विकासन्युज

दुबई पठाइदिन्छु भनि तीन लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनि तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि रु तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि वाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा तीन लाख रुपैयाँ रकम लिई ठगी गरेको आरोपमा आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रासस

उच्च अदालतले भन्यो : अरनिको बसपार्क नभत्काउनु

काठमाडौं । उच्च अदालत पाटनले अरनिको बसपार्क नभत्काउन आदेश दिएको छ । अदालतले काठमाडौंको महानगरपालिका-३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालिन आदेश दिएको हो । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन भनेको हो । ‘‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु’ सुनुवाइमा भनिएको छ । त्यस्तै, अदालतले दुवै पक्षलाई छलफलका लागि असोज १४ गते बोलाएको छ ।

वृज ग्लास उद्योग : दैनिक १२ हजार वर्गफिट सिसा उत्पादनको क्षमता

काठमाडौं । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा रहँदै आएको छ । सन् २०१९ मा स्थापित कम्पनीले गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि कमाउँदै द्रुत रूपमा अगाडि बढ्दै आएको छ । वृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ आज सिङ्गो क्षेत्रकै मानकको रूपमा उभिएको छ । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा टफनेड ग्लास, ल्यामिनेटेड ग्लास, टिनटेड ग्लास, इनसलटेड ग्लास र रिफ्लेक्टिभ ग्लास जस्ता सिसा उपलब्ध गराउँदै कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको छ । वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको कम्पनीको भनाइ छ ।  नेपालमै सबैभन्दा ठूलो दैनिक १२,००० वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता कम्पनीको रहेको छ । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसारका छन् छन् सीई प्रमाणित पनि छन् । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने कम्पनीको भनाइ छ । हालै वृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेशन प्लान्ट थपेको छ, जसले गर्दा यो अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेका जनाएको छ । अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया, र प्रबन्ध निर्देशक सत्यम केडियाको दूरदर्शी नेतृत्वमा वृज सेफ्टी ग्लास उद्योगले व्यापार सफलताका साथै राष्ट्रको विकास प्रतिको आफ्नो प्रतिबद्धतालाई पनि निरन्तरता दिइरहेको कम्पनीले जनाएकाे छ ।

गिट्टी, वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी विधेयक संसदमा दर्ता गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमा संघीय संसदमा दर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको शुक्रवारको बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमै संघीय संसदमा दर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै उखु किसानहरुलाई उपलब्ध गराउनुपर्ने गत आर्थिक वर्ष २०७९/८० को उखु उत्पादन, प्रवद्र्धन खर्च अनुदान रकम हालसम्म उपलब्ध नगराइएकाकाले उक्त अनुदान रकम तत्काल भुक्तानीको लागि आवश्यक व्यवस्था मिलाउन अर्थ मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी गत आर्थिक वर्षमा उत्पादन भएको उखुको विवरणको आधारमा यस आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन भएको अनुदान रकम समेत सम्पूर्ण उखु किसानहरुलाई उपलब्ध गराउन नपुगिने देखिएको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट प्रश्ताव भए बमोजिमको रकमको सुनिश्चितता गराइदिनका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले दिएको निर्देशनबारे जानकारी दिँदै सभापति अब्दुल खानले भने, ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमै संघीय संसदमा दर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने । गत आर्थिक वर्षमा उत्पादन भएको उखुको विवरणको आधारमा यस आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन भएको अनुदान रकम समेत सम्पूर्ण उखु किसानहरुलाई उपलब्ध गराउन पुगिने नदेखिएकोले कृषि तथा पशुपन्छि विकास मन्त्रालयबाट प्रस्ताव भए बमोजिमको रकमको सुनिश्चितता गराइदिनका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिने हामीले यि निर्देशनहरु दिएका छौँ ।’ समितिले चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान र सुझाव उपसमितिको म्याद पौष मसान्त सम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ ।

