मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो
गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध)का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा पितृपक्षका समयमा पितृ उद्धारको कामनाका साथ ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । मुक्तिनाथमा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण यहाँको महिमा र गरिमा बढेको छ । समुद्र सतहदेखि तीन हजार सात सय १० मिटरको उचाइमा अवस्थित हिन्दू बौद्ध धर्मावलम्बीको साझा तीर्थ मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’)का रुपमा लिने प्रचलन छ । मुक्तिनाथ मन्दिर भएका कारण मुक्ति क्षेत्रका रुपमा ख्याति कमाएको यस क्षेत्र हुँदै बग्ने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण पनि यसको धार्मिक महत्व अझै चुलिएको छ । मुक्तिनाथको दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास रहेको बताउँदै पुजारी सुवेदीले आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या धेरै हुने गरेको बताए । सोह्रश्राद्धको समयमा आउने दर्शनार्थीले कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्दछन् । कागबेनीमा आई मुक्तिनाथमा दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास रहिआएको छ । कालीगण्डकी किनारामा पाइने शालग्रामलाई भगवानको साक्षात स्वरुप मानिन्छ । सोही कारण मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीले कागवेनी किनारामा उक्त शिला खोजेर घरघरमा पूजाआजा गर्न लैजाने प्रचलन पनि छ । शालग्रामको उत्पत्ति प्रागऐतिहासिक कालमा पाइने किराको जीवाष्मबाट भएको मानिन्छ । जुन मुख्यतः टेथिस सागरमा पाइन्थ्यो । पौराणिक मान्यताअनुसार शालग्राम शिलामा भगवान् विष्णुको निवास हुन्छ । यस सम्बन्धमा विभिन्न किंवदन्ती छन् । एक किंवदन्तीअनुसार भगवान् शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न नसकेका अवस्थामा भगवान् विष्णुले उनको मद्दत गरेका थिए । जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतित्व बचाउँदासम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । उक्त अवस्थामा भगवान् विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतित्वलाई नष्ट गरे भने वृन्दालाई उक्त कुरा जानकारी हुँदासम्म शिवले जालन्धरको बध गरिसकेका थिए । आफ्नो सतित्व नष्ट गरेको आक्रोशमा वृन्दाले भगवान् विष्णुलाई शिला, रूख, झारपात र घाँस भएर जीवन व्यतित गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । त्यही श्रापका कारण विष्णुले शिला (शालिग्राम), पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको किंवदन्ती छ । सोह्रश्राद्ध सुरु हुन लागेसँगै यस क्षेत्रमा चहलपहल बढिरहेको मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवास्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक एवं जनप्रिय युवा क्लबका अध्यक्ष सुरज गुरुङले जानकारी दिए। पर्यटक आगमनको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय पर्यटन व्यवसायीले उनीहरूको स्वागतार्थ जुटसकेको उनले बताए । रानीपौवा क्षेत्रमा मात्रै विभिन्न सुविधासम्पन्न २६ वटा होटेल सञ्चालनमा आइसकेको जानकारी दिँदै उनले हालसम्म डेढ अर्बभन्दा बढी लगानी भइसकेको बताए। विशेषतः चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिकमा मुक्तिनाथमा ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट सोही मार्गबाट हुँदै मनाङ जाने पर्यटक यही मुक्तिनाथ भएर जाने भएका