विकासन्युज

पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए । ‘विगत ४÷५ वर्षको प्रयासमा कोशिस गरेर यो कार्यक्रम हुन गईरहेको छ, सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोशिस गर्नुभयो, यो पहिलो कार्यक्रम हो, यसले त्यहाँको भाषा र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ,’ उनले भने । देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरुलाई सो कार्यक्रममा सहभागी गराइने आयोजकले जनाएको छ । कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत् सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मनाउने

फाइल फोटो काठमाडौं । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” मनाउने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूको अगुवाई तथा स्थानीय तह, स्थानीय प्रहरी, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रुपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरीट्राफिक सप्ताह मनाउन लागिएको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर ट्राफिक सप्ताहको सुरु हुने जनाईएको छ । एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थीर समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू रहेको र साताव्यापी सञ्चालन हुने यस कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लङ्घन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ । यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजना गरिएको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । आइतबार पहिलो दिन बिहान बाजागाजा सहित प्रभातफेरी र औपचारिक उद्घाटनको कार्यक्रम रहने छ । त्यसपछि साताभर हुने जनचेतनामूलक कार्यक्रममा विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण, विद्यार्थी तथा स्काउट लगायत सवारी चालक र परि–चालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन गर्ने, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरणगर्ने कार्यक्रम रहेको छ ।

मनसुन बाहिरिन अझै केही दिन लाग्ने, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए । ‘भारतको पश्चिमी भू–भागबाट मनसुन बर्हिगमनको प्रक्रिया सुरु भइसकेको छ, तर, अहिले बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो अझै शक्तिशाली हुँदै उत्तर–पश्चिमतिर सर्ने क्रममा रहेकाले नेपालबाट मनसुन बाहिरिन समय लाग्ने देखिन्छ’, उनले भने । मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई/चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ‘पूर्वमा विकसित न्यूनचापीय प्रणाली देशको पश्चिम र सुदूरपश्चिमसम्म प्रभाव नरहन सक्छ । पूर्वी र मध्य भेगमा धेरै पानी पर्ने सम्भावना देखिन्छ’, उनले भने । यो वर्ष दसैँ ढिलो भएकाले पनि किसानले बाली भित्र्याउने तरखरमा छन् । यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । देशको पूर्वी भेगभएर मनसुन देशभर फैलिन्छ । यस्तै मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् यो वर्ष असोज १५ गते भए पनि मनसुन ढिलोगरी बाहिरिने अनुमान गरिएको छ । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सतर्कता अपनाउन अनुरोध महाशाखाका अनुसार आगामी तीन/चार दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ । वर्षाले पहाडी भूभागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह केही बढ्नसक्ने र दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै, बाली भित्र्याउने बेला पनि भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ । यी स्थानमा वर्षाको सम्भावना अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, मधेस र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए । केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ’, उनले भने । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उहाँले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताउँदै दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको बताए । नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने सहमति भएको उनले बताए । उनले स्याँप्रुबेसी रसुवागढी रसडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको समेत जानकारी दिए । चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तिब्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिब्रता दिने, नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको उनले बताए । आआफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा प्रधानमन्त्री दाहालले धन्यवाद दिए ।

प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल फर्किएका हुन् । उनलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

फाइल फोटो काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिश्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ । भारतको विद्युत मन्त्रालयले १५ साउनमा विद्युत् आयात/निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संसोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ । यी दुवै आयोजनाको विद्युत् अहिले डे अहेड मार्केटमा बिक्री भइरहेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति शनिबार सकिंदै थियो । डे अहेडको नविकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरण, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । अब दुई आयोजनाको विद्युत् डे अहेड र आवश्यकताअनुसार रियल टाइम मार्केटमा बिक्री गर्न सकिने निर्देशक अधिकारीले उल्लेख गरे । ‘यसअघि प्रतिश्पर्धी बजारबाट विद्युत आयात निर्यातका लागि एक दिन पर्खनु पर्नेमा अब सवा घण्टाअघि बिड गरेर कारोबार गर्न पाउने भएका छौं, यसले अचानक विद्युत् उत्पादन बन्द भएमा वा उत्पादन बढेमा विद्युत् खरिद बिक्री गर्न सक्ने अवस्था निर्माण भएको छ,’ अधिकारीले भने, ‘डे अहेड मार्केटमा मात्र सहभागी भइरहेकोमा अब रियल टाइम मार्केटमा सहभागी हुन पाउनु हाम्रो लागि नयाँ अनुभव र उपलब्धी हो, यसबाट विद्युत् व्यवस्थापनमा सहजता आउनुकासाथै दुई देशबीचको विद्युत व्यापारमा नयाँ इँटा थपिएको छ ।’ प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को साउन र भदौमा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।

