एनआरएनएको अध्यक्षमा थापाको उम्मेदवारी घोषणा, खाडीमा काम गर्नेदेखि सबैको प्रतिनिधित्व गर्ने
कठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी)अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । उनले बिहीबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् । दशौँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तीनै जना उम्मेदवारले पालैपालो अध्यक्षकारूपमा काम गर्ने सहमति भएको थियो । उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनए ग्लोबल फण्डको महत्त्वाकांक्षी कार्यक्रम घोषणा गरेकी छिन् । “म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ”, अध्यक्ष थापाले भनिन्, “जुन नेपाल र नेपालीको समृद्धिका लागि सारथि मात्र होइन, सङ्कट पर्दाको सञ्जीवनीसमेत हुनेछ ।” एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष सङ्घको सबैभन्दा ठूलो कोष हुने उनले बताइन् । एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाकारूपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर एक कार्यकाल काम गर्न चाहेको उनको भनाइ थियो । अध्यक्ष थापाले भनिन्, “मैले छ महिना कार्यकारी अध्यक्षकारूपमा काम गर्दा उल्लेखनीय काम गरेको छु, एक कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा सङ्घलाई जीवन्त र गतिशील ढङ्गले अघि बढाउने र विदेशमा बस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण बनाउने छु ।” आफ्नो कार्यकालमा महत्त्वपूर्ण उपलब्धि भएको, गैरआवासीय नेपाली नागरिकताका लागि संसद् र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक जितेको, सङ्घको काठमाडौँस्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्टदेखि घेरा पर्खालसम्म) अपाङ्गमैत्री बनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण सुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सुरु गरिएको (तीन प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा), विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४सै घण्टा खुला रहने हटलाइन सेवा सुरु गरिएको, सङ्घको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको उनले जानकारी गराईन् । सङ्घको अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिँदै अध्यक्ष थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दाबी गरिन् । उनले निर्वाचनलाई भड्किलो बनाउन नहुनेमा जोड दिँदै आफू महाधिवेशन प्रतिनिधिले मात्र नभई एनआरएनएका प्रत्येक पञ्जिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको कुरा दोहोर्याइन् । “यो विदेशमा रहेका नेपालीको हकहित र समस्यामा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो”, अध्यक्ष थापाले भनिन्, “यो न त कुनै राजनीतिक भ्रातृ सङ्गठन हो न त कुनै व्यापारिक या व्यावसायिक संस्था नै हो । विदेशमा बस्ने नेपाली सबैको अवस्था एउटै नभएको उल्लेख गर्दै खाडीमा काम गर्ने श्रमिक दाजुभाइदेखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत उच्च बनाएका सबैको भावनाको प्रतिनिधित्व हुने नेतृत्वमा उनले जोड दिइन् । साथै विधान विपरीत प्यानल बनाएर निर्वाचनमा जाँदा सङ्घमा मनमुटाव बढेको उल्लेख गर्दै उनले ११औँ महाधिवेशनमा प्यानल पूर्णरूपमा निषेध गरिनुपर्नेमा जोड दिइन् । चरम गुटबन्दी, राजनीतिक चलखेल, विवाद र व्यापारीकरणले सङ्घको गरिमा घटेको र गलत सन्देश गएको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठी सक्षम, सबल गतिशील र संयोजनकारी नेतृत्व चयन गर्न एनआरएनएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गरिन् । उनले सो अवसरमा २५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सङ्घको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख गरिन् । स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन सञ्चार, कृषि ऊर्जालगायतका विभिन्न क्षेत्रमा उहाँको योजना र अवधारणा घोषणापत्रमा समेटिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाई वंशजकै नागरिकताको निरन्तरतादेखि श्रम स्वीकृति लिएर गएका श्रमिक सरकार सरकार (जिटुजी)बाट जाने नेपाली र विद्यार्थी अनुमतिमा गएका विद्यार्थीहरूलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने बताइन् ।
चिरख्वा हाइड्रोले असोज २३ गतेदेखि आईपीओ बिक्री गर्ने, १ लाख कित्ता खरिद गर्न मिल्ने