कारण पनि यो पर्यटकीयरुपमा पनि उत्तिकै महत्वको छ । मुक्तिनाथको दर्शनका लागि बर्सेनि ठूलो सङ्ख्यामा बौद्ध धर्मावलम्बी यहाँ आउने गरेको उनले जानकारी दिए । मुक्तिनाथकै बाटो भएर महान् बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारप्रसार गर्न तिब्बत गएका कारण यस क्षेत्रलाई बौद्ध मार्गीले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेका छन् । मुक्तिनाथमा पूजा गराउन मन्दिरको भित्र बौद्ध धर्म गुरु आनी बस्ने र बाहिर ब्राह्मण पुजारीले पूजा गराउने प्रचलन छ । भारतीय प्रधानमन्त्रीले मुक्तिनाथ दर्शन भ्रमण गरे यता भारतबाट बर्सेनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । सोह्रश्राद्ध सुरु हुन लागेसँगै मुस्ताङको सदरमुकाम जोमसोममा चहलपहल बढिरहेको व्यवसायीहरू बताउँछन् । पछिल्ला समयमा जोमसोममा पर्यटक लक्षित सुविधासम्पन्न होटेल पनि धमाधम थपिन थालेको होटेल शालिग्रामका सञ्चालक रविन्द्र सुवेदीले जानकारी दिए। ]हामीले पर्यटकको चाहनाअनुसार सुविधा सम्पन्न पूर्वाधारमा जोड दिएका छौँ’, उनले भने, ‘मुस्ताङको भ्रमण गर्न आउने पर्यटकले खान, बस्न स्तरीय सेवासुविधा पाउँछन् ।’ मुस्ताङमा विस्तारै चहलपहल बढ्दै गएको उल्लेख गर्दै उहाँले यस याममा ठूलै सङ्ख्यामा पर्यटकहरू भित्रने अपेक्षा गरिएको बताए । रासस
सहकारीको साढे २ करोडभन्दा बढी रकम हिनामिना गर्ने प्रबन्धक पक्राउ
तनहुँ । भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । उनले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय तीस सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए । उक्त सहकारी संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । रासस
नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा
काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा भएको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजनाले इकाईधनीधनीलाई कर सहित ९.६ प्रतिशत अर्थात १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त पस्ताव गरेको हो । उक्त लाभांश वितरण गर्ने प्रयोजनको लागि नबिल म्युचुअल फण्डले आगामी असोज २६ गते एक दिनको लागि बुक क्लोज गर्दै छ ।
महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिए । युएसएआइडीको स्थानीय (गोरखा र चितवन) कार्यक्रमको आर्थिक सहयोग र गण्डकी गाउँपालिकाको समन्वयमा २१ महिलालाई तालिम प्रदान गरिएको उनले बताए । यही असोज १० गतेदेखि सुरु भएको तालिम असोज १७ गतेसम्म सञ्चालन हुने छ । तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ । एड्वानले स्थानीय विपन्न कृषक महिलाको समूह गठन गरी उनीहरुको आर्थिक आयआर्जन वृद्धिका लागि टेवा पु¥याउने उद्देस्यसहित तालिम सञ्चालन गरेको उनले बताए । तालिममा सहभागीलाई कृषि प्राविधिक दिपेन्द्र विष्ट र निरमाया थापाले प्रशिक्षण दिइरहेका छन् । ‘परियोजनाअन्तर्गत आर्थिक र सामाजिकरुपमा विपन्न महिलाको समूह निर्माण गरी वडा कार्यालयको समन्वयमा समूह गठन गरिएको हो ‘, उनले भने, ‘वडा कार्यालयमार्फत आवश्यक ठाउँ छनोट गरी अतिआवश्यक क्षेत्रमा तालिम सञ्चालन गरिन्छ ।’ रासस
भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड
चितवन । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै छ । गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षरोपण गर्न थालिएको छ । यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षरोपण भइरहेको छ । महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको बताइन् । यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘हरियाली प्रवर्द्र्धन र सरसफाइ अभियानअन्तर्गत यही वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना रहेको छ ।’ वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गर्ने, सरसफाइ गर्ने छन् । सोभन्दा फराकिला सडकमा महानगरले वृक्षरोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन् । यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षरोपण गर्न लागिएको दाहालले बताइन् । हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ । वृक्षरोपण र सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष एवं सदस्य, सम्बन्धित टोलका प्रतिनिधि एवं स्थानीय सहभागी भएका थिए । रासस
पढ्नलाई उमेरले छेक्दैन
जानकी । वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने शिक्षिका हुन् । तर, उनी शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ को विद्यार्थी हुन् । दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा पढिरहेकी छिन् । उमेरले ५१ वर्ष पुगीसकेकी दुजीकुमारीलाई उनका नातिले पढ्नका लागि हौसाएको बताउँछिन् । ‘नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ’, दुजी भन्छिन् । बाँकेको कोहलपुर नगरपालिका–११ सैनिकटोलकी दुजीलाई छ वर्षको नातिले लगाएको बचनले स्कुलको कक्षा कोठासम्म पुर्याएको उनको भनाइ छ । ‘मलाई पढ्न मन त पहिलादेखि नै थियो तर त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दामै अल्झिरहन्थे होला’, उनी भन्छिन् । आफ्नो सहपाठी आफ्नै उमेर समूहको नभई नातिनातिनी उमेरको हुँदा नजानेको कुरा सोधेर सिक्नलाई सजिलो भएको दुजी बताउछिन् । ‘मलाई धेरै कुरा आउँदैन । नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्’, उनले भनिन्, ‘ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ’, उनले भनिन्, ‘मेरा साथीहरू साना उमेरका भएको हुनाले नै मैले छोटो समयमा धेरै कुरा सिकेको छु ।’ पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आएकी दुजीकुमारीले अहिले पनि घरको काम सकेर स्कुल आउने जाने गर्छिन् । कक्षा १२ सम्मको पढाइ पूरा गरेर कम्प्युटर सिक्ने इच्छा भएको उनले बताइन् । सुरुमा पढ्नलाई छोराले आनाकानी गरे पनि अहिले भने साथ दिएको र बेला–बेला सिकाउने गरेको पनि उनले बताइन् । उनले अहिले बाह्रखरी अक्षर चिन्नुका साथै अङ्कहरू मज्जाले लेख्न र पढ्न सक्छिन् । इकार र आकारका मात्राहरू सिक्न र आधा अक्षरहरू चिन्न बाँकी रहेको उनले बताइन् । स्कुल पढ्न गएदेखि आफूले जानेको कुरा अरुलाई सुनाउन पाउँदा पनि खुसी लागेको उनको भनाइ छ । शिक्षिका गीता श्रेष्ठले पनि पढाएको कुरालाई छिट्टै बुझ्ने र सिक्ने क्षमता भएको हुनाले दुजीले कक्षा १ राम्रै अङ्क लिएर पास गर्ने बताइन् । कक्षामा उनी शिक्षकले पढाएको मज्जाले बुझ्छिन् । दिएको गृहकार्य पनि सबै गरेर आउछिन् । अक्षर पनि निकै सफा छ उनको । दश वर्षमा एसइई परीक्षा उत्तीर्ण गर्ने उनको जीवनको एउटै धोको छ । दुजीकुमारीजस्तै सोही ठाउँकी प्रेमकुमारी गिरी पनि ६१ वर्षको उमेरमा कक्षा ६ मा पढ्न स्कुल जाने गर्छिन् । प्रेमकुमारीलाई बिहान स्कुल जानको लागि घरको काम सक्न भ्याइनभ्याई हुन्छ । कोहलपुर नगरपालिका–५ एनसीसिएनकी प्रेमकुमारी पनि सोही स्कुलमा पढ्छिन् । प्रेमकुमारीको १३ वर्षको उमेरमा विवाह भएको थियो । विवाहपश्चात पारिवारिक बन्धनमा बाँधिएकी उनले १६ वर्षकै उमेरमा पहिलो सन्तानका रूपमा छोरीलाई जन्माइन् । सन्तानको