नेपाल ‘बिश्व साँस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै
काठमाडौं । नेपालले अमेरिकाको वाशिंगटन डि.सी. स्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको बिश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु सम्बन्धी प्रस्तुति गर्ने भएको छ । संसारभरका विभिन्न संस्कृतिहरुलाई एकै ठाउंमा ल्याई एकै सुत्रमा बाँध्ने जमर्को आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यातमिक गुरु रविशंकरले गरेका हुन् । हालसम्म पांच लाख भन्दा बढी सहभागीहरुले कार्यक्रममा सरिक भै संसार भर छरिएका सांस्कृतिक विविधताको महत्व माथि एक्यबद्धता जनाएका छन् । उक्त कार्यक्रममा विभिन्न राष्ट्रहरुले आफ्नो देशको भेषभुषा, नृत्य, संगीत तथा परिकारहरुको प्रस्तुति यी तीन दिनमा गर्ने छन् । विश्वभरका १८० राष्ट्रहरुबाट १७ हजार कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत हुँदैछन । /* नेपालले पनि उक्त संस्कृतिक उत्सवमा सहभागिता हुँदैछ र नेपालको विभिन्न समुदायको सात मौलिक नृत्यहरु सोही समुदायको सांस्कृतिक पहिरण पहिरी प्रस्तुती गर्न १३ वर्ष देखि ६० वर्ष सम्मका १५० जना कलाकारहरु पुगिसकेका छन् । यी नृत्यहरुको निर्देशन नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले गरेका छन् । उनले विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण दिंदै आएका थिए । नेपालको ‘बिश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिताले नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने कुरा दया फाउन्डेसनका संस्थापक सदस्य राजेश बहादुर प्रधानले बताए । अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू माझ नेपाली संस्कृतिलाई जोगाउने हेतुले काम गर्दै आएको नेपाल एजुकेशन कल्चरल सेन्टरको नेतृत्व गरिरहेका अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व तथा समन्वयमा अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू यस कार्यक्रममा सहभागीता जनाउँदै छन् । यस वर्ष हुन लागेको ’बिश्व संस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो । सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करण मा पच्चीस लाख सहभागी थिए, त्यसैगरी दोश्रो संस्करण जुन बर्लिनमा सन्न२०११ मा सम्पन्न भएको थियो त्यसमा सत्तरी हजार सहभागी थिए भने तेस्रो सन्सस्करण सन् २०१६ मा दिल्लीमा आयोजित भएको थियो जसमा सैतिस लाख सहभागी थिए ।
कर्मचारीको व्यक्तित्व विकासका लागि सूर्यज्योति लाइफको कर्पाेरेट मिट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको व्यक्तित्व विकासलाई लक्षित गर्दै कर्पाेरेट मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको हो । दुुई दिनको कर्पाेरेट मिटको पहिलो दिनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ बारे जानकारी गराएका थिए । उनले सबै कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली ,ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धि मार्ग निर्देश दिएका थिए । कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बि के रमण नेपालीले सम्पुर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक खेलहरु मार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए । प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचकहरुमा अव्वल हुदै आइरहेको बताउदै कम्पनीको दुरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको बताउँदै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ् परिमार्जित गर्दै लैजाने जानकारी दिएका थिए । कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरुको व्यक्तित्व बिकाश र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सूसाशनमा जोड दिदै जाने बताएका थिए । उनले नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा जोड दिए ।
बुबाले अधियाँ कमाएर हुर्काएका ‘भीम’, क्रिकेट खेलेर नामसँगै बुुबाको ऋण समेत तिरे
महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै छन्। चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ । ‘क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो’, बुबा वीरभानले खुसी व्यक्ति गर्दै भने, ‘खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ ।’ तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उनको भनाइ छ । ‘ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै’, उनले भने, ‘तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा प¥यो ।’ महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन । ‘अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा १५÷२० लाख रुपैयाँ ऋणमा डुबे’, उनले भने, ‘९÷१० लाख रुपैयाँ छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट ति¥यौँ ।’ कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन् । थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राखेका छन्् । ‘क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पु¥यायो’, उनले भने, ‘अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा ।’ कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सन्राइज हायर सेकेण्ड्री स्कुलबाट गरे । ‘सन्राइजबाट भीम क्रिकेटमा राइज भयो’, बुबा वीरभानले भने, ‘स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो ।’ एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् । ‘जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ’, उनले भने, ‘क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो ।’ परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ । ‘ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ’, उनले भने, ‘काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो ।’ भीमले क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउँदले उनले क्रिकेटमा भित्र्याएको वीरभानले बताए । ‘क्रिकेट हेर्न गएकाले बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन’, ्उनले भने, ‘त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलीपल्टैबाट क्रिकेटमा जोडिन थाले ।’ त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । ‘भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो, कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ’, उनले भने । यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । ‘बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो, अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो’, उनले भने । बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ । दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ । ‘सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै, खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन्’, उनले भने । पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ । ‘हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन््’, उनले भने, ‘संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ ।’ रासस
थिति बिग्रिएका सडक (फोटोफिचर)
काठमाडौं । सडककै कारण सधैँ जनताले शास्ती त पाएकै छन् । तर सडककै कारण कहिलेसम्म जनताले मर्नुपर्ने हो ? भन्ने प्रश्न अहिले आम सर्वसाधारण जनताको छ । केन्द्रिय राजधानी काठमाडौंको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो मननयोग्य र विचरणीय छ । काठमाडौं उपत्यकाकै सडक थितिमा छैनन् भने अन्य ठाउँको सडकको स्थिति कस्तो होला ? यो कल्पना गरेमात्रै पनि पुग्छ । काठमाडौंका यी सडकहरु मृत्युमार्ग हुन् भन्दा फरक नपर्ला । यो सडक बिग्रिएको मात्र होइन, यो त सोच र योजना बिग्रिएको जस्तो देखन्छि । पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरु दिनहुँ यात्रा गरिरहेका हुन्छन् । तर सरकार भने यस्ता कुरामा बेखबर छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धी यी तस्बिरहरु ।