व्यवसायिक सफलतासँगै नेपाली समाज र एनआरएनए रूपान्तरणको दौडमा रोविन शेरचन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को एघारौं महाधिवेशनको आउँदो अक्टोबरमा काठमाडौंमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा त्यसको तयारी र आकाँक्षीहरुले उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दै गएको छ। आइसीसी नेटवर्कमा पुग्न र एनआरएनए अभियान नेतृत्वका लागि अहिले बिश्वभरि छरिएर रहेका नेपालीहरुले आ-आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै विभिन्न पदका लागि उम्मेदवारीको घोषणा गरिरहेका छन् । उम्मेदवारी घोषणाको लहरमा उभिएका मध्ये एकजना बलिया उम्मेदवार रोबिनप्रसाद शेरचन पनि एक हुन् । उनले आइसीसीको आगामी २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेकाछन् । हालको कार्यसमितिमा उनि एनआरएनए आईसीसी सदस्यको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् । लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आएका शेरचन सामाजिक र परोपकारको क्षेत्रमा समेत क्रियाशील रहेका छन् । उनी विश्वभरी रहेका नेपालीमाझ परिचित एवं एक बलियो उम्मेदवारका रुपमा समेत मानिन्छन् । उनी भन्छन, ‘एनआरएनए स्थापना भएको करिब २० वर्ष भयो, मैले करिब ३५ वर्ष जापानमा बिताएको छु, एनआरएनए स्थापना हुनुपूर्व पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको थिएँ, ती सबै संस्थागत थिएनन् तरपनि एक किसिमको आत्मसन्तुष्टि प्राप्त भइरहेको थियो ।’ परदेशमा बसेर नेपाली समुदायका लागि अन्तर्राष्ट्रियस्तरमा निस्वार्थ सेवा गर्ने उद्देश्यले एनआरएनए रोजेको उनले बताए । उनी भन्छन्, ‘यो विश्वभर फैलिएको नेपालीहरूको गैरराजनीतिक संस्था हो । यहाँ जोडिएर संस्थागत रुपमा नेपाल र नेपालीका लागि निस्वार्थ रुपमा व्यापक काम गर्न सकिन्छ । त्यसैले विश्वभर रहेका मेरा शुभचिन्तक तथा साथीभाईहरुको समेत सल्लाहका कारण मैले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’ एनआरएनए एक विशुद्ध गैरराजनीतिक संस्था भएपनि यसभित्र राजनीतिक हस्तक्षेप र नेतृत्वमा देखिएको विवादका कारण संघको १०औं महाधिवेशन हुनसकेको थिएन । त्यसबेला तीन जना अध्यक्षका दाबेदार थिए । कोरोना महामारीको अवस्था एवं नेतृत्वमा उत्पन्न विवादका कारण पालैपालो गरेर तीनै जना अध्यक्ष रहने सहमति गरिएको थियो । तर, यसपटक ११औं महाधिवेशन आगामी अक्टोवर १७ देखी १९ सम्म काठमाडौंमा हुने निर्णय संघले गरेको छ । उपाध्यक्षका प्रत्यासी शेरचनका विचारमा विश्वभरी रहेका नेपालीहरुको छाता संगठन मानिएको एनआरएनए आफ्नो उद्देश्य अनुरूप सामजिक परोपकारी संस्थाको रुपमा अगाडि बढ्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । विदेशमा रहेका नेपालीहरु मध्ये बौद्धिक, दक्षता भएका, युवालगायत ठूलो संख्या संघको घेराभित्र अटाउन सकेका छैनन् । शेरचन भन्छन्, ‘तिनीहरूलाई सङ्घको घेराभित्र ल्याउनु पर्नेछ, सबैले अपनत्व महसुस गर्नेगरी काम गर्नु पर्नेछ, राजनीतिक हस्तक्षेपको सामना गर्नुका साथै फेरि एकपटक संस्थाको गरिमा उच्च बनाउनको लागि निस्वार्थ सेवा भावकासाथ कार्य गर्ने नेतृत्व चयन गर्नका लागि अपिल गर्न चाहन्छु ।’ शेरचनको पृष्ठभूमी मुस्ताङमा जन्मेपनि शेरचनने आफ्नो बाल्यकाल भने पोखरामा बिताएका थिए । गण्डकी बोर्डिङ स्कुल अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनलाई आफन्तले बोलाएपछि सन् १९८८ अर्थात् आजभन्दा ३५ वर्षअघि जापान गएका थिए । उनी जापान पुग्दा जापान अहिलेको जस्तो अवस्थामा थिएन, हिरोसिमा र नागासाकीमा अमेरिकाले खसालेको परमाणु बमको घाउ ताजै थियो । परमाणु बमका कारण ठूलो क्षति ब्यहोरेको जापानले भर्खर-भर्खर विकासको गतिमा रफ्तार अगाडि बढाएको थियो । जापानमा हाल करिब १ लाख ५० हजार नेपाली छन् तर, त्यस बखत त्यति धेरै नेपाली थिएनन् । करिब सय जना जति मात्रै नेपाली भएको हुनसक्ने शेरचन बताउँछन् । त्यो समयमा जापानमा जीवन बिताउने विषय सोचे जस्तो थिएन । भाषा फरक खानपान, चालचलन जीबनशैली सबै फरक थिए । सुरुमा काम गर्न निकै गाह्रो थियो । भाषा र शिप दुवै नभएकोले कठिन थियो । जापानीहरु जापानी भाषा नै बोल्ने गर्दछन् अंग्रेजी बोल्नेहरु बिरलै भेटिन्छन् । त्यसैले उनले सुरुमा भाषा पढ्न थाले दुई वर्ष भाषा पढिसकेपछि मात्र त्यहाँ उनलाई घुलमिल हुन सजिलो भयो, भाषा भएपछि काम पाउन सजिलो भयो । त्यसपछि केही समय रेस्टुरेन्टमा काम गरे । त्यसबेला जापानमा भएका मध्ये धेरै जसो थकाली समुदायका थिए । मुस्ताङका थकालीहरु सीमापार व्यापार गर्ने गदर्थे । शेरचनको पुर्ख्यौली पेशा पनि व्यापार नै थियो । उनका बुबाले होटल व्यवसाय साथै हङकङबाट कपडाहरु ल्याएर बेच्ने व्यवसाय पनि गर्थे । भैरहवामा रहेका होटल तथा पसलहरु राम्रै चलेका थिए । बुवाले गरेको व्यवसायलाई निरन्तरता दिँदा भविष्य छैन भन्ने लागेर उनले आफैं केही गर्ने सोंच बनाएर जापान प्रवेश गरेको बताउँछन् । रेस्टुरेन्टमा काम गर्ने सिलसिलामा उनले एक जापानी युवतीसँग २७ वर्षको उमेरमा प्रेम विवाह गरेका थिए। शेरचनको विवाहसँगै नयाँ जीवनको शुरुवात भएको अनुभव सुनाउँछन् । जापानी नागरिक भएपनि उनकी श्रीमतीले विदेशमा उच्च शिक्षा हासिल गरेकी थिइन्, जसले गर्दा उनको अंग्रेजी भाषामा राम्रो ज्ञान थियो । शेरचनको श्रीमतीलाई आफ्नो देशको संस्कृति अरुलाई बुझाउने विषयमा रुची थियो, सो रुची दुवैको साझा जस्तो बन्यो । यसैक्रममा उनीहरुले एउटा साँस्कृतिक विद्यालय खोल्न पुगे । उनीहरुले सो विद्यालयमा अंग्रेजी लगायतका विभिन्न भाषाको कक्षा शुरुवात गर्न थाले । त्यसबेला पत्रपत्रिकाको उति चलन थिएन पत्रपत्रिकाहरु व्यापक थिएनन् । ‘माउथ टु माउथ’ प्रचार गर्दै हुने गर्दथ्यो । एकदिन उनीहरुको स्कुलको बारेमा एउटा स्थानीय पत्रिकामा समाचार प्रकाशन भएपछि स्कुल सोचेभन्दा राम्रो चल्न थालेको शेरचन सुनाउँछन् । तर, सुख र खुसीहरुको सुरुवात हुँदै गरेको शेरचनको जीवनमा अचानक ठूलो बज्रपात आइपर्यो । उनकी ३९ वर्षीय श्रीमतीलाई क्यान्सरले लग्यो । शेरचन एक्लै भए । दुईजनाको मन मिलेर खोलेको स्कुल एक्लै सम्हाल्नुपर्ने अवस्था आयो । श्रीमतीको यादसँगै केहीवर्ष उक्त स्कुल चलाए । पछि आफ्ना भाईहरुसँग मिलेर एउटा बार खोले करिब १३० देशका विभिन्न ब्रान्डका बियरहरु र खानेकुराहरु बिक्री गरिने उक्त बार पनि सोचेभन्दा राम्रो चल्न थाल्यो । फेरि उनले इटालियन रेष्टुरेन्ट खोले त्यो पनि राम्रो चल्यो । आफ्नी श्रीमतीको याद बोकेर उनी एकपछि अर्को व्यवसायको उकालो यात्रा गर्दै गए असफलता भने कतै भोग्नपरेन जुन काममा हात हाल्यो त्यो फलिफाप हुँदै गयो । मानौं कुनै चमत्कार हुँदैछ जस्तो । अहिले उनले आफ्नो रेस्टुरेण्ट व्यवसायलाई जापानभर फैलाएका छन् उनले जापानभर २५ आउटलेटहरु सञ्चालन गरिरहेका छन् । व्यवसाय सफल रहेपनि लामो समय सम्म परदेशमा रहँदा नेपाल र नेपालीको निकटमा रहेर काम गरिरहेको अनुभव सुनाउदै रोबिन शेरचनले बिदेशमा हासील गरेको दक्षता, सीप र रकमलाई व्यवस्थित गरी नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न एनआरएनए एउटा बलियो माध्यम भएको बताउँछन् । इमान्दारीता र पारदर्शी तरिकाले कार्य गर्ने नेतृत्व चयन गर्न सकेमात्र संस्थालाई रुपान्तरण गर्दै पद्दती अनुरुप प्रभावकारी कार्य सकिने उनको विश्वास रहेको छ । शेरचनको महाधिवेशन लक्षित पर्चा