विद्यार्थीले गरे नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण

भक्तपुर । भक्तपुरको बागीश्वरी कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले शुक्रबार जिल्लाकै एउटा निर्माण कम्पनीको अवलोकन भ्रमण गरेका छन् । कलेजका वीवीए दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण गरेका हुन् । भ्रमणमा २२ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई व्यवसायिक अवसर तथा चुनौतीको विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको कलेजले जनाएको छ । विद्यार्थीलाई इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले स्लाइट प्रिजेन्टेशन गरी इको प्यानलका विविध पक्षकाबारेमा जानकारी गराएका थिए । साथै इको प्यानलका व्यवस्थापक विक्रम गोसाईले पनि इको प्यानलका अनेक विषेशताहरुबार चर्चा गरे । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, अग्निप्रतिरोधी, तीव्र निर्माण सम्भब हुनुलगायतका कारण पछिल्ला वर्षहरुमा यसको माग वढ्दो छ ।

बागलुङमा दोवाको निउरो बेचेर लाखौँ आम्दानी, माग धान्नै गाह्रो

बागलुङ । निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ । बागलुङ बजारका तरकारी व्यापारी शंकर रेग्मीले लेकाली निउरोको व्यापार ३ वर्षदेखि गर्न थालेको बताए । सिजनमा उनले लाखौँको निउरोको कारोबार गर्दै आएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जंगलमा पाइने निउरो म्याग्दी सदरमुकाम बेनीबजार पुगेर निउरो संकलनकर्ताबाट खरिद गरी बागलुङ ल्याउने गरेको उनले बताए । उनका अनुसार जिल्लाका जंगलमा निउरो उत्पादन खासै नभएकाले यहाँ निउरोको माग उच्च हुने गर्दछ । जिल्लामा दोवको निउरोको उच्च माग भएकाले निउरोको व्यापार गर्न थालेको रेग्मीको भनाइ थियो । निउरोको सिजन भएकाले अहिले अन्य तरकारीभन्दा व्यापार बढी हुने गरेको उनले बताए। ‘अघिल्लो दिनमा दोवाको जंगलमा निउरो संकलन हुन्छ, त्यही मुठा पारिन्छ, भोलिपल्ट बिहानमात्रै बेनीबजार आउँछ, बेनीबाट सोझै बागलुङ ल्याउने व्यवस्था म आफैँ गर्दछु’, रेग्मीले भने, ‘यो सिजनको व्यापार हो, साविक धवलागिरिका अन्य जिल्लामा भन्दा बागलुङमा नै बढी निउरो खपत हुने गरेको छ । अहिले चितवनलगायतका जिल्लाबाट समेत बागलुङमा निउरो आयात भइरहेको छ । तर लेकाली निउरो निकै स्वादिष्ट भएकाले दोवाको निउरोको माग उच्च छ ।’ रेग्मीले होलसेल मूल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निउरो बिक्री गर्दै आएका छन् । अहिले दोवाको निउरो होलसेल प्रतिमुठा ६५ र खुद्रा प्रतिमुठा ८० मा बिक्री हुँदै आएको उनले बताए । दोवाको निउरो बिहानै तरकारी पसलमा खरिद गर्न नगए नपाइने अवस्था सिर्जना भएको रेग्मीको भनाइ थियो । ३ वर्षयता निउरो खरिद गरेर त्यहाँका संलकलाई ८ लाख रकम भुक्तानी गरिसकेको उनले जानकारी दिए । रेग्मीले अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँका स्थानीय मायाकुमारी पुन र शर्मिला पुर्जासहित स्थानीय महिलाद्वारा संकलित निउरोको बजारीकरण गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका मायाकुमारी पुनले जंगलमा पाइने निउरो संकलन गरेर जीविकोपार्जन गर्दै आएको बताइन् । ‘म्याग्दीका धेरै स्थानमा निउरो पाइने भएकाले बेनीबजारमा निउरोको माग छैन । अहिले बागलुङ बजारमा माग उच्च छ’, उनले भनिन्, ‘सिजनको व्यापार हो, निउरो संकलन गर्न जंगलमा जानु कष्टकर नै छ, तर यहाँका महिलालाई परिवार पाल्न सहज भएको छ, निउरोको व्यापारले आयआर्जनमा सघाएको छ ।’ दोवाको निउरो अन्य स्थानको भन्दा स्वादिष्ट भएकाले बागलुङमा माग बढी भएको भन्दै पुनले म्याग्दीमा बिक्री नगरी बागलुङ पठाउने गरेको बताइन् । अन्नपूर्ण–१ का निउरो संकलनकर्ता शर्मिला पुर्जाले दोवाको निउरोको माग धान्न गाह्रो भएको बताइन् । ‘म्याग्दीमा निउरोको माग कम छ, बागलुङमा राम्रो मूल्य पाइन्छ, होलसेलमै प्रतिमुठा ६० सम्ममा बिक्री हुन्छ’, उनले भनिन्, ‘दिनभरि जंगलमा टिपेको निउरो मुठा पारेर भोलिपल्ट मात्रै बेनीबजार पठाउने र बेनीबाट सोझै बागलुङ बजार पठाउँदै आएका छौँ । निउरो टिप्न जङ्गल प्रयोग गरेवापत केही राजस्व वन उपभोक्ता समितिलाई तिर्नेछौँ ।’ एउटा मुठामा १० देखि १५ नाफामा उपभोक्तालाई बिक्री गरिरहेको पुर्जाको भनाइ थियो । निउरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मी बताउँछन् । वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादीको प्रयोग भएको हुँदैन । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’लगायतका पोषकतत्व पाइन्छ । रासस