शरदयाममा धौलागिरि आरोहण सुुरु, १३ जनाले गरे सफल आरोहण
म्याग्दी । चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए । रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गरिसकेको शेर्पाले बताए । सो टोलीमा रहेका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धौलागिरिको चुुचुरोमा पुुगेका छन् । विभिन्न टे«किङ कम्पनीमार्फत चार समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धौलागिरि हिमाल आरोहणको अनुमति लिएका अरोहीबाट रु २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ । गत वसन्त याममा चार समूहका १२ महिलासहित ३७ जनाले धौलागिरि हिमाल आरोहण गर्दा ८६ लाख २४ हजार तीन सय ३० रुपैयाँ शुल्क सङ्कलन भएको थियो । पर्यटन विभागले शुक्रबार जारी गरेको विवरणअनुसार चालु यामका लागि नेपालका २६ हिमाल आरोहण गर्न ५१ देशका चार सय ३६ जनाले अनुमति लिएका छन् । उनीहरुबाट चार करोड दश लाख १४ हजार सात सय ९७ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । वसन्त याममा नेपालका २८ हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ शुल्क तिरेका विभागले जनाएको छ । शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ । शरद याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २६ समूहका तीन सय एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लु पछि धेरै आरोहणको अनुमति लिएको हिमाल धौलागिरि हो । हिमचुली १४ जना, आमदब्लाम हिमाल १० जना, टुकुचे पिक र बरुण हिमाल आठ÷आठ जना, खयाङ ६छजना, पुथा, कुम्बकर्ण, लिङटे«न, चोयु हिमाल आरोहण गर्न पाँच÷पाँच जनाले अनुमति लिएका छन् ।
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद
छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहनुभएका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् । चीनका राष्ट्रपति सि चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशका बीच भएका समझदारी एवं सम्झौताहरू पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको उनको भनाइ थियो । ‘अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ’, उनले भने, ‘दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ । भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उनको भनाइ छ । अब नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि मन्त्री साउदको भनाइ छ । विसं २०७२ को भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरु पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उनको भनाइ छ । त्यसैगरी दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले बताए । चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि कृषिजन्य वस्तुको उत्पादन र चीन निर्यात गर्न सकिने उनको भनाइ छ । यसका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उनको भनाइ छ । कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्वपूर्ण विषय भएको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योग धन्दाहरू खोल्नका लागि सहयोग पुग्नेमा मन्त्री साउदले विश्वास व्यक्त गरे । ‘हामीकहाँ कृषिजन्य वस्तुको उत्पादन निकै कम छ र त्यसमा पनि निर्यातजन्य वस्तु उत्पादन अझै कम छ, मन्त्री साउदले भने, ‘नेपालले लामो समयदेखि केही निर्यातजन्य उत्पादनमा चीन सरकारसँग छुटका लागि पहल गरिरहेको विषयमा पनि महत्वपूर्ण छलफल हुनुलाई भ्रमणको उपलब्धिका रूपमा लिएका छौँ । मन्त्री साउदले भ्रमणमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीले पनि नेपाललाई उच्च महत्व दिएर कुराकानी गरेको र नेपालले पनि आफ्नो हित र चासोका विषयमा आफ्ना विषयहरु उच्च तहमै स्पष्टसँग राखेको बताए । उनले विभिन्न विषयमा दुई देशबीच गहनरुपमा छलफल भएको र यसबाट नयाँ समझदारी निर्माण भएको आफूले पाएको जानकारी दिए । यस भ्रमणका क्रममा चीन सरकारले नेपाललाई उच्च महत्व दिएको देखिएको बताउँदै मन्त्री साउदले भने, ‘प्रधानमन्त्रीलाई एक औपचारिक कार्यक्रममा नै गार्ड अफ अनर प्रदान गरिएको छ, संयुक्त वक्तव्य प्रकाशित भएको छ र यसमा दुई देशबीचका आपसी हितका महत्वपूर्ण विषयलाई समेटिएको छ, राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटका क्रममा पनि उच्च महत्वका साथ आफ्ना कुरा राख्ने र नयाँ समझदारी निर्माण गर्ने काम भएकाले यो भ्रमणलाई पूर्णरूपमा सफल मान्नुपर्दछ ।’ चीन र नेपालका बीचमा परम्परागतरूपमा नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै मन्त्री साउदले अहिलेको प्राथमिकता भनेको आर्थिक पक्ष रहेको बताए । उनले नेपाल आर्थिकरूपमा बलियो बन्नका लागि चीनबाट कसरी लाभ लिने भन्ने विषय दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण र बलियो पक्ष हो भन्ने आफूलाई लाग्ने बताए । भ्रमणका क्रममा गरिएको कैलाश मानसरोवरको भ्रमण सो ठाउँ हेर्नका लागि मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि स्थलगत निरीक्षण भएको मन्त्री साउदको भनाइ छ । भारतसहित विश्वका लाखौँ हिन्दू पर्यटकलाई नेपाल हुँदै कैलाश मानसरोवरको भ्रमणको उचित वातावरण बनाउनका लागि सो ठाउँको स्थलगत अध्ययन अवलोकन गरिएको उनको भनाइ छ । यो क्षेत्रमा नेपालको बाटो भएर जान पाए धेरै सजिलो हुने विषय बारम्बार उठ्ने गरेका सन्दर्भमा नेपालका तर्फबाट कैलाश मानसरोवर जान पाउने गरी सडक निर्माणको प्रबन्धका लागि त्यहाँ गएको उनले स्पष्ट पारे । मन्त्री साउदले हुम्लाको सिमकोटका अतिरिक्त बझाङको उरई र दार्चुलाको तिङ्करको बाटो भएर पनि सो क्षेत्रमा पुग्न सकिने गरी अध्ययन भइरहेकाले सोही स्थानमा नै पुगेर अध्ययन गरेको बताए । चीन नेपाललाई कृषि, प्रविधि एवं अन्य लगानीका क्षेत्रमा सहयोग गर्न चाहन्छ । चीन आर्थिक सम्पन्न मुलुक भएकाले नेपालको पनि आर्थिक विकासमा सहयोग गर्न चाहन्छौँ भनेर चीनले भनिरहेकाले यस्तो खालको समझदारीको वृद्धि गरी आवश्यक कूटनीतिक पहल अघि बढाउनका लागि पनि यो भ्रमण फलदायी रहेको भनाइ मन्त्री साउदले राखे । चीन आउनुअघि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता जनाएर नेपालले विश्व समुदायलाई शान्ति स्थापना, अतिकम विकसित मुलुकका आवश्यकता तथा जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव र त्यसबाट नेपालले पाउनुपर्ने सुविधालगायतका विषयमा सम्बोधन गरेकाले महासभाको सहभागिता नेपालका लागि महत्वपूर्ण रहेको मन्त्री साउदले बताए । अतिकम विकसित राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकलाई आफूले अध्यक्षता गरी सामूहिक चासोका बारेमा कुरा भएको पनि उनले जानकारी दिए । ‘नेपाल हाल अतिकम विकसित राष्ट्रहरूको नेताको हैसियतले यसपटक प्रधानमन्त्रीले राष्ट्रसङ्घीय महासभामा हामीजस्ता विकासशील देशका समस्याका साथै यस्ता देशहरूप्रति विकसित देशको दायित्वका साथै सङ्क्रमणकालीन न्यायका विषयमा पनि राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउनुभएको छ’, उनले भने । साथै आफूले पनि परराष्ट्रमन्त्रीको हैसियतले विभिन्न देशका विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपालको हित र चासोका विविध विषयमा कुरा उठाएको मन्त्री साउदले जानकारी दिए । रासस
प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल
छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणमा रहेका का प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताएका हुुन्् । भ्रमणको सुरुमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सिसिपिआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो । उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए । समिटमा नेपाल र चीनका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता हुनु र चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता हुनुलाई अध्यक्ष ढकालले नेपालमा चिनियाँ लगानी भित्र्याउन गरिएको प्रयासका रूपमा लिएका छन् । ‘निकै लामो समयदेखि हामी नेपाल र चीनका उद्योगी व्यवसायीहरू एक ठाउँमा बसेर द्विपक्षीय व्यापार र लगानीका विषयमा कुराकानी गर्न पाएका थिएनौँ, यसपटक हामीले दुई देशका उद्योगी व्यवसायी एवं लगानीकर्ताको सम्मेलन नै गरेका छौँ र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि पहल गरेका छौँ, उनले भने । समिटमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीमा आबद्ध एक सयभन्दा बढी उद्योगी व्यवसायीहरूको सहभागिता थियो । सम्मेलनमार्फत उनीहरूले नेपालमा लगानीको सम्भावना र अवस्थाका बारेमा जानकारी लिएका थिए । ‘हामीले सम्मेलनमार्फत चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका सम्भावना देखाइदिएका छौँ, प्रधानमन्त्रीले पनि नेपालमा लगानीका लागि अपिल गर्नुभएको छ, अध्यक्ष ढकालले भने, ‘प्रधानमन्त्रीले नेपालमा चिनियाँ लगानीको सुरक्षा र सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ, नेपालमा लगानीका लागि चिनियाँ लगानीकर्ता पनि उत्सुक देखिएकाले यो भ्रमण आर्थिक दृष्टिले फलदायी रहेको महसुस मैले गरेको छु । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित विभिन्न मन्त्री र चीनका तर्फबाट वाणिज्य उपमन्त्री सहभागी थिए । चिनियाँतर्फबाट आफ्ना धारणा राख्ने क्रममा सिसिपिआइटीका प्रतिनिधि र चिनियाँ मन्त्रीले नेपालमा लगानीका प्रशस्त सम्भावना आफूहरूले देखेको र नेपालमा उत्पादित वस्तुको बजार चीन नै हुनसक्ने बताएका थिए । सम्मेलनपछि व्यक्तिगत रूपमा पनि चिनियाँ उद्योगी व्यवसायीहरूले नेपालमा लगानीका लागि आउने विषयमा चासो व्यक्त गरेको बताउनुहुँदै अध्यक्ष ढकालले नेपालमा विदेशी लगानीको सुरक्षाको सुनिश्चितता गरिएको जानकारी गराएका थिए । उनले विदेशी लगानी भित्र्याउने प्रक्रिया सहजीकरणका लागि महासङ्घले पनि वैदेशिक लगानी सहजीकरण डेस्क स्थापना गरेको र यसमार्फत आवश्यक सहयोग एवं सहजीकरण गर्न सक्ने जानकारी गराएको बताए । त्यसैगरी भूकम्प र कोरोना महामारीका कारण बन्द भएका दुई देशबीचका नाका लामो समयदेखि खुल्न नसक्दा यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्षरूपमा असर गरिरहेकाले यस भ्रमणका क्रममा नाका खुलाउने विषयमा सहमति भएकाले पनि स्थानीय तहका सीमा क्षेत्रका व्यवसायीलाई मात्र नभएर देशकै उद्योगी व्यवसायीहरूलाई पनि यसबाट प्रत्यक्षरूपमा लाभ पुग्ने अध्यक्ष ढकालको भनाइ थियो । ‘चीनतर्फ हाम्रो निकासी धेरै नभए पनि नाकाहरू बन्द हुँदा दुवैतर्फ हुने ‘क्रस बोर्डर’ व्यापारमा असर परेको छ, यसबाट आयात निर्यात प्रभावित भएको छ, अब नाका खुल्ने भएपछि यसले दुवैतर्फ आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्नेछ । यसपटकको चीन भ्रमणको यो पनि एक उपलब्धि हो’, उनले भने । नेपालबाट चीनतर्फ सेवा तथा वस्तु निर्यात निकै कम रूपमा छ । तर नेपालले गर्ने कूल आयातमा १६ प्रतिशत हिस्सा चीनको छ । यस्तो अवस्थामा दुवै देशका प्रधानमन्त्रीबीच भएको नेपाललाई कृषिजन्य उत्पादनका लागि अनुदान दिइनुका साथै नेपालमा कृषि तथा पशुपालनमा चीनतर्फबाट हुने नयाँ सहयोगबाट पनि नेपालमा कृषिजन्य उद्योग स्थापना र सञ्चालनमा सहयोग पुग्ने अध्यक्ष ढकालको विश्वास छ । नेपालले चीनसँग अहिले ठूलो व्यापार घाटा बेहोरिरहेको अवस्थामा कृषिजन्य वस्तुहरूको उत्पादन गरी चीनमा निर्यात बढाई व्यापार घाटा कम गर्नका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा गर्ने विषयमा पनि सहमति भएकाले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने अध्यक्ष ढकालले बताए । कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्त्वपूर्ण रहेको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योगधन्दा खोल्नका लागि सहयोग पुग्ने अध्यक्ष ढकालको विश्वास छ । नेपालमा कृषिजन्य उत्पादन निकै कम रहेको र त्यसमा पनि निर्यातयोग्य उत्पादन झनै कम रहेको अवस्थामा नेपालले लामो