकर्ताले आफ्नो लगायत संजालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्वन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराए । यसै गरी कम्पनीका बीमितहरुले एप मार्फत बीमाशुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र एप मार्फत नै नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्व साधारणहरुले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरु प्राप्त गर्ने लगायतका धेरै विशेषताहरु एपमा रहेको जानकारी गराएका थिए ।

अर्थतन्त्रको दोष गभर्नरमाथि थुपार्नु हुँदैन, कान समातेर काम लगाउन सक्नुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्रको दोष गभर्नरमाथि थुपार्न नहुने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रको दोष गभर्नरमाथि थुपार्नु हुँदैन, कान समातेर काम लगाउन सक्नुपर्छ,’ उनले भने । भुक्तानी नपाएका निर्माण व्यवसायीले सक्दो छिटो पाउनु पर्ने उनको सुझाव छ । सेयर कर्जामा सीमा तोक्न नहुने बताउँदै उनले बजारको जोखिमभारलाई समेत घटाउनु पर्ने बताए । ‘कर्जा बढिरहेको छ, रोजगारी सिर्जना र अर्थतन्त्रमा सुधार भइरहेको छैन, अब कागजी डाटामा रमाउनु हुँदैन,’ उनले भने- ‘अर्थमन्त्रीले/ गभर्नरले मान्यो भने अर्थतन्त्र सुधार हुन्छ भनिरहनु भएको छ, यो कस्तो तरिका हो ? अरुलाई जिम्मेवारी दिने प्रवृत्ति अन्त्य गर्नु पर्छ, गभर्नरलाई दोष लगाएर हुँदैन ।’ ‘१० प्रतिशत काम गभर्नरले गर्न सक्छ, नेतृत्व गर्ने सरकारले हो। गभर्नरलाई त कान समातेर यस्तो गर भन्न सकिन्छ, व्यवसायीहरु पनि अरुलाई दोष लगाउन पल्केका छन्,’ उनले थपे । उनले अर्थतन्त्र कसरी कमजोरी भइरहेको छ भन्ने समस्याको पहिचान गर्नुपर्ने बताए ।

अर्थतन्त्रसुदृढ बनाउन सरोकारवाला गम्भीर र जिम्मेवार हुनुपर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारी र सिबिफिनवीच छलफल भएको छ ।  समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा मंगलबार छलफल गरेको हाे । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरु अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायहरुका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको थियो । उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले नेपाल राष्ट्र बैंकमार्फत हालै मात्र जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनिय सुधार भएको भएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फिति जस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरज्यूको ध्यानाकर्षण गराएका छन् । वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरुले गतिशिलता प्राप्त गर्ने विषयमा जोड दिँदै, अध्यक्ष गोल्यानले बाफियाको व्यवस्था बमोजिम संस्थापक शेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरेका छन् । त्यसैगरी अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक बहुपयोगी अध्ययनमूलक पुस्तक गभर्नर लाई हस्तान्तरण पनि गरेका छन । विगतमा छिमेकी राष्ट्रहरुको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै, समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेश गरेका सुझावहरुको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सो अनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरेका छन् । त्यसैक्रममा गभर्नरले बाह्य परिसूचकहरुमा संतोषजनक सुधार देखिदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्ककनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरु अपनाउँदै जाने बताए। राष्ट्र बैंकप्रति सबैं क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै, गभर्नर अधिकारीले तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशिल बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गंभीर र जिम्मवार हुन आवश्यक रहेको औल्याउएका छन् । राष्ट्रिय एवं अन्तराष्ट्रय रुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै, त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले बताए ।

काठमाडौं महानगर र आन्दोलनरत ईः का प्रतिनिधिबीच वार्ता सुरु

तस्वीरः सरोज गौतम काठमाडौं । आन्दोलनरत ई: का प्रतिनिधि र काठमाडौं महानगरका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । उक्त वार्ता काठमाडौं महागनरको कार्यालयमा भइरहेको छ । फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । उनले गत सातादेखि नै उक्त शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।