नेपाल ‘बिश्व साँस्कृतिक उत्सव २०२३’ मा सहभागी हुँदै

काठमाडौं । नेपालले अमेरिकाको वाशिंगटन डि.सी. स्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि अक्टुबर १ सम्म आयोजना हुन लागेको बिश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु सम्बन्धी प्रस्तुति गर्ने भएको छ । संसारभरका विभिन्न संस्कृतिहरुलाई एकै ठाउंमा ल्याई एकै सुत्रमा बाँध्ने जमर्को आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यातमिक गुरु रविशंकरले गरेका हुन् । हालसम्म पांच लाख भन्दा बढी सहभागीहरुले कार्यक्रममा सरिक भै संसार भर छरिएका सांस्कृतिक विविधताको महत्व माथि एक्यबद्धता जनाएका छन् । उक्त कार्यक्रममा विभिन्न राष्ट्रहरुले आफ्नो देशको भेषभुषा, नृत्य, संगीत तथा परिकारहरुको प्रस्तुति यी तीन दिनमा गर्ने छन् । विश्वभरका १८० राष्ट्रहरुबाट १७ हजार कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत हुँदैछन । /* नेपालले पनि उक्त संस्कृतिक उत्सवमा सहभागिता हुँदैछ र नेपालको विभिन्न समुदायको सात मौलिक नृत्यहरु सोही समुदायको सांस्कृतिक पहिरण पहिरी प्रस्तुती गर्न १३ वर्ष देखि ६० वर्ष सम्मका १५० जना कलाकारहरु पुगिसकेका छन् । यी नृत्यहरुको निर्देशन नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले गरेका छन् । उनले विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण दिंदै आएका थिए । नेपालको ‘बिश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिताले नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने कुरा दया फाउन्डेसनका संस्थापक सदस्य राजेश बहादुर प्रधानले बताए । अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू माझ नेपाली संस्कृतिलाई जोगाउने हेतुले काम गर्दै आएको नेपाल एजुकेशन कल्चरल सेन्टरको नेतृत्व गरिरहेका अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व तथा समन्वयमा अमेरिकामा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरू यस कार्यक्रममा सहभागीता जनाउँदै छन् । यस वर्ष हुन लागेको ’बिश्व संस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो । सन् २००६ मा बैंगलोरमा आयोजना भएको पहिलो संस्करण मा पच्चीस लाख सहभागी थिए, त्यसैगरी दोश्रो संस्करण जुन बर्लिनमा सन्न२०११ मा सम्पन्न भएको थियो त्यसमा सत्तरी हजार सहभागी थिए भने तेस्रो सन्सस्करण सन् २०१६ मा दिल्लीमा आयोजित भएको थियो जसमा सैतिस लाख सहभागी थिए ।