सीजीनेटले सार्वजनिक गर्यो ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन, क्याशब्याक पाइने

काठमाडौं । सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ । नजिकिदो महान चाड दशैँ र क्रिकेट विश्वकप लाई दृष्टिगत गर्दैै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनिय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ । सीजी डिजिटल र सीजीनेट विचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै ३२,८५९ रुपैयाँ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेट+आईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन् । यो वास्तविक मूल्यको आधा हो । त्यसैगरी ३२ ईञ्चको सीजी स्मार्ट टीभी, २२६४४ रुपैयाँमा खरिद गर्दा ३ महिनाका लागि सीजीनेट+ आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको ईन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन् । साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरु खरिद गर्दा ५ सय रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । सीजीनेटले भरखरै आफ्ना सेवाहरु पोखरा, बिराटनगर, ईटहरी, धरान र बीरगंज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ । कम्पनीका सेवाको उपभोक हेटौडा, बुटवल, भैरहवा, भरतपूर, सिमरा, बर्दिघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ । उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरुमा आईपीटीभीपनि समावेश गर्दै सर्वसाधारणका साथै विजनेसहरुलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ ।

बीवाइडीको ब्लेड ब्याट्री टेष्ट कार्यक्रम सम्पन्न, एनसीएम ब्याट्री भन्दा सुरक्षीत

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्री र एनसीएम ब्याट्री दुबैको ‘नेल पेनीट्रेसन टेष्ट’ गरेको छ । आज काठमाडौंमा भएको उक्त परिक्षणमा रियोले दुबै ब्याट्रीलाई प्वाल पारिएको थियो । यसरी प्वालपार्दा ब्लेड ब्याट्रीले कुनै किसिमको आवाज आउने, धुँवा निस्कने वा आगोलागी हुने कुनै घटना भएन । त्यहि एनसीएम ब्याट्री भने पड्केर ठूलो आवाजसहित आगलागी भएको थियो । ‘नेल पेनीट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परिक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परिक्षण गरिएको थियो । यसरी प्वाल पर्दा बीवाइडीको ब्लेड व्याट्री ६० डिग्रीसम्म तातेको थियो । त्यहि एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको थियो । कम्पनीले बिक्री गर्ने सबै गाडीमा ब्लेड ब्याट्री प्रयोग भएको बताउँदै साइमेक्स इंकको सीईओ सहिल श्रेष्ठले भने, ‘सुरक्षामा अब्बल ब्लेड ब्याट्री रहेका सबै गाडी हामीले उपलब्ध गराएका छौं । प्रोडक्ट रेन्जसँग बीवाइडीको ब्लेड ब्याट्रीको सुरक्षामा एकिन गराउन यो परिक्षण गरेका हौं ।’ बीवाइडी हेडक्वाटरको सहयोग र बीवाइडी भारत टेक्नीकल सपोर्टमा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए ।