मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन
मोरङ्ग । मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन गरिएको छ । नबिल बैंकको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ । गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा अथितिहरु पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थितीे रहेको थियो । नबिल बैंकका संचालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । मन्तब्य दिने क्रममा प्रमुख अतिथी कोईरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पुर्वाञ्चल विश्वविद्यालय केन्दीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानिय वासी समेत लाभान्वित हुने कुरा बताए । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
५ अर्ब ४७ करोड लागतमा सोलुखुम्बुमा मिडल इन्खु हाइड्रोपावर निर्माण हुने
काठमाडौं । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको सोलुखुम्बुमा थप एक आयोजना निर्माण हुने भएको छ । करिब २८ मेगावाट (२७ दशमलव नौ) मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनबाट प्राप्त विवरण सार्वजनिक गर्दैै वन तथा वातावरण मन्त्रालय र सम्बन्धित आयोजनाले त्यसमा सुझाव दिन आज एक सूचनामार्फत आग्रह गरेको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्य दूधकोशी गाउँपालिका–७ मा अवस्थित रहेको सो आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको छ । यस जलविद्युत् आयोजनाको ग्रस हेड चार सय २३ मिटर छ । सो आयोजनाको वार्षिक ऊर्जा उत्पादन एक सय ६४ गिगावाट घण्टा छ । प्रस्तावित आयोजनाको हेडवक्र्स, इन्टेक एप्रोच क्यानल, डिसेन्डर इन्खु खोलाको दायाँ किनारमा प्रस्ताव गरिएको छ । बाँकी हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस, स्वीचयार्ड, टर्बाइन इन्खु खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको २५ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय तिङ्ला सवस्टेशनमा जोडिनेछ । आयोजनाको कूल लागत पाँच अर्ब ४७ करोड ९८ लाख २३ हजार बराबर रहने प्रस्ताव गरिएको छ । यस आधारमा आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ३५ लाख ५० हजार बराबर रहनेछ । आयोजनाको निर्माण चरणमा प्रत्यक्षरुपमा तीन सय ३७ जनाले रोजगारी प्राप्त गर्नेछन् । त्यसमा ४८ जना दक्ष, ५० जना अर्धदक्ष र कामदार र श्रमिक भने दुई सय ३९ जना रहने छन् । दक्षता र क्षमताअनुसार आयोजना प्रभावितलाई आयोजनामा रोजगारी प्रदान गरिनेछ । आयोजनाका विभिन्न संरचनाको निर्माणका लागि १७ दशमलव ४१ हेक्टर जग्गा आवश्यक पर्नेछ । त्यसमा १ दशमलव ४१ हेक्टर स्थायीरूपमा र छ हेक्टर अस्थायीरूपमा प्रयोग गरिनेछ । निर्माण सामग्री जस्तै तेल, मोबिल, ग्रिज, इन्धन तथा अन्य तरल पदार्थको चुहावट, ध्वनि प्रदूषण, जमीनको अस्थिरता र माटोको क्षयीकरण, प्राकृतिक जल बहावमार्गमा परिवर्तन, आयोजनाको संरचनाले भूवनोटमा परिवर्तन, ढुङ्गा खानी सञ्चालन, निर्माण सामग्री थुपार्ने र उत्खनन गर्दा निस्कने माटो तथा ढुङ्गाले पार्ने प्रभावआदि जस्ता प्रभाव निर्माण चरणमा देखिनेछ । यसका साथै सञ्चालन चरणमा खोलाको पानीको बहावमा कमी, खोलाको स्थानीय जलवायुमा प्रभाव, विद्युत् गृहबाट निस्कने ध्वनि, तेल, ग्रिज तथा अन्य रासायनिक पदार्थको चुहावट, पानीको गुणस्तरमा पर्ने प्रभाव, खोला थुनिएर हुनसक्ने असरआदि रहेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । सो आयोजनाको प्रस्तावक विद्युत् विकास विभाग छ । रासस
एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापी सेन्टरमा २५ प्रतिशत छुट
काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा विशेष छुट हुने भएको छ । एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाट बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठद्घारा हस्ताक्षर भएको छ । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा १० प्रतिशत देखी २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।
तोलामा ४ हजारले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा यस साता सुनको मूल्य तीन हजार नौ सय १५ रुपैयाँले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम ९६ हजार एक सय ९५ रुपैयाँ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो । आज प्रति दस ग्राम सुनको मूल्य ९३ हजार दुई सय ८० रुपैयाँमा झरेको छ । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति दस ग्राम तीन हजार नौ सय १५ ले कम हो । नेपाली बजारमा साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन स्थिर रहेको सुनको मूल्य अन्य सबै दिन ओरालो लागेको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन प्रतिदस ग्राम एक हजार दुई सय २६ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिदस ग्राम एक हजार तीन सय ९५ मा झरेको छ । यो साता विश्व बजारमा सुनको मूल्यमा कमी आयो । अमेरिकी बजारमा सुनको बिक्री बढ्नाका साथै अमेरिकी डलर मजबुत बनेकाले मूल्यमा उच्च गिरावट आएको हो । विश्व बजारमा कच्चा तेलको मूल्यमासमेत कमी आएकाले त्यसले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई सुनको मूल्यमा कमी आएको बताइएको छ । अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको असरस्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीले नेपाली बजारमा समेत मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
कुमारी बैंकले एकैपटक संचालनमा ल्यायो ५ वटा शाखा
काठमाडौं । कुमारी बैंकले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला, डल्लु र ललितपुर जिल्लाको भैसेँपाटी, टौखेल समेत गरी ५ स्थानमा शुक्रबारबाट शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको बैंकले जनाएको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३०९ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य क्षेत्रको मुख्य समस्या : जनसंख्याको अनुपातमा दरबन्दीकाे अभाव
काठमाडौं । पछिल्लो समय देशका केही अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि बिरामी आफन्तहरुले कुटपिट तथा दुव्र्यवहारका घट्ना घटाइरहेका छन् । साेही विषयलाई लिएर चिकित्सकहरुले ओपिडी सेवा प्रभावित हुनेगरी राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । चिकित्सकहरुकै आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले शुक्रबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्याे। वैठकमा आन्दोलनकारी चिकित्सकदेखि सांसद र मन्त्रीहरुले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या जनसंख्याको अनुपातमा चिकित्सकको व्यवस्था नभएकै कारणले भएकाे बताएका छन् । वैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या दरबन्दीको व्यवस्थापन नगरी गर्न नसकिने बताए । उनले अहिलेकै दरबन्दी कायम राखेर देखिएका समस्या समाधान गर्न नसकिने समेत धारणा व्यक्त गरेका छन् । ‘दरबन्दी यही राखेर हामीले जे नीति, कानून बनाएपनि (चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई ईंगित गर्दै) हामीले यस्ता समस्या समाधान गर्न सक्दैनौं’, मन्त्री बस्नेतले भने । साथै उनले सरकारी बजेटबाट अस्पतालहरुमा दरबन्दी थप्ने कार्य गरेमा आफूले दातृ निकायहरुसँग सहयोग जुटाएर समेत प्रविधिको व्यवस्थापन गर्ने बताएका थिए । उनले अहिले तत्काल २९ हजार नर्सिङ कर्मचारीको आवश्यकता भएको समेत बताएका थिए । मन्त्री बस्नेतका अनुसार भएको चिकित्सकहरुको दरबन्दीमा पनि पहुँचको आधारमा धेरै चिकित्सकहरु राजधानी बस्ने र ग्रामिण क्षेत्रमा नजाने समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो आंकडाअनुसार अहिले आठ सय जना भन्दा धेरै डाक्टरहरु काजमा रहेर काम गरिरहेका छन् । तर, चिकित्सकहरुले सिर्जना गरेको विकृतिको विषयमा भने चिकित्सकहरुको आन्दोलनले केही बोल्न खोजेको देखिँदैन । ‘धेरैजना डाक्टरहरु काजमा छन्, ती अधिकांश पहुँचवाला हुन्, २० जना अर्थोपेडिक भए पुग्ने ट्रमा सेन्टरमा ४२ जना अर्थोपेडिक छन्’, मन्त्री बस्नेतले भने, एउटा डाक्टर १६ वर्षदेखि बिमारीको नाममा काठमाडौंमा बसेका छन् ।’ चिकित्सकहरुको काजको विषयमा देखिएको समस्यालाई आफूले पार्टीमा पनि राखेर समाधान गर्नेतर्फ लागेको उनको भनाइ छ । उनले स्वास्थ्य मन्त्रीको तहबाट मात्रै स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान हुने अवस्था नरहेको भन्दै ‘कलेक्टिभ’ प्रयासको आवश्यकता भएको बताएका थिए । डेढलाख जनसंख्या बराबर १ जना चिकित्सक विश्व स्वास्थ्य संगठनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रति एकहजार जनसंख्या बराबर एक जना चिकित्सक हुनुपर्ने मान्यता अगाडि सारेको छ । तर, नेपालमा प्रति डेढ लाख जनसंख्या बराबर एक जना चिकित्सकले काम गर्नुपर्ने अवस्था रहेको शुक्रबार भएको समितिको बैठकमा बोल्ने चिकित्सक र सांसदहरुले बताएका थिए । एक दिनको ओपिडी समयमा ८० जना सम्म बिमारी हेर्नुपर्ने अवस्थाले बिमारी र बिमारीका आफन्तलाई रोगको बारेमा बुझाउन नसकिएको चिकित्सकहरुले गुनासो राखेका थिए । नेपाल आवासी डाक्टर एशोसिएसनका अध्यक्ष डाक्टर कपिल गौतमले नेपालमा चिकित्सकहरुको उत्पादनमा कमि नभएपनि डेढलाख जनसंख्या बराबर एक जना चिकित्सकले उपचार गर्नुपरेको बताए । एकजना आवासीय चिकित्सकले निरन्तर ४० घण्टासम्म ड्युटी गर्नुपरेको अवस्थामा डाक्टरको निद्रा र प्यासलाई कसैले नहेरेको भन्दै पिडा व्यक्त गरेका थिए । साथै उनले १० वर्ष लागेर विशेषज्ञता हासिल गर्दा सरकारले मासिक ४८ हजार तलब दिने गरेको र निजी क्षेत्रमा २० हजारमा काम गर्नुपर्ने अवस्था रहेको बताए । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले पनि स्वास्थ्य क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण भनेको जनशक्तिको अभाव नै मुख्य भएको बताएका थिए । नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्रकान्त भण्डारीले पनि जनशक्तिको समस्या भएपनि दरबन्दी नबढाइएको बताए । उनले आफूहरुले सो विषयमा बारम्बार आवाज उठाइरहेपनि समस्या समाधान नभएको भनाइ राखेका थिए । ‘समस्या जनशक्तिको छ, दरबन्दी बढ्दैन’, उनले भने, ‘हामीले बारम्बार आवाज उठाइरहेका छौं, तर, जनरल एजुकेसन पढेकाको बाहुल्यता भएको प्रशासन भएको हुँदा सम्बोधन हुन सकेको छैन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद सुमना श्रेष्ठले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न छुट्टै समिति बनाएर काम गर्नुपर्ने बताएकी थिइन । उनले अस्पतालमा देखिएका कतिपय समस्यामा अस्पताल प्रशासनको कमजोरी भएपनि डाक्टरलाई मात्रै आरोप आउने गरेको बताएकी थिइन् । गृहसचिव दिनेशकुमार भट्टराईले फस्र्ट ब्रेन भनिएका डाक्टरहरुले आन्दोलनको नाममा कतै आफ्नो जिम्मेवारी भुलिरहेका त छैनन् भनेर डाक्टरहरुलाई घुमाउरो पारामा प्रश्न तेर्साएका थिए । गृहमन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि उचित भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