समयदेखि कतिपय उत्पादन निर्यातमा चीन सरकारले छुट दिनुपर्ने माग राख्दै आएकामा यस विषयमा पनि द्विपक्षीय छलफल भएकाले कार्यान्वयन हुनेमा अपेक्षा गरिएको उनको भनाइ थियो । भ्रमणका क्रममा विद्युत् प्रसारण लाइन निर्माणको सहमतिले पनि नेपालको उद्योग व्यवसायका साथै यस क्षेत्रमा हुने लगानीमा सकारात्मक प्रभाव पार्ने ढकालले बताए । त्यसैगरी नेपालतर्फको व्यापार व्यवसाय एवं दुवैतर्फका मानिसहरूको आवतजावतमा प्रत्यक्षरूपमा धेरै संलग्न हुने तिब्बत क्षेत्रको भ्रमण गरी आगामी दिनमा हुनसक्ने व्यापारिक सम्भावनाका बारेमा प्रधानमन्त्रीले गर्नुभएको अन्तरक्रिया र अध्ययन पनि भ्रमणको अर्काे महत्त्वपूर्ण पक्ष रहेको ढकालको भनाइ छ । भ्रमणका बीच कैलाश मानसरोवरको भ्रमण गरेर प्रधानमन्त्रीले नेपालकै बाटो भएर यसको भ्रमण एवं तीर्थाटनमा आउने सम्भावनाको खोजी गर्नु नेपालमा पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण काम भएको पनि उनले बताए । प्रत्येक वर्ष दशौँ लाख हिन्दू धर्मावलम्बी एवं पर्यटक अहिले कैलाश मानसरोवरको दर्शनका लागि तिब्बतको बाटो भएर जाने गरेका छन् । नेपालका धार्मिक पर्यटकहरूले पनि यसैगरी तिब्बतको घुमाउरो बाटो भएर त्यहाँ पुग्नुपर्ने अवस्था छ । तर कैलाश मानसरोवरमा पुग्नका लागि नेपालको हुम्ला वा मुस्ताङको कोरला नाका हुँदै जाँदा छोटो बाटो पर्ने भएकाले यसका लागि सडक निर्माण गर्न सकियो भने यसले नेपालकै पर्यटन क्षेत्रको प्रवर्द्धन हुने अध्यक्ष ढकालको भनाइ छ । ‘नेपाल र भारतका हिन्दू र बौद्ध धर्म मान्नेहरू प्रत्येक वर्ष ठूलो सङ्ख्यामा कैलाश मानसरोवर जाने गरेका छन्, उनीहरू हाल निकै घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्’, अध्यक्ष ढकालले भने, ‘उनीहरूलाई नेपालकै तर्फबाट आउने व्यवस्था मिलाउन सकियो भने नेपालका लागि मात्र होइन कि करोडको सङ्ख्यामा बाहिरिने भारतीय पर्यटकलाई पनि सजिलो हुने मैले महसुस गरेको छु ।’ नेपालबाट कैलाश आउने बाटो निर्माण हुन सके यसबाट बाटो पनि छोटो हुने र यात्रा सहज हुने भएकाले भारतीय पर्यटक बढ्नेमा उनको विश्वास छ । रासस
‘कसिलो मौद्रिक नीतिले ब्याज बढायो, सेयर र घरजग्गा किनबेच अस्वभाविक भयो’
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढेको बताएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले कसिलो मौद्रिक नीतिका कारण बैंकको ब्याजदर बढेको बताएका हुन् । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएकोले सुधार हुन जरुरी रहेको उनको भनाइ छ । ‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिँदैछ, पहिला खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो, त्यसपछि कसिलो मौद्रिक नीति आयो, जसले बैंक व्याजदर बढायो,’ उनले भने, ‘यसलाई विस्तारै सुरक्षित अवतरण गर्नुपर्छ, सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ, सेयर बजारमा पनि सुधार आउँछ ।’ उनका अनुसार विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ । राजनीतिक दलहरुबीच द्वन्द्व, बहस चुनावमा हार जीत हुनु.स्वभाविक रहेको उनको भनाइ छ । राज्यले गर्नुपर्ने विकास खर्च धेरै नरहेको उनले बताए । उनका अनुसार सकरात्मक बहस चलाएर आत्मविश्वास बढाउनु पर्छ । ‘हाम्रा चालू खर्च बढी छ, ऋणको दायित्व बढी छ, खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ, अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्,’ मन्त्री डा. महतले भने, ‘खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन, लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन, आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन, अर्थतन्त्र यसरी नै चल्ने हो ।’ उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा.महतले आग्रह गरे । ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो, त्यसको प्रयोग भइरहेको छैन, नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो,’ उनले भने ।