मोहले पढ्न नपाएको पीडालाई मनमै भुलाइदियो । समय बित्दै गयो । प्रेमकुमारी पनि छ सन्तानको आमा बनिन् । एउटा छोरा र पाँचवटी छोरीलाई हुर्काउँदैमा उनको पढ्ने रुचिमात्रै मरेन, उमेर पनि ढल्कँदै गयो । सानैमा अधुरो भएको पढाइलाई उनले घरपरिवार र सन्तानप्रतिको जिम्मेवारीकै कारण पूरा गर्न सकिनन् । ‘विवाह भएपछि पनि मैले पढ्छु भनेर धेरैपटक कोसिस गरेँ, तर घरमा त्यो वातावरण नै भएन । श्रीमानको माया, परिवारको साथ, सन्तानको सुख सबै पाएँ तर पढ्न नपाएको विषयमा दुखेको मनलाई शान्त गर्न सकिनँ’, उनले भनिन्, ‘भगवान्ले भन्नुहुन्छ तँ आँट म पुर्याउँछु । आज मलाई त्यस्तै भएको छ । मैले आँटे भगवान्ले मलाई यो स्कुलसम्मको बाटो देखाइदिनुभयो ।’ पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रेमकुमारी । आकाशे रङको कुर्तामा गाढा निलो रङ्को डुपट्टा र सुरुवाल लगाएर हातभरि कपी किताब बोक्दै उनी नियमित स्कुल जाने गर्छिन् । सानैमा कक्षा ३ सम्म पढेर बीचैमा पढाइ छाडेकी प्रेमकुमारीलाई कक्षा ६ मा भर्ना हुँदा सामान्यरुपमा लिखित र मौखिक परीक्षा लिइएको उनले बताइन् । ‘मैले पहिला नै ३ कक्षा पास गरेको थिएँ । मेरो पढ्ने इच्छा देखेर मलाई स्कुलका प्रधानाध्यापकले कक्षा ५ मा भर्ना गरिदिनुभयो’, उनले भनिन्, ‘कक्षा ५ मा भर्ना हुँदा भर्खरै स्कुल पढ्ने उमेरको भएकी छु भन्ने लागेको थियो ।’ आफ्नी श्रीमतीलाई यो उमेरमा पनि पढ्न मन लागिरहेको छ भन्ने थाहा पाएका श्रीमान् जनकबहादुर रावतले पढ्नका लागि अनुमति दिएकै कारण आज उनी नियमित स्कुल जान पाइरहेका छन् । ‘स्कुल गएर पढ्छुभन्दा सुरुमा त जिस्किएको होला भन्न ठान्नुभएको रहेछ उहाँले, तर मैले साँच्चै नै म स्कुल गएर पढ्न चाहन्छु भन्दा उहाँले पढ्ने इच्छा नै भएको हो भने बीचैमा पढाइ छाड्न पाउँदिनौं नि भनेर पढ्नलाई अनुमति दिनुभयो’, खुसीको आँशु छछल्क्याउँदै प्रेमकुमारीले श्रीमान्ले पढ्नलाई अनुमति दिएको कुरा सुनाइन् । प्रेमकुमारीको भनाइअनुसार श्रीमान् जनकबहादुरको दिनचर्या हिजोआज श्रीमतीलाई स्कुल जान ढिला हुुन्छ कि भनेर घडी हेर्ने र बेलुका घर फर्कने समय कुर्दैमा बित्ने गर्दछ । ‘बुढेसकालमै भए पनि श्रीमान्ले स्कुल जाने समय सम्झाउनुहुन्छ । अनि म स्कुलबाट घर कतिबेला आउँछु भनेर कुरी बस्नुहुन्छ’, उनले भनिन्, ‘बुढेसकालमै भए पनि श्रीमान्ले मेरो पढाइका लागि दिनुभएको ऊर्जा र सहयोगप्रति म निकै नै खुसी छु, प्रेमकुमारीलाई आँखाले साथ दिँदासम्म पढ्ने रहर छ ।’ प्रेमकुमारीजस्तै सोही कक्षामा पढ्छिन् हरिकला नेपाली पनि । उनले उमेरले ३६ वर्षको भएकी छिन् । एक छोरीकी आमा हरिकलालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कुलमा गएर पढ्न अप्ठ्यारो बनाइरहेको बताइन् । उनका अनुसार प्रेमकुमारी गिरीलाई स्कुलको लुगा लगाएर किताब बोक्दै हिँडेको कुराले पढ्नका लागि उनलाई हौसला दिएको बताइन् । ‘पढ्ने एकदमै रहर थियो तर ३६ वर्षकी भइसकेकी थिएँ । स्कुल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेमकुमारी दिदीलाई किताब बोकेर स्कुल जानेआउने गरेको देखेँ । उहाँलाई देखेर नै मलाई पनि स्कुलमा आएर पढ्ने हिम्मत मिलेको हो’, हरिकलाले भनिन्, ‘छुटेको पढाइलाई फेरि पूरा गर्न पाएकामा निकै खुसी लागेको छ । कुनै पनि हालतमा एएसइई पास गर्नु छ ।’ हरिकलालाई वैदेशिक रोजगारमा रहेका श्रीमान् नथु गुरुङले पनि पढ्नलाई साथ दिएको उनले बताइन् । पढ्ने रहर मनमा हुँदाहुँदै पनि आफ्नो उमेर समूहको महिला पढ्ने स्कुलको खोजीमा रहेकी हरिकालालाई घर नजिकै स्कुलमा आफूभन्दा पनि बढी उमेर भएका साथीसँगै पढ्न पाएकामा उनलाई अहिले लाज हराएको बताइन् । हरिकलाले आफ्नो प्रेरणाको स्रोतको रूपमा प्रेमकुमारी गिरी र खगीसरा खाणलाई मान्छिन् । आफूभन्दा उमेरमा दोब्बर भए पनि एउटै उमेर समूहजस्तै लाग्छ हरिकलालाई सहपाठीद्वय प्रेमकुमारी गिरी र खगिसरा खाण । ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । ती ७७ विद्यार्थीमध्येका आमा विद्यार्थी हुन् प्रेमकुमारी, हरिकला र खगिसरा । विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बिरामी हुँदाबाहेक नियमितरूपमा उनीहरू स्कुल आउने गरेको बताउछन् । उनी भन्छन्, ‘पढ्ने इच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन । लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहे पनि पास गर्न सक्नुहुन्छ भन्ने लागेर नै उहाँहरूलाई भर्ना गरेका हौँ ।’ सो विद्यालयमा पाँच सय ६८ विद्यार्थी अध्ययनरत छन् । रासस
नेपाल वेयरहाउजिङ्गले साढे १३ करोडको आईपीओ जारी गर्ने, १ अर्ब ६२ करोडको परियोजना बनाउँदै
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले १३ करोड ६५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरमा कूल १३ लाख ६५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसको लागि कम्पनीले असोज १० गते नै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ । यससँगै कम्पनीले पहिलो चरणमा आईपीओको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ । २०७५ सालमा स्थापना भएको यस कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याएको छ । त्यस्तै, कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेको छ र सो समेत पौष महिनासम्ममा सञ्चालनमा आउने छ । यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ । कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेको छ । अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ । यो समस्याको समाधानका कम्पनीले देशका तीन वटा स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य कम्पनीको छ । साथै, कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरेको छ । कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ रहेकोमा सो लगानीमध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपूँजीबाट परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेष्ट बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषी विकास बैंकको सहबित्तियकरणमा गरिएको छ । यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्वेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेत लगायतका लगानीकर्ताहरुबाट लगानी जुटाईको छ । हाल ५५ करोड रुपैयाँ चुक्ता पुँजी हेकोमा साधारण निष्काशनबाट १३ करोड ७५ लाख रुपैयाँ जुटाईने कम्पनीले जानकारी गराएको छ ।
जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव सुरु, ५० प्रतिशत छुट
काठमाडौं । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरे । नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्दन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताए । साथै नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरे । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुदैछ । विहान ९ बजे देखि वेलुकी ७ बजे सम्म खुल्ला रहने महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहेको छ । यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा खरिद गर्न सक्नेछन् ।