सरकारले समितिको निर्देशन पालना नगरे हामी बैठक बस्दैनौं : सभापति चालिसे
काठमाडौं । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थसमितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताएका हुन् । सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताउँदै उनले बैठकको भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको बताए । उनले समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको भनाई राखे । भन्सार कार्यालयहरुमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउदाँ भन्सारमा अर्बाैंको सामान थन्किएर बसेको उनको भनाई थियो । ‘ठूलो रकमको विदेशी मदिराहरु वीरगञ्ज भन्सारमा रहेको र आयात गर्ने मानिस सम्र्पक विहीन भएको कुरा आएको छ, सरकारको राजश्व नउठेर समिति राजश्वको कुरामा चिन्तित छौं, भन्सारमा राजश्व उठ्ने कुरामा त्यतिकै थन्किएर बसेका छन्, अर्थमन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारी साधन लगायतका वस्तुहरु भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो, काम भयो भएन भन्नेकुरा छ । यति धेरै राजश्व आउने कुरामा हामी सुतेर बसेको छौं, अहिले भन्सार प्रमुखले फोन गरेर अर्थ समितिलाई बोलाएर अनुगमन गरिदिन माग गर्नुभएको छ । समितिले आजसम्म गरेका समितिका निर्णयहरु ८० प्रतिशत कार्यान्वयन भएका रहेनछन्, ८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गयो । सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक बस्दैनौं,’ उनले भने । उनले भन्सार प्रमुखहरुले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनको लागि आग्रह गरेको बताउँदै भन्सारमा ठूलो रकमको राजश्व गुम्दा समेत सरकार मौन बसेर राजश्वको चिन्ता गर्ने काम मात्रै भएको दावी गरे ।
एनआरएनए ग्लोबलको सचिवमा दयानिधी सापकोटाको उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रिय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लागेका छन् । हाल एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हकहित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकताको लागि सचिव पदमा उम्मेदवारी दिने निधो गरेको जनाए । अहिले एनआरएनए अग्रज र डेलिगेट्ससंग निकट रहेर काम गरिरहेका सापकोटा चुनावी अभियानकै क्रममा बिहीबार बहराइन पुग्ने कार्यक्रम छ । त्यहाँबाट युरोप भ्रमण गरि अक्टोबर पहिलो साता नेपाल पुग्ने योजना सापकोटाले बनाएका छन् । आइसीसी सदस्य हुँदै युरोप उपसँयोजकको जिम्मेवारीबाट खारिइसकेका सालिन र स्पष्ट वक्ता सापकोटाले विश्वभरका मतदाताहरुमा यसपटक पनि साथ सहयोग गर्न अपिल गरेका छन् । को हुन् सापकोटा ? बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका हुन् दयानिधि । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बी।कम। अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगेका हुन् । अध्ययनका क्रममा जर्मनी गएका सापकोटाले त्यहाँ युरोपेली रहन सहन, भाषा, खाना र जीवनशैलीमात्र अनुभव गरेनन्, इटालियन सेफ हुँदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेष्टुरेन्ट खोले । करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ मा बेलायत आइपुगेका थिए । ५ विभिन्न भाषामा दख्खल भएका सापकोटाले यूके लेस्टरमा दुई इटालियन रेष्टुरेन्ट सञ्चालन गरेका छन् । लेस्टर, लन्डन रोडमा सन् २०१३ मा स्थापित ओजीको सफलतापछि उनले गत बर्ष मेल्टन रोड सिस्टन लेस्टरमा बिस्ट्रो ओजी शुरु गरे । बेलायतमा उनी सफल व्यवसायी मात्र होइन, सामाजिक सेवाको क्षेत्रमा पनि अब्बल मानिन्छन् ।