काठमाडौं । चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको थियो । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८० हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली, २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा स्थानीयले आवेदन नदिएको १ लाख ९५ हजार ३ सय कित्तासहित ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओमा छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
१३ अर्ब १० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । असोज १४ गतेका दिन बोलकबोल हुने ऋणपत्र असोज १५ गते निष्काशन गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्रम कार्यालयमा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता लेखिएका बोर्ड नै गायब
काठमाडौं । साढे दुई वर्षअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका कर्मचारीलाई भ्रष्टाचार विरोधी बनाउन भन्दै एउटा विशेष अभियान ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले सो अभियान ल्याएका थिए । अभियानअन्तर्गत प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नुअघि हरेक कर्मचारीले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउनुपर्ने थियो । त्यसका लागि प्रधानमन्त्री कार्यालयले मुख्य प्रवेशद्वारामा नै एउटा बोर्डमा केही सन्देश लेखेर टाँस्यो । हरेक कर्मचारीले त्यो बोर्डमा टाँसेको कुरालाई पढेर मनन गर्दै भित्र पस्नुपर्ने नियम लगाइयो । बोर्डमा लेखिएको थियो–‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार गर्न दिन्नँ र म कहिल्यै पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ केही समय प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए पनि मुलुकमा भ्रष्टाचारको पारोमा भने कमी आएन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारीहरू रंगेतहात पक्राउ गर्ने क्रममा पनि कमी नआएको प्रधानमन्त्री कार्यालयकै कर्मचारीहरूको भनाइ छ । प्रधानमन्त्री कार्यालयका त्यतिखेरका एक सहसचिवले शुरूका केही समय सो अभियान प्रभावकारी भए पनि पछि तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीले अभियान सफल बनाउने कार्यमा खासै ध्यान नदिएपछि अभियान असफल भएको बताए । लोकदर्शन रेग्मीपछि आएका मुख्य सचिव शंकरदास वैरागीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिन नसकेको प्रधानमन्त्री कार्यालयकै अर्का एक अधिकृतले बताए । उनले भने– ‘अन्य निकायका कर्मचारीलाई पनि भ्रष्टाचार नगर्ने सन्देश दिने उद्देश्यका साथ सो अभियान ल्याइएको थियो तर मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिवहरूले अभियानमा ध्यान नदिँदा असफल हुन पुग्यो ।’ उनका अनुसार प्रधानमन्त्री कार्यालयको मूल ढोकामा केही समय टाँसिएको भ्रष्टाचार गर्न नहुने व्यहोराको सो सन्देश सहितको बोर्ड पछि प्रधानमन्त्री कार्यालय पुरानै ठाउँमा सरेपछि गायव पारिएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
आईक्यापिटलले १० वर्ष पूरा गरेको अवसरमा १० जना दृष्टिविहीन विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं । आईक्यापिटल प्रालिले स्थापनाको १०औं वर्ष पूरा गरेको छ । आईक्यापिटल व्यक्तिगत लगानीबाट संस्थागत लगानीमा रुपान्तरण हुने र पूर्णरुपमा ‘भ्याल्यू इन्भेष्टिङ’ को सिद्धान्तमा प्रतिबद्ध हुने उद्देश्यसहित सन् २०१३ मा स्थापना भएको हो । यो कम्पनीको लगानी भेन्चर, रियल इस्टेट र सेयर बजार गरी ३ मुख्य सम्पति वर्गहरुमा केन्द्रित रहेको छ । स्थापनायता १० वर्षको अवधिमा आईक्यापिटलले २४ वटा कम्पनीमा लगानी गरेको छ । हाल यसको व्यवस्थापनमा २ अर्ब २५ करोड रुपैयाँको सम्पति रहेको छ भने १० वर्षको कम्पाउण्ड वार्षिक वृद्धिदर (सीएजीआर) १६ प्रतिशत रहेको छ । विगत वर्षहरुमा जस्तै आईक्यापिटलले आफ्नो १०औं वार्षिकोत्सव परोपकारी काम गरेर मनाएको छ । स्थापनाको १० वर्ष पूरा भएको अवसरमा कम्पनीले आईक्यापिटल फाउण्डेसमार्फत त्रिनेत्र फाण्डेसनका १० जना दृष्टिविहीन विद्यार्थीहरुलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ । सन् २००९ मा स्थापना भएको त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन, अनाथ र शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि छात्रावास र आर्थिक अभाव भोगिरहेका बालबालिकाहरुका लागि पठनपाठनमा सहयोग प्रदान गर्दै आएको छ ।
२ दिनमा १७ हजारले गरे फर्निचर एक्स्पो अवलोकन
‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको चाप देखिएको छ । इन्द्रजात्राको अवसरमा भएको विदाका कारण एक्स्पोको दोस्रो दिन बिहीबार अवलोकनकर्ताको चाप देखिएको हो । एक्स्पोमा सञ्चालित खुल्ला बजारमा पनि उपभोक्ताको चहलपहल बाक्लो छ । बिहीबार साँझसम्ममा १७ हजारले एक्स्पोको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । फर्नेक्स २०२३ को आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव एवं एक्स्पोका प्रवक्ता सञ्जय लामाका अनुसार बिहीबार मात्र १० हजारभन्दा धेरैले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पो सुरु भएको दिन बुधबार पनि ७ हजारले अवलोकन गरेका थिए । आगामी आइतबारसम्म चल्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको लामाले जानकारी दिए । एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसैगरी प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् । १०० भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी दिनुका साथै बिक्री बितरण गर्नेछन् । एक्स्पो स्थलमा नै सामान खरिद बिक्री गर्नका लागि खुल्ला बजार समेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ । एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनको विश्वास छ । ग्राहकहरुलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीद्धारा उत्पादित विभिन्न सामाग्रीहरु उपलब्ध गराउन यो एक्स्पो महत्वपुर्ण हुने अपेक्ष गरिएको छ । फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसहरुलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा सहित एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनमा एक्स्पोले महत्वपुर्ण भुमिका खेल्ने आयोजकको विश्वास छ ।
मेडिकल सञ्चालक र डिजेल चोरी गर्ने पक्राउ
काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसन चौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’मार्फत उपचार गराएको प्रहरीको भनाइ छ । त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिब्योटिक्सको माध्यमबाट उपचार गराएको प्रहरीको भनाइ छ । उनीहरु विरुद्ध बिहीबार नै तनहुँ जिल्ला अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरिएको छ । डिजेल चोरी गर्ने दुई जना पक्राउ आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई ररुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए । उनीहरुलाई रोलरबाट ११० लिटर डिजल चोरी गरी बा२०च ७४९ नम्बरको हायलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।
‘तीन तलाक’लाई सम्बन्ध विच्छेद मान्न नसकिने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले मुसलमान समुदायमा प्रचलित तीन तलाकलाई सम्बन्धविच्छेद मान्यता दिन नमिल्ने फैसला गरेको छ । नेपालको प्रचलित कानुनबमोजिमको सम्बन्ध विच्छेदबाहेक अन्य प्रथाजनित व्यवस्थाका आधारमा गरिने सम्बन्ध विच्छेदले महिलामाथि अन्याय हुने अदालतको आशयसहितको फैसलाको पूर्णपाठ आएको छ । इस्लाम समुदायका एक पुरुषले आफूले श्रीमतीलाई तलाक दिइसकेको (सम्बन्धविच्छेद गरिसकेको) भन्दै गरेको अर्को विवाहलाई सर्वोच्च अदालतले कानुनविपरीत ठहर्याएको हो । सर्वोच्चले यस मुद्दामा पुरुषलाई बहुविवाहमा दोषी ठहर गरेको छ । न्यायाधीश टंकबहादुर मोक्तान र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले २६ चैत २०७९ मा गरेको फैसलाको पूर्णपाठमा भारतसहित अन्य छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिनुसार गरेको तलाकलाई कानुनले मान्यता नगरेको अवस्थामा नेपालमा पनि तलाक दिएको आधारमा दोस्रो विवाह गर्न छुट नहुने उल्लेख छ । सर्वोच्चको फैसलामा भनिएको छ, ‘इस्लाम सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदको सम्बन्धमा प्रचलित नेपाल कानुनले मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागू हुने एकीकृत कानुन प्रचलनमा रहेकाले तथा स्वेच्छाचारी प्रकृतिका सम्बन्ध विच्छेदजस्तै तीन तलाकलाई अन्य मुलुकहरूमा कसुरजन्य कार्य बनाइँदै गरेको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिनुसार गरेको तलाक वा सम्बन्ध विच्छेदलाई कानुनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट भएको भन्न मिल्ने देखिँदैन ।’ काठमाडौं महानगरपालिका–१६ मा बस्ने मनौवर हसनविरुद्ध उनकी पत्नी सविया तनविर हसनले दिएको जाहेरीको दुई तहका अदालतबाट फैसला भई आउनेक्रममा भएका त्रुटिहरू सच्याउँदै सर्वोच्च अदालतले कस्तो अवस्थामा सम्बन्धविच्छेद मान्ने र कस्तोलाई बहुविवाह मानिने भन्ने प्रस्ट व्याख